दक्षिण एसियामै पहिलोपटक टिसिभी प्रयोग गरी टाइफाइड खोप अभियान गर्दै नेपाल

काठमाडौं । नेपालले दक्षिण एसियामै पहिलोपटक टाइफाइड कन्जुगेट भ्याक्सिन (टिसिभी) प्रयोग गरी टाइफाइड खोप अभियान गर्ने भएको छ । नेपालले यही चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशव्यापी रुपमा टिसिभी प्रयोग गरी टाइफाइड खोप अभियान गर्ने भएको हो । टाइफाइडको लागि निकै प्रभावकारी मानिएको टाइफाइड कन्जुगेट भ्याक्सिन (टिसिभी) विश्व स्वास्थ्य संगठनको सिफारिसमा नेपालले यो भ्याक्सिन प्रयोग गर्न लागेको हो । सरकारले अभियानमा १५ महिनादेखि १५ वर्षसम्मके ७५ लाख बालबालिकालाई खोप लगाउने जानकारी स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए । दाहालको अनुसार अभियान अन्तर्गत स्थानिय तहको प्रत्येक वार्डम तोकिएको विद्यालयहरुको खोप केन्द्रहरुमा खाेप उपलब्ध हुने, विद्यालय नभएका वा कम भएका वडाहरुमा बाह्य खाप केन्द्र संचालन गरिने र अभियानको अन्तिम दिन वैशाख १८ गते स्वास्थ्य सेवामा खोप सेवा संचालन गरिनेछ । दाहालले यस खोप अभियानमार्फत कोरोनाको कारण अन्य खोप लगाउन छुटेका बालबालिकाको पनि डाटा संकलन गरेर उनीहरुलाई खोप उपलब्ध गराउने उदेश्य रहेको बताए । टाइफाइडको कारण विश्वमा हरेका वर्ष २ करोड बढी जनसंख्या संक्रमित हुन्छन् जसमा एक लाख ६१ हजारजनाको मृत्यु हुने गरेको छ । विगत ५ वर्षको तथ्यांक अनुसार नेपालमा वर्षोनि साढे ४ लाख नेपालीमा टाइफाइड रोग संक्रमण देखिएको छ ।

घाटा भएको भन्दै जीवनजल उत्पादन बन्द गरे उद्योगीले

काठमाडौं । लागत पनि नउठ्ने देखेपछि औषधी व्यवसायीहरुले जीवनजलको उत्पादन बन्द गर्न लागेका छन् । सरकारले तोकेको मूल्यमा उत्पादन गरेर विक्री वितरण गर्नै नसकिने भन्दै उद्योगीले उत्पादन गर्न छोडेका छन् भने केही उद्योगीले उत्पादन बन्द गर्ने तयारी थालेका छन् । सरकारले जीवनजलको उपभोक्ता मूल्य प्रतिप्याकेट १० रुपैयाँ तोकेको छ । तर, एक प्याकेट जीवनजल उत्पादन गर्न १७ रुपैयाँ लाग्ने गरेको उद्योगीको भनाई छ । सरकारले तोकेको मूल्यमा विक्री गर्नको लागि जीवनजल उत्पादन नै गर्न नसकिने अवस्था रहेको नेपाल औषधी उत्पादक संघ (एपोन) का उपाध्यक्ष सन्तोष बरालले बताए । ‘अहिले भारतमा जीवनजलको मूल्य प्रतिप्याकेट ३२ रुपैयाँ छ भने नेपालमा १० रुपैयाँ छ, हामीलाई एक प्याकेट उत्पादन गर्नको लागि लागत मात्रै १६ देखि १७ रुपैयाँ आउँछ, डिस्ट्रिब्युटर मार्जिन, होलसेल मार्जिनको त कुरै छोडौं, यस्तो अवस्थामा हामीले कसरी बेच्ने ?’ उनले भने । २०६४ सालमा औषधी व्यवस्था विभाग, औषधी उत्पादक संघ र नेपाल औषधी व्यवसायी संघको सहमतिमा जीवनजलको मूल्य प्रतिप्याकेट १० रुपैयाँ तोकिएको थियो । त्यसयता १४ वर्षदेखि यसको मूल्य बढेको छैन । आदी रेमेडिजका प्रबन्ध निर्देशकसमेत रहेका बरालले आफैले पनि जीवनजलको उत्पादन बन्द गरिसकेको बताए । ‘मैले आफै पनि बनाउन छाडिसकें, कोभिड अघिसम्म वर्षको तीन कन्टेनर बनाउँथें, एक कन्टेनरमा २४ टन जीवनजल हुन्छ, तर कोभिडको समयमा कच्चा पदार्थको मूल्य असाध्यै बढ्यो, त्यसपछि उत्पादन बन्द गर्नुको विकल्प भएन,’ बरालले थपे । उनले अहिले बजारमा जीवनजल अभाव देखिएको पनि बताए । स्वदेशी उद्योगले लागतका कारण उत्पादन बन्द गर्नु परेको उनको भनाई छ । ‘अहिले कुनै पनि गाउँमा झाडापखला सुरु भयो भने जीवनजल लगभग पाइदैन, औषधी व्यवसायीहरुले अब यसमा चाहेर पनि केही गर्न नसक्ने अवस्था आइसकेको छ,’ उनले भने । यसअघिसम्म व्यवसायीहरुले अन्य उत्पादनहरुको फाइदा समायोजन गरी जीवनजल उत्पादन गर्दै आएका आएका उनी बताउँछन् । उद्योगीले साढे ३ वर्षअघि विभागलाई जीवनजलको उत्पादनमा लाग्ने लागतको बारेमा जानकारी दिदै औषधी व्यवस्था विभागलाई पत्र पठाएका थिए । त्यसबेला जीवनजलको लागत १४ रुपैयाँ आएको थियो । यस्तै, ओम्निका ल्याब्रोटोरिजका प्रबन्ध निर्देशक तथा औषधी उत्पादक संघका वरिष्ठ उपाध्यक्ष महेश प्रधानले आफ्नो मन नहुँदा नहुँदै पनि जीवनजलको उत्पादन बन्द गर्न बाध्य भएको बताए । ‘हाम्रो जीवनजल प्रिमियम ब्राण्डमा पर्छ, हामीले दुई वर्ष अनुसन्धान गरेर हाम्रो जीवनजल इलाइट बनाएका हौं तर लामो समयदेखि यसमा घाटा बाहेक केही नभएपछि बाध्य भएर उत्पादन नै बन्द गरियो,’ प्रधानले भने । सरकारले आफुहरुलाई व्यवसायीभन्दा पनि समाजसेवी सम्झेको प्रधान बताउँछन् । सरकारलाई भन्दा भन्दा आफूहरु थाकिसकेको उनले बताए । ‘मैले यो विषयबारे यथार्थ अवगत गराउन हरेक समयको प्रधानमन्त्री, अर्थमन्त्रीदेखि लिएर स्वास्थ्यमन्त्रीलाई भेटे, तर यहाँ व्यवसायीहरुको कसैलाई वास्ता छैन, म सरकारलाई अब केही भन्न सक्ने अवस्थामा छैन,’ उनले भने । प्रधानले १४ वर्षअघिको मूल्य अहिलेको परिवेश अनुसार समायोजन गर्नु आवश्यक रहेको बताए । ‘१४ वर्षअघि जीवनजलको मूल्य त्यस समयको बजारलाई हेरेर १० रुपैयाँ तोकिएको थियो, त्यसबेला डलरको भाउ ५५ देखि ५७ रुपैयाँ थियो, अहिले डलर १२१ रुपैयाँ पुगेको छ । कच्चा पर्दाथको मूल्य डबल भइसक्यो, लेबलको पनि डबल भइसक्यो तर जीवनजलको मूल्य जहाँको त्यही छ,’ उनले थपे । प्रधानका अनुसार नेपालमा जिवनजल उत्पादन गर्ने ६ वटा कम्पनी रहेका छन् । यसअघि नेपालमा जीवनजल बेचिरहेको एउटा विदेशी कम्पनी पनि दुई वर्षअघि भागिसकेको उनले बताए । ओम्निकाले हाल डाक्टर र डाक्टरको परिवारहरुको लागि मात्र केही मात्रामा जीवनजलको उत्पादन गरिरहको उनले बताए । नेपालमा हाल जीवनजल नेपाली कम्पनीहरुले मात्र उत्पादन गरिरहेका छन् ।

एक वर्षभित्र सुविधासम्पन्न भवन सक्ने गरी नर्भिकले रोशन कन्स्ट्रक्सनसँग गर्‍यो सम्झौता

काठमाडौं । पब्लिक कम्पनीमा रुपान्तरण भएको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले अत्याधुनिक भवन निर्माणको काम थाल्ने भएको छ । पूर्वघोषणाअनुसार नर्भिकले हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधासम्पन्न ८ तले भवन निर्माणको काम थाल्ने भएको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार नर्भिकको २९औं वार्षिकोत्सवको अवसर पारेर अत्याधुनिक भवन निर्माणको काम आगामी वैशाख १ गतेदेखि विधिवत रुपमा सुरु हुनेछ । सोमबार अस्पतालले भवन निर्माणका लागि रोशन कन्स्ट्रक्सन प्रालिसँग सम्झौतासमेत गरेको छ । सम्झौतामा नर्भिक अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंह र निर्माण कम्पनीको तर्फबाट डाइरेक्टर अरविन्दकुमार झाले हस्ताक्षर गरे । नयाँ भवन कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्टसहितको आधुनिक र सुविधासम्पन्न हुने अध्यक्ष सिंहले जानकारी दिए । उनका अनुसार १ लाख ६५ हजार स्क्वायर फिटमा आधुनिक भवन तयार हुनेछ । निर्माण सुरु भएको एक वर्षभित्रमा भवन तयार गरिसक्ने निर्माण कम्पनीले लक्ष्य लिएको छ ।