क्षयरोग रोकथाममा सरकारको यो वर्ष ७२ करोड बजेट, ७५ प्रतिशत खर्च प्रविधि खरिदमा

काठमाडौं । आज विश्व क्षयरोग दिवस । राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांक अनुसार हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी पत्ता लाग्ने गरेकामा आर्थिक वर्ष २०७७/७८ मा २८ हजार ६७७ जनाले मात्र उपचार गराएका छन् । नेपालमा ७५.४८ प्रतिशत क्षयरोगका बिरामी उपचार सम्पर्कबाट बाहिर रहेको पाइएको छ । नेपालमा क्षयरोग रोकथाम तथा उपचारको लागि वार्षिक ७२ करोड छुट्याइएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको अनुसार त्यसमा ७५ प्रतिशत मेसिनहरु खरिद गर्नलाई खर्च हुन्छ भने बाँकी बिरामीको औषधी उपचारमा खर्च हुन्छ । यसको अर्थ वार्षिक ४० हजारभन्दा बढी क्षयरोगका बिरामीहरु उपचार पहुँचभन्दा बाहिर छन् ।आर्थिक वर्षमा २०७७/७८को तथ्यांक हेर्दा २८ हजार ६ सय ७७ बिरामी दर्ता भएका छन् । दर्ता भएका बिरामी मध्ये पुरुष ६७ प्रतिशत, महिला ३३ प्रतिशत र बालबालिकामा ७ प्रतिशत रहेका छन् । जनचेतनाको अभाव र उपचार गरे रोग निको हुन्छ भन्ने थाहा नपाएर अझै धेरै बिरामी सम्पर्कमा नै नआएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सञ्जयकुमार ठाकुर बताउँछन् । सरकारले औषधि निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । सरकारले क्षयरोगको औषधी निशुल्क उपल्बध गराउँदै आएको छ । ६ महिनासम्म नछुटाई औषधी खाए सामान्यत यो रोग निको हुन्छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको अनुसार औषधि प्रतिरोधी क्षयरोगका बिरामी वार्षिक दुई हजार २०० रहेका छन् । यो सङ्ख्या जनसङ्ख्याको हिसाबले नेपालमा अत्यन्त धेरै हो । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई सन् २०२१ देखि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएको ३० देशको सूचीमा राखेको छ । आव २०७७/७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ५६९ जनाको औषधि प्रतिरोधी क्षयरोग पहिचान गरिएको थियो । तीमध्ये ४१८ जना उपचारमा गराइरहेका छन् । केन्द्रका निर्देशक डा. ठाकुरले औषधि प्रतिरोधी क्षयरोगका बिरामी र रोग पत्ता लागी उपचारमा आएका बिरामीको सङ्ख्या हेर्दा एक हजार ६३१ जना बिरामीको रोग पत्ता लगाई उपचारमा ल्याउन चुनौती रहेको बताए । क्षयरोगबट नेपालमा बर्सेनि १६ हजार जनाको ज्यान जाने गरेको सर्वेक्षणले देखाएको छ । क्षयरोगका लक्षणहरु – लगातार खोकी लाग्ने र खोकीमा रगत देखिने – शरीरको वजन घट्दै जाने – फोक्सोमा दुखाई महसुस हुने, छाती दुख्ने, ज्वरो आउने आदि कस्तो व्यक्तिलाई लाग्छ क्षयरोग ? – केटाकेटी, किशोर-किशोरी र वयस्क जोसुकै पनि क्षयरोग संक्रमणको सिकार बन्न सक्छन् – रोगी सँग बारम्बार सम्पर्कमा आइरख्ने जस्तै चिकित्सक र रोगीको परिवार – धेरै भिडभाड र रोग संक्रमित क्षेत्रका बासिन्दा – मध्यपान र धुम्रपानको कुलतमा लागेका र बढी धुलोधुवाँमा काम गर्नेरबस्नेहरु – एड्स संक्रमित रोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति यसबाट बच्न के गर्ने ? – धुम्रपान तथा मध्यपान नगर्ने – बालबालिकाहरुलाई उचित समयमै बिसिजिको खोप लगाउने – रोगका लक्षण देखिएमा जचाएर उपचार गर्ने र रोगको संक्रमण अरुमा फैलिन नदिने – हाछ्युँ गर्दा र खोक्दा मुख छोप्ने

झापाको बिएण्डसी मेडिकल कलेजमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु

काठमाडाैं । झापाको बिएण्डसी मेडिकल कलेजले झापाको बाह्रदसी गाउँपालिकाका १५ सय गरिव एवंम विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । सोमबार कलेजले एक कार्यक्रमकाबीच अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले प्रति परिवार ३५ सय बीमा शुल्क तिरिदिने घोषणा गरे । आर्थिक अभावका कारण उपचारबाट कोही बन्चित नहोस् भन्ने उद्देश्यले स्वास्थ्य बीमामा समाहित गराउने अभियान सुरु गरेको कार्यकारी निर्देशक प्रसाईंले बताए । उनले भने, ‘म दानवीर हैन । तर, म नेपाल आमाको छोरा भएकोले दुख थोरै बाडौं भनेर म यहाँ आएको हुँ । शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुराबाट नागरिक बन्चित हुनु हुँदैन भन्ने मेरो धारणा हो । अहोरात्र नागरिकको सेवामा खटिरहेको हाम्रो अस्पतालले उपचारका लागि आएका नागरिकलाई हुने सक्ने सेवा सुविधामा छुट गरिदिने छ ।’ यस्तै, कार्यक्रममा बोल्दै प्रदेश एकका सांसद वसन्त बानियाँले झापाको पछाडी परेको क्षेत्रमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमले स्वास्थ्य नागरिक बनाउने विश्वास व्यक्त गरे । सरकारले स्वास्थ्य बीमा बोर्ड यही आर्थिक वर्षबाट ७७ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिसकेको छ । विसं २०७२ बाट सुरू भएको स्वास्थ्य बीमा कार्यक्रमले दुर्गम क्षेत्रका विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य सेवा र उपचारमा सहुलियत दिँदै आएको छ ।

साढे चार हजार परीक्षण गर्दा ४५ मा सङ्क्रमण पुष्टि

काठमाडौं । साढे चार हजार परीक्षण गर्दा आज ४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको वुलेटिनका अनुसार आज चार हजार ७५२ जनामा कोरोना परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार १३५ जना रहेका छन् । पछिल्लो समय १४७ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६३ हजार १११ पुगेको छ । यो दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा ललितपुर, काठमाडौँ, चितवन र बाँके रहेका छन् । शून्य सङ्क्रमित भएको चार मात्र जिल्ला मनाङ, रुकुम पूर्व, बाजुरा र जुम्ला रहेको छ । नेपालमा सङ्क्रमण दर १७.८ प्रतिशत रहेको छ । त्यस्तै, हाल होम आइसोलेशनमा तीन हजार ७९, संस्थागत आइसोलेशनमा ५६, आइसियुमा २२ र भेन्टिलेटरमा पाँच जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ५९ हजार ३७८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।