काठमाडौं उपत्यकामा दैनिक ५ हजार सिलिण्डर अक्सिजन उत्पादनको गृहकार्यमा निजी अस्पताल
काठमाडौं । कोभिड महामारीका कारण अक्सिजनको हाहाकार भएपछि निजी क्षेत्रबाट अस्पताल संचालकहरुले संयुक्त रुपमा अक्सिजन प्लाण्ट स्थापनाको गृहकार्य थालेका छन् । सरकारले १५ दिनभित्रमा निजी अस्पतालहरुलाई आफ्नै अक्सिजन प्लाण्ट स्थापना गरिसक्न दिएको निर्देशन कार्यान्वयन हुन कठिन हुने भन्दै निजी क्षेत्रबाट अस्पताल संचालन गरिरहेका संचालकहरुले संयुक्त रुपमा प्लाण्ट स्थापनाको गृहकार्य अघि बढाएका हुन् । सरकारले १५ दिनभित्रमा आफ्नै अक्सिजन प्लाण्ट राख्न दिएको निर्देशन कार्यान्वयन गराउन अहिले समस्या भएकोले संयुक्त रुपमा प्लाण्ट राख्ने विषयमा छलफल चलेको सुमेरु अस्पतालका प्रबन्ध निर्देशक तथा निजी अस्पताल संचालकहरुको संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ अर्गनाइजेसन नेपाल (अफिन) का महासचिव हेमराज दाहालले जानकारी दिए । ‘सरकारले निजी अस्पतालहरुलाई १५ दिनभित्रमा आफ्नै अक्सिजन प्लाण्ट राख्न निर्देशन दिएको छ, कोभिड महामारीको अहिलेको अवस्थामा सम्भव देखिदैन, अक्सिजन प्लाण्ट राख्ने हाम्रो काम पनि होइन, हामीलाई अस्पताल संचालनको अनुमति दिदा अक्सिजन प्लाण्ट आफैले राख्नुपर्ने भन्ने शर्त पनि थिएन तर, पनि महामारीको समयमा नागरिकप्रतिको दायित्वबोध गरेर अफिनले संयुक्त रुपमा प्लाण्ट स्थापना गरौं भन्ने छलफल चलिरहेको छ, अहिले साढे २ बजेतिर हामी यही विषयमा विज्ञसँग पनि छलफल गर्दैछौं, त्यसपछि कसरी अघि बढ्ने भन्ने यकिन हुन्छ,’ महासचिव दाहालले विकासन्युजसँग भने । कोभिड महामारीको सबैभन्दा बढी चाप काठमाडौं उपत्यकामा देखिएको तथा बाहिरी जिल्लाहरुबाट पनि राम्रो उपचार पाइने आशमा सर्वसाधारण काठमाडौंमा नै आइरहेकोले काठमाडौं उपत्यकाभित्रै प्लाण्ट स्थापना गर्ने बारेमा छलफल चलिरहेको उनले जानकारी दिए । ‘कोभिड महामारी अघि एक जना विरामीलाई औसतमा दैनिक २ देखि ५ लिटर अक्सिजन आवश्यक पथ्र्याे, कोभिड विरामीलाई अहिले औसतमा दैनिक १० देखि १५ लिटरसम्म अक्सिजन आवश्यक परेको छ, अहिले नेपालमा दैनिक ९\१० हजार सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ, माग भने दैनिक १८ देखि २० हजार सिलिण्डरको छ, आन्तरिक उत्पादनले माग धान्न सक्ने अवस्था छैन, अस्पतालहरुलाई आफ्नै अक्सिजन प्लाण्ट स्थापना गर भन्ने कुरा व्यवहारिक होइन, त्यसैले अफिनले नै संयोजन गरेर दैनिक ४ देखि ५ हजार सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लाण्ट काठमाडौं उपत्यकाभित्र स्थापना गरौं भन्ने प्रस्ताव आएर हामी छलफल गर्न लागेका हौं,’ महासचिव दाहालले भने । अफिनले विज्ञसँग छलफल गरी कुन स्थानमा प्लाण्ट राख्न सकिने, त्यसको लागि आवश्यक उपकरण तथा पूर्वाधार के कस्तो चाहिने, लगानी कसरी जुटाउने भन्ने विषयमा छलफल गर्न लागेको हो । दैनिक ५ हजार सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लाण्ट स्थापना गर्न कम्तिमा पनि १ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कसैले निर्देशन दियो भन्दैमा ६ महिनामा बच्च जन्माउन सकिन्छ र ? कोभिड महामारीसँगै अक्सिजनको अभाव बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १०० बेडभन्दा बढी क्षमता भएका अस्पताललाई १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट खोल्न निर्देशन दिएको छ । तर, मन्त्रालयले दिएको यस्तो निर्देशन कार्यान्वयन गर्न नसकिने अफिनको भनाई छ । अफिनका वरिष्ठ उपाध्यक्ष तथा अल्का अस्पतालका अध्यक्ष कुमार थापा १५ दिनभित्रमा अक्सिजन प्लाण्ट स्थापना गर्न नसकिने बताउँछन् । ‘यस्ता बकम्फुसे कुरा गरेर हुन्छ सरकारले ? हामीले कहाँबाट सामान ल्याउने ? कि नेपालमा सबै सामानहरु पाइने व्यवस्था मिलाइदिनु पर्यो, विश्व पुरा आक्रान्त भएका बेला हामीले कसरी १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्ने ? सामान ल्याउने गरिएको भारतबाट हो, अहिले भारतकै अवस्था नाजुक छ, यस्तो बेलामा १५ दिनभित्रमा अक्सिजन प्लाण्ट राख्न सकिदैन,’ उनले भने । अफिनका महासचिव दाहाल पनि १५ दिनभित्रमा अक्सिजन प्लाण्ट राख्न सम्भव नभएको बताउँछन् । ‘आज अक्सिजन अभाव भयो भनेर अक्सिजन प्लाण्ट राख भनिएको छ, भोलि सिटामोलको अभाव भयो भने सिटामोल फ्याक्ट्री राख्ने ? रेम्डिसिभिर अभाव भयो भने रेम्डिसिभिर उत्पादन गर भन्ने ? सबैको आ–आफ्नो जिम्मेवारी र दायित्व हुन्छ होला, अक्सिजनको अभाव भयो भने अक्सिजन उद्योग खोल्नेहरुले उत्पादन बढाउने होला, उनीहरुले लगानी थप्ने होला, अक्सिजन उद्योगको लागि चाहिने सहयोग सरकारले गर्ने होला, अस्पतालहरुलाई अक्सिजन प्लाण्ट राख भनेर आफ्नो दायित्वबाट पन्छिने कुरा जिम्मेवार निकायबाट आउनु हुन्न,’ सुमेर अस्पतालका प्रबन्ध निर्देशक समेत रहेका अफिनका महासचिव दाहालले भने । उनले सरकारी अस्पतालहरुले १५ दिनभित्रमा अक्सिजन प्लाण्ट राखेर देखाए आफूहरुले पनि त्यो हेरेर सिक्ने र प्लाण्ट राख्न अघि बढ्ने दाहालकाे भनाई छ । ‘अक्सिजन प्लाण्ट राख्न उपकरणहरु विदेशबाट ल्याउनु पर्छ होला, प्रविधि चाहिन्छ होला, दक्ष जनशक्ति आवश्यक पर्ला, प्लाण्टको लागि अरु पूर्वाधार पनि चाहिन्छ होला, निषेधाज्ञा लगाएर कसैलाई हिड्न दिइएको छैन, यस्तो बेलामा १५ दिनभित्र अक्सिजन प्लाण्ट राख भनेर हामीलाई निर्देशन दिने निकायकै मातहतका अस्पताल (सरकारी अस्पताल) हरुमा राखेर देखाइदिनुस्, हामी त्यो हेरेर सिक्छौं, अनि प्लाण्ट स्थापना गर्छाैं, यो कुरा त कसैले निर्देशन दिएर ६ महिनामा बच्च जन्माउ भने जस्तो भयो, कसैको निर्देशनले ६ महिनामा बच्च जन्मिन्छ ?’ महासचिव दाहालले प्रश्न गरे । अक्सिजन अभावमा काठमाडौं उपत्यकाका ८ अस्पताल बन्द उपत्यकाका ८ अस्पतालले अक्सिजन नभएको कारण थप नयाँ संक्रमित थप्न नसक्ने बताएका छन् । नेपाल मेडिसिटी अस्पताल, ग्राण्डी इन्टरनेसनल अस्पताल, नेपाल मेडिकल कलेज, भक्तपुर इन्टरनेसनल अस्पताल, हिमाल अस्पताल, हेल्पिङ ह्याण्डस, नेपाल भारत मैत्री अस्पताल र मेडिकेयर अस्पतालले अक्सिजन नभएको कारण थप नयाँ संक्रमित भर्ना गर्न नसक्ने बताएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण अक्सिजनको अभाव भइरहेको बताउँदै सरकारको सिफारिस बिना सबै किसिमका अस्पतालहरुलाई अक्सिजन बिक्री वितरण नगर्न अक्सिजन उत्पादक कम्पनीहरुलाई बैशाख १५ गते निर्देशन दिएको थियो । यस्तै, सरकारले अस्पतालहरुलाई दैनिक उपलब्ध गराउने अक्सिजनमा कोटा प्रणाली लागू गरेको थियो । यसपश्चात अस्पतालहरुले सहज रुपमा अक्सिजन पाउन छाडेका छन् । धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले बुधबार विज्ञप्ति जारी गर्दै अक्सिजनको अभावको कारण नयाँ बिरामी भर्ना नलिने जनाएको हो । अक्सिजनको अभावले सेवा प्रवाह गर्न कठिनाई भएको भन्दै ग्रान्डीले बिरामीसँग क्षमासमेत मागेको छ । आवश्यक अक्सिजन पाइन थालेपछि थप बिरामी भर्ना गरिने अस्पतालका महाप्रबन्धक विकासमान सिंहले बताए । यस्तै, नेपाल मेडिसिटी अस्पतालले पनि मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै नयाँ संक्रमित भर्ना नलिने जनाएको थियो । अस्पतालका मेडिकल सुपरीन्टेन्डेन्ट तथा प्रवक्ता डा. राज राणाले प्रत्येक दिन ४ सय ५० देखि ५ सय सिलिण्डर अक्सिजन आवश्यक पर्नेमा नेपाल सरकारले दैनिक १ सय सिलिण्डर मात्रै दिने गरी कोटा तोकेले थप संक्रमित भर्ना गरेर उपचार गर्न सम्भव नहुने भएकाले थप भर्ना रोकिएको बताए । उनले हाल उपचाररत बिरामीहरुलाई समेत अक्सिजन अभावले उपचार गर्न नसकिने अवस्था आउन सक्ने बताए । ज्ञानेश्वरस्थित हिमाल अस्पतालले पनि अक्सिजन अभावकै कारण नयाँ संक्रमित भर्ना नगर्ने भएको छ । अस्पतालमा बेड खाली भएपनि अक्सिजन नभएको कारण थप बिरामी भर्ना लिन नसक्ने अस्पताल प्रशासनले जनाएको छ । नेपाल मेडिकल कलेजले आवश्यकता अनुसार अक्सिजन पाइन थालेपछि मात्रै नयाँ बिरामी भर्ना लिने जनाएको छ । मेडिकेयर अस्पतालका प्रशासकीय संयोजक हरिभक्त सिग्देल अस्पतालमा अक्सिजन दिनुपर्ने कोभिड र अन्य बिरामीहरुलाई अस्पतालले भर्ना लिन रोकेको बताउँछन् । स्वास्थ्य मन्त्रालयले पहिले चलिरहेको अक्सिजन व्यवस्थापनलाई निरन्तरता दिएको भए यति असहज अवस्था नआउने सिग्देलको भनाई छ । मन्त्रालयको नियम सैद्धान्तिक रुपमा राम्रो देखिए पनि व्यावहारिक रुपमा समस्या भएको उनको भनाइ छ । महामारीको समयमा भागेका होइनौंः दाहाल अफिनका महासचिव दाहालले कोभिड महामारीको बेलामा उपचार गर्नबाट निजी अस्पतालहरु भागेका भन्ने जस्तो आरोप लागेको भन्दै त्यसप्रति आफूलाई दुःख लागेको बताउँछन् । ‘उपचारमा संलग्न स्वास्थ्यकर्मीको टीम २४सै घण्टा विरामीको हेरचाह र उपचारमा खटिरहेको छ, व्यवस्थापकीय जिम्मेवारी बोकेका हामीहरु पनि बेड, आईसीयु, भेन्टिलेटर, अक्सिजन भन्दै त्यसको व्यवस्थापनको लागि रातको १२/१ बजेसम्म लागिरहेका हुन्छौं, सकेसम्म व्यवस्थापन गर्न भन्दै हामी दिनरात टेलिफोनमा कुरा गरिरहेका छौं, लागिपरेका छौं, निजी अस्पताल संचालक भन्दैमा सबैले हामीलाई गाली नगरिदिए हुन्थ्यो, हाम्रा आफन्त पनि विरामी परेका छन्, पर्छन्, उहाँहरुलाई पनि बेड, अक्सिजन, आइसीयु, भेन्टिलेटर चाहिने अवस्था छ, त्यसको पनि प्रबन्ध मिलाउन सकेका छैनौं, हामी पनि यही समाजमा छौं, हामी आफै पनि संक्रमित भएका छौं, हुन्छौं, यो वास्तविकता नबुझी महामारीको बेलामा निजी अस्पतालहरु उपचार गर्नबाट भागे भन्ने जस्तो आरोप लगाउँदा दुःख लाग्छ, हामी भागेका छैनौं, सकेसम्म अधिकतम प्रयास गरिरहेका छौं, अन्तिम समयसम्म पनि गर्छाैं,’ महासचिव दाहालले भने ।
नुवाकोटमा अक्सिजनसहितको २२२ शय्याको आइसोलेसन सञ्चालनमा, उपचारको लागी अभाव नहुने
फाइल फाेटाे त्रिशूली । कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचार गर्न नुवाकोटका सबै स्थानीय तहले अक्सिजनसहितको आइसोलेसन केन्द्र स्थापना गरेका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार बुधबारसम्म जिल्लाका बाह्र स्थानीय तहसहित नेपाली सेनाको नं. १ तालीम गण र त्रिशूली अस्पतालमा गरेर २२२ शय्याको आइसोलेसन सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालका अनुसार जिल्लाका अधिकांश स्थानीय तहले पहिलो चरणको कोरोना महामारीको समयमा तयार गरेका आइसोलेसनलाई पुनःसञ्चालनमा ल्याएका छन् भने केहीले यसअघि बनाएको क्वारेन्टिन (सुरक्षित बासस्थान) लाई स्तरोन्नति गरेर हाल आइसोलेसन शय्यामा रुपान्तरण गरेका छन् । ‘स्थानीय तहले बनाएका आइसोलेसनमा चिकित्सक, अक्सिजन सिलिण्डरसहितको सुविधा उपलब्ध छ’, सूचना अधिकृत खनालले भने, ‘कोरोना सङ्क्रमितको स्वास्थ्य समस्या नभएसम्म घरमै बस्न र कमजोर महशुस भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क राख्न भनेकाले हाल नुवाकोटमा बिरामीको उपचारको लागी शय्याको अभाव देखिन्न ।’ विदुर नगरपालिकाले बट्टार स्थित कर्भडहलमा २२ र नुवाकोट सिटी कम्युनिटी अस्पतालमा १५ गरेर ३७ शय्याको आइसोलेसन तयार गरेको स्वास्थ्य शाखा प्रमुख पूर्णध्वज श्रेष्ठले जानकारी दिए । आइसालेसनमा अक्सिजन सिलिण्डर, अक्सिजन कन्सनट्रेटर, पल्स-अक्सोमिटर सहित चिकित्सकको व्यवस्था गरिएको छ । विदुर नपाभित्र हाल ३३२ कोरोनाका सक्रिय सक्रमित छन् । उनीहरुमध्ये स्वास्थ्य समस्या भएका केहीको त्रिशूली अस्पतालमा उपचार भईरहेकाले सुविधायुक्त आइसोलेसन केन्द्र भने खाली छ । बेलकोटगढी नगरपालिकामा कोभिड अस्पतालसहित २५ शय्याको आवश्यक सुविधासहित आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको नगरप्रमुख राजेन्दरमण खनालले जानकारी दिए । लिखुमा १०, शिवपुरीमा २०, म्यागङमा ८, किस्पाङमा ५, सूर्यगढीमा २०, तादीमा २०, तारकेश्वरमा ९, दुप्चेश्वरमा ८, पञ्चकन्यामा ५ र ककनी गाउँपालिका ५ शय्याको आइसोलेसन कक्ष तयार छ । आइसोलेसन कक्षमा सबै स्थानमा अक्सिजन सहित अक्सिजन कन्सनट्रेटर, पल्स-अक्सोमिटर, पिपिइ, भाइरस परीक्षण गर्ने एण्टिजेन कीट, पिसिआरको लागि स्वाब सङ्कलन गर्न भिटिएम सहितको सुविधा रहेको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले जानकारी दिए । विदुर, बेलकोटगढी, तादी, शिवपुरी, ककनी, म्यागङले बनाएको केन्द्रमा चिकित्सक सहित बिरामीको उपचार सेवाको लागी स्वास्थ्यकर्मी खटाइएको छ । स्वास्थ्य कार्यालय र जिससले ती केन्द्रको अनुगमन गरेर गर्नुपर्ने सुधारदेखि आवश्यकता अनुसार शय्या बढाउने तयारी गर्न सुझाव दिएका थिए । हाल दुई सय शय्या रहेकोमा आवश्यकताको आधारमा वृद्धि गरेर ३०० सम्म पुरयाउन सकिने स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार बिहीबारसम्म जिल्लामा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ६२७ पुगेको छ । ती मध्ये अधिकांश घरमै स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । समस्या देखिएका ४४ लाई त्रिशूली अस्पताल भर्ना गरिएको छ भने बाँकी ४ जना स्थानीयहले बनाएको आइसोलेसनमा राखिएको छ । नुवाकोटमा हालसम्म एक हजार ८८० जनामा कोराना देखिएकोमा त्यसमध्ये एक हजार २४९ जना निको भएका छन् । जिल्ला भित्र चार जनाको मृत्यु भएको छ । रासस
निगमका महाप्रबन्धक भन्छन्ः आगामी १०/१२ दिनमै अक्सिजनको समस्या समाधान हुन्छ
काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आगामी १०/१२ दिनमा अक्सिजनको समस्या समाधान हुने बताएका छन् । उनले नेपाल सरकार सम्बद्द सबै निकायहरुको अहोरात्र सक्रियतामा आगामी १०/१२ दिनमा अक्सिजनको समस्या समाधान हुने जनाएका हुन् । उनले बिहीबार बिहान सामाजिक सञ्जाल (फेसबुक) मा एक सूचना राख्दै साे कुरा बताएका हुन् । यस्तै उनले निगमका सबै जहाज तयारी अवस्थामा राखिएको बताएका छन् । उनले सरकारले भनेको अवस्थामा स्वास्थ्य सामग्री ल्याउनेदेखि उद्धार उडान गर्न सबै जहाज तयारी अवस्थामा राखिएको बताएका हुन् । पछिल्लो समय नेपालका अधिकांश स्थानमा अक्सिजन अभावका कारण धेरै कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश विरामी अक्सिजन अभावका कारण मृत्यु भएको र देशकै ठूला अस्पतालहरुले अक्सिजन अभावका कारण उपचार गर्न नसक्ने भन्दै हात उठाउँदै आएका छन् । नेपालमा अक्सिजन र सिलिण्डर अभाव भयो भनिरहँदा चीन लगायत धेरै देशबाट सहयोग दिने बताईसकेका छन् । जसमा चीन, बंगलादेशबाट अक्सिजन सिलिण्डर नेपाल ल्याईसकिएको छ । नेपाल वायुसेवा निगमले सरकारलाई आवश्यक परेमा जहाज उपलब्ध गराउन तयारी भएको उनकाे भनाई छ ।