निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण
काठमाडाैं । स्टार अस्पतालले ‘स्वास्थ्य, सङ्गीत र सम्पदा’ भन्ने मूल नाराका साथ ललितपुर महानगरपालिका–२० स्थित पानीबहालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त शिविर सञ्चालन गरेको हो । वरिष्ठ चिकित्सकको सहयोगमा शिविरमा स्थानीयवासी तथा पानीवहाल आसपास क्षेत्रका बिरामी तथा सर्वसाधारणको सामान्य परीक्षण, ज्येष्ठ नागरिकका लागि विशेष परीक्षण, प्रसूतिका साथै पेटसम्बन्धी रोगको जाँच गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नयाँ अवधारणाबाट सञ्चालित शिवरबाट आफ्नो नगरवासी लाभान्वित हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद्का चिकित्सक डा. शैल रुपाखेतीले मानिसले आफ्नो स्वास्थ्यजीवन कायम राख्न आहारविहारमा संवेदनशील हुनुपर्नेमा जोड दिए । उनले स्वास्थ्य र सङ्गीतका बीचमा सुमधुर सम्बन्ध रहेको बताउँदै ऐतिहासिक सम्पादास्थलको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने नारा उपयोगी रहेको विचार राखे । अस्पतालका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जनले थला नपरिकन अस्पताल जाने प्रचलन नरहेको अवस्थामा केही स्थान तथा क्षेत्र लक्षित गरी घरदैलोमा शिविर सञ्चालन गरेको बताउँदै ती बिरामीको थप परीक्षण तथा उपचारमा अस्पतालले २० प्रतिशतसम्म छुटका व्यवस्था गरेको जानकारी दिए । शिविरमा आउने बिरामी तथा सर्वसाधारणका लागि कुटुम्ब ब्याण्डले साङ्गीतिक कार्यक्रमसमेत सञ्चालन गरेको छ । चिकित्सकको सिफारिसमा बिरामीलाई औषधिसमेत निःशुल्क वितरण गरिएको छ । स्थानीय तीनबहालमा प्राचीन सम्पदाका रूपमा रहेको पोखरी छ ।
१५ करोड ४६ लाख लगानीमा कपिलवस्तुमा १५ श्ययाको अस्पताल बन्दै
काठमाडाैं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा १५ श्ययाको सुविधा सम्पन्न अस्पताल भवन निर्माणका लागि शिलान्यास गरिएको छ । नगरपालिकाभित्र आधारभूत तहको सुविधा सम्पन्न उक्त अस्पताल नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यसहित नगरप्रमुख अब्दुल कलाम र उपप्रमुख सुभावती कुर्मीले संयुक्तरुपमा शिलान्यास गरे । महामन्त्री सुरेन्द्रराज आचार्यले विकासमा पछि परेको यस नगरपालिकामा अस्पताल निर्माणबाट स्थानीय जनताले यहीँबाट उपचार सुविधा पाउने बताए । महराजगञ्ज नगरपालिका वडा नं १ प्राथमिक उपचार सेवा केन्द्रको उत्तरतर्फ एक बिघा बढी जग्गामा निर्माण थालिएको यस अस्पतालमा जनरल फिजिसियन, प्रसूति, ल्याब, फार्मेसी डेन्टल आँखालगायत आधारभूत सेवा उपलब्ध हुने नगरप्रमुख कलामले बताए । प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र चौधरीले पालिकामा रहेको ११ वटै वडामा बर्थिङ सेन्टर निर्माण गर्न लागिएको तीमध्ये छ वडामा बर्थिक सेन्टर सञ्चालन भइसकेको जानकारी दिए । प्राथमिक उपचार सेवा केन्द्रमा अहिले एक्स–रे सेवा, चार वटा ल्याबलगायत भौतिक पूर्वाधारसमेत विस्तार गरिएको छ । नगरकै गौरवको योजनाकारुपमा रहेको अस्पताल निर्माणको काम अघि बढेकाले आम नागरिक खुसी भएको स्थानीयवासी जगन्नाथ पुरीले बताए । नगरपालिकाले रु २८ करोडको लागतमा अस्पताल बनाउन टेण्डर आह्वान गरेकामा कुमाररोयल जेबीले रु १५ करोड ४६ लाखमा निर्माण गर्ने गरी ठेक्का हाल परेको छ । लिफ्ट सिस्टम, आपाङ्गतामैत्री वातावरणसहितको एक हजार २०० स्क्वायर फिटमा तीनतले र २९ कोठे अस्पताल निर्माण गरिने भएको छ । आगामी अप्रिल २०२४ मा भवन निर्माणको काम सकिने निर्माण कम्पनीका प्रतिनिधि रवीन्द्र स्वाँरले जानकारी दिए । भवन शिलान्यासका अवसरमा प्राथमिक सेवा उपचार केन्द्रलाई जग्गा दान दिनुहुने गङ्गोत्री चौधरी, शत्रुघनप्रसाद चौधरी, अंशु बर्मा, राधेकिशुन जैसवाल र शन्तराम बरइलाई सम्मान गरिएको थियो । रासस
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं सम्मेलन हुने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं सम्मेलन हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को आयोजनामा चैत २७ गते आइतबारदेखि उक्त सम्मेलन हुन लागेको हो । उक्त तीन दिने सम्मेलनको प्रमख उद्देश्य विभिन्न स्थानमा रहेका अनसन्धानकर्ताहरु, जनस्वास्थ्यविदहरु, जनसंख्या विद्हरु, नीति निर्माणकताहरु तथा बहुक्षेत्रीय विज्ञहरुबीच भेट गराई तथ्यमा आधारित नीति निर्माण गरिने एनएचआरसीका सदस्य सचिव प्रदिव ज्ञवालीले जानकारी दिए । यसका साथै सम्मेलनको अर्को उदेश्य बढ्दै गएका जनस्वास्थ्यका सवालहरुको अन्तरविषयात्मक अनुसन्धानका निष्कर्षहरुद्वारा सम्बोधन गर्ने अभ्यासमा टेवा पुऱ्याउनु रहेको उनले बताए । सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले गर्नेछन् । कार्यक्रममा भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट स्वदेश तथा विदेशमा रहका स्वास्थ्य तथा जनसंख्या विषयसँग सम्बन्धित व्यक्तित्वहरू सहभागी हुने ज्ञवालीले बताए । ज्ञवालीले सम्मेलनमा ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तराष्ट्रिय विज्ञहरुलाई प्रस्तुतीकरणका लागि आमन्त्रण गरिएकाे जानकारी दिए ।