श्वेत गंगा हाइड्रोको ९६ लाख ८९ हजार कित्ता सेयर कारोबारमा आउने

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको लकइनमा रहेको सेयर कारोबारमा आउने भएको छ । कम्पनीका संस्थापक सेयरधनी, कर्मचारी र आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुको लकइनमा रहेको सेयर कारोबारमा आउने भएको हो ।  कम्पनीका अनुसार साउन १७ गतेदेखि ९६ लाख ८९ हजार ५ सय कित्ता सेयरको लकइन अवधि सकिएर कारोबारमा आउनेछ ।  कम्पनीको संस्थापक समुहतर्फको ७३ लाख कित्ता, कर्मचारीलाई छुटाइएको ७ लाख ९६ हजार ५०० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दालाई छुटाइएको १५ लाख ९३ हजार कित्ता सेयरको लकइन सकिन लागेको हो । संस्थापक समूहतर्फको विदेशी लगानीकर्ता कम्पनी डोल्मा इम्प्याक्ट फण्ड-आई को नाममा रहेको ३८ लाख ५१ हजार कित्ता सेयरको लकइन अवधि भने २०८० फागुन २ गतेनै समाप्त भएको जनाएको छ । 

मोबाइलबाट नियन्त्रण हुने लिफ्ट प्रविधि, पुलाचौरका घरघरमा धारा

म्याग्दी । जिल्लाको बेनी नगरपालिका-५ पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण गरिएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत पुलाचौरको बस्ती मुनीको मुहानबाट पानी तानेर घरघरमा धारा बनाई वितरण गरिएको हो । आर्थिक वर्ष २०७६/७७ देखि निर्माण सुरु भएको आयोजना सात वर्षमा सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद सुवेदीले बताए । 'तीन वटा योजनाअन्तर्गत निर्माण खानेपानी आयोजनाका लागि पर्याप्त बजेट नआउँदा ढिलाइ भएको हो', उनले भने, 'पुलाचौरको तल्लो र मध्य गाउँको योजना यसअघिका वर्षमा सकिएको थियो । माथिल्लो टोलमा यसै सातादेखि पानी वितरण गरेर आयोजनालाई पूर्णता दिएका हौँ ।' अध्यक्ष सुवेदीका अनुसार जोत्रे र पधेरा मुहानको पानीलाई ७५ हजार लिटर क्षमताको टङ्कीमा सङ्कलन गरेर २० हर्सपावर क्षमताको ‘सबमर्सिव’ पम्पबाट दुई सय ५० मिटरमाथि रहेको चुलेसीस्थित अर्को टङ्कीमा पुर्‍याएर थप तीन वटा रिजर्भ टङ्कीमार्फत वितरणको व्यवस्था मिलाइएको छ । आठ सय मिटर लामो तीन इञ्चको पाइपमार्फत माथिल्लो टङ्कीमा पानी पु¥याइएको उनले उल्लेख गरे । आयोजनाबाट एक सय ८२ परिवार लाभान्वित भएका उपभोक्ता समितिका सचिव सागर पौडेलले बताए । 'विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयमा पनि धारा जडान गरिएको छ । सबैका घरमा मिटरसहितको निजी धारा जडान गरेर पानी वितरणको व्यवस्था मिलाएको छ', उनले भने । सचिव पौडेलले यसअघि सार्वजनिक धाराबाट गाग्री, बोत्तल र ग्यालीनमा पानी ओसार्नुपर्ने बाध्यता अब अन्त्य हुने विश्वास व्यक्त गरे । 'आठ/दश घरले एउटा धाराबाट पानी ल्याउँदा पालो पर्खनुपर्ने र कहिलेकाँही पानीका कारणले विवाद पनि हुन्थ्यो', स्थानीय मिनाकुमारी विकले भने, 'घरकै धारामा पानी आउन थालेपछि पानी ओसार्दा हुने समयको बचत र झञ्जट हटेको छ ।' उपभोक्ताको श्रमदान बाहेक आयोजना निर्माणमा दुई करोड १० लाख ४८ हजार ३४८ खर्च भएको खानेपानी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले जानकारी दिए । उपभोक्ताले कूल लागतको १० प्रतिशतका दरले श्रमदान गरेका छन् । पानी तान्ने विद्युत् उपकरण सञ्चालन गर्न ‘मोबाइल अपरेटिङ सिस्टम’ जडान गरिएको छ । यो प्रणालीबाट उपभोक्ताले घरबाट पानी तान्ने उपकरण खोल्न र बन्द गर्न सक्छन् । विद्युतीय उपकरण भण्डारण, उपभोक्ता संस्थाको कार्यालय र हेरालुको आवासका लागि भवन पनि निर्माण भएको छ । योजना निर्माणमा प्रतिघर २० दिनका दरले श्रमदान गरिएको उपभोक्ता बलबहादुर परियारले बताए । घरघरमा पानी वितरण हुन थालेपछि पुलाचौरबासीको दैनिकी फेरिएको छ । 'पानीको पालो कुर्दा खाना पकाउन ढिला भएर कहिलेकाँही बालबालिका विद्यालय जान नपाउने अवस्था थियो', उनले भने, 'अहिले समयको बचत हुनुका साथै सरसफाइ गर्न सहज भएको छ भने स्थानीयको दैनिकी फेरिएको छ ।' रासस

नेपालगञ्जको विद्युत् अनियमितता हटाउन पहल सुरू, हितेन्द्रदेव शाक्यले गरे अवलोकन

नेपालगञ्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आर्चाय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेपालगञ्जको विद्युत् समस्याबारे जानकारी लिएका छन् । बाँकेको बैजनाथ गाउँपालिकास्थित बानियाभारको विवादबारे जानकारी दिन नेपालगञ्ज आएका सचिव आर्चाय र कार्यकारी निर्देशक शाक्यले उद्योग वाणिज्य सङ्घ नेपालगञ्जका अध्यक्षलगायत उद्योगीलाई भेटेर विद्युत् अनियमितताको समस्याबारे जानकारी लिएका हुन् । सो अवसरमा मन्त्रालयका सचिव आर्चायले यहाँको विद्युत् समस्या समाधानका लागि सरकार गम्भीर रहेको औंल्याउँदै अबका केही वर्षमा सबै समस्या समाधान हुने बताए । प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले विद्युत् वितरणको केन्द्रमा कोहलपुर भएकाले यसबाट विद्युत् वितरण गर्दा नेपालगञ्जमा विद्युत् अपुग भएको उल्लेख गर्दै जानकीको बकसपुरमा र भारतको नानपुरमा विद्युत् परियोजनाको काम सम्पन्न भएपछि यस क्षेत्रलाई राहत हुने बताए । उनले भने, 'यस क्षेत्रको विद्युत् अनियमितताबारे जानकार भएकाले नै हामीले यसलाई गम्भीरतापूर्वक लिएका छौँ ।' कोहलपुर– नेपालगञ्ज १३२ केभी प्रसारण लाइन परियोजनाका सञ्जय गुरुङले परियोजनाको काम सपन्न गर्न कम्तीमा डेढ वर्षको समय लाग्ने उल्लेख गर्दै विद्युत्का सबै समस्या समाधान हुने बताए । उद्योग वाणिज्य सङ्घ नेपालगञ्जका अध्यक्ष टङ्क धामीले विद्युत् अनियमितताले नेपालगञ्जका उद्योगी, व्यवसायी मर्कामा परेको उल्लेख गर्दै विद्युत् लाइन काट्ने विषयमा पूर्वजानकारी दिन आग्रह गरे । उनले यहाँको व्यापारिक केन्द्रलाई ध्यानमा राखेर विद्युत् नीति बनाउन जोड दिँदै सङ्घका तर्फबाट विद्युत्सँग सम्बन्धित ज्ञापनपत्रसमेत बुझाए । यसअघि सचिव आर्चाय र कार्यकारी निर्देशक शाक्यले लुम्बिनी प्रदेश डिभिजन कार्यालय, बैजनाथको बानियाभार क्षेत्र, जानकी गाउँपालिकाको बकसपुर क्षेत्र र नेपालगञ्ज वितरण केन्द्रको स्थलगत अवलोकन गरे । नेपालगञ्ज वितरण केन्द्रका विषयमा कार्यालय प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिएका थिए । उनीहरूले लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज मातहतका पूर्वीरुकुम, रोल्पा, दाङ, बाँके, बर्दिया र प्युठान जिल्लाका वितरण केन्द्रका प्रमुखहरूसँग विद्युत्का विषयमा अन्तक्रिर्या गरेका थिए ।