कोरोना खोप लगाउन मान्दैनन् चेपाङ
चितवन । कोरोनाको तेस्रो लहर सुरु हुँदासमेत अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाउन मान्दैनन् । जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ । जिल्लाका सात पालिकामध्ये छ पालिकामा चेपाङ्ग समुदायको बसोबास छ । जिल्लाको इच्छाकामना गाउँपालिका तथा कालिका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चेपाङको बसोबास रहेको छ । यी पालिकामा विसं २०६८ सालको जनगणनाअनुसार २८ हजार ९८९ चेपाङको बसोबास रहेको छ । त्यसमध्ये अहिलेसम्म छ हजार ३२७ अर्थात २१ दशमलव ८२ प्रतिशत चेपाङले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लामा रहेका सात पालिकामध्ये राप्तीमा दुई हजार ७०० चेपाङले खोप लगाएका छन् । राप्ती नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेका अनुसार वडा नम्बर १०, ११, १२ र १३ मा चेपाङ समुदायको बाहुल्यता छ । ती वडामा ९० प्रतिशत चेपाङ समुदायको बसोबास रहेको र ती वडामा १८ वर्षमाथिका मात्र आठ हजारले खोप लगाउनुपर्ने हो । चेपाङ समुहदायमा सानो उमेरमा नै विवाह गर्ने परिपाटिका कारण खोप लगाउनेको सङ्ख्या कम भएको हुनसक्ने उनको भनाइ छ । अठार वर्षमुनिका बालबालिकालाई खोप लगाउँदा कस्तो परिणाम आउँछ त्यसमा भर पर्ने उनले बताए । उनले भने, “यस समुदायमा सानो उमेरमा नै विवाह गर्ने प्रचलन छ, १८ वर्षमुनिकालाई खोप लगाउने क्रममा कस्तो सहभागिता रहन्छ हेरौँ ।” कालिका नगरपालिकामा तीन हजार ८९ चेपाङ समुदायले खोप लगाएका छन् । यस पालिकाको वडा नम्बर ९, १० र ११ मा चेपाङ समुदायको बसोबास छ । यहाँ पहाडी क्षेत्र र खोप केन्द्रभन्दा टाढा बसोबास भएका केन्द्रसम्म आउनसमेत नखोजेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार स्थानीय तहमा रहेका चेपाङ समुदायले खोप किन आवश्यक पर्छ भन्नेजस्ता कुराहरु गर्ने गरेका छन् । उनले भने, “पहाडी क्षेत्रमा बसोबास गर्नेले कहीँ जानु छैन भन्दै खोप लगाउन नमान्ने गरेका छन् ।” यस्तै, इच्छाकामना गाउँपालिकाको सबैजसो वडामा चेपाङ समुदायको बसोबास रहेको छ । विशेष गरी वडा नम्बर १, २ र ६ मा चेपाङ समुदायको बसोबास छ । ती बसोबास रहेको क्षेत्रबाट दुई हजार ३५० ले कोरोनाको खोप लगाएका छन् । यस पालिकामा १८ हजारभन्दा बढीले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार उमेरअनुसार खोप लगाउने क्रममा अब सो सङ्ख्या बढ्ने छ । चेपाङ समुदायको बस्ती विकटमा हुने र त्यस क्षेत्रबाट खोप केन्द्रसम्म आउनसमेत नखोज्ने गरेका कारण सङ्ख्या कम भएको हो । यस्तैगरी, खैरहनी नगरपालिकामा ३५० ले कोरोनाविरुद्धको खोप लगाएका छन् । पालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीका अनुसार यस पालिकामा रहेका ८५ प्रतिशतले खोप लगाएकामा सो सङ्ख्यामा चेपाङ समुदाय रहेको बताए । यस पालिकामा खासै नगन्य सङ्ख्यामा मात्रै यस समुदायका बासिन्दाको बसोबास रहेको उनको भनाई थियो । भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा बसोबास गर्ने ती समुदायका व्यक्तिमध्ये १७४ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । सो वडामा रहेका रातोमाटे, चिप्लेटी र किपट क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदाय खोपमा सहभागी हुन नसकेको महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । टोलटोलमा शिविर सञ्चालन गर्दासमेत उनीहरु सहभागी नभएको कार्यालयले जनाएको छ । महाशाखा प्रमुख दीपक सुवेदीका अनुसार महानगर क्षेत्रमा चेपाङको सङ्ख्या ठूलो छैन । उनीहरुको बसोबास रहेको वडा नम्बर २९ को पहाडी क्षेत्र हो । माडी नगरपालिका वडा नम्बर ८ र ९ मा चेपाङ समुदायको बसोबास रहेको छ । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख भोजराज खनालका अनुसार माडीमा १३० चेपाङ समुदायका व्यक्तिले खोप लगाएका छन् । छरिएर रहेको यस समुदायमा सूचनाको अभाव वा बेवास्ता गरेका कारण खोप लगाउन आउनेको सङ्ख्या कम भएको हो । उनले भने, “चेपाङको बसोबास बढी सङ्ख्यामा बाँदरझुला क्षेत्रमा रहेको र आउ जाउमा कठिनाइ भएका कारण यस खोपबाट वञ्चित भएका हुन सक्छन् ।” चेपाङ सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष गोविन्द चेपाङ कोभिड खोपमा यस समुदायको सहभागिता न्यून रहेको बताउँछन् । उनले भने, “कोभिडको विषयमा गलत प्रचार भएकाले थोरैले मात्रै खोप लगाएका छन् ।” कोरोना खोप लगाएपछि प्रजनन्मा समस्या हुने डर चेपाङमा देखिएको उनले बताए । कोरोना खोपका लागि चेपाङ भाषामा नै लेखिएको सन्देश प्रचारप्रसार गर्न जरुरी रहेको जनाईएको छ । विसं २०६८ को जनगणनाअनुसार नेपालमा ६८ हजार ३९९ चेपाङको बसोबास रहेको छ । विशेष गरी चितवन, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, तनहुँलगायत जिल्लामा चेपाङ बसोबास गर्दै आएका छन् । चेपाङ सङ्घ चितवनका अध्यक्ष भीमबहादुर चेपाङले डाँडाकाँडामा बसोबास गर्ने भएकाले खोप लगाउन आउने अवस्था नभएको उनको भनाई थियो । खोप केन्द्र आसपास बसोबास गर्नेहरुले मात्रै खोप लगाएको जनाउँदै उनले कोरोना खोपका बारेमा सूचना सम्प्रेषण प्रभावकारी बनाउन सरोकारवालालाई आग्रह गरिएको बताए । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले चेपाङ समुदायमा कोरोनाको विषयमा विभिन्न किसिमका नकारात्मक हल्ला चलाइएका कारण समस्या रहेको बताए। यो समुदाय बजारको जनजीवनसँग प्रत्यक्षरुपमा सम्पर्कमा नआउने भएकाले पनि सङ्ख्यामा कमी आएको हुनसक्ने उनको अनुमान छ । स्वास्थ्य कार्यालयले खोपको व्यवस्थापन मात्रै गर्ने भएकाले स्थानीय पालिकाले प्रचारप्रसारमा जोड दिनु आवश्यक रहेको उनको भनाइ छ । तिवारीले भने, “हरेक वडामा स्वास्थ्य सङ्स्थामार्फत खोपको व्यवस्थापन गरिएको छ, केन्द्रसम्म आउन नचाहानु समुदायको कमजोरी हो ।” कार्यालयका अनुसार जिल्लामा हालसम्म तीन लाख ७० हजार ५४४ ले खोप लगाएका छन् । पहिलो मात्रा लगाएकामध्ये तीन लाख २० हजार नौले पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । तिवारीका अनुसार पहिलो मात्रा कोभिसिल्ड ४० हजार ४४३ ले, भेरोसेल दुई लाख ३७ हजार ६०२ ले, एष्ट्राजेनिका ५१ हजार ९६२ ले, फाइजर बायोएनटेक एक हजार ८६७ ले र जोन्सन ३८ हजार ६७० ले लगाएका छन् । यसैगरी पूर्ण मात्रा खोप कोभिसिल्ड÷एष्ट्राजेनिका ८२ हजार ८५३ ले, भेरोसेल एक लाख ९६ हजार ७२९ ले, जोन्सन ३८ हजार ६७० जले र फाइजर बायोएनटेक एक हजार ७५७ ले लगाएका छन् । पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउने समय भइनसकेको सङ्ख्या २० हजार हाराहारी रहेको छ । रासस
बुधबार ३ हजार ७५ जनामा संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३ हजार ७५ मा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ । मन्त्रालयका अनुसार यो अवधिमा २७८ जना निको भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ ।
ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण
काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ओमिक्रोन भेरियन्टको अन्य भेरियन्ट जस्तै मानिसमा लक्षण हुने गरेको बताए । ‘अहिले गरिरहेका अणुवांशिक अध्ययन (जीन सिक्वेन्सिङ)ले ओमिक्रोन भेरियन्ट बढ्दै गएको देखाएको छ, यो भेरियन्टमा अरु भेरियन्टका तुलनामा जटिलता कम भए पनि सङ्क्रामण गुणात्मक रुपमा धेरै हुने भएकाले जटिल हुने अनुपात बढेर जान्छ’, उनले भने । अन्य भेरियन्टको तुलनामा यो भेरियन्ट तीव्र दरमा फैलिने गरेको छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण हुने बताए । ‘अन्य भेरियन्टले तल्लो श्वासप्रश्वास नली वा फोक्सोमा सङ्क्रमण हुने गर्दथ्यो’, उनले भने । ओमिक्रोनले पार्ने असरका बारेमा थप अध्ययन अनुसन्धान भइरहेको उनको भनाइ छ । पछिल्लो एक हप्तामा कोरोना सङ्क्रमण विश्वभर एक करोडमा पुष्टि भएको छ । यति धेरै सङ्क्रमण हुनुको कारण ओमिक्रोन भेरियन्ट नै रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । ओमिक्रोनले कोरोना खोप लगाएका/नलगाएका दुवैलाई सङ्क्रमण हुन सक्दछ । सङ्क्रमित भएकामध्ये खोप नलगाएकालाई धेरै गार्ह्राे बनाउन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ । खोप नलगाएका व्यक्तिको ज्यान जाने पनि खतरासमेत रहेको छ । जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले ओमिक्रोन भेरियन्टले मानिसको घाँटीमा सङ्क्रमण गराउने बताए । उनले घाँटी खसखस हुने, चिलाउने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण देखिने जानकारी दिनुभयो । यस्तै ओमिक्रोन भेरियन्टले मानिसमा बढी हाछिउँ आउने, हल्का ज्वरो आउने, धेरै रुघा लाग्ने जस्तो लक्षण पनि देखिने गर्दछ । बच्ने उपाय यसबाट बच्नका लागि कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाउनाका साथै जनस्वास्थ्य मापदण्ड अर्थात भीडभाड नगर्ने, सेनिटाइजरको प्रयोग र हात साबुनपानीले पटक पटक धुनु पर्दछ । सही तरिकाले मास्कको प्रयोग गर्न र एक व्यक्ति तथा अर्को व्यक्तिबीचको भौतिक दूरी एक मिटर कायम गर्नुपर्दछ । यस्तै सङ्क्रमणबाट बच्नका लागि सरकारले १२ वर्षदेखि माथिका सबैलाई कोरोनाविरुद्धको खोप एक वर्षअघिदेखि नै लगाउन थालेको छ । अहिलेसम्म नेपालमा लक्षित जनसङ्ख्याको ७६.५ प्रतिशतले पहिलो मात्रा र ५६.९ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । यस्तै कूल जनसङ्ख्याको ५०.२ प्रतिशतले पहिलो मात्रा र ३७.३ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढदै गएपछि आगामी माघ १५ गतेसम्म बन्द गर्नुका साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी जस्ता कार्यक्रम बन्द गरेको छ । सङ्क्रमण दरको प्रवृति बढ्दै सङ्क्रमण दरको प्रवृत्ति पनि वृद्धि भएको छ । यही पुस १९ गते २.६ प्रतिशतमा रहेको सङ्क्रमण दर पुस २७ गते १८.६ प्रतिशत पुगेको छ । यस्तै पुस २६ गते १२.७ प्रतिशत, पुस २५ गते ९.२ प्रतिशतमा मात्र सङ्क्रमण दर रहेको थियो । पुस २० गते ४.२ प्रतिशत, पुस २१ गते ४.३ प्रतिशत, पुस २२ गते ४.५ प्रतिशत, पुस २३ गते ६.५ प्रतिशत र पुस २४ गते ७.१ प्रतिशत कूल सङ्क्रमण दर रहेको थियो । पुस २७ गते १५ हजार ३३ जनाको परीक्षणमा दुई हजार ४४४ मा सङ्क्रमण देखिएको थियो । पुस २६ गते एक हजार ४४६ सङ्क्रमति र सात हजार ८५५ सक्रिय सङ्क्रमति तथा पुस २५ गते सङ्क्रमति एक हजार १६७ पुगेको र सक्रिय सङ्क्रमित छ हजार ७५५ देखिएका छन् । ओमिक्रोन भेरियन्ट रोकथामको तयारी सरकारले पहिलेको अनुभवबाट पाठ सिकेर अहिले सम्भावित तेस्रो लहरको जोमिख हुन नदिन अस्पताललाई तयारी अवस्थामा राखेको छ । मन्त्रालयका प्रवक्ता डा मिश्राका अनुसार ओमिक्रोन भेरियन्टको सम्भावित जोखिम रोक्न अस्पताललाई आवश्यक पर्ने अक्सिजन, सघन उपचार कक्ष (आइसियु), हाई डिपेडेन्सी युनिट (एचडियु), भेन्टिलेटर, आइसोलेशन र स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा राखेको छ । उनका अनुसार आइसियु दुई हजार ७९७, भेन्टिलेटर एक हजार आठ र एचडियु तीन हजार ८४६ रहेका छन् । यस्तै अक्सिजन सिलिण्डर १३ हजार ९३९ र अक्सिजन कन्सटे«टर ६९३ रहेका छन् । यसैगरी २५ अक्सिजन टयाङ्कमा १९ वटा र १०७ मध्ये ८७ अक्जिसन प्लान्ट सञ्चालनमा आइसकेका छन् । उपत्यकामा दुई हजार ४९४ आइसोलेशन शय्या, ३२४ एचडियु, ४४५ सघन उपचार कक्ष र २५४ भेन्टिलेटर रहेका छन् । मन्त्रालयले समुदायमा ओमिक्रोन भेरियन्ट पत्ता लगाउनका लागि बढीभन्दा बढी एन्टिजेन किटबाट नै परीक्षण बढाउनुका साथै निगरानी बढाएको उनको भनाइ छ । ‘पोजेटिभ सङ्क्रमण देखिएकामध्येबाट ओमिक्रोन पत्ता लगाउन अणु वांशिक अध्ययन (जीन सिक्वेन्सिङ) गरिरहेका छौँ’, मन्त्रालयका प्रवक्ता डा. मिश्राले भनिन् । केही दिनअघि एक हजार १४६ पोजेटिभ नमूनाको एस–जिन स्क्रिनिङ गर्दा २५० नमूनामा एस–जिन नेगेटिभ देखिएकाका र ती नेगेटिभ देखिएकाको अणु वांशिक अध्ययन (जीन सिक्वेन्सिङ) २४ मा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । हालसम्म २७ ओमिक्रोन भेरियन्ट भएको पत्ता लागेको छ । ‘एस–जिन नेगेटिभ बढ्नु भनेको ओमिक्रोन भेरियन्ट बढ्नु हो’, उनले भनिन्, ‘एस–जिन नेगेटिभ पत्ता लागेका सबै सङ्क्रमितको कन्याक्ट्र ट्रेसिङ गरिरहेका छौ ।’ यस्तै सीमा नाकामा एक हजार क्षमताका नौ वटा होल्डिङ सेन्टरसमेत बनाउन थालिएको छ । रासस