सेयर बापतको रकम चुक्ता गर्न अमादब्लम मिनि हाईड्रोको ताकेता, नतिरे सेयर खारेज गर्ने
काठमाडौं । अमादब्लम मिनि हाईड्रोले बाँकी रकम जम्मा गर्न सेयरधनीहरूलाई ताकेता गरेको छ । कम्पनीका संस्थापक सेयरधनीहरूलाई तेस्रो पटक सूचना पठाउँदै सेयर बापतको बाँकी रकम भुक्तानी गर्न ताकेता गरेको हो । कम्पनी ऐन, २०६३ को दफा ५३ (२) बमोजिम अमादब्लम मिनि हाईड्रोको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार सेयरधनीहरूलाई प्रतिकित्ता १ सय रुपैयाँका दरले कबुल गरेको सेयर बापतको बाँकी रकम भुक्तानी गर्न भनिएको छ । आफूले कबुल गरेको सेयर बापतको रकम चुक्ता गर्न कम्पनीले सेयरधनीहरूलाई ३५ दिनको समय दिएको छ । यदि उक्त अवधिभित्र रकम भुक्तानी नगरेमा कम्पनी ऐन, २०६३ को दफा ५३ (३) बमोजिम र कम्पनीको नियमावलीमा भएको व्यवस्था अनुसार सेयर जफत (खारेज) गर्ने र आवश्यक कारबाही अगाडि बढाइने कम्पनीले चेतावनी दिएको छ । कम्पनीका अनुसार लक्ष्मण अधिकारीको नाममा ७ लाख कित्ता सेयर रहेको छ । उनले कम्पनीलाई ६ करोड ४४ लाख ९० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यस्तै, फुथुण्डु शेर्पाको नाममा १ लाख ५० हजार कित्ता सेयर रहेको छ । उनले कम्पनीलाई ९२ लाख ९० हजार भुक्तानी बाँकी छ । बेयुल हाइड्रो पावर इन्भेष्टमेन्ट प्रालिको नाममा १ लाख ९६ हजार कित्ता सेयर छ भने ३ लाख ९० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कम्पनीले जनाएको छ । आङ पासाङ शेर्पा, पेम्वा थुण्डु शेर्पा र लाक्पा डोमा शेर्पाको नाममा समान १ लाख ५० हजार कित्ता सेयर छ । उनीहरुले कम्पनीलाई १ करोड ४० लाख रुपैयाँका दरले भुक्तानी गर्न बाँकी रहेको छ । यस्तै, डोमा छिरी शेर्पाको नाममा ४ हजार कित्ता सेयर रहेको छ । उनले ३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कम्पनीले जनाएको छ ।
म्याग्दीको धारापानी-झिनडाडा सडक कालोपत्र गरिदैं, ५८ प्रतिशत भौतिक प्रगति
काठमाडौं । एक दशकअघि मार्ग खुलेको म्याग्दीको धवलागिरी गाउँपालिका-७ धारापानीदेखि ताकम-शिवाङ हुँदै झिनडाडा खण्डको सडक स्तरोन्नतिले गति लिएको छ । मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी-दरवाङ-धारापानी-ताकम-मुना सडक अन्तर्गत धारापानीदेखि झिनडाडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो । आर्थिक वर्ष २०७०/७१ मा मार्ग खुले पनि अहिले आएर स्तरोन्नति सुरु गरिएको धवलागिरी गाउँपालिका-७ का अध्यक्ष अशोक खत्रीले बताए । हाल धारापानी र ताकम गाउँमा पर्ने सडक पक्की बनाउने गरी काम भइरहेको उनको भनाइ छ । धारापानीमा विसं २०६६ मा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाको ५ वटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । ४ किलोमिटर दुरीको यो सडक स्तरोन्नतिका लागि विसं २०८१ जेठ २० गते रामसागर-बिएस धौलागिरि जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच १४ करोड ६१ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । कार्यालयका प्रमुख बिष्णुप्रसाद पौडेलले २ वर्षको ठेक्का अवधि भएको योजनाको हालसम्म ५८ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । ८ मिटरका दरले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुगेको सडक चालु आर्थिक वर्ष भित्रनै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । बर्खा याममा पनि सडक निर्माण भएको थियो । यो सडक हाल ४ देखि ५ मिटर फराकिलो छ । म्याग्दीदेखि ढोरपाटन हुँदै पुर्वी रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पर्ने बनाइएको छ । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले यो सडक आयोजनाअन्तर्गत झिनडाडादेखि मुनातर्फ र हालै ग्राभेल भएको दरवाङ-धारापानी खण्डमा कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश र सङ्घीय सरकारको लागत साझेदारीमा १ अर्ब रुपैयाँ बजेटको आयोजनाको गत असारमा ठेक्का सम्झौता भएको जानकारी दिए । धवलागिरिको केन्द्र मुनादेखि खोरीया, मरेनी हुँदै ढोरपाटनको जलजला गत असारमा सडकले जोडिएको थियो । ढोरपाटनदेखि जलजलासम्म यसअघिनै सडक निर्माण भइसकेको छ ।
बिदाका दिन पनि सडक तथा पुल निरीक्षणमा निस्किए मन्त्री घिसिङ’
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बीपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गरेका छन् । सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भएका मन्त्री घिसिङ बडादसैँ पर्वको बिदाका अवसरमा पनि सम्बद्ध मन्त्रालयका प्राविधिक तथा उच्च अधिकारीलाई साथमा लिई स्थलगत निरीक्षणसहित निर्देशन दिए । उनले काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लामा पर्ने महत्वपूर्ण सडक खण्डका बिग्रे भत्केका भौतिक संरचना र अलपत्र अबस्थामा रहेका पुल तथा पूर्वाधारहरूको निरीक्षण गरी सम्बद्ध अधिकारीहरूलाई आवश्यक निर्देशन दिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । सङ्घीय राजधानी काठमाडौंबाट बीपी राजमार्ग हुँदै गृहजिल्ला रामेछाप आउनुभएका मन्त्री घिसिङले बीपी राजमार्गसहित खैरेनी घाटको पुल र निर्माणाधीन मध्यपहाडी लोकमार्गको कार्य प्रगतिका बारेमा जानकारी लिए । बाढी पहिरोलगायतका कारण बिग्रे भत्केका संरचनाहरूको अस्थायी रुपमा भने पनि जतिसके छिटो मर्मत गर्नुपर्ने बताउँदै उनले भत्केका पक्की पुलहरूको स्थानमा ‘बेली बृज’ र ‘कल्भटर्’ निर्माण गर्न र सडकमा देखिएका खाल्टाखुल्टी पुरी सहजरूपमा यातायात सञ्चालन तथा व्यवस्थापन गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएको बताए ।