विनयी खोला पुल खुल्यो, दाउन्नेको सास्ती उस्तै

काठमाडौं । देशकै प्रमुख राजमार्ग नारायणगढ-बुटवल सडकखण्डअन्तर्गत ६ महिनादेखि सास्तीको कारण बनेको दुम्किबासस्थित विनयी खोलाको नयाँ पुल सञ्चालनमा आएको छ । नारायण बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार २१ करोड लागतमा सम्पन्न भएको उक्त पुलमा बिहीबारदेखि  गाडी गुड्न थालिएको छ । विनयी खोला पुल करिब ६ महिनापछि सञ्चालनमा आएको उनले जानकारी दिए । 

खनालले भने, ‘नयाँ पुल सञ्चालनमा आएको छ । अब यो ठाउँमा तत्काल ठूलो समस्या हुँदैन । गत पुसमा पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा चलेको यो खण्डमा नयाँ पुल बनेसँगै यात्रुले ठूलो राहत महसुस गरेका छन् । तर दाउन्नेखण्डको सकस भने कायमै छ । ’

गत पुस २६ गते भारतीय हेभी ट्रकले किच्दा पुरानो फलामे पुल भाँचिएपछि यो मार्गमा यातायात अस्तव्यस्त बनेको थियो । पटक-पटक खोलाले डाइभर्सन बगाउँदा यात्रुहरूले निकै सास्ती भोग्दै आएका थिए । असार ७ गते खोलाले बस नै बगाएपछि डाइभर्सन पूर्ण रूपमा बन्द गरिएको थियो, जसले गर्दा सवारी साधन वैकल्पिक र घुमाउरो मार्ग प्रयोग गर्न बाध्य थिए । 

null

विनयी खोलाको समस्या समाधान भए पनि पश्चिम नेपालको ‘लाइफलाइन’ मानिने यो सडकको मुख्य चुनौतीका रूपमा रहेको दाउन्ने खण्डको यात्रा भने सहज हुने देखिँदैन । सडक आयोजनाका सूचना अधिकारी खनालले वर्षाअघि दाउन्नेमा सडक विस्तारको काम नहुने र मर्मतसम्भार मात्र गरिने भएकाले समस्या कायमै रहने बताए ।

‘दाउन्नेमा नागरिकहरुले सास्ती खेप्नुपरिरहेको छ । हल्का पानी पर्दा पनि उकालोमा गाडी चिप्लिने र फस्ने समस्या धेरै छ,’ उनले भने ।

१३ किलोमिटर लामो  उक्त खण्डमा कल्भर्ट निर्माण र सडक विस्तारको काम सुस्त हुँदा यात्रुहरू मार्कामा परिरहेका छन् । आयोजनाको तेस्रो पटक थपिएको म्याद साउन ८ गते सकिँदैछ भने हालसम्म दाउन्ने खण्डमा कल्भर्ट निर्माण र सडक विस्तारको भौतिक प्रगति ६९ प्रतिशत मात्रै भएको छ ।

पूर्वी खण्डमा गैंडाकोटको जयश्री, चोरमाराको गिरुवारी खोला र अरुणखोलामा पुल निर्माण अझै बाँकी छ । यस्तै चोरमारा, दुम्किबास बजार र दाउन्ने खण्डमा कालोपत्रेको काम पनि बाँकी नै रहेको आयोजनाले जनाएको छ ।

Share News