अक्सिजन अभावले वीरको नयाँ भवन सञ्चालनमा समस्या
काठमाडाैं । वीर अस्पतालले अक्सिजन अभावका कारणले नयाँ भवन सञ्चालन गर्न सकेको छैन । सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि सञ्चालन गर्ने निर्णय गरे तापनि अक्सिजन अभावले सञ्चालनमा कठिनाइ भएको छ । अस्पतालका निर्देशक डा शान्ता सापकोटाले सरकारको निर्देशनानुसार नयाँ भवन सञ्चालनका लागि तयारी गरिए तापनि अक्सिजन नपाइएपछि सञ्चालन हुन नसकेको बताइन् । नेपालमा अहिले १५ हजार अक्सिजन सिलिण्डरको माग र सात हजार २०० मात्र उत्पादन हुने गरेको छ । ‘हामीले भवनमा बिरामी राख्नका लागि सबै तयारी पूरा गरेका थियौँ तर अक्सिजन नभएपछि त्यकिै रोकिएको छ ‘, उनले भनिन्, ‘अहिले सङ्क्रमितलाई अक्सिजन चाहिन्छ । त्यसैले अक्सिजनविना बिरामीलाई नयाँ भवनमा राख्न सकिँदैन ।’ सुरुमा एक सयदेखि ३०० शय्या सञ्चालन गर्ने योजना थियो । सर्जिकल बिरामीका लागि बनाइएको उक्त भवन ५०० शय्याको छ । त्यहाँ बिरामी राखेर उपचार गर्नका लागि कम्तीमा ६०० सिलिण्डर अक्सिजन आवश्यक रहेको उनको भनाइ थियो । उनले अक्सिजनको आपूर्ति गर्नका लागि प्रयास भइरहेको र प्राप्त हुनासाथ भवनमा बिरामीलाई राखिने जानकारी दिइन् ।
मध्यपुरथिमिमा हावाबाट अक्सिजन उत्पादन सुरु, दैनिक १ लाख ९२ हजार लिटर बन्ने
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले ६५ लाखमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा स्थापना गरेको एयर बेस प्लान्टबाट अक्सिजन उत्पादन गरी आजबाट कोभिड–१९ का बिरामीलाई दिन सुरु गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसहितको टोलीले गएराति १० बजेसम्म अस्पतालमा बसेर उत्पादन परीक्षणको अवलोकन गरेका थिए । परीक्षण सफल भएपछि प्लान्टबाट अक्सिजन पाइप मार्फत बिरामीको शय्यामा पुरयाएर अक्सिजन वितरण गर्न थालिएको हो । प्लान्टबाट उत्पादित अक्सिजन अस्पतालको आइसियू, हाइ केयर युनिट र भेन्टिलेटरमा भर्ना भएका कोभिड–१९ का २४ बिरामीलाई दिन थालिएको हो । नगरप्रमुख श्रेष्ठले भने, ‘नेपाल मै पहिलो पटक यो अस्पतालमा हावाबाट अक्सिजन उत्पादन गर्ने एयर बेस अक्सिजन प्लान्ट जडान गर्न सफल भएका छौ, अहिलेको अभावमा यसले धेरै राहत दिएको छ ।’ एकदिन अघिसम्म अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन अक्सिजनको खोजीमा सीसीएमसीदेखि स्वास्थ्य मन्त्रालय, अक्सिजन कम्पनीसम्म धाउने, एउटा सिलिण्डर खोज्दै बिरामी बचाउन व्यस्त रहनुपर्ने अवस्थाबाट अलिकति राहत मिलेको उनको भनाइ छ । हाल चीन र अष्ट्रेलियामा मात्रै जडान भएर सञ्चालनमा आएको एयर बेस अक्सिजन प्लान्ट नगरपालिकाले चीनबाट दुई महिना लगाएर ल्याएको हो । ‘बल्ल मेशिन ल्यायौँ, यो प्लान्ट राख्न केहीले अबरोध गर्न खोज्दा ढिला भयो, १० दिनमा आइसियू भवनमा जोडेर टहरा बनाएर चार दिनसम्म १५ जना रातदिन खटेर प्लान्ट जोडियो’, नगरप्रमुख श्रेष्ठले भने, ‘विद्युत प्राधिकरण मध्यपुरथिमि शाखाका प्रमुखदेखि इञ्जिनियरको टोली खटेर अक्सिजन उत्पादन गरेपछि अक्सिजन खोज्दै भौतारिनु पर्ने तनाबबाट केही हदसम्म मुक्त भएका छौ ।’ प्रति घण्टा आठ हजार लिटर अक्सिजन उत्पादन गर्ने यो प्लान्टबाट २४ घण्टामा १ लाख ९२ हजार लिटर अक्सिजन उत्पादन हुनेछ । यसले आइसियू, हाइकेयर युनिट र भेन्टिलेटरका २४ बिरामीलाई अक्सिजन पुग्छ । आकस्मिक कक्षलगायतका ठाउँमा राखिएका १९ बिरामीलाई दैनिक ३० सिलिण्डर अक्सिजन आयात गरे पुग्ने छ । विगतमा दैनिक ९० सिलिण्डर अक्सिजन खपत हुने गरेको थियो । नगरपालिकाले हाल ४२ वटा शय्या सञ्चालन गरी कोभिडका बिरामीको उपचार गरेको छ । अस्पतालको पुरोना क्यान्टिन रहेको भवन र नयाँ बन्दै गरेको रेडियोलोजी ब्लकको भुइतलामा थप २० शय्या विस्तार गरिसकिएको छ । अक्सिजन अभावले थप बिरामी राख्न नसके पनि अब केही दिनभित्रै ती शय्या पनि सञ्चालनमा ल्याउने नगरप्रमुख श्रेष्ठले बताए । आउँदो १८ तारिखमा अमेरिकामा रहेको नेपाल इन्गेज नामक संस्था तथा नेपालका लागि पूर्वराजदूत स्कट डेलिसिले सहयोग सङ्कलन गरेर करिब ५५ लाखमा चीनबाट ४० वटा अक्सिजन उपकरण यस अस्पताललाई सहयोग आउने भएको छ । नगरप्रमुख श्रेष्ठले अमेरिकाका दाताहरुबाट विद्युतमा जोडेर अक्सिजन प्रवाह गर्न सकिने ‘अक्सिजन कन्सन्ट्रेटर’ ४० वटा तीन दिन भित्र आइपुग्ने बताए । आईसियू र भेन्टिलेटरमा राख्न नपर्ने आकस्मिक कक्ष तथा आइसोलेसनमा राखेर उपचार हुने बिरामीका लागि ‘अक्सिजन कन्सन्ट्रेटर’ जडान गरी अक्सिजन दिन सकिने छ । अक्सिजन नभएकै कारण भर्ना भएका बिरामी फर्काउनुपर्ने अवस्थाको अब अन्त्य हुने र केही दिन मै २० शय्या थपेर कोभिडका कम्तीमा ६० बिरामीको उपचार गरिनेछ । हाल सात भेन्टिलेटर, १० आइसियू, १४ हाइकेयर युनिटसहित ४२ शय्या सञ्चालन गर्दै आएको यो अस्पताललाई काठमाडाैं महानगरपालिकाले थप तीन भेन्टिलेटर सहयोग गर्ने भएको छ । अस्पतालमा हाल दुई वटा पोर्टेबल भेन्टिलेटरसमेत सञ्चालनमा छन् । बाबा सकहकारीको नेतृत्वमा मध्यपुरथिमि भित्र सञ्चालित केही सहकारीले हाइकेयर युनिटका लागि १० वटा मोनिटर सहयोग गर्ने भएका छन् । त्यस्तै एन्फो गैरसरकारी संस्थाले १० शय्या, टेबल, मोनिटर, तीन वटा इसिजि, पिपिइ, स्यानिटाइजर लगायतका सामाग्री सहयोग गरेको छ । कोरोना भाइरस सङ्क्रमितको उपचारमा नगरपालिका सक्रिय भएको नगरपालिकाका प्रशासकीय प्रमुख चुरामणि पन्थीले जानकारी दिए । उनले अस्पतालमा शय्यादेखि प्रविधिसमेत थप गर्दै आफ्ना नागरिकलाई सुरक्षित राख्न विभिन्न निकायबाट सहयोग माग र प्राप्त भइरहेको बताए । नगरपालिकाका सूचना अधिकृत एवं कानून शाखा प्रमुख केशव सिलवालले नगरपालिकाले हाल बोडेको कृषि विकास बैंकको तालिम भवनमा कोभिड सङक्रमित आफ्ना नगरवासीका लागि दुई स्वास्थ्यकर्मी सहितको आइसोलेसन सञ्चालन गरेको जानकारी दिए । ५५ जनासम्म सङ्क्रमित राखेको यहाँ नगरपालिकाले २४ सै घण्टा दुई जना स्वास्थ्यकर्मी परिचालन गरी आइसोलेसनमा निःशुल्क बिरामीको उपचार गरिरहेको उनले जानकारी दिए । रासस
सङ्क्रमणको दर घट्दै, अक्सिजन अभाव हुन नदिन भारतबाट पाँच सय सिलिन्डर ल्याइयो
फाइल फोटो काठमाडौं । पछिल्ला दुई दिनमा रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या घटेको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज प्रकाशन गरेको तथ्याङ्क अनुसार सङ्क्रमण दर कम हुँदै गएको छ । पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ भने एक हजार चार सय ७८ जनाको आरटीपीसीआर जाँच गर्दा पाँच सय १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लामा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या तीन सय ३६ र सक्रिय सङ्क्रमितको संख्या ७ हजार ४ सय ८ जना पुगेको छ । सङ्क्रमितमध्ये सबैभन्दा बढी तिलोत्तमा नगरपालिकामा ८२ जना महिला र ८३ जना पुरुष गरी एक सय ६५ जना छन् । अहिलेसम्म सबैभन्दा बढी सङ्क्रमण देखिएको बुटवल उपमहानगर पालिकामा पनि सङ्ख्या कम भएको छ । बुटवलमा १ सय ५४ जना सङ्क्रमित छन् । सिद्धार्थनगर नगरपालिकामा ४५ जना, सियारी गाउँपालिकामा ५५ जना, देवदह नगरपालिकामा २६ जना रहेका छन् । यस्तै सैनामैना गाउँपालिकामा ३० जना सङ्क्रमित छन् । ओमसतिया गाउँपालिकामा १० जना, कञ्चनमा १६ जना मायादेवी गाउँपालिकामा चार जना पुरुष, लुम्बिनी सांस्कृतिक नगरपालिकामा दुई जना पुरुष, शुद्धोधन गाउँपालिकामा ६ जना पुरुष र कोटहीमाई गाउँपालिकामा एक जना पुरुष सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा गैडहवा गाउँपालिका, मर्चवारी गाउँपालिका, रोहिणी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या शून्य देखिएको छ । अक्सिजन अभाव हुन नदिँन भारतबाट आयात जिल्लामा अक्सिजन अभाव हुन नदिन भारतबाट आयात गरिएको छ । रुपन्देहीको छिपागढमा रहेको शंकर ग्यास उद्योगले आज भारतबाट लिक्विड ग्याँस आयात गरेको छ । जिल्लामा बढ्दो अक्सिजन ग्याँसको मागलाई धान्न नसकेपछि उद्योगले भारतबाट पाँच सय सिलिन्डर लिक्विड ग्यास आयात गरेको हो । बिहान भैरहवा भन्सार कार्यालयमा आवश्यक कागजात प्रक्रिया पूरा गरी अक्सिजन उद्योसम्म पुर्याएको भैरहवा भन्सार कार्यालयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक तेजबहादुर खत्रीले जानकारी दिए । पछिल्लो समय जिल्लाका तीन उद्योगले अक्सिजनको माग थेग्न नसकेपछि चितवन, विराटनगर तथा पोखराबाट समेत आयात गरिएको छ । शंकर उद्योगले दैनिक पाँच सय सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको थियो । यसअघि पनि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहको समनवयमा नेपाली सेनाको हेलिकोप्टरमा ४० सिलिन्डर ग्याँस ल्याएको थियो । रासस