नेपालमा लगानी गर्न उर्जामन्त्री खड्काको आग्रह : 'सुरक्षाको जिम्मा सरकारले लिन्छ'
बेइजिङ । नेपाली समुदायलाई स्वदेशमा उर्जा लगायतका क्षेत्रमा लगानी गर्न उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले आग्रह गरेका छन् । हाल चीन भ्रमणमा रहेका मन्त्री खड्काले बेइजिङमा आयोजित ट्रेड फेस्टको अवलोकनका क्रममा सम्बोधन गर्दै लगानीको सुरक्षाको जिम्मा सरकारले लिने बताए । नेपाल जलस्रोतको अपार सम्भावना बोकेको मुलुक भएकाले उर्जा क्षेत्रमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै मन्त्री खड्काले भने, 'जो जहाँ भए पनि नेपालीको माया नेपालमै हुन्छ । सरकारले लगानीको वातावरण निर्माण गरिसकेको छ । अब हामी सबै मिलेर देशको विकासमा जुट्नु पर्छ ।' मन्त्री खड्काले सरकारले सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य राखेको र सो मध्ये १५ हजार मेगावाटभन्दा बढी विजुली भारत लगायत तेस्रो मुलुकमा निर्यात गरिने सुनिश्चित भइसकेको जानकारी दिए । त्यसैगरी, हाल नेपाल बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गरिरहेको र आगामी वर्षमा सो परिमाण बढाएर ५ हजार मेगावाट पुर्याउने समझदारी भएको समेत बताए । उर्जामन्त्री खड्काले संसदमा छलफलका क्रममा रहेको जलस्रोत तथा विद्युत विधेयक चाँडै पारित गराउने प्रतिबद्धता व्यक्त गर्दै नीतिगत अस्पष्टता हटाएर लगानीमैत्री वातावरण सृजना गरिन लागेको प्रष्ट पारे । उनका अनुसार उर्जा विकास मार्गचित्र–२०८१ सार्वजनिक गरेर मुलुकको विकासका लागि सरकार स्पष्ट नीति र कार्ययोजनासहित अघि बढिरहेको छ । भेटका क्रममा नेपाली समुदायका प्रतिनिधिहरूले विगतका अनुभवलाई स्मरण गर्दै सरकारले लगानी सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले उर्जा क्षेत्रमा सरकारले देखाएको स्पष्ट दृष्टिकोण र मन्त्री खड्काको पहलको प्रशंसा गर्दै सहकार्यका लागि आफूहरू तयार रहेको बताए । नेपाल उर्जा क्षेत्रमा भएका दीर्घकालीन योजनाका कारण छिट्टै आर्थिक समृद्धि तर्फ अघि बढ्ने विश्वास व्यक्त गर्दै मन्त्री खड्काले नेपाली समुदायलाई नेपालमै लगानी गर्न पुनः आह्वान गरे ।
आधा वर्ष बित्दा पनि बनेन विनयी खोला पुल, बुटवल-नारायणगढ सडक पूर्णरूपमा बन्द
काठमाडौं । वर्षा सुरु भएसँगै देशभरका सडक अस्तव्यस्त छन् । विशेषगरी नारायण-बुटवल सडकखण्डको मारमा नागरिकले निकै सास्ती खेप्नु परेको छ । सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीबास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलामा मालबाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुबाहक बसका लागि प्रयोग गरिएको वैकल्पिक भित्री सडकमा बाढी आएपछि अहिले यातायात पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए । 'अहिले यस सडक खण्डको डाइभर्सन र वैकल्पिक मार्ग होङ्सी गेट, सर्दी हुँदै ज्यामिरे राजमार्गमा सवारी आवागमन रोकेर सवारीसाधनलाई सुरक्षित स्थानमा राखिएको छ', उनले भने । उनका अनुसार वर्षाका कारण विनयी त्रिवेणी-३ स्थित खरङ्गे खोलामा पानीको बहाव बढेपछि उक्त वैकल्पिक मार्ग पनि पूर्णरूपमा अवरुद्ध बनेको हो । 'अहिले यस सडक क्षेत्रको दाउन्ने दुम्कीवास खण्डमा कुनै पनि सवारीसाधान आवतजावत गर्न नसक्ने स्थिति सिर्जना भएको छ', प्रहरी उपरीक्षक ढकालले भने । राजधानी आउँदै गरेका नागरिकहरू सडकमै रात बिताउन बाध्य छन् । महेन्द्रनगरका भुवन कुँवर दाउन्ने सडक अवरुद्ध हुँदा एक दिन बाटोमै बस्न बाध्य भए । त्यस्तै, बुटबलका श्याम विष्ट पनि दाउन्नेमा अलपत्र परे । भुवन र श्याम प्रतिनिधिपात्र मात्र हुन् । पूर्वी नवलपरासीको दुम्कीबासस्थित विनयी खोलामा गत पुस २६ गते फलामे पुल भाँचिएपछि तत्कालीन रूपमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सुचारु गरिएको थियो । उक्त पुल पूर्वी नवलपरासीमा रहेको सबैभन्दा लामो पुल हो, जुन अत्यधिक भार बोकेको भारतीय मालबाहक लरीका कारण क्षतिग्रस्त भएको थियो । पुल भाँचिएपछि सो स्थानको उत्तरतर्फ डाइभर्सन बनाइएर यातायात सञ्चालनमा ल्याइएको भए पनि केही हप्तामै परेको भारी वर्षाले डाइभर्सन बगायो, जसले गर्दा पूर्व-पश्चिम राजमार्गमा सवारी आवागमन र मालसामान ढुवानी पूर्णरूपमा अवरुद्ध भएको छ । डाइभर्सन विकल्पका रूपमा प्रयोग भइरहे पनि स्थानीयले मालबाहक ट्रक आवागमनमा रोक लगाएका कारण समस्या थपिएको हो । पुरानो पुल भाँचिएको स्थानको नजिकै नयाँ पुल निर्माणको काम सुरु भएको भए पनि लामो समयदेखि निर्माण सम्पन्न नहुँदा यस क्षेत्रको सवारी सञ्चालनमा निरन्तर अवरोध आइरहेको छ । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका अनुसार साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म बाटो बन्द गरिएको छ । डाईभर्सन पानी नपरेको समयमा मात्रै खुला गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका प्रमुख डिएसपी मधु नेपाल जानकारी दिए । उनका अनुसार दिउँसोको समयमा डाइभर्सन बनाउँदै मालबाहक गाडीहरू आवातजावत गर्ने गरिएको छ । उनले भने, ‘मालबाहक गाडीबाहेक अरू साना तथा ठूला गाडीका लागि अर्को बाटो प्रयोग गरिएको छ । त्यो बाटो हुँदै जाँदा १९ किलोमिटर किमी बढी लाग्छ । ’ एक हप्तामै सञ्चालनमा आउँदै विनयी खोला पुल विनयी खोला पुलमा एक हप्तामै गाडी गुडाउने तयारी भइरहेको नारायणगढ बुटवल सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिए । उनका अनुसार पुलमा रेलि र कालोपत्रेको काम मात्रै बाँकी रहेको छ । खनालले भने, ‘पुल पुरै नयाँ बनेको छ । यो पुल २४५ मिटर लामो छ । चौडाइ साढे ७ मिटर छ । यो पुलमा जति ठूला हेभी ट्रक गाडीहरू गुडाएपनि भाँचिदैन । पुल ठूलो भारवहन क्षमताको बनेको हो । अब अघिको जस्तो समस्या आउँदैन । हामीले एक हप्ताभित्रै गाडी गुडाउने तयारी गरिरहेका छौं ।’ पानीको निकास राम्रोसँग भएन : पूर्वाधारविज्ञ नेपालमा वर्षा सुरु भएपछि धेरैजसो सडक भत्किने समस्या बारम्बार देखिन्छ । पूर्वाधार विज्ञहरू कभरेज क्षेत्र बढी भएका कारण यसको निकास कम भएर सानो पानी पर्दा सडक भत्किने बताउँछन् । पूर्वाधारविज्ञ रामबहादुर घिमिरे वर्षाको पानीको निकास उचित नहुँदा समस्या आएको बताउँछन् । उनका अनुसार वर्षाको पानीले उचित निकास पाएन भने सडकमै जम्छ अनि बिटुमिन/डामरको तहभित्र पस्छ र कमजोर बनाउँछ । यसले गर्दा सडकको फाउन्डेसन कमजोर पार्दछ । घिमिरेले धेरैजसो सडक निर्माणमा गुणस्तरीय बिटुमिन, ग्राभेल वा सब-बेस मेटरियल प्रयोग नगरिँदा पनि सडक भत्किने गरेको सुनाए। घिमिरेले भने, ‘सडक बनाउँदा माटो वा ग्राभेलको तह ठीकसँग नमिलाएमा पानीले त्यसलाई छिटो कमजोर बनाउँछ । यस्तो तहमा पानी सजिलै घुस्ने भएकाले ढल्ने सम्भावना बढी हुन्छ । सडकको ढलान सही नहुँदा पानी सतहमै थन्किन्छ । धेरैजसो ग्रामीण वा नगरपालिकास्तरका सडकहरू यस्ता हुन्छन् ।’ नेपालका सडक वर्षामा भत्किनु प्राविधिक कमजोरीहरूको परिणाम हो । खासगरी कमजोर निकास प्रणाली, गुणस्तरहीन निर्माण, र डिजाइनमा ध्यान नदिइएको । दिगो समाधानका लागि इन्जिनियरिङ मापदण्डअनुसार निर्माण, गुणस्तर नियन्त्रण र नियमित मर्मतसम्भार अत्यावश्यक छन् ।
बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध
मध्यविन्दु । बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलामा मालबाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुबाहक बसका लागि प्रयोग गरिएको वैकल्पिक भित्री सडकमा बाढी आएपछि अहिले यातायात पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए । 'अहिले यस सडक खण्डको डाइभर्सन र वैकल्पिक मार्ग होङ्सी गेट, सर्दी हुँदै ज्यामिरे राजमार्गमा सवारी आवागमन रोकेर सवारीसाधनलाई सुरक्षित स्थानमा राखिएको छ', उनले भने । उनका अनुसार वर्षाका कारण विनयी त्रिवेणी–३ स्थित खरङ्गे खोलामा पानीको बहाव बढेपछि उक्त वैकल्पिक मार्ग पनि पूर्णरूपमा अवरुद्ध बनेको हो । 'अहिले यस सडक क्षेत्रको दाउन्ने दुम्कीवास खण्डमा कुनै पनि सवारीसाधान आवतजावत गर्न नसक्ने स्थिति सिर्जना भएको छ', प्रहरी उपरीक्षक ढकालले भने । निरन्तरको वर्षासँगै पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन पानीको बहाव बढेपछि पटकपटक बगाउँदै आएको छ ।