सडक अलपत्र पार्ने ठेकेदारको बैंक जमानत जफत

काठमाडौं । पटक-पटक म्याद थप गर्दापनि ५ वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ । पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधिन लुंखुदेउराली-मिलनचोक-बालाकोट-होश्राङदी सडक निर्माणको जिम्मा पाएको पिआररओमबुद्ध जेभी बसुन्धरा काठमाडौंको मोबिलाइजेशन पेस्की बापतको बैंक जमानत पूर्वाधार विकास कार्यालय पर्वतले जफत गरी असुल गरेको हो । १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी विसं २०७८ जेठ १८ गते सम्झौता भएको सडक विसं २०७९ फागुन १७ गते सम्पन्न गर्नुपर्ने भएपनि निर्माण व्यवसायीले सडक चक्ल्याउने बाहेक अन्य काम गरेको थिएन । पटक-पटक म्याद थप गरी विसं २०८१ चैत २९ गतेसम्मको समय दिँदा पनि काममा नफर्किएपछि जमानत नै जफत गर्नुपरेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले जानकारी दिए ।  कूल ११ करोड २२ लाख ६६ हजार रुपैयाँको लागतमा निर्माण हुने झण्डै ६ किलोमिटर लामो सडकको निर्धारित समयसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो भने वित्तीय प्रगति समेत ३५ प्रतिशत नै भएको थियो । पटक-पटक काममा फर्किन मौखिक र लिखित रुपमा पत्राचार गरिएको भएपनि निर्माण व्यवसायीले आनाकानी गरेपछि अब ठेक्का नै तोड्ने तयारी भएको छ । सडक निर्माण सुरु गरेर निर्माण व्यवसायी नै सम्पर्क विहीन भएपछि उक्त सडक झनै अस्तव्यस्त बनेको छ । अहिले यो सडकमा सवारी साधन सञ्चालन गर्न निकै सास्ती रहेको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए ।  निर्माण सुरु भएपछि निर्माण व्यवसायीले ४ करोड १३ लाख रुपैयाँ भुक्तानी लगेको थियो । जमानत जफत भएपछि पनि निर्माण व्यवसायी सम्पर्कमा नआएकोले अन्य कारबाही प्रकृया समेत अघि बढाउन थालिएको छ । निर्माण व्यवसायीले नाली व्यवस्थापन नगरी भत्काएर मात्र छाडेका कारण वडा नंं. ५ को काफल डाँडामा रहेको गाउँपालिकाको कार्यालय, वालाकोट र होश्राङदीका बासिन्दालाई दैनिक आउजाउ गर्न समस्या भएको अध्यक्ष भुसालले बताए । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक आयोजना  अन्तर्गतको यो सडक अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कारबाही गर्नुपर्ने स्थानीयबासीको गुनासो रहेको छ । 

मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध बनेपछि वैकल्पिक मार्गका रुपमा फिदिम-म्याङलुङ-धनकुटा-धरानको रुट प्रयोग गरिएको छ । ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रका यात्रुले पूर्वी तराई झर्न प्रयोग गर्ने मेची राजमार्ग र तमोर करिडोरका एक दर्जन स्थानमा बाढीपहिरोले अवरुद्ध हुँदा यात्रु महँगो भाडा तिरेर लामो दूरीको वैकल्पिक रुट प्रयोग गर्न बाध्य भएका हुन् । पाँचथर सदरमुकाम फिदिमबाट मध्यपहाडी लोकमार्ग प्रयोग गरेर तेह्रथुम सदरमुकाम म्याङलुङ पुग्दा मेची राजमार्ग हुँदै झण्डै झापाको बिर्तामोड पुगिन्छ भने तमोर करिडोर भएर धरान नै पुगिन्छ । यी प्रमुख सडकको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गरिएको हो । सोमबार दिउँसो तेह्रथुमको म्याङलुङ बसपार्कमा भेटिएकी काठमाडौंकी कमला पाठकले आफू पनि वैकल्पिक मार्ग प्रयोग गरी म्याङलुङ आइपुगेको बताइन् । उनले म्याङलुङबाट बसन्तपुर-हिले-धनकुटा-धरान हुँदै काठमाडौं फर्किने बताइन् । पाँचथर याङवरकका राजकुमार सेलिङले पनि वैकल्पिक मार्ग प्रयोग गरी झापाको बिर्तामोड हिँडेको बताए । पाथीभरा देवीको दर्शन गरेर फर्किने दर्शनार्थी, उपचारका लागि सुविधासम्पन्न अस्पताल खोज्दै तराई झर्ने सेवाग्राही र विशेष कामले पूर्वी तराई र  राजधानी काठमाडौं फर्किनेका लागि वैकल्पिक मार्गले सहज भएको छ । म्याङ्लुङस्थित तेह्रथुम यातायात प्रालिका इञ्चार्ज मङ्गल बेघाका अनुसार ताप्लेजुङ र फिदिमिबाट झापा, मोरङ, सुनसरी जाने यात्रुवाहक सवारीसाधन म्याङ्लुङ हुँदै गइरहेका छन् । जिल्ला प्रहरी कार्यालय तेह्रथुमले दिएको जानकारी अनुसार यो मार्ग भएर सोमबार २ सय को हाराहारीमा सवारीसाधन आवतजावत गरेका छन् । तेह्रथुमको आठराई गाउँपालिकाको माझीटारदेखि लालीगुराँस नगरपालिकाको चित्रेसम्मको १२० किलोमिटर सडकमध्ये २४ किलोमिटरबाहेक सबै सडक पक्की छ । फेदाप गाउँपालिका-२ ओयाक्जुङदेखि वडा नं ५ इसिबुसम्मको १४ किलोमिटर खण्ड कच्ची छ भने फेदाप-२ स्थित खोरङ्वा-यावरा १० किलोमिटर कच्ची सडक छ । सवारी साधनको चाप बढ्ने अवस्थालाई मध्यनजर गर्दै यात्रुको सहजताका लागि फेदाप गाउँपालिकाले आइतबार कच्ची सडकको पनि मर्मत गरेको छ । तेह्रथुमको सडक अहिलेको अवस्थामा सुरक्षित रहेको र धनकुटा हुँदै धरानसम्म यातायात सञ्चालनमा कुनै समस्या नरहेकाले प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।  पूर्वी पहाडलाई प्रदेश राजधानी विराटनगरसँग जोड्ने द्रुतमार्ग तमोर करिडोर सडक विभिन्न स्थानमा अवरुद्ध छ । ताप्लेजुङ, पाँचथर हुँदै झापा जोड्ने मेची राजमार्गको पनि इलाम र माइखोला लगायत स्थानमा अवरुद्ध रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईको भनाइ छ ।

क्षतिग्रस्त बीपी राजमार्गमा डाइभर्सन बनाउन सुरु

काठमाडौं । असोज १८ र १९ गतेको वर्षापछिको रोसी खोलाको बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा पुनः अस्थायी सडक-डाइभर्सन बनाउन सुरु गरिएको छ । २ दिनको बाढीपछि रोसी खोलामा पानीको बहाव कम हुँदै गएपछि आइतबारदेखि डाइभर्सन बनाउन सुरु गरिएको हो । डिभिजन सडक कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबद्ध नगरपालिकाको समन्वयमा खोला एकतर्फी फर्काएर पुनः डाइभर्सन निर्माण गर्न थालेको हो । गत वर्षको असोजमा बाढीपहिरोबाट क्षतिग्रस्त सोही क्षेत्रको विभिन्न स्थानमा करिब आठ किलोमिटर सडक डाइभर्सन गरी अस्थायी रुपमा सञ्चालन गर्दै आइएको थियो । सोही क्षेत्रको सडक खण्ड शनिबार र आइतबारको बाढी पहिरोले पुनः क्षतिग्रस्त बनाउँदै बगाएको थियो । राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको चौकी डाँडाको एक स्थान तथा सिन्धुली तर्फको अन्य ३/४ स्थानबाट अस्थायी सडक बनाउन सुरु गरिने कार्यालयका सूचना अधिकारी इञ्जिनियर विन्दु अधिकारीले जानकारी दिए। उनका अनुसार रोसी खोलाको किनारैकिनार सडक लैजानुपर्ने तथा सडकको कुनै अवशेष नै नरहेकाले पानीको सतहभन्दा उचाइमा डाइभर्सन पुनः निर्माण गरिनेछ । शनिबार र आइतबारको बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्ग अन्तर्गत सिन्धुली तर्फबाट पनि सोमबारदेखि नै पुनः डाइभर्सन बनाउन लागिएको छ । सिन्धुलीको नेपालथोकबाट डाइभर्सन बनाउन सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए । उनका अनुसार सिन्धुली स्थित डिभिजन सडक कार्यालय खाल्टेले बिपी राजमार्गको नेपालथोकतर्फबाट हाल दुई वटा एस्काभेटर प्रयोग गरेर डाइभर्सन बनाउन सुरु गरिएको हो । सिन्धुलीबाट काभ्रेपलाञ्चोक तर्फको नमोबुद्धको चौकी डाँडासम्मको विभिन्न स्थानमा सडक बगाउनुका साथै क्षतिग्रस्त भएपछि पूर्ण रुपमा उक्त राजमार्ग अवरुद्ध भएको हो । हाल वैकल्पिक मार्गका रुपमा सवारीसाधन खुर्कोट-मन्थली हुँदै अरनिको राजमार्ग र सिन्धुली-हेटौंडा हुँदै काठमाडौं आवतजावत भइरहेका छन् । बीपी राजमार्ग अन्तर्गत चौकीडाँडा, घुमाउने, मम्ती लगायतका क्षेत्रमा रोसी खोलाले राजमार्ग कटान गरेका कारण पैदल यात्रासमेत गर्नसक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यालय प्रमुख कोमल शाहका अनुसार शनिबार साँझदेखि रोसी खोला तथा मङ्गलटार खोलाको बाढीले काम सुरु गरेपछि करिब दर्जन स्थानमा सडकमा लेदो जमेको तथा सडक बगाउँदा पिप्ले र बोक्से कुनामा हिँड्ने बाटोसमेत छैन । सडक कटान गरेपछि फसेका करिब तीन दर्जन सवारीसाधनलाई प्रहरीले इलाका प्रहरी कार्यालय मङ्गलटार तथा सुरक्षित स्थानमा राखिएको थियो । जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले शनिबारदेखि बीपी राजमार्गमा तीन दिन सवारीसाधन आवतजावत बन्द गर्ने निर्णय गरेको थियो । शुक्रबार देखिको निरन्तरको वर्षाका कारण बीपी राजमार्गको विभिन्न स्थानमा लेदाेसहितको साना साना पहिरोका कारण थप जोखिम हुन नदिन ट्राफिक प्रहरीले शनिबार बिहानैदेखि प्रवेशमार्गस्थल धुलिखेल तथा काभ्रेभञ्ज्याङ, भकुण्डे र मङ्गलटारमा सवारीसाधन होल्ड सवारी साधन ‘होल्ड’ गरिएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामासमेत अघि बढाइरहेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दुरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौं यातायातका साधन आवतजावत हुने गर्छन् ।