मुस्ताङको तापक्रम माइनस २० डिग्री, कर्मचारीले छाडे जिल्ला, विकास निर्माण ठप्प

काठमाडौं । अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँद यामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँच वटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प हुन पुगेका हुन् । उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडक खण्ड अन्तर्गत सडक तथा पुल निर्माण योजना अत्यधिक चिसोका कारण प्रभावित बनेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । अत्यधिक चिसोका कारण विकास निर्माणमा परिचालित उपकरण पनि थन्किन पुग्छन् । पुस अगावै कोरला सडक अन्तर्गत मुस्ताङ खण्डमा आयोजनाको काम स्थगित गरिएको उनले बताए । राष्ट्रिय गौरवको कोरला सडक खण्ड अन्तर्गत मुस्ताङमा चिसोले प्रभावित बनेका पूर्वाधार निर्माणका काम चैत महिनापछि पुनः सञ्चालनमा आउने प्रमुख शर्माको भनाइ छ । उनका अनुसार कोरला सडक अन्तर्गत चालु आवमा ठेक्का सम्झौता भएको (कागबेनी-छुसाङ) ९.८ किमी कालोपत्र सडक स्तरोन्नतिको काम चिसोका कारण रोकिएको छ । कागबेनी-छुसाङ सडक कालोपत्र गर्न आयोजनाले २८ करोड ८७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । आयोजनाअन्तर्गत २०७५ सालमा ठेक्का सम्झौता भएको कोरला नाका जोड्ने एक स्पानको ४० मिटर लामो घमी खोला पुलको काम पनि चिसोका कारण रोकिएको आयोजनाले जनाएको छ । हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्ट्रक्सनले ६ करोड ८० लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरी काम अघि बढाए पनि घमी खोला पुल निर्माणमा ढिलाइ भएको छ । भौतिक प्रगति ८० प्रतिशत पुगेको घमी खोलामा गत असोजमा फाउन्डेसन निर्माण गरी स्लाप ढलान सकेको छ । एप्रोज रोड र पुल फिनिसिङको काम बाँकी रहे पनि अत्यधिक चिसो बढेकाले पुल निर्माणको काम स्थगित हुन पुगेको आयोजना प्रमुख शर्माको भनाइ छ । यसैगरी, कोरलानाका जोड्ने राष्ट्रय गौरवको बेनी-जोमसोम-कोरला सडक अन्तर्गत थासाङ गाउँपालिका-२ कोवाङदेखि घरपझोङ-४ जोमसोमसम्मको १७ किलोमिटर सडक पनि चिसोका कारण अवरुद्ध हुन पुगेको छ । विसं २०७३/७४ देखि ठेक्का सम्झौता भई अस्फाल्ट कालोपत्र सडक निर्माण सुरु गरिएको भए पनि यहाँ निर्माण कम्पनीको ढिलासुस्तीले निर्माणको काम पूरा हुन सकेको छैन । यद्यपि यहाँको सडकमा करिब ५ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । निर्माण कम्पनीले सक्रियता बढाएको भए पुस अगावै निर्माणको काम सकिने आयोजनाको विश्वास थियो । यसैगरी, कोरला सडक अन्तर्गत थासाङ गाउँपालिकामा निर्माणाधीन लार्जुङ खोला पुल र कैकु खोला पुल निर्माणको काम पनि चिसोले प्रभावित भएको आयोजना प्रमुख शर्माले उल्लेख गरे । अत्यधिक चिसोका कारण मुस्ताङमा दर्जनौं सङ्घीय, प्रादेशिक कार्यालय र स्थानीय निकायका विकास योजना ठप्प भएका हुन् । मुस्ताङस्थित पूर्वाधार विकास कार्यालयद्वारा कार्यान्वयनको चरणमा रहेका पुरानो वहुवर्षीय योजना १२ र चालु वर्ष थपिएका १३ नयाँ योजनाको काम चिसोका कारण प्रभावित बनेको पूर्वाधार विकास कार्यालयका सवइञ्जिनियर जगदीश जोशीले जानकारी दिए । सव-इञ्जिनियर जोशीका अनुसार घरपझोङ-२ मार्फास्थित आलबारी जाने सडकमा कटिङको काम भइरहेको भए पनि कार्यालयद्वारा कार्यान्वयनमा रहेका अधिकांश योजना चिसोका कारण स्थगित गर्नुपरेको उनले बताए । पुराना बहु वर्षीय योजना विभिन्न कारणले अवरुद्ध भएका र कतिपय निर्माणको चरणमा रहँदा चिसोले काम हुन सकेको छैन । नयाँ योजनामध्ये तीन बहुवर्षीय योजनाको प्रक्रियामा रहेको र कतिपय ठेक्का प्रक्रियामा छन् । ठेक्का सम्झौता भई सुरु भएका नयँ योजना पनि हिउँदयाम भएकाले पूर्वाधारको काम अघि बढाउन नसकिएको सवइञ्जिनियर जोशीको भनाइ छ । मुस्ताङमा अत्यधिक चिसो बढेसँगै खानेपानी, जलस्रोत तथा सिँचाइ सव-डिभिजन कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), एकीकृत सेवा कार्यालयलगायत मुस्ताङका पाँच स्थानीय तह र विभिन्न सङ्घसंस्थाको भौतिक पूर्वाधार निर्माणलगायत काम चिसोले प्रभावित बनेको हो । विकास निर्माण कार्य अन्तर्गत यहाँका प्रत्येक स्थानीय तहमा ५० भन्दाबढी साना ठूला पूर्वाधार योजना कार्यान्वयनमा छन् । तर यी सबै योजना अत्यधिक चिसोका कारण ठप्प बनेका छन् । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनुर्ब गुरुङले बर्सेनि हिउँदयामको मौसममा चिसो र सम्भावित हिमपातको जोखिमले विकास निर्माण काम चाहेर पनि गर्न नसक्ने अवस्था रहेको बताए ।  ‘हिउँदयाममा यहाँका नागरिक पूरै जाडो छल्न बेँसी झर्छन्, यहाँका चिसोमा काम गर्नलाई पनि चिसोले उस्तै समस्या हुन्छ,’ अध्यक्ष गुरुङले भने, ‘चिसो घटेपछि वैशाख महिनामा विकास निर्माणको काम अघि बढाउन सकिन्छ, चिसोले यहाँका स्थानीय नागरिक स्वयं प्रभावित हुन्छन् ।’ चिसोका कारण घरपझोङ, थासाङ, लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा सञ्चालित सबै विकास योजना ठप्प बनेको बताइएको छ । अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री र तल्लो मुस्ताङको तापक्रम माइनस १० डिग्रीमा झरेको छ । माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङका अधिकांश सरकारी कार्यालयका कर्मचारी पनि जिल्लामा बस्न छाडिसकेका छन् ।  मुस्ताङमा चिसो अत्यधिक बढे पनि तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी सम्बन्धित कार्यस्थलमा रहेर शान्तिसुरक्षा प्रदानमा खटिएका छन् । माथिल्लो मुस्ताङ मानविहीन जस्तै अवस्थामा रहे पनि त्यहाँ कार्यरत दुर्गमका कर्मचारी नागरिकको रित्तो घर गाउँ कुरेर बसेका छन् । 

ओखरपौवा तीन पिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ओखरपौवा तीन पिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने भएको छ । कूल २२० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको तयारी गरेको छ । प्राधिकरणको स्वामित्वमा रहेको त्रिशूली थ्री बी हब मातातीर्थ प्रसारण लाइन आयोजनाको टावर नम्बर ३७ बाट ट्यापिङ गरी नयाँ प्रसारण लाइन निर्माण गर्न लागेको छ । सो प्रसारण लाइन काठमाडौंको तीन पिप्लेमा जोडिनेछ । तीन पिप्लेमा प्राधिकरणले सवस्टेशन निर्माण गरिरहेको छ । सो प्रसारण लाइन धादिङको धुनीबेंसी, नुवाकोटको ककनी र काठमाडौँको तारकेश्वरको तीन पिप्लेसम्म निर्माण हुने हुनेछ । सो प्रसारण लाइन र सवस्टेशन आयोजना कार्यान्वयन गर्दा आयोजना प्रभावित  क्षेत्रको भौतिक तथा रासायनिक वातावरणीय, सामाजिक आर्थिक तथा सांस्कृतिक वातावरणमा क-कस्तो प्रभाव पर्दछ भनी अध्ययन गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्रारम्भिक अध्ययन भइसकेको वातावरणीय परीक्षण प्रतिवेदनको मस्यौदाका आधारमा सरोकारवालाको आवश्यक सुझावका आधारमा थप समृद्ध बनाउन लागिएको हो । प्राधिकरणले आज धुनीबेँसी नगरपालिका-१ सिम्खडा गाउँमा सार्वजनिक सुनुवाइ गर्ने कार्यक्रम तय गरेको छ । सोमबार तारकेश्वर नगरपालिकाको कोट गाउँमा सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको प्राधिकरणले जनाएको छ । सार्वजनिक सुनुवाइका क्रममा उठेका विषयवस्तुलाई प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा समावेश गरिने प्राधिकरणको प्रष्टोक्ति छ । 

सडक सञ्जालमा जोडिँदै गुर्जा, बेनी–पोखरा यात्रा सहज हुने

म्याग्दी । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा प्रचलित यो भनाइले धवलागिरि गाउँपालिका–१ मा रहेको गुर्जाको विकटतालाई झल्काउँछ । हालसम्म विकट र दुर्गम बस्तीका रूपमा चिनिएको गुर्जालाई चालु आर्थिक वर्षभित्र नै सडक सञ्जालमा जोड्ने लक्ष्यसहित धवलागिरि गाउँपालिकाले योजना निर्माण सुरु गरेको छ । लुलाङ–गुर्जा सडक योजनामार्फत चालु आर्थिक वर्षमा थप करिब चार किलोमिटर ट्र्याक (मार्ग) बनाएर गुर्जालाई यातायात सञ्चालसँग जोड्न लागिएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । 'आर्थिक वर्ष २०७९/८० देखि सुरु भएको लुलाङ–गुर्जा धवलागिरि गाउँपालिकाको गौरवको प्राथमिकता प्राप्त योजना हो,' उनले भने, 'यसअघिका तीन वर्षमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको लगानीमा लुलाङदेखि भैसीमानेसम्म करिब १८ किलोमिटर सडकको मार्ग खुलेको थियो ।' चालु आर्थिक वर्षमा रु एक करोड ७० लाख बजेट विनियोजन गरेको योजनामार्फत छनोट भएको ठेकेदार कम्पनी लुलु कन्स्ट्रक्सनले भैसीमाने खाल्टादेखि झिरसो भन्ने ठाउँसम्म करिब एक किलोमिटर मार्ग खोलिसकेको छ । यसै महिनामा रु ८८ लाख ८५ हजारमा ठेक्का सम्झौता भएको थियो । थप चार किलोमिटर सडकको मार्ग खुलेमा गुर्जा यातायात सञ्जालमा जोडिने धवलागिरि गाउँपालिका–१ का वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताए । 'दुई वर्षअघि सम्म गुर्जादेखि लुलाङ पुग्न पूरै दिन भिर, जङ्गल र खोल्साको उकालो, ओरालो पैदलयात्रा गर्नुपर्ने अवस्था थियो,' उनले भने 'हाल गाडी पुग्ने झिरसोदेखि ३० मिनेट पैदलयात्रा गरेर गुर्जा पुगिन्छ ।' गाडी चल्न थालेपछि गुर्जाबाट दुई घण्टा ३० मिनेटमा गाउँपालिकाको केन्द्र मुना, पाँच घण्टामा बेनी र सात घण्टामा पोखरा पुग्न सकिने भएको वडाअध्यक्ष छन्त्यालले बताए । सडकको मार्ग खोल्नाका साथै विभिन्न ठाउँमा ग्यावियन, मेसिनरी र पलम पर्खाल पनि निर्माण भएको छ । मार्ग खुलेको सडकको ग्रेड, घुम्ती मिलाउन, साँघुरो ठाउँमा फराकिलो पार्न, पक्की नाला बनाउन चालु आर्थिक वर्षमा सङ्घीय सरकारको सहरी विकास मन्त्रालयबाट रु. तीन करोड र गण्डकी प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको छ । गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी, बिरामीलाई समयमा नै अस्पताल पुर्‍याउन सहज भएको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छवटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एक मात्र वडा हो । एउटै बस्ती एकै वडामा समेटिएको दुई ६५ घरधुरी रहेको गुर्जाको जनसङ्ख्या एक हजार ५०५ जना छ । खानी उत्खननका लागि आएका छन्त्याल र दलित समुदायले गुर्जामा बस्ती बसाएको इतिहास छ । सडकको पहुँच नहुँदा खच्चड, घोडा र भरियामार्फत खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्दा खर्च महँगो लाग्ने गरेको छ । बिरामीलाई अस्पताल पुर्याउन हेलिकप्टर चार्टर गर्नुपर्छ । सडक यातायातको सुविधा भएपछि गुर्जाका बासिन्दालाई सहज हुनाका साथै आन्तरिक पर्यटकको आगमन पनि बढ्ने अपेक्षा गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । रासस