१९ अर्ब लागतको नागढुङ्गा सुरुङमार्ग उद्घाटन, यात्रा छोटिने

काठमाडौं । ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन गरिएको छ । सोमबार एक विशेष कार्यक्रमको आयोजना गरी पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिको, नेपालका लागि जापानी राजदूत माएदा तोरु, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल तथा सडक विभागका महानिर्देशक डा. विजय जैसीले संयुक्त रूपमा रिबन काटेर सुरुङमार्गको उद्घाटन गरेका हुन् ।

सुरुङमार्ग उद्घाटनका क्रममा ब्राह्मणहरूले स्वस्तिवाचनसहित पूजापाठसमेत गरेका थिए । उद्घाटन कार्यक्रममा मन्त्री लम्सालले नेपालतर्फको शिलालेखको अनावरण गरेका थिए भने जापानी राजदूत र जाइकाका अध्यक्षले संयुक्त रूपमा जापानतर्फको शिलालेखको अनावरण गरेका थिए । उद्घाटनसँगै नेपालकै पहिलो सुरुङमार्ग सञ्चालनमा आएको छ । उद्घाटनपछि मन्त्री लम्सालसहितको टोलीले सुरुङमार्गको यात्रा पनि गरेको छ।

जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा सुरुङमार्गको निर्माण सम्पन्न भएको हो । यस आयोजनाको कुल लागत करिब १९ अर्ब रुपैयाँ रहेको छ । मुख्य सुरुङको लम्बाइ २ दशमलव ६८ किलोमिटर रहेको छ । यद्यपि सुरुङभित्रको निकास मार्ग (इभ्याकुएसन टनेल) र क्रस–प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाइ करिब ५ दशमलव ५ किलोमिटर पुग्छ । जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ले वि.सं. २०७६ देखि यस आयोजनाको निर्माण सुरु गरेको थियो ।

सुरुङमार्गमा तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारीसाधनलाई मात्र प्रवेश दिइने सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए । सुरुङमार्गलाई चरणबद्ध रूपमा पूर्ण सञ्चालनमा ल्याइनेछ । उनका अनुसार सुरुङ परीक्षणको क्रममा कुनै शुल्क लिइनेछैन भने परीक्षणको क्रम सकिएपछि सवारीसाधनको प्रकारअनुसार शुल्क लिइनेछ ।

सडक विभागका अनुसार कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । मिनीबस, ट्रक र टिपरले काठमाडौंतर्फ आउँदा १ सय १५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । यस्तै, बस र ट्रकले काठमाडौंतर्फ आउँदा २ सय ६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । सुरुङमार्गमा मोटरसाइकल तथा प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई भने गुड्न निषेध गरिएको छ ।

त्यस्तै, पैदलयात्री, दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनले सुरुङमार्गमा प्रवेश पाउने छैनन् । आयोजनामा मुख्य तथा उद्धार गरी दुईवटा सुरुङमार्ग छन् । मुख्य सुरुङमा सवारीसाधन सञ्चालन हुनेछ भने उद्धार सुरुङ उद्धार कार्यका लागि प्रयोग हुनेछ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु हुने सुरुङमार्ग पश्चिमतर्फ धादिङको धुनीबेँसी नगरपालिकाको सिस्नेखोलामा टुङ्गिनेछ ।

‘हामी सुरुङ युगमा प्रवेश गर्यौँ’

उद्घाटनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री सुनिल लम्सालले यो आयोजनाले नेपाली इन्जिनियरिङ र पूर्वाधारको क्षेत्रमा नयाँ मानक कायम गरेको बताए ।

उनले भने, ‘यो सुरुङमार्गले हामीलाई धेरै कुरा सिकाएको छ । अब देशैभरि यस्ता सुरुङमार्गहरू बन्नेछन् । आजबाट हामी विधिवत् रूपमा सुरुङ युगमा प्रवेश गरेका छौँ ।’

सुरुङमार्ग उद्घाटनकै क्रममा मन्त्री लम्सालले आयोजनाको शिलान्यासका बेला राखिएको शिलालेखबारे देखिएको विवादबारे पनि स्पष्ट पारे ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल कात्तिक ४ गते शिलान्यास गर्दा राखिएको शिलालेख तोडफोड गरी गायब पारिएको भन्दै विरोध हुँदै आएको थियो ।

मन्त्री लम्सालले हराएको उक्त शिलालेख खोजेर ससम्मान पुनर्स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘विकास साझा हो, यसमा कसैले राजनीति गर्नु हुँदैन। शिलान्यासको शिलालेख जहाँ भए पनि खोजेर हामी त्यसलाई पुरानै स्थानमा राख्नेछौँ ।’

जापान सरकारको ०.०१ प्रतिशत अत्यन्तै सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको यो सुरुङमार्ग नेपालकै पहिलो अत्याधुनिक सडक सुरुङ हो ।

यसको मुख्य सुरुङको लम्बाइ २.६८८ किलोमिटर रहेको छ भने आपत्कालीन तथा अन्य प्रयोजनका लागि बनाइएको सहायक सुरुङमार्ग २.५५७ किलोमिटर लामो छ ।

यो सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गाको घुमाउरो सडक र जामको समस्याबाट यात्रुहरूले मुक्ति पाउने विश्वास गरिएको छ ।

साथै, यसले इन्धन बचत तथा यात्राको समय घटाउन ठूलो भूमिका खेल्ने प्राविधिकहरूको भनाइ छ ।

नेपाल र जापानबीचको लामो समयदेखिको मित्रता तथा विकास साझेदारीको प्रतीकका रूपमा यो आयोजनालाई हेरिएको छ ।

जाइकाका अध्यक्ष डा. तानाकाले नेपालको समृद्धिको यात्रामा जापान सधैँ सँगै रहने विश्वास दिलाए । 

Share News