दातृ निकायसँग प्लान्टको व्यवस्थापन सहित कम्तीमा २० हजार थान अक्सिजन सिलिन्डर माग्यो सरकारले
काठमाडौं । कोरोनाभाइरसको महामारीले अत्यावश्यक औषधि र अक्सिजनसहितका सामग्रीको अभाव भइरहेको भन्दै सरकारले नेपालको कोभिड-१९ प्रतिकार्यमा सहयोग गर्न विदेशी दातृनिकायहरूलाई अनुरोध गरेको छ। नेपालमा कोभिड-१९ को सङ्कट गहिरिँदै गएकाले अन्तर्राष्ट्रिय सहयोगको अपील गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा लेख सोमवार ब्रिटेनको ‘द गार्डियन’ मा प्रकाशित भएको थियो। त्यसमा धनी राष्ट्रहरूको समूह जी-७ को अहिलेको अध्यक्षको हैसियतले विशेषगरी खोपसहित अरू अत्यावश्यक स्वास्थ्य उपकरण नेपाललाई जुटाउन मद्दत गर्न भनिएको छ। प्रधानमन्त्रीको उक्त लेखसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक सहायताको सूचीको विवरण राखेर विकास साझेदारलाई पत्राचार गरेको छ। न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घका एक प्रवक्ताले नेपालस्थित राष्ट्रसङ्घीय आवासीय प्रतिनिधिले कोभिड-१९ को बढ्दो सङ्क्रमण दरसँग जुझ्न थप आर्थिक र प्राविधिक सहायता परिचालन गरेको जनाएको छन्। स्वास्थ्य मन्त्रालय के भन्छ ? स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले प्रधानमन्त्रीले नै देश अप्ठेरो अवस्थामा रहेको, आपत्कालीन सहयोगहरू चाहिएको भन्दै अनुरोध गरेको र अवस्था चुनौतीपूर्ण रहेको बताए। उनी भन्छन्, “हामीलाई अहिले निक्कै नै गाह्रो भइसकेको अवस्था छ। मानिसहरूलाई अस्पतालमा बेड उपलब्ध गराउन सकिएको छैन। अस्पतालहरूलाई अक्सिजन उपलब्ध गराउन सकिएको छैन।” उनले थपे, “त्यही भएर हामीले सबै विकास साझेदारहरूलाई अनुरोध गरेका हौँ। हामीले प्राथमिकताको आधारमा सामग्रीहरू उपलब्ध गराउन सूची तयार पारेर दिएका छौँ। यति गरेपछि सहयोग आउन थाल्छ भन्ने हाम्रो विश्वास हो।” डा. अधिकारीले तत्कालै नियमित आपूर्ति प्रणाली कायम हुने गरी प्लान्टको व्यवस्थापनसहित कम्तीमा २०,००० थान अक्सिजन सिलिन्डर आवश्यक रहेको बताए। सोमवार लेखिएको पत्रमा स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अस्पतालहरूले दबाव झेलिरहेको भन्दै अत्यावश्यक औषधि, अक्सिजन र अन्य उपकरणको अभाव रहेको उल्लेख गरिएको छ। के माग गरिएको छ? उक्त पत्रमा अक्सिजन, आईसीयू र अन्य उपकरण, औषधिहरू, सङ्क्रमणको पहिचानसँग सम्बन्धित उपकरण, कोभिड खोप, पीपीई र अन्य सामग्रीहरू नेपाललाई उपलब्ध गराउन भनिएको छ। सरकारी अनुरोधमा सातवटा अक्सिजन उत्पादन प्लान्ट, भ्यापराइजरसहितको १० वटा तरल अक्सिजन ट्याङ्क, प्रतिदिन २० टन तरल अक्सिजन र १० हजार वटा अक्सिजन कन्सेन्ट्रेटर ३० दिनभित्र उपलब्ध गराउन अपील गरिएको छ। त्यसबाहेक ६०,००० थान अक्सिजन सिलिन्डर र ९०० थान भेन्टिलेटर उपलब्ध गराउन पनि आह्वान गरिएको छ। एक महिनाको अवधिमा प्रदेश र केन्द्रमा गरी २,००० आईसीयू बेड स्थापनाका लागि मद्दत गर्न भनिएको छ। सरकारले १५ दिनभित्र २० लाखभन्दा बढी पीसीआर परीक्षण सामग्री र ११ लाख एन्टिजन परीक्षण सामग्री उपलब्ध गराउन पनि बाह्य विकास साझेदारलाई भनेको छ। त्यसबाहेक प्राथमिकतामा पर्ने समूहका लागि कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन भनिएको छ। सरकारी पत्रमा ३ करोड ७० लाख मात्रा खोप माग गरिएको छ। सरकारले आफैँले भारत, चीन र रुस सहितका देशबाट खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको भए पनि उक्त प्रयास कुनै निष्कर्षमा नपुगेको अधिकारीहरूले बताउँदै आएका छन्। सहायता निकायहरूबाट सरकारले लाखौँको सङ्ख्यामा सर्जिकल मास्क, पन्जा, एन९५ मास्क, शरीर ढाक्ने गाउन, स्यानिटाइजर, फेसशील्ड र सुरक्षा चस्मासहितका सामग्री माग गरेको छ। त्यसबाहेक अस्थायी अस्पतालका लागि १५० टेन्ट, अस्थायी जाँच केन्द्रका लागि १५० टेन्ट सीसीएमसीले माग गरेको र आठवटा कल सेन्टरका लागि उपकरणहरू उपलब्ध गराउन माग गरिएको छ। अन्तर्राष्ट्रिय निकायहरूले प्रतिक्रिया कस्तो छ? प्रधानमन्त्रीले सहायताका लागि अपिल गरेकै दिन न्यूयोर्कमा राष्ट्रसङ्घका प्रवक्ताले नेपाललाई थप सहयोग उपलब्ध गराउन थालिएको जनाएका छन्। उनले अक्सिजन कन्सेन्ट्रेटर सहितका अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको भन्दै छिमेकी भारतबाट हजारौँ मानिसहरू फर्किएका हुनाले सीमा अधिकारीहरूलाई स्वास्थ्य र सुरक्षा सम्बन्धी उपकरण युनिसेफ र आइओएमले उपलब्ध गराएको जनाएका छन्। त्यसबाहेक सूचना, यात्रा सुझाव र स्वास्थ्य सन्देशहरूमा मद्दत गरेको भनिएको छ। सरकारको पछिल्लो अनुरोधबारे दातृनिकायहरूले कुनै प्रतिक्रिया दिइसकेका छैनन्। अघिल्लो साता समाज कल्याण परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई कोभिड-१९ प्रतिकार्यका लागि स्वास्थ्य उपकरणसहितका क्षेत्रमा मद्दत गर्न आग्रह गरेको थियो। त्यसमा आफूहरू सघाउन तयार रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सङ्गठनका प्रतिनिधिले बीबीसीलाई बताएका थिए। कसबाट कस्तो सहयोग आएको छ? मे महिनाको पहिलो साता संयुक्त राज्य अमेरिकाले हालसम्म कोभिड-१९ महामारी नियन्त्रणका लागि नेपाललाई ३ करोड ९९ लाख डलर बराबरको सहयोग गरेको जनाएको थियो। त्यसमा १०० वटा भेन्टिलेटर र ११,००० पीपीईसहितका सामग्री रहेको उसको भनाइ छ। नेपाललाई महामारीसँग जुझ्न चीनले ५० लाख आरएमबी अर्थात् झन्डै नौ करोड १५ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिबद्धता हालै गरेको थियो। बेइजिङबाट नेपाल वायुसेवा निगमको विमानले पहिलो खेपमा मङ्गलवार ४०० वटा सिलिन्डर र १० वटा भेन्टिलेटर ल्याएको चीनस्थित नेपाली राजदूतावासका डेप्यूटी चीफ अफ मिशन सुशीलकुमार लम्सालले बताए। उनका अनुसार दोस्रो खेपमा थप १,६०० अक्सिजन सिलिन्डर हवाईमार्गबाट र तेस्रो खेपमा १,५०० सय सिलिन्डर सडक मार्गबाट केरुङ हुँदै नेपाल भित्र्याउने तयारी छ। त्यसबाहेक चीनमा समुदाय स्तरबाट झन्डै २०० अक्सिजन कन्सेन्ट्रेटर सङ्कलन गरिएको र कतिपयले सिलिन्डर र भेन्टिलेटर पनि उपलब्ध गराउने भन्दै जानकारी लिइरहेको लम्सालको भनाइ छ। त्यसरी सहयोगमा प्राप्त सामग्री आपूर्ति गर्न नीतिगत निर्णय सरकारले लिनुपर्ने अवस्था रहेको बताइन्छ। यसअघि नेपाली सेनालाई सहित गरी भारतले ११ लाख कोरोनाभाइरसविरुद्धको खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको छ। काठमाण्डूस्थित भारतीय दूतावासले केही थान भेन्टिलेटर पनि नेपाललाई उपलब्ध गराएको थियो। चीनले आफ्नो देशमा निर्मित आठ लाख थान खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको छ। बीबीसी न्यूज नेपालीबाट
ग्रान्डी अस्पतालमा पनि अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने
काठमाडाैं । काठमाडौंको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो । अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अस्पतालमा कोरोना सङ्क्रमित तथा कोरोना नभएका बिरामीको सुरक्षित तवरले उपचार गराइरहँदा हाल आएर अक्सिजनको चरम अभाव भएपछि नयाँ बिरामी भर्ना लिन समस्या परेको जानकारी दिए । ‘कोभिड–१९ बिरामीको उपचारमा कटिबद्ध भएर लागेको अवस्थामा नेपाल सरकारको नियमअनुसार दैनिक १०० सिलिन्डर अक्सिजन मात्र अस्पताललाई प्राप्त हुँदा चाहेअनुसार थप बिरामी भर्ना गरेर उपचार गर्न असमर्थ छौँ’, उनले भने । अक्सिजनको अभावले सेवा प्रवाह गर्न कठिनाइ भएको भन्दै ग्रान्डीले बिरामीसँग क्षमासमेत मागेको छ । अक्सिजनको मात्रा आवश्यकताअनुसार प्राप्त भएसँगै थप बिरामीको भर्ना गरिने महाप्रबन्धक सिंहको भनाइ छ । ग्रान्डी अस्पतालले हाल ७५ भन्दा बढी कोरोना बिरामी तथा १०० भन्दा बढी कोरोना नभएका बिरामीले उपचार गरिरहेको छ । विसं २०६९ मा स्थापना भएको ग्रान्डी अस्पतालमा २०० भन्दा बढी श्ययामार्फत बिरामीको उपचार हुँदै आएको छ ।
कोभिड शङ्कास्पद बिरामीलाई जथाभावी औषधि नदिन आग्रह
कर्णाली । कोभिड–१९ को सङ्क्रमण बढेसँगै निजी क्लिनिक तथा मेडिकलहरूले शङ्कास्पद बिरामीलाई जथाभावी औषधि बिक्री वितरण गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले त्यस्तो नगर्न सचेत गराएको छ । पछिल्लो समय सुर्खेतका केही स्वास्थ्य संस्था र स्वास्थ्य सेवा प्रदायकबाट ज्वरो, रुघा, खोकीका बिरामीलाई विश्वसनीय प्रयोगशालाबाट परीक्षण नगरेरै टाइफाइड ज्वरो भनी नशाबाट एन्टिबायोटिक प्रयोग गरी कोभिडका बिरामीको स्वास्थ्यमा थप जटिलता आएको पाइएकाले कार्यालयले सचेत गराएको हो । कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ । कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘रुघा, खोकी, ज्वरो भएका सर्वसाधारणको कोभिड–१९ को एन्टिजेन वा पिसिआर परीक्षण गरेर मात्र चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहबमोजिम औषधि लिन अनुरोध छ, यदि कोभिड–१९ को उपचार मापदण्ड विपरीत स्वास्थ्य सेवा प्रवाह गरेको पाइएमा जनस्वास्थ्य ऐन तथा नियमावलीबमोजिम स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई कारबाही गरिनेछ ।’ स्वास्थ्य सेवा कार्यालयले कोभिड–१९ को परीक्षणको पहुँच बढाउन कार्यालयबाट आइतबार, मङ्गलबार र बिहीबार दिउँसो, वीरेन्द्रनगर नगरपालिका कार्यालय अगाडिबाट सोमबार, बुधबार र शुक्रबार बिहान, स्वास्थ्य सेवा निर्देशनालयको प्रयोगशालाबाट शुक्रबार बिहान तथा प्रदेश अस्पतालमा आइतबारदेखि शुक्रबारसम्म बिहान र सबै स्थानीय तहमा परीक्षणको व्यवस्था मिलाइएको जानकारी दिएको छ ।