
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तीमा एक सय बेड सञ्चालन गरेका निजी अस्पताललाई १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट जडान गर्न भनेर दिएको निर्देशनप्रति एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)को असहमति जनाएकाे छ ।
हाल लगभग देशभरि नै निषेधाज्ञा जारी रहेको र अन्तर्राष्ट्रिय हवाईसेवा पनि बन्द रहेका छन् । द्रूत ढुवानीको अरू कुनै विकल्प छैन । अफिनका अध्यक्ष बसन्त चाैधरी भन्छन्-अक्सिजन प्लान्ट भनेको बजारबाट टप्प टिपेर जडान गर्ने उपकरण हैन । विश्वको कुनै पनि उद्योगले खरिद सम्झौतापछि ३ महिना नभै प्लान्ट तयार गरिदिने अवस्था रहँदैन । प्लान्ट भित्रिएपछि सोको जड़ान गर्न कम्तीमा १५ दिन लाग्ने हुन्छ ।
१०० शय्याको अस्पतालका लागि नेपाल सरकारको मापदण्डबमोजिमको प्लान्टको मूल्य कम्तीमा पनि २ करोड पर्छ । सोको जडान गर्न चाहिने पूर्वाधार निर्माण गर्न थप ५० लाख आवश्यक हुन्छ । वर्तमान परिस्थितिमा उक्त लगानी गर्न सबै अस्पतालहरू सक्षम नभएकाे पनि चाैधरीले बताए ।
यस्तो गम्भीर समयमा सरकारले अक्सिजन व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्नुको सट्टा निजी अस्पतालहरूलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नु भन्दै हावादारी निर्देशन दिएर सरकार आफ्नो दायित्वबाट विमुख हुनु आश्चर्यको विषय भएकाे अफिनकाे ठहर छ ।
कोभिड–१९ महामारीका कारण देशभरि नै अक्सिजनको अभाव भएको बारेमा अफिन जानकार रहेकाे र यो असहज अवस्थाप्रति गम्भीर रहेकाे बताउँदै उक्त संस्थाका अध्यक्ष बसन्त चाैधरीले भनेका छन् -“सीमित साधन-स्रोतका अतिरिक्त निजी अस्पतालहरूले आफ्नो सम्पूर्ण ध्यान कोभिड संक्रमित बिरामीहरूको उपचारसेवामा केन्द्रित गरिरहेको अवस्थामा अत्यावश्यक साधनस्रोत राज्यले उपलब्ध गराउनुको साटो यस्तो गैर जिम्मेवारपूर्ण निर्णयले राज्य अहिलेको विषम परिस्थितिमा कसरी संचालन भैरहेछ भन्ने स्पष्ट हुन्छ ।”
देशैभरी अक्सिजन अभावको वर्तमान समस्या समाधान गर्न सरकारको तर्फबाट विशेष कदमहरु चालिनुपर्ने र उक्त प्रयासमा सरकारको कदममा कदम मिलाई साथ दिन निजी अस्पतालहरु तयार रहेको पनि अफिनले जनाएकाे छ । कोभिडका कारण देशले भोग्नुपरेका समस्या समाधानका लागि आफ्नो तहबाट सम्पूर्ण सामर्थ्यका साथ योगदान गर्न निजी अस्पतालहरू अहोरात्र खटिरहेको र आगामी दिनमा पनि यस महामारीसँग जुध्न सकारले चालेका कदमहरूलाई साथ दिन हामी हरदम तयार रहेको अध्यक्ष चाैधरीले बताएका छन् ।