माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाबाट आयोजना प्रभावितलाई सीपमूलक तालिम सुरु

काठमाडौं ।  रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका घरपरिवारका सदस्यहरूको स्वरोजगार, रोजगारी तथा सीप अभिवृद्धि गर्दै स्थानीय जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यले सीपमूलक तालिम कार्यक्रम सुरु गरेको छ । आयोजनाबाट पहिलो चरणमा रसुवाको राम्चे, कालिकास्थानलगायतका गाउँका आयोजना प्रभावित ४० जनालाई तालिम प्रदान गर्न सुरु गरिएको छ । आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि.ले कालिका गाउँपालिकासँगको सहकार्यमा सञ्चालन गरेको उक्त तालिमको मंगलबार वडा नं १ कार्यालयमा आयोजित कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरिएको छ । आयोजना प्रभावित घरपरिवारको आवश्यकता, माग तथा सम्भाव्यताको आधारमा २० जनालाई केयर गिभर र २० जनालाई होटल सञ्चालन सम्बन्धी तालिम प्रदान गर्न सुरु गरिएको हो ।  आगामी चरणमा आयोजनाबाट प्रभावित पालिका अन्य वडाहरूमा समेत क्रमशः तालिम कार्यक्रम विस्तार गरिनेछ । समग्रमा यस कार्यक्रममार्फत आयोजना प्रभावित समुदायका करिब ३७० जनालाई सीपमूलक तालिम दिने लक्ष्य राखिएको छ ।  उद्घाटन कार्यक्रममा कालिका गाउँपालिका वडा नं.१ का अध्यक्ष दावा तामाङले मागमा–आधारित र वडास्तरमै सञ्चालन गरिएको तालिमबाट स्थानीय सहभागिता सहज बनाएको उल्लेख गरे । यस किसिमका कार्यक्रमले स्थानीय स्तरमै दक्ष जनशक्ति विकासमा महत्वपूर्ण योगदान पुर्याउने  बताउँदै उनीहरुले तालिम अवधिभर सक्रिय सहभागिता जनाई सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे ।  कार्यक्रममा नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिका प्रमुख सञ्चालन अधिकृत सङ्घी माले सीपमूलक तालिममार्फत आयोजना प्रभावित घरपरिवारको सामाजिक तथा आर्थिक अवस्था सुदृढ बनाउनेतर्फ कम्पनी प्रतिबद्ध रहेको बताए ।  उनले आयोजनाको सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत आयोजना प्रभावित गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउनुका साथै संस्थागत सामाजिक उत्तरदायित्व र आदिवासी समुदाय योजना कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, संस्कृति संरक्षण, राहत वितरण, जीविकोपार्जन तथा आयआर्जन अभिवृद्धि लगायतका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिए ।  सन् २०१८ मा गरिएको माग–आधारित मूल्यांकन आधारमा प्रभावित क्षेत्रमा सञ्चालन गरिने विभिन्न तालिम कार्यक्रम तय गरिएको थियो । अद्यावधिक घरधुरी सर्वेक्षण, द्रुत बजार मूल्यांक तथा स्थानीय माग विश्लेषणका आधारमा हाल ती तालिम कार्यक्रमहरू परिमार्जन गरिएको छ ।  प्रारम्भिक बाल विकास सहजकर्ता मेसन, वेटर, बेकरी, कुक, सिलाइकटाइ, ब्युटी पार्लर, हाउसकिपिङ लगायतका तालिमहरू समुदायको रुचि र वर्तमान बजार आवश्यकतासँग मेल खाने गरी तय गरिएका छन् । यी कार्यक्रमहरू रोजगारी, स्वरोजगारी तथा आयआर्जन प्रवद्र्धनमा केन्द्रित छन् ।  सरकार र कम्पनीबीच भएको आयोजना विकास सम्झौता (पिडिए) बमोजिम आयोजनाल नेपाल रोजगार तथा सीपमूलक तालिम योजना तय गरी सोही बमोजिम आयोजना प्रभावित क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरिएको छ ।  कोरियन कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमार्फत रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकु क्षेत्रमा आयोजनाको बाँध लगायतका संरचनाहरू तथा उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युतगृह लगायतका संरचनाहरू निर्माणाधीन छन् । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली–१ आयोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो जलविद्युत आयोजना हो ।  आयोजनाको मुख्य निर्माण कार्य २०७८ साल पौष महिनादेखि सुरु गरिएको हो । हाल भूमिगत विद्युतगृह, मुख्य सुरुङ, बाँध लगायतका सम्पूर्ण संरचनाहरू तीव्र गतिमा निर्माण भइरहेको छन् । आयोजनाको समग्र भौतिक प्रगति ७४ प्रतिशत पुगेको छ । आयोजनाको निर्माण कार्य २०८३ साल मंसिर महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

८ करोडका बनेको हुलाकी राजमार्गको निर्माणाधीन पुल अन्तिम चरणमा

राँझा । नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन चार लेन पुल अन्तिम चरणमा छ । पुल निर्माण सम्पन्न गर्ने सम्झौता २०८३ वैशाख १८ गतेसम्म भए पनि निर्माणको गति हेर्दा समयावधिभन्दा अगावै पुल निर्माण हुने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए । उनले भने, खजुरावासीले भोगिरहेको लामो समयदेखिको सास्ती अबको केही समयमै अन्त्य हुनेछ, निर्माण कम्पनीले तोकिएको समयभन्दा अगावै सम्पन्न गर्नेगरी काम अघि बढाएको छ ।' काम छिटो गर्ने नाममा गुणस्तरमा सम्झौता नहोस् भन्नका लागि हुलाकी राजमार्ग निर्देशनालयले नियमित रूपमा कार्यस्थलमै पुगेर अनुगमन गरिरहेको छ । नेपालगन्ज–गुलरिया सडक खण्डकै लाइफ लाइन मानिने यो पुलले बाँके र बर्दियाको आवागमनलाई थप सहज र सुरक्षित बनाउने विश्वास गरिएको छ । नयाँ निर्माण गर्न लागिएको पुल २२ मिटर चौडाइ र ३४।४ मिटर लम्बाइको छ । पुलको दुवैतर्फ दुई सय मिटर एप्रोच सडक पनि निर्माण गरिनेछ । नारायणम निर्माण सेवासँग २०८३ वैशाख १८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी भ्याटसहित आठ करोड ९६ लाखमा ठेक्का सम्झौता भएको थियो । खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले खजुरावासीको निरन्तरको पहलले यो काम सम्भव भएको उल्लेख गर्दै भने, 'खजुरावासीको लामो समयदेखिको सपना पूरा हुँदैछ, निर्माण कम्पनीको काम गर्ने शैलीबाट हामी सबै उत्साहित छौँ ।' उनका अनुसार खजुराका स्थानीय बासिन्दामात्र होइन, यहाँबाट दैनिक ओहोरदोहोर गर्ने यात्रुहरू पनि पुल निर्माणको गति देखेर खुसी छन् । वर्षाको समयमा नाला थुनिएर सडकमा पानी आउँदा घण्टौँसम्म यातायात अवरुद्ध हुने समस्या अब इतिहास बन्नेछ । खजुरामा चार लेन सडक भए पनि वर्षौँ पहिले निर्माण भएको साँघुरो र जीर्ण पुल भएका कारण सानो वर्षातमा समेत नालाको पानी सडक भएर बग्दा बर्षायाममा आवागमन प्रभावित हुने गरेको थियो । रासस

सुपर खुदी हाइड्रोको आईपीओमा आवेदन दिने समय लम्बियो

काठमाडौं । सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय लम्बिएको छ । पुस २२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले अब माघ २१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये १५ करोड ५० लाख रुपैयाँको १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई बिक्री गर्नेछ । स्थानीयलाई छुट्याएको सेयरमध्ये ४० प्रतिशत अर्थात् ६ लाख २० हजार कित्ता लमजुङको आयोजना प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिका–२ र ३ का बासिन्दा र ६० प्रतिशत अर्थात् ९ लाख ३० हजार कित्ता मर्स्याङ्दी गाउँपालिका–१, ४, ५, ६, ७, ८ र ९ का बासिन्दालाई बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम बैंकको बेसीशहर शाखा र हिमालयन बैंकको भुलभुले शाखाबाट आवेदन दिन सक्नेछन् ।