चिसोका कारण सडक स्तरोन्नतिको काम स्थगित
म्याग्दी । चिसो र प्रतिकुल मौसमका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजनाको निर्माण कार्य स्थगित भएको छ । अत्याधिक चिसोका कारण खोल्सामा पानी र तुसारो जमेको, मजदुरहरूको स्वास्थ्यमा समस्या देखिने र ढलानमा प्रयोग भएको सामग्री नजम्ने अवस्था भएपछि निर्माण कार्य स्थगित भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले सञ्चालन गरेको यो आयोजना निर्माण स्थल समुद्री सतहदेखि दुई हजार ४०० मिटरदेखि दुई हजार ८०० मिटर उचाइमा छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाले चिसो र प्रतिकूल मौसमका कारण स्थगित भएको चित्रे–घोडेपानी सडक योजनाको कामलाई गर्मी बढेपछि फागुन महिनादेखि सुचारु गरिने बताए । चित्रेदेखि घोडेपानी जोड्ने चार किलोमिटर दूरीको सडकमध्ये चित्रेदेखि घोडेपानीतर्फ करिब दुई किलोमिटरलाई फराकिलो बनाउने, ग्रेड र घुम्ती सुधार तथा नाली बनाउने काम सकिएको छ । हालसम्म ३८ प्रतिशत भौतिक प्रगति भएको उक्त योजनामार्फत थप दुई किलोमिटरमा विस्तार, ग्रेड र घुम्ती सुधार गरी ग्राभेल गर्न बाँकी छ । विसं २०८१ कात्तिक १४ गते दुई करोड २३ लाख ९६ हजारमा विकेश जय दुप्चे जेभीले ठेक्का सम्झौता गरेको थियो । गत आर्थिक वर्षमा रु ७० लाख विनियोजन भएको यस योजनाका लागि प्रदेश सरकारले आगामी आव २०८२र०८३ का लागि रु ७५ लाख विनियोजन गरेको छ । विसं २०७५ मा गण्डकी प्रदेश सरकारको बजेटबाट मार्ग खुलेको सडक सात वर्षपछि स्तरोन्नति थालिएको हो । सडक सहज भएपछि घोडेपानी–पुनहिल क्षेत्रमा पर्यटक आगामन बढ्ने, स्थानीयवासीलाई आवतजावत गर्न सहज हुने घोडेपानीका बासिन्दासमेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले बताए । गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रे जोड्ने १८ किलोमिटर सडक सङ्घीय सरकारमार्फत गत वर्ष स्तरोन्नति भएको थियो । म्याग्दी १(१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीका अनुसार प्रदेश सरकारले आव २०८०/०८१ मा रु तीन करोड बजेटको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाइएको हो । कास्कीको नयाँपुुल, तिखेढुुङ्गा, उल्लेरी हुुँदै म्याग्दीको घोडेपानी जोड्ने सडक पोखरा बेनी जोमसोम सडकको पर्वत पोखरेबगर खण्डको वैकल्पिक बनाउन सकिने सम्भावना भएकाले यो योजनालाई प्राथमिकता दिएको भण्डारीले बताए । प्रदेश सांसद भण्डारी र गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका पूर्वमन्त्री एवं सांसद रेशमबहादुर जुग्जाली (सुविन)ले शुक्रबार उक्त योजनाको अनुगमन गरेका थिए । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी पुनहिल दृष्य अवलोकनका लागि प्रसिद्ध छ । यहाँ वार्षिक ३० हजार जनाभन्दा बढी विदेशी पर्यटक भ्रमणमा आउँछन् । रासस
राहुघाट जलविद्युत् आयोजनाको सुरुङका लागि संरचना तयार
म्याग्दी । म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका लागि सुरुङभित्रका संरचना तयार पारिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरिरहेको उक्त आयोजना रघुगङ्गा गाउँपालिका–४ र ५ को सिमानामा छ । आयोजनाको बाँधदेखि सोही पालिकाको वडा नम्बर ३ तिल्केनीचौर जोड्ने मुख्य सुरुङ, पेनस्टक पाइपलाइन, भर्टिकल प्रेसर साफ्ट, वटम प्रेसर साफ्ट, टप पेनस्टक र पेनस्कट पाइपलाइन जडान सकिएको जनाइएको छ । कूल छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ, एक किलोमिटर ८२ मिटर लामो पेनस्टक पाइपलाइन, १९६ मिटर भर्टिकल प्रेसर साफ्ट, ६१ मिटर अग्लो सर्ज साफ्ट, ३२९ मिटर वटम प्रेसर साफ्ट, ५०९ मिटर टप पेनस्टक जडान भएको छ । विसं २०८१ साउन १५ गते ‘ब्रेकथ्रु’ भएको आयोजनाको मुख्य सुरुङको पलास्टर र ढलान सकिएको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए । 'बाँधस्थल नजिकको अडिट १, अधेरीखोलाको अडिट २, पिप्लेको अडिट ३ र तिल्केनीचौरको अडिट ४ को जक्सनमा मात्र ग्राउटिङ र लाइनिङ बाँकी छ,' उनले भने 'बटरफ्लाई भल्ब च्याम्बर र म्यानुअल च्यामबरको संरचना पनि तयार भइसकेको छ ।' हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाको २०८२ फागुनभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यसहित बाँध, सुरुङ, विद्युत् गृह, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फको कामलाई क्रमशः पूर्णता दिने चरणमा रहेको प्रबन्ध सञ्चालक केसीले बताए । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा ३१ मिटर लामो र १७ मिटर अग्लो बाँध निर्माण भएको छ । ११९ दशमलव सात मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्डर (पानी थिग्राउने पोखरी) निर्माण ९० प्रतिशत सम्पन्न भएको छ । तिल्केनी चौरमा विद्युत् गृह निर्माण ९८ प्रतिशत सम्पन्न भएको छ । विद्युत्गृहबाट निस्कने पानी कालीगण्डकीमा मिसाउने १२८ मिटर लामो टेलरेस डक्ट निर्माण सम्पन्न भएको छ । विद्युत्गृहको संरचना निर्माण सकेर २० मेगावाट क्षमताको एउटा युनिटमा टर्वाइन, जेनेरेटरका पाट्स जडान सकेर दोस्रो युनिटको उपकरण जडान अन्तिम चरणमा रहेको आयोजनाका व्यवस्थापक राजबहादुर विष्टले बताए । 'विसं २०७६ कात्तिकमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले विद्युत्गृहको उपकरण आयात सकेर जडानलाई तीव्रता दिएको छ,' उनले भने, 'विद्युत् गृह नजिकै स्वीचयार्डका लागि फाउण्डेशन निर्माण सम्पन्न भई स्विचयार्डको उपकरण जडानकार्य भइरहेको छ ।' कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार (आइभिआरसिएल) सँगको ठेक्का रद्द गरी ३२ मेगावाट क्षमताबाट आयोजनाको क्षमता अभिवृद्धि गरी नयाँ प्रारूपमा अघि बढाइएको थियो । भारतीय आयात निर्यात (एक्जीम) बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणामा राहुघाट जलविद्युत् आयोजना निर्माण भइरहेको छ । विसं २०७४ मङ्सिरमा ठेक्का सम्झौता गरेको यस आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स लिमिटेडले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यस आयोजनाले दैनिक चार घण्टा पिकिङ्गसहित वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एउटा बेलीब्रिज निर्माण गरी विद्युत् गृह र बाँधलाई सिधा सडकले जोडिएको छ । राहुघाट जलविद्युत् आयोजनाले निर्माण गरेको पहुँचमार्ग र पुलबाट प्रभावित क्षेत्रका बासिन्दालाई पनि सुविधा पुगेको छ । राहुघाट जलविद्युत् आयोजनाको पहुँचमार्गमा पर्ने घुमाउनेतालदेखि रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट खण्डको सडकलाई स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । बाँधस्थलभन्दा माथि दग्नाम गाउँको फेदीबाट झर्ने पहिरो रोकथामका लागि चेक ड्याम तथा क्याच डेन निर्माण कार्य भई रहेको छ साथै थप अध्ययन भइरहेको छ । पिप्लेमा कम्पनीको तथा परामर्शमदाताका कर्मचारीका लागि आवास तथा कार्यालय सञ्चालनका लागि १५ वटा भवन निर्माण भइसकेको छ । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चार वटा टावर र प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ । रासस
जेनजी आन्दोलनको महँगो मूल्य : सरकारी सम्पत्तिमा ९५ करोड र निजी प्रतिष्ठानमा साढे २७ अर्बको क्षति
काठमाडौं । जेनजी आन्दोलनका बेला सार्वजनिक संस्थानमा मात्रै ९५ करोड बराबरको क्षति पुगेको सरकारी अध्ययन प्रतिवेदनले देखाएको छ । क्षतिको जाँचबुझ गर्न गठित सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनअनुसार सार्वजनिक संस्थानको स्वामित्व वा भोगचलनमा रहेका सम्पत्तिको क्षति रकम ९५ करोड ६२ लाख रहेको छ । सार्वजनिक संस्थानमा भएको कुल क्षति रकम मध्ये भवनतर्फ ४३.१ प्रतिशत, सवारी साधन तर्फ १६.१ प्रतिशत, अन्य भौतिक सम्पत्ति तर्फ ३७.४ प्रतिशत र अन्यमा ३.३ प्रतिशत क्षति भएको छ । प्रतिवेदनअनुसार संस्थानका नेपाल सरकार अन्तर्गतका २६ वटा भवनमा क्षति पुगेको छ भने प्रदेश सरकार मातहत रहेका संस्थानका ३ वटा भवनमा क्षति पुगेको छ । कुल ४१ करोड २४ लाख बराबरको क्षति पुगेको छ भने संस्थानहरूका करिब १ सय ९ वटा सवारी साधनमा क्षति पुगेको छ । संस्थानहरूका सवारीसाधनको क्षति करिब १४ करोड ३६ लाख बराबरको रहेको छ । यता निजी तथा सामुदायिक क्षेत्रले जेन–जी आन्दोलनका बेला ठूलो क्षति बेहोर्नुपरेको सरकारी अध्ययन प्रतिवेदनले देखाएका छ । प्रतिवेदनअनुसार निजी तथा सामुदायिक क्षेत्रमा भएको क्षतिअनुसार निजी प्रतिष्ठान तथा घर परिवारमा कुल क्षति रकम ३३ अर्ब ५४ करोड ८७ लाख र सामुदायिक तथा अन्य क्षेत्रमा भएको क्षति रकम ५ अर्ब ९७ करोड १७ लाख रहेको छ । प्रतिवेदनअनुसार निजी क्षेत्रको स्वामित्व वा भोगचलनमा रहेको स्थायी एवं अस्थायी सम्पत्तिमा गरी कुल २७ अर्ब ४९ करोड ३ लाख क्षति पुगेको देखिन्छ जुन निजी तथा सामुदायिक क्षेत्रमा भएको कुल क्षति रकमको ६९.८ प्रतिशत हो । यो क्षेत्रले बेहोरेको कुल क्षतिमा भवनको आगजनी तथा तोडफोडबाट भएको क्षतिको अंश सबैभन्दा ठूलो ४५.२ प्रतिशत रहेको छ । त्यसपछि अन्य भौतिक सम्पत्तिको क्षति २७.४ प्रतिशत, अस्थायी सम्पत्ति तथा अन्य निजी सम्पत्तिको २१.७ प्रतिशत र सवारी साधनको क्षति ३.४ प्रतिशत रहेको छ । समग्र रूपमा हेर्दा क्षतिको भार भवन तथा स्थायी सम्पत्तिमा बढी रहेकाले उत्पादन, सेवा र रोजगारी क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ ।