सुनकोशी मरिण र भेरी बबईको ठेक्का तोडिने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवका सुनकोशी मरिण र भेरी बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, दुवै आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग मन्त्री घिसिङले छललफल गरी आयोजनाका ठेक्का तोडेर नयाँ सिराबाट अगाडि बढ्नुको विकल्प नभएको बताए । दुवै आयोजनाको निर्माणमा देखिएको अस्वाभाविक ढिलाइ भएपछि मन्त्री घिसिङले निर्माणमा संलग्न सबै पक्षसँग छलफल गरेका थिए ।  तराई क्षेत्रमा सिँचाइ पुर्याएर कृषिको उत्पादकत्व वृद्धि गरी मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउने आयोजनाहरुको निर्माणमा भइरहेको अस्वाभाविक ढिलाइले आयोजनाबाट प्राप्त हुने प्रतिफल गुमिरहेको उल्लेख गर्दै उनले सम्बन्धित सबै पक्षलाई गम्भीर हुन आग्रह गरे । ‘एक पक्षले अर्को पक्षलाई दोष देखाएर बसेको देखिन्छ, निर्माण व्यवसायी छिद्र खोज्दै बस्ने आयोजना त्यस्तो वातावरण दिइराख्ने यस्तो अवस्थामा निर्माण कसरी अगाडि बढ्छ ? राज्यको अर्बौं रुपैयाँ लगानी भइसकेको छ । आयोजना सुरु गर्दा गरिएको वित्तीय विश्लेषण कहाँ पुग्यो, प्रतिफलको अवस्था के भयो ?,’ उनले चेतावनी दिँदै भने ।  ‘दुवै आयोजनाका सुरुङ निर्माण सम्पन्न भइसकेका छन्, तर बाँध, विद्युतगृहलगायतका संरचना बनाउन नसक्दा आयोजना अलपत्र परेका परेका छन्, तराई/मधेमा सिँचाइका लागि पानीको हाहाकार छ तसर्थ यो स्थितिमा आयोजना चल्न सक्दैनन्, निर्माण व्यवसायी सक्रिय भएको भए काम सकिन्थ्यो, काम गर्ने नियतमा देखिंदैन तसर्थ म्याद थप गर्नुको औचित्य छैन, सबै ठेक्का तोडी अगाडि बढौं,’मन्त्री घिसिङले थपे‍ ।  भेरी बबईको सुरुङ २०७७ भदौमा निर्माण सम्पन्न भएको थियो । बाँध तथा विद्युत्गृह निर्माणका लागि २०७६ साउनमा गङ्दोङ युतियान—रमण जेभीसँगठेक्का सम्झौता भएको थियो । आयोजनाको भौतिक प्रगति ५७ प्रतिशत छ ।  सुनकोशी मरिण बाँध, विद्युतगृहलगायतका संरचना निर्माणको प्रगति १० प्रतिशत रहेको छ । ठेक्का समयावधि करिब ६० प्रतिशत बितिसकेको छ । यस आयोजनाको निर्माण व्यवसायी पटेल—रमण जेभी हो ।

मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालनमा, ढुंगा झर्ने क्रम रोकिएन

काठमाडौं । तुइन खोलानजिक पटक-पटक खसेको पहिरो हटाएपछि मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । भरतपुर सडक डिभिजनका अनुसार एकतर्फी रूपमा सवारीसाधन गुड्न थालेका हुन् । यद्यपि पहिरो हटाइए पनि ढुंगा झर्ने क्रम जारी रहेकाले दुईतर्फी रूपमा सडक सञ्चालन गर्न अझै सम्भव भएको छैन ।  सडक डिभिजनले यात्रु र चालकहरूलाई लेन अनुशासन पालना गर्न र सचेत रहन आग्रह गरेको छ । सडक डिभिजन भरतपुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मुग्लिन-नारायणघाट सडक तुइन खोलानजिक झरेको पहिरो हटाइसकेपछि अहिले सडक एकतर्फी सञ्चालनमा आएको बेहोरा जानकारी गरिन्छ । दुईतर्फी आवागमन खुलाउन प्रयासरत छौं । तर ढुंगा झर्ने क्रम जारी नै छ। कृपया लेन अनुशासनको पालना गर्नुहुन अनुरोध छ । ’ यसैबीच, मुग्लिन-नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोलानजिकै अर्को पहिरो जाँदा उक्त खण्ड भने दुवैतर्फ अवरुद्ध भएको छ । यस्तो अवस्थामा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गरी सुरक्षित रूपमा यात्रा गर्न डिभिजनले अनुरोध गरेको छ ।  सडक डिभिजन भरतपुरका अनुसार आवश्यक नपरेसम्म उक्त सडकखण्ड प्रयोग नगर्नु र स्थानीय प्रशासन वा ट्राफिकको अपडेटअनुसार यात्रा तय गर्नु उचित हुनेछ । 

ढुंगा खस्न थालेपछि मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध, यात्रु अलपत्र

काठमाडौं । तीन दिन लगाएर खुलाइएको नारायणगढ-मुग्लिन सडकखण्डमा आज बिहानैदेखि ढुंगा खस्ने क्रम नरोकिएपछि यातायात आवागमन पुनः अवरुद्ध भएको छ । आज बिहान सुख्खा पहिरोसँगै ढुंगा खस्न थालेपछि सवारी साधनहरु रोकिएका छन्  भने यात्रुहरु अलपत्र परेका छन् ।  डिभिजन सडक कार्यालय चितवनका सवइन्जिनियर  सुजन थापा मगरका अनुसार यो पूर्ण पहिरो नभई माथिबाट साना/ठूला ढुंगा खस्ने क्रम (रफल) हो । उनले हिजो दिनभर दुईतर्फी सञ्चालनमा आएको सडक आज बिहानै सुख्खा पहिरोका कारण प्रभावित बनेको बताए ।  ‘आज बिहान एकछिन वान वे चलाइएको थियो तर ढुंगा खस्ने क्रम नरोकिएपछि अहिले एकछिनका लागि रोकिएको छ,’ थापाले भने ।  सडकलाई पुनः दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको तर माथिबाट लगातार ढुंगा खस्ने कारणले समस्या भइरहेको उनले बताए ।  ढुंगा खस्न रोकिएपछि मात्र गाडीहरुलाई पालैपालो वान वे र त्यसपछि टु वे सञ्चालनमा ल्याउने योजना रहेको छ ।