काठमाडौं । कोभिडको संक्रमणबाट बिरामी भएका नागरिकलाई सहज उपचार सेवाका लागि काठमाडौं महानगरले शनिबार थप ३ वटा अस्पतालसँग सहयोग सम्झौता गरेको छ ।
महानगरले आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालसँग सम्झौता गरेकाे हो ।
महानगरले शुक्रबार ७ वटा, बिहिबार र साेमबार १-१ वटा गरी अहिलेसम्म १२ वटा सरकारी र सामुदायिक अस्पतालसँग सम्झौता गरिसकेकाे छ ।
यसरी भएका सम्झौताअनुसार महानगरको लगानीमा सामाखुशीमा रहेको राधा स्वामी सत्संग ब्यासको भवनमा महानगरपालिकाको अक्सिजन सहितको २ सय वेडको आईसोलेसन केन्द्र र छत्रपाटी निःशुल्क चिकित्सालयमा ३५ वेडको कोविड अस्पताल सञ्चालन हुनेछ ।
त्यसै गरी विभिन्न अस्पतालहरुले ४२ वटा भेन्टिलेटर, ५० थान मोनिटर, १० थान कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप), १० थान वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (वी—प्याप), १० हजार थान अट्राक्सन किटसहित उपकरण प्राप्त गर्नेछन् । यसैगरी अस्पतालहरुले स्टाफ अब्जर्वेसन, भौतिक संरचना मर्मत सम्भार र व्यवस्थापनका लागि आर्थिक अनुदान प्राप्त गर्नेछन् ।
आज सम्झौता भएका अस्पतालहरुमध्ये सहिद गंगालाल ५ थान भेन्टिलेटर, शुक्रराज ट्रपिकल अस्पताललाई १० वेडको स्टाफ अव्जर्वेसन कक्ष स्थापनाका लागि करीब ११ लाख रुपैयाँ नगद र १० हजार थान अट्राक्टस किट खरिद गर्दाको बिलबमोजिम भुक्तानी गर्नुपर्ने रकम बराबर अनुदान सहयोग पाउनेछन् ।
महानगरले यस अघि बैशाख २४ गते सम्झौता गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई २५ गते १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ । त्यस्तै बैशाख २७ गते नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको एचडीयु (हाइ डिफिसेन्सि युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन सम्झौता भइसकेको छ ।
बैशाख २८ गते महानगरले सरकारी र सामुदायिक अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर बढ्दो कोविडको संक्रमणविरुद्ध लड्न कस्तो सहयोग आवश्यक पर्छ भनेर सोधेको थियो । यसपछि अस्पतालहरुले आफ्नो क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनका लागि सहयोग सम्बन्धी माग गरेका थिए । अस्पतालहरुको मागअनुसार सम्झौता गरिएको हो ।
यसअनुसार बैशाख ३१ गते वीरेन्द्र सैनिक अस्पताल, छत्रपाटी निःशुल्क चिकित्सालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, निजामति कर्मचारी अस्पताल, महेन्द्र नारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, र जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौँ मोडल अस्पतालसँग सहयोग सम्झौता गरेको थियो ।
महानगरले अनुदान दिएका अस्पतालहरुले आफूले दैनिक दिएको सेवाको विवरण महानगरलाई हरेक दिन पठाउनुपर्छ । यस्तै खर्च र लेखा परीक्षण प्रचलित कानुनले दिएको अधिकार बमोजिम गर्नुपर्नेर्छ । लेखा परीक्षणको प्रतिवेदन महानगरलाई पनि बुझाउनुपर्छ ।
यसैगरी महानगरको सहयोगमा खरिद गरिएका उपकरणमा ‘काठमाडौं महानगरको सहयोगमा’ लेख्नुपर्नेछ । परिस्थिति र आवश्यकताका आधारमा सम्झौता थप गरेर साझेदारिता निरन्तर हुन सक्ने सम्झौतामा उल्लेख छ ।