मुग्लिन-पोखरा; दमौली बजारमा धमाधम कालोपत्र हुँदै, अब ४ किलोमिटर बाँकी

काठमाडौं । मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्रे भइरहेको छ । व्यास नगरपालिका-२ बागबजार, मुख्य चोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्रे भइरहेको छ ।  चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्रे सम्पन्न गर्ने गरी काम भइरहेको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।  बिहीबार मुख्य चोकमा एकतर्फी कालोपत्रे गरिएको छ । बागबजार खण्डमा बुधबार कालोपत्रे गरिएको थियो । दुर्गामन्दिरदेखि चापाघाटसम्म पनि चाँडै कालोपत्र हुनेछ ।  पूर्वी खण्डअन्तर्गत अन्य ठाउँमा घरटहरा हटाउन ढिलो हुँदा कालोपत्रको काम रोकिएको थियो । अब ४ किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ ।  पूर्वी खण्डअन्तर्गत सडकको काम ८२.९५ प्रतिशत पूरा भएको छ । यो खण्डमा पहिलो तहअन्तर्गत ३८.३१ किलोमिटर खण्डमा ४ लेन र ०.२९ किलोमिटर खण्डमा २ लेन सडक कालोपत्र भएको छ । 

धौलागिरिमा ३ वटा लामा झोलुङ्गे पुल निर्माण सुरु

म्याग्दी । धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । स्थानीय पूर्वाधार विकास आयोजनामार्फत धौलागिरि गाउँपालिका–३ मुना, ४ बगर र ६ मराङमा पुल निर्माण सुरु भएको हो ।  धौलागिरि गाउँपालिका–३ मुना र दर जोड्ने ३५५ मिटर र वडा नं ६ को खाउरीवाङ–धाइरिबोट जोड्ने ३६५ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि रामकृष्ण कन्ट्रक्सनसँग चार करोड ७० लाख ३६ हजार दुई सय ५० रुपैयाँमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । पुलको भौतिक प्रगति ५० प्रतिशत भएको छ । आयोजनाका इञ्जिनियर मनिष अधिकारीले धौलागिरि गाउँपालिका–४ बगर तातोपानी कुण्ड जाने बाटोमा म्याग्दी नदी माथि २५० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँ बजेट विनियोजन भएको योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियामा रहेको जानकारी दिए ।   

चार ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ४ कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।  तोकिएको मापदण्ड पूरा नगरेको भन्दै कार्यालयले बिल्ड ब्रदर्श कन्सट्रक्सन प्रालि गोंगबु, एसएम. कन्सट्रक्सन मकवानपुर, राना फर्निचर सःमलि उद्योग मध्यनेपाल लमजुङ र गौरीगोमा निर्माण सेवा सल्यानलाई कालोसूचीमा राखेको हो । बिल्ड ब्रदर्श कन्सट्रक्सनका सञ्चालक छिरिङ लामा डोङ र पम्बर लामा हुन् भने एसएम कन्सट्रक्सन मकवानपुरका सहदेव गौतम मुख्य व्यक्ति हुन् ।  यस्तै, राना फर्निचर सःमलि उद्योगका मुख्य व्यक्ति सुकु रानामगर हुन् भने गौरीगोमा निर्माण सेवाका तुफान सिंह बुढाथोकी हुन् ।  यी चार कम्पनीमध्ये वनगाड कुपिण्डे नगरपालिकाको सल्यानको सिफारिसमा गौरीगोमा निर्माण सेवालाई एक वर्षका लागि कालो सूचीमा राखिएको हो । अन्य तीन कम्पनीहरुलाई भने डेढ वर्षका लागि कालो सूचीमा राखिएको हो । कालोसूचीमा राखिएका कमपनीले कुनै पनि काम कारबाहीमा सहभागी हुन पाउने छैनन् ।