काठमाडाैं । कोभिड-१९ को महामारी फेरि एकपटक सुरु भएको छ । भाइरसका विभिन्न भेरियन्ट सहितको यसपटकको महामारी पहिलेकोभन्दा अझ बढी संक्रामक र घातक भएको बताइएको छ । मुलुकभर निषेधाज्ञा क्रमशः बढ्दो छ र त्यस सँगसँगै सर्वसाधारणमा त्रास पनि ।
डरत्रास र अन्यौलको यो समयमा कोभिडसँग लड्नको लागि नभै नहुने एउटा बलियो अस्त्र हो – मनोबल । आफुलाई स्वस्थ महसुस गरिरहेका कतिपय व्यक्तिहरुले पनि कोरोना पोजिटिभ भन्ने रिपोर्ट आउनासाथ अचानक आफूलाई कमजोर र बिरामी महसुस गरेको, श्वास लिन गाह्रो भएजस्तो लागेको पाइएको छ ।
धेरै आत्तिएको र डराएको कारणबाट रोगले अझ बढी च्यापेको र स्वास्थ्य अवस्थामा गम्भीर असर पारेको देखिएको छ । त्यसैले महामारीको यो असामान्य अवस्थामा हामी सबैले आफ्नो आत्मबल उच्च राख्नु अत्यन्तै जरुरी छ ।
यिनै कुराहरुलाई ध्यानमा राख्दै मानसिक स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सेवा पुर्याउँदै आएको कीर्तिपुर काठमाडौंस्थित सम्भाव्य फाउण्डेशनले महामारीको यो समयमा निःशुल्क अनलाईन मनोपरामर्श सेवा सुरु गरेको छ ।
उक्त फाउण्डेशनका सुपरभाइजर केशव श्रीष मगरका अनुसार संस्थाले विगतमा पनि कोरोना महामारीको समयमा अनलाईन मनोपरामर्श सेवा प्रदान गरेको थियो र उक्त कार्यक्रमबाट तीन महिनाको अवधिमा ५ हजारभन्दा बढी मानिसले मनोसामाजिक परामर्श सेवा प्राप्त गरी लाभान्वित भएका थिए । जसमा व्यवसायी, जागिरे, विद्यार्थी, किशोरकिशोरी र गृहिणी लगायत सबै वर्ग र उमेर समूहका व्यक्तिहरु थिए ।
मगर भन्छन्, ‘लामो समयसम्म ठप्प रहेका व्यापार व्यवसाय एवम् सेवाहरु भर्खर भर्खर सुरु हुन थालेको अवस्थामा फेरि एकपटक महामारीको कारणबाट निषेधाज्ञा जारी हुँदा अधिकांश सर्वसाधारणलाई आर्थिक संकटले पिरोलेको छ ।’
‘यसबाहेक पनि विद्यार्थीलाई पढाइ र भविष्यको चिन्ता, कसैको परिवारमा कलह र झैझगडा, कसैको किशोरावस्थामा प्रेमसम्बन्ध, कसैको दाम्पत्य जीवनका उतार चढावहरु आदि साझा समस्याहरु हुन् जसले गर्दा डर, त्रास, निराशा, दिक्दारी, अत्यास, थकाइ, अनिद्रा, धेरै बिर्सने बानी, अत्यधिक तनाव, डिप्रेशन लगायतका मानसिक समस्याहरु बढ्ने गर्दछन्,’ उनले भने ।
यस्ता कुनै पनि समस्या भएमा सम्भाव्य फाउण्डेशनका मनोपरामर्शदाताहरुबाट म्यासेन्जर, भाइबर, ह्वाट्सएप लगायत टेलिफोन मार्फत पनि निःशुल्क मनोपरामर्श सेवा प्राप्त गर्न सकिने कुरा मगर बताउँछन् ।
परामर्श लिन चाहानेहरुले संस्थाकाे माेबाइल नम्बर ९८४९६९६६२९ मा एक कल वा मिसकल गरेर अपाेइन्मेन्ट लिन सक्नेछन् । संस्थाकाे अनुसार उक्त सेवा २४ सै घण्टा उपलब्ध हुनेछ ।