दैलेखमा लाखौँको भेन्टिलेटर र आइसीयू प्रयोगविहीन
फाइल फाेटाे काठमाडौं । गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका लागि लाखौँ खर्च गरियो । स्वास्थ्य सेवा कार्यालयका तत्कालीन प्रमुख डा निरञ्जन पन्तको सरुवा भएसँगै अहिले स्वास्थ्य सेवा कार्यालयमा भेन्टिलेटर र आइसीयू कक्षसमेत सञ्चालन हुनसकेको छैन । लाखौँ खर्चेर जडान भएका उपकरण त्यत्तिकै थन्किएका छन् । कोरोना सङ्क्रमणको धेरै जोखिम भएका बिरामीलाई आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्न सके केही हदसम्म बाँच्ने सम्भावना हुन्छ, तर अहिले श्वासप्रश्वासको समस्या भएका बिरामीलाई सामान्य अक्सिजनको भरमा उपचार गरिँदै आएको छ । गम्भीर प्रकृतिका बिरामी प्रभावकारी उपचार नपाएर दिनहुँ मृत्युको मुखमा पुगेका छन् । मङ्गलबार मात्रै अक्सिजन अभावमा एक महिलाको ज्यान गयो । दैलेखमा कोरोना सङ्क्रमणबाट हालसम्म १६ जनाको मृत्यु भइसकेको छ । अधिकांश बिरामी श्वासप्रश्वासको समस्या भएर गम्भीर अवस्थामा आउने गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले बताए। ‘हामीसँग भएका केही मात्र अक्सिजनबाट उपचार गर्दै आएका छौँ । तर बचाउन निकै समस्या भएको छ । भेन्टिलेटर भए पनि चलाउने दक्ष जनशक्ति नभएकाले त्यसै थन्किएको छ । जनशक्ति माग गरेका छौँ, तर व्यवस्थापन हुनसकेको छैन’, उनले भने । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले दुई साताअघि नै जनशक्ति लागि जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकबाट बारम्बार निर्णय गरेर माग गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको जानकारी दिए । प्रतिनिधिसभाका तीनवटै सांसद रवीन्द्र शर्मा, राजबहादुर बुढा र पार्वती बिशुंके तत्काल स्वास्थ्य मन्त्रालयमा यसबारे कुरा गर्ने र दक्ष जनशक्ति जिल्ला पठाउने बताउँछन् ।
त्रिशूली अस्पतालमा स्वाब सङ्कलन एक साता बन्द
फाइल फोटो त्रिशुली । त्रिशूली अस्पतालमा आरटी-पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन एक साता बन्द हुने भएको छ । अस्पतालका प्रयोगशालामा रसुवा र धादिङ जिल्लाबाट समेत सङ्कलित नमूना सङ्ख्या एक साताको लागी पुग्ने भएकाले सङ्कलन रोकिएको हो । स्वास्थ्य कार्यालयले आज यहाँ सूचना जारी गरी नुवाकोट, रसुवा र धादिङका स्थानीय तहलाई अबको एक सातासम्म पीसीआर परीक्षणको लागी प्रयोगशालामा स्वाबको नमूना नपठाउन भनेको छ । कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेको अनुसार त्रिशूली अस्पतालको प्रयोगशालाको परीक्षण क्षमता दैनिक १८८ नमूना भएकोमा हाल एक हजार ५०० भन्दा बढी स्वाब परीक्षणको लागी प्राप्त भएको छ । उनका अनुसार जाँच गर्न सङ्कलन गरिएको नमूनाको नतिजा आउन अझै एकसाता लाग्ने छ । अस्पतालको प्रयोगशालामा एक पटकमा ९४ नमूना जाँच हुने र प्रयोगशालाबाट नमूनाको नतिजा आउन करीब १० घण्टा लाग्ने भएकाले दैनिक दुई चरणको परीक्षण गरिँदै आएको छ । हाल कोरोना सङ्क्रमणको जोखिम वृद्धि हुँदै गएसँगै परीक्षण गराउने सङ्ख्या बढेको छ । अस्पतालमा पिसिआर परीक्षण निः शुल्क रहेको छ । रासस
काठमाडौं उपत्यकामा थपिए ३५६२ संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार सबैभन्दा धेरै काठमाडौं जिल्लाका थप २ हजार ७३३ जना संक्रमित थपिएका हुन् । यस्तै, ललितपुरमा ४८१ र भक्तपुर जिल्लामा ३४८ जना संक्रमित थपिएका छन् । बुधबार भक्तपुरमा २२६, ललितपुरमा ४४८ र सबैभन्दा धेरै काठमाडौंमा ३ हजार २५० जना गरी काठमाडौं उपत्यकाका ३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २१४ जनाको मृत्ुयु भएको छ ।