वर्षाका कारण २ दर्जन सडकमा क्षति, खुलाउन ३ दिन लाग्ने, कुन-कुन सडक हुन् ?

काठमाडौं । अविरल वर्षाका कारण दुई दर्जन सडकमा क्षति पुर्याएको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, दमकका अनुसार वर्षाका कारण पूर्वका दुई दर्जन बढी सडकमा क्षति पुर्याएको जनाएको छ ।  कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार सामान्य पहिरो गएका ठाउँमा तत्काल पच्छ्याएर सवारी साधन सुचारु गरिएको छ । साथै, केही स्थानमा पहिरो पच्छ्याउन ३ दिनसम्म समय लाग्न सक्ने कार्यालयले जनाएको छ ।  कुन-कुन सडक भए अवरुद्ध ? सडक डिभिजन कार्यालय हर्कपुर अन्तर्गत रहेकाे हर्कपुर-ओखलढुंगा-सोलु, हलेसी-दिक्तेल-चखेवा सडक खण्डमा सामान्य पहिरो गएको छ । पहिरो पच्छ्याएपछि उक्त सडक खण्डमा सवारी आवागमन सुरू भएकाे जनाएकाे छ । आयोजना कार्यालय कटारी अन्तर्गत मिर्चिया-कटारी-घुर्मी सडक खण्डकाे ६४ किलोमिटर नजिकै पहिरो जाँदा अवरुद्ध भएको छ । पहिरो पच्छ्याउने काम जारी रहेको र एक दिन समय लाग्ने जनाएको छ । आयोजना कार्यालय गाईघाट अन्तर्गत रहेकाे गाईघाट-दिक्तेल सडक खण्डको ३७ किलोमिटरदेखि ४५ किलोमिटरसम्मको क्षेत्रमा पहिरो जाँदा अवरुद्ध भएको छ । सडक खुलाउन १ दिन लाग्ने जनाएको छ ।    सडक डिभिजन लहान अन्तर्गत बसाहा-चतारा सडक खण्ड जलमग्न भएको छ । जलमग्न सडकमा पानी व्यवस्थापनको काम भइरहेको छ ।  यस्तै, कदमाहा-गाईघाट सडक खण्डमा सामान्य पहिरो झरेको छ । पहिरो पच्छ्याएपछि सवारी आवतजावत सुचारु भइरहेको छ ।  सडक डिभिजन विराटनगर अन्तर्गत कान्छी बजार-चतारा सडक खण्डमा रुखहरू ढलेका छन् । रुख हटाएपछि उक्त सडक सुचारु भएको छ ।  यस्तै, चतारा बराहा क्षेत्र सडक खण्डको बराह नजिक र धरान-भेडेटार सडक खण्डको निशाने खोला नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको छ । पहिरो पच्छ्याउने काम जारी छ । चतारा बराहा क्षेत्र सडक खुल्न ३ घण्टा र धरान-भेडेटार सडक खण्ड खुल्न २ घण्टाको समय लाग्नेछ ।  सडक डिभिजन धनकुटा अन्तर्गत भेडेटार-मूलघाट सडक खण्डमा ४ ठाउँमा पहिरो गएको छ । पहिरो पच्छ्याएपछि सवारी आवागमन सुचारु भएको छ । यस्तै, पाख्रिबास-लेगुवा सडक खण्डमा ६ ठाउँमा पहिरो गएको छ । पहिरो पच्छ्याएर एकतर्फी सवारी आवतजावत भइरहेको छ ।  सडक डिभिजन तुम्लिङटार अन्तर्गत लेगुवा-खाँदबारी सडक खण्डमा खेवा खोला र लेगुवा-भोजपुर सडक खण्डमा चखेवा खोलामा पहिरो गएको छ । पहिरो पच्छ्याएपछि उक्त सडक खुलेको छ ।  सडक डिभिजन इलाम अन्तर्गत जोर कलश फिक्कल सडक खण्डमा पहिलो झरेको छ । पहिरो पच्छ्याएर एकतर्फी सडक सञ्चालन गरिएको छ ।  यस्तै, फिक्कल-गोदाक सडक खण्डमा ठूलो पहिरो जाँदा अवरुद्ध भएको छ । उक्त सडक खुलाउन १ दिन समय लाग्नेछ । यस्तै, माइखोला पुल र माइखोला-राजद्वाली सडक खण्ड बन्द भएको छ । सडक खुलाउन ३ दिन समय लाग्नेछ । यस्तै, इलाम-धोवीधारा सडक खण्ड भासिएको छ । उक्त सडक खुलाउन १ दिन समय लाग्ने जनाएको छ । यस्तै, धोवीधारा-नेपालटार सडक खण्डमा पुवा खोला नजिकै सडक भासिएको छ । सडक खुलाउन २ दिन समय लाग्नेछ ।  यस्तै, नेपालटार-राके सडक खण्ड, राके-फिदिम सडक खण्डमा पहिरो झरेको छ । सडक सुचारु गर्न २ दिन समय लाग्नेछ । यस्तै, मेची करिडोरमा विभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ । उक्त सडक सुचारु गर्नका लागि कति समय लाग्ने भन्ने एकिन हुन सकेको छैन ।  तमोर कोरिडोर मूलघाट अन्तर्गत मूलघाट-सुभङ खोला सडक खण्डमा मेवा र चोरुवा खोलामा बाढी आएका कारण अवरुद्ध भएको छ । सडक खुलाउन २ दिन समय लाग्नेछ । 

लामो समयदेखि प्रभावित प्रसारण लाइन निर्माण सुरु

काठमाडौं । लामो समयदेखि प्रभावित रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत प्याकेज-३ को काम पुनः सुरु भएको छ । आयोजना र निर्माण व्यवसायीबाट संयुक्त रुपमा प्रसारण लाइन निर्माण क्षेत्रको भ्रमण गरी जग्गा अधिग्रहण र वन क्षेत्रको प्रयोगमा रहेको समस्या सम्बोधनको पहल गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख बिरुवा हटाउनका लागि आयोजनाले सम्बन्धित निकायहरूसँग आवश्यक परामर्श, समन्वय र सहजीकरण गरिरहेको भण्डारीको भनाइ छ । वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख बिरुवा हटाउन स्वीकृती नपाउँदा प्रसारण लाइन निर्माण प्रभावित भएको थियो । दमौली भरतपुर २२० केभी प्रसारण लाइनअन्तर्गत चितवनमा प्रसारण लाइन निर्माण गर्दा प्रयोग भएको वन क्षेत्रको जग्गा सट्टाभर्ना उपलब्ध गराउने विषयमा वन नियमावलीमा भएको व्यवस्था बमोजिम हालै चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जग्गा प्राप्ति सहजीकरण समितिको बैठक बसेको थियो । बैठकमा चितवन जिल्लामा प्रसारण लाइन निर्माण गर्दा प्रयोग गरिने जग्गा सट्टाभर्ना उपलब्ध गराउने प्रयोजनार्थ राष्ट्रिय वनसँग जोडिएको, सम्भव भएसम्म समान भौगोलिक र पारिस्थितिकीय क्षेत्र रहेको, वन विकास गर्न सकिने भूबनावट भएको तथा एकै स्थानमा रही एक आपसमा जोडिएको चक्लाबन्दी भएको निजी जग्गा नेपाल सरकारको नाममा रजिस्ट्रेसन पास गर्ने गरी जग्गा बिक्री गर्न गराउन इच्छुक जग्गाधनीलाई पुनः सार्वजनिक सूचनामार्फत आह्वान गर्ने निर्णय भएको छ । समितिको बैठकबाट सट्टा भर्नाका लागि आयोजनालाई आवश्यक पर्याप्त जग्गा प्राप्त हुन नसकेको ब्यहोरो वन तथा भू-संरक्षण विभागलाई र वन नियमावलीमा भएको व्यवस्था बमोजिम जग्गा प्रयोग गरेबापतको रकम जम्मा गर्न आयोजनालाई सिफारिस गर्ने निर्णय भएको जनाइएको छ ।  प्रसारण लाइन निर्माणतर्फ हालसम्म ७४ प्रतिशत प्रगति भएको छ । प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ७८ वटा टावरको जग हाल्ने र ६९ वटा टावर जडान सम्पन्न भइसकेको छ । २२ वटा टावरहरूको जग संरक्षण सम्पन्न भएको र दुई स्थानमा जारी रहेको भण्डारीले बताए ।  केइसी इन्टरनेशनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ । प्रसारण लाइन निर्माणको काम सन् २०२२ मे सम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड १९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृती वन मन्त्रालयबाट प्राप्त हुन ढिलाई हुँदा सम्झौताको म्याद थप गरिएको थियो । प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी ५ आना) जग्गा अधिग्रहण गरिनेछ । तनहुँतर्फ व्यास नगरपालिका-१३ र १४, बन्दीपुर गाउँपालिका-६, आँबुखैरेनी गाउँपालिका-६, देवघाट गाउँपालिका-४ र ५ मा पर्ने जग्गा अधिग्रहण गरिने आयोजनाले जनाएको छ ।

गुल्मीको पश्चिमी क्षेत्रमा एकैपटक ४ पक्की पुल निर्माण, नागरिकमा खुसी

गुल्मी । गुल्मीमा मदन भण्डारी राजमार्ग योजना कार्यालयअन्तर्गत पश्चिमी क्षेत्रमा चार पक्की पुल निर्माणसँगै त्यस क्षेत्रका नागरिकलाई यतिबेला ठूलो खुसी मिलेको छ । यस पटकदेखि चाडबाडको समयमा खोला तरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता लामो समयको प्रतीक्षापछि सधैँका लागि टरेको छ । जिल्लाको इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका र मालिका गाउँपालिका क्षेत्रभित्र रहेका खोलामा चारवटा पक्की पुल निर्माण भएसँगै त्यस क्षेत्रमा नागरिक निकै खुसी बनेका छन् । दसैँ, तिहार जस्ता चाडबाडको समयमा घरमा आउँदा सधैँ खोला तर्नुुपर्ने चिन्ताले पिरोलिरहने त्यस क्षेत्रका नागरिकले पुल बनेपछि सहज तरिकाबाट यात्रा गर्न पाएका छन् । उक्त क्षेत्रमा लामो समयको प्रयासपछि आर्थिक वर्ष २०८१/८२ मा एकै पटक चार पक्की पुल निर्माणसम्पन्न भएर सञ्चालनमा आएका हुन् । सञ्चालनमा आएका पक्की पुलमा फूलबारी खोला, घमिर खोला, हुलाके खोला र धनार्जी खोला गरी चारवटा रहेका छन । निर्माणसम्पन्न गरिएका पुलमा फूलबारी खोलाको पुल रु तीन करोड ३२ लाख ६८ हजार र घमिर खोला पुल रु तीन करोड १३ लाख ८४ हजारमा निर्माण सम्पन्न गरिएको हो । उक्त पुल निर्माणको काम पन्थ निर्माण सेवाद्वारा गरिएको थियो । त्यसैगरी सुनिल समिर निर्माण सेवाद्वारा हुलाके खोला पुल रु पाँच करोड ७९ लाख ५३ हजार र धनार्जी खोला पुल रु सात करोड ४८ हजार लागतमा निर्माणसम्पन्न भएकोे मदन भण्डारी राजमार्ग योजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी होमनाथ पौडेलले जानकारी दिए । मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारी सडक खण्डमा खोलामा पक्की पुल नहुँदा वर्षातको समयमा त्यस क्षेत्रका नागरिकले ठूलो समस्या भोग्दै आउनुपरेको स्थानीय कृष्णप्रसाद अर्यालले बताए । पुल नहुँदा वर्षौंदेखि खोलाको बीचबाट सवारीसाधन सञ्चालन गर्नुपर्ने बाध्यता थियो । वर्षातको समयमा बाढी आउँदा कतिपय सवारीसाधन खोला तर्ने क्रममा बीचैमा अड्किने र कतिपय समयमा बाढीले बगाउने जस्ता समस्या झेल्नुपर्ने अवस्था थियो । त्यसकारण यात्रुलाई वर्षौंदेखि आवत–जावत गर्न सास्ती व्यहोर्दै आउनुपरेको थियो । पुल निर्माण नहुँदा उक्त क्षेत्रका राजनीतिक दल र नेतृत्वले समेत नागरिकबाट पटकपटक ठूलै आलोचना खेप्नुपरेको थियो । अहिले चारवटा पक्की पुल एकैचोटि निर्माणसम्पन्न भएर सहज रुपमा सवारीसाधन सञ्चालन भएपछि त्यस क्षेत्रका नागरिक निकै खुसी बनेको इस्मा–१ गुरुवाका स्थानीय दधिराम पन्थीले बताए । उक्त पक्की पुल निर्माण भएपछि जिल्लाको पश्चिमी क्षेत्रका चार स्थानीय तहसँगै बागलुङ र प्यूठानसम्मका नागरिकलाई समेत सहज बनेको मालिका–६ का पूर्ववडाध्यक्ष शोभाखर गिरीले बताए । 'पुल नहुँदा नागरिकले लामो समयदेखि पटकपटक समस्या र दुर्घटनाको जोखिम व्यहोर्दै आउनुपर्ने बाध्यता जस्तै बनेको थियो, अब खोलामा पक्की पुल बनेपछि विगतका समस्या समाधान गरिदियो, कालोपत्र सडकसँगै पुल निर्माण भएपछि यस क्षेत्रमा विकासले पनि नयाँ आयाम थप्ने भएको छ', गिरीले भने । तम्घास–सिमलटारी खण्डमा सडक र पुल निर्माण भएपछि छल्दी पनाहा, झरना, हुलाके, धनार्जी, चौरासी, राङ्दल, फुलबारी, सिमलटारीलगायतका स्थानमा व्यापारिक चहलपहल बढ्न थालेको इस्मा–६ का अगुवा कृषक कृष्णप्रसाद घिमिरेले बताए । जिल्लाको आधाजसो जनसङ्ख्या ओगटेको पश्चिमी क्षेत्रमा पुल निर्माण भएसँगै त्यस क्षेत्रका नागरिकमा सहज यात्रासँगै थप खुसी पनि थपिएको छ । रासस