पाठेघरको क्यान्सर भएको कसरी थाहा पाउने ?

काठमाडौं । क्यान्सर भनेको जुनसुकै अंगमा सामान्यभन्दा धेरै कोषिका बढ्ने हो । अक्सर महिलाहरु पाठेघर क्यान्सरको जोखिममा हुन्छन् । पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो । ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ । यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुनसक्छ । महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ । जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ । डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्व हो । यद्यपी यसलाई प्रारम्भिक अवस्थामै पत्ता लगाउन सकियो भने उपचार संम्भव हुन्छ । त्यसैले महिलामा हुने केही त्यस्ता लक्षण छन्, जसले पाठेघर क्यान्सरको संकेत गर्छ । यदि त्यस्तो संकेत देखापरेमा सर्तक रहनुपर्छ । चिकित्सकिय परामर्श लिनु पर्छ । यो जनावरी महिना भनेको क्यान्सरको जागरुपताको महिनाको रुपमा राखिएको छ । पाठेघरको मुखको क्यान्सर सातौ कमन क्यान्सर हो र यो चाहिँ महिलाहरुमा चौथोमा पर्ने गर्दछ । विकसित मुलकको कुरा गर्ने हो भने यो रोगबाट बच्नका निम्ती एचपिभी भ्याक्सिन लगाउने गरिन्छ जुन ५ देखि १५ वर्ष उमेर वर्गका बच्चाहरुलाई २ डोज खोप र १५ देखि २६ उमेर वर्गका मानिसहरुलाई ३ डोज खोप लगाउने गरिन्छ । त्यस्तै २६ वर्षभन्दा माथिका उमेर पुगेका मानिसहरुले भ्याक्सिन लगायता पनि भ्याक्सिनको प्रभाव नदेखिने भएकाले संक्रमण छ या छैन भनेर परीक्षणबाट पत्ता लगाउन सकिन्छ । यस भाइरसले भविष्यमा क्यान्सरको सम्भावना कति छ भन्ने कुरा परीक्षण गरेर थाहा पाउन सकिन्छ । ९० प्रतिशत महिलामा असामान्य रूपमा योनिबाट रक्तश्राव हुन्छ । महिनावारी हुने समयभन्दा धेरै दिन धेरै मात्रामा, रगतको कालो ढिका जस्तो, कहिलेकाहीँ पानीजस्तो रक्तश्राव हुन्छ । त्यस्तै महिनामा दुई–तीनपटक महिनावारी हुने, यौन सम्पर्कको समयमा वा सम्पर्कपछि रक्तश्राव हुने आदि यसका लक्षणहरु हुन् । कस्तो अवस्थामा यसको परिक्षण गर्ने ? महिनावरी नभए पनि बिचमा रगत देखिनु, यौन सम्पर्क गर्दा रगत देखिने, सेतो र गन्हाउने पानी आउने, तल्लो पेट लगातार दुख्ने, ढाड दुख्ने, थकाई बढि लाग्ने, लामो समय सम्म खाकी निको नहुने र तौल घट्दै जाने लगायत लक्षणहरु देखिएमा तत्काल प्याबस्मेयरको परीक्षण गराउनु पर्दछ । यो परीक्षणले संक्रमितको क्यान्सरको कुन अवस्थाम छ भन्ने पत्ता लगाउन सकिन्छ । पाठेघरको मुखको क्यान्सर महिलाले असुरक्षित धेरै व्यक्तीसँग यौन सम्पर्क राखेमा, सानै उमेरमा विवाह गरेमा, सानो उमेरमै यौन सम्पर्क राखेमा, सानै उमेरमा बच्चा जन्माएमा, धेरै गर्भाधारण गरेमा, धुम्रपान गरेमा हुने गर्दछ । त्यसैले हरेक महिलाहरुले कम्तिमा वर्षमा एक पटक स्त्री रोग सम्बन्धीका डाक्टरहरुलाई भेटेर जाँच गर्न जरुरी छ । यो परीक्षणले भविष्यमा हुने धनजन र खतराबाट बचाउँदछ । हामीले हामी कहाँ आउने महिला दिदीबहिनी आमाहरुलाई यस्ता रोगबाट आउने खतरा लक्षण र सावधानका उपायहरुको ज्ञान दिन जरुरी छ । (डा. शर्मा एभरेष्ट अस्पतालमा स्त्री रोग तथा निशन्तान विशेषज्ञको रुपमा विगत ५ वर्ष देखि कार्यरत छिन् ।)

‘लकडाउन होइन स्मार्ट लकडाउन हुनसक्छ’

काठमाडौं । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि १५ दिनसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरु बन्द गराएको छ । सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै यही पुस २६ गतेबाट गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुमार्फत् सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि ८ बुँदे आदेश जारी गरेको छ । सङ्क्रमण बढ्दै गएको अवस्थामा सरकारले गरेका पछिल्ला निर्णयले फेरि पनि बन्दाबन्दी (लकडाउन) हुने हो कि भन्ने चिन्ता आम सर्वसाधारणमा देखिन थालेको छ । सङ्क्रमणको पहिलो र दोस्रो लहरमा बन्दाबन्दी भोग्नु परेका नेपालीहरुमा फेरि त्यस्तो अवस्था आउने त होइन भन्ने चिन्ता छाएको देखिएको हो । पुस २३ गते १४ हजार ९७१ जनामा परीक्षण गरेकामध्ये २६२ कोरोना भाइरसका सङ्क्रमित रहेकोमा पुस २६ गते हिजो ११ हजार ४२९ परीक्षण गरेकामध्ये एक हजार ४४६ सङ्क्रमति देखिएका छन् । साथै नेपालमा हाल सात हजार ८५५ सक्रिय सङ्क्रमति पुगेका छन् । यसरी अहिले दैनिक सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ । सङ्क्रमण दर बढ्दै सङ्क्रमण दर पनि वृद्धि भएको छ । पुस १९ गते कूल परीक्षणमध्ये २.६ प्रतिशतमा रहेको सङ्क्रमण हिजो पुस २६ गते कूल परीक्षण गरेकोमध्ये १२.७ प्रतिशतमा सङ्क्रमण पुगेको छ । यस्तै पुस २५ गते कूल परीक्षण गरेकोमध्ये ९.२ प्रतिशतमा सङ्क्रमण दर रहेको थियो । यसैगरी पुस २० गते ४.२ प्रतिशत, पुस २१ गते ४.३ प्रतिशत पुस २२ गते ४.५ प्रतिशत, पुस २३ गते ६.५ प्रतिशत, पुस २४ गते ७.१ प्रतिशत कूल सङ्क्रमण दर रहेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमणकै कारणले अहिलेसम्म नै बन्दाबन्दी (लकडाउन)को अवस्थामा पुगिहाल्ने कुनै निर्णय गरेको छैन । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले अहिलेको अवस्थामा बन्दाबन्दी गरिहाल्ने सोच मन्त्रालयको नभएको बताए । ‘बन्दाबन्दी बारेमा छलफल नै भएको छैन,’ उनले भने, “हामी अहिले सङ्क्रमणका रोकथाम र नियन्त्रणमा ध्यान दिन्छाैं । अहिल्यै नै बन्दाबन्दीबारे सोचेका नै छैनौँ ।’ मन्त्रालयले जुन क्षेत्रमा सङ्क्रमणको दर बढी हुन्छ सोही क्षेत्रमा मात्र स्मार्ट लकडाउन गर्ने तयारीमा रहेको छ । उनका अनुसार तर मन्त्रालयले ‘स्मार्ट लकडाउन’ गर्ने अधिकार भनेर सम्बन्धित जिल्लाको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई दिएको छ । जिल्ला र स्थानीय तहमा कति सङ्क्रमितसम्मलाई उपचार गर्न सकिन्छ त्यसको पनि अब लेखाजोखा हुनुपर्ने अवस्था छ । ‘जिल्ला र स्थानीय तहमा कति सङ्क्रमितसम्मलाई त्यहाँ रहेको अस्पतालमा उपचार गर्न सकिन्छ । त्यो अवस्था हेरेर डिसिएमसीले ‘स्मार्ट लकडाउन’ गर्न सक्दछ,’ उनले भने, ‘सङ्क्रमित सङ्ख्या र उपचार गर्नसक्ने क्षमता हेरेर ‘स्मार्ट लकडाउन’ गर्ने अधिकार दिइएको छ ।’ मन्त्रालयले सम्भावित जोखिम रोक्नका लागि खोप अभियानलाई तीव्रता दिएको छ । प्रतिदिन पाँच लाख जनालाई खोप लगाउन सक्ने क्षमता मन्त्रालयसँगै रहेको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले तेस्रो लहरलाई रोकथाम र नियन्त्रण गर्नका लागि खोप अभियानलाई जनताको घरदैलोसम्म पु¥याइरहेको बताए । स्थानीय तहको समन्वयमा खोप अभियानलाई जनताको घरदैलोमा पु¥याइएको छ । मन्त्रालयले यही पुस मसान्तभित्र लक्षित सबैलाई खोप लगाएपछि बुस्टर डोज दिने भएको छ । बुस्टर डोज अग्रपङ्क्तिमा काम गर्नेलाई माघको पहिलो हप्ता र ६० वर्ष भन्दामाथिका ज्येष्ठ नागरिक तथा गम्भीर रोग प्रतिरोधात्मक क्षमता कम भएका, सक्रिय क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीलाई माघको दोस्रो हप्तादेखि बुष्टर डोज दिने भएको हो । ओमिक्रोन भेरियन्ट रोकथामको तयारी सरकारले पहिलेको अनुभवबाट पाठ सिकेर अहिले सम्भावित तेस्रो लहरको जोमिख हुननदिन अस्पताललाई तयारी अवस्थामा राखेको छ । उपत्यकाका र देशभरिका अस्पताललाई अक्सिजन, सघन उपचार कक्ष (आइसियु), हाई डिपेन्डेन्सी युनिट (एचडियु), भेन्टिलेटर, आइसोलेशनको तयारी अवस्थामा राखेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए । उहाँका अनुसार यहाँ सघन उपचार कक्ष दुई हजार ७९७, भेन्टिलेटर एक हजार ८, एचडियु तीन हजार ८४६ उपलब्ध छन् । यस्तै अक्सिजन सिलिण्डर १३ हजार ९३९, अक्सिजन कन्सन्टे«टर ६९३ रहेका छन् । यसैगरी २५ अक्सिजन टयाङ्कमा १९ वटार १०७ मध्ये ८७ अक्जिसन प्लान्ट सञ्चालनमा आइसकेको छ । उपत्यकामा दुई हजार ४९४ आइसोलेशन शय्या, ३२४ एचडियु, ४४५ आइसियु र २५४ भेन्टिलेटर रहेका छन् । प्रदेश नं १ मा ११ वटा प्रदेश २ मा छ वटा, बागमती प्रदेशमा २१ वटा, गण्डकी प्रदेशमा १७, लुम्बिनी प्रदेशमा १८ वटा, कर्णाली प्रदेशमा ७ वटा र सुदूरपश्चिम प्रदेशमा पाँच वटा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले ओमिक्रोन भेरियन्टको सम्भावित जोखिम रोक्नका लागि स्वास्थ्यकर्मी पनि तयारी अवस्थामा राखिएको बताए । ‘समुदायमा जोखिम क्षेत्र पत्ता लगाई एन्टिजेनमार्फत परीक्षण गर्न र पहिचान भएका सङ्क्रमितको उचित व्यवस्थापन गर्नसमेत सबै स्थानीय तह र प्रदेश सरकारलाई निर्देशन दिइसकेको छ,’ उनले भने । यस्तै सीमा नाकामा कोरोना भाइरसको परीक्षण थप बढाउने र सङ्क्रमितलाई आइसोलेशनमा राख्ने व्यवस्था मिलाइएको उहाँको भनाइ रहेको छ । ओमिक्रोन भेरियन्ट पत्ता लगाउन मन्त्रालयले नियमित रुपमा परीक्षणको काम गरिरहेको छ । रासस

सङ्क्रमित बढेपछि चितवनमा नियन्त्रण र उपचारको तयारी

चितवन । जिल्लामा कोभिड–१९ (कोरोना) भाइरसको सङ्क्रमण बढ्न थालेपछि नियन्त्रण र उपचारको तयारी थालिएको छ । प्रशासनले भेला, मेला, महोत्सव गर्न रोक लगाएको छ भने अस्पतालहरूले थप तयारी गरेका हुन् । प्रशासनले सोमबार २५ जनाभन्दा बढी भेला भएर हुने सबै प्रकारका कार्यक्रममा रोक लगाएको छ । सवारीसाधन, सार्वजनिकस्थलमा स्वास्थ्य मापदण्डमा कडाइ गरिएको छ । अस्पतालहरूले पनि सङ्क्रमित बढ्न सक्ने भन्दै थप तयारी गरेका छन् । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले कोरोना सङ्क्रमितको नियमित उपचार हुँदै आएको जानकारी दिँदै हाल २८ शय्या छुट्याइएको बताए । तीमध्ये १० शय्या सघन उपचारकक्ष र १८ शय्या एचडीयू रहेका छन् । उनले आवश्यकतानुसार शय्या बढाउँदै लैजाने जानकारी दिए । अस्पतालमा अक्सिजन प्लान्ट र तरल अक्सिजन ट्याङ्कसमेत जडान गरिएकाले विगतको जस्तो अक्सिजनको अभाव नहुने उनले विश्वास दिलाए । भरतपुर अस्पतालले दुई दिनअघि कोभिड प्राविधिक समिति नै बनाएर कोभिड सङ्क्रमितको उपचारको थप तयारीमा लागेको उनको भनाइ छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रताप देवकोटाले सङ्क्रमण बढ्न थालेपछि थप तयारी गरिएको बताए । उनले पछिल्ला दिनमा सङ्क्रमित आउने क्रम बढेको बताउँदै हाल २५ शय्या कोभिडका लागि छुट्याइएको जानकारी दिए । देवकोटाले भने, “हामीले आवश्यकतानुसार शय्याको सङ्ख्या बढाउँदै लैजान्छौँ ।” कोभिडको दोस्रो लहरसँगै सघन उपचारकक्ष र एचडीयूको सङ्ख्या बढाइएको जानकारी दिँदै देवकोटाले सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजन, सघन उपचारकक्ष, एचडीयू र बच्चाका लागि बाल सघन उपचारकक्षसमेत पर्याप्त रहेको जानकारी दिए । पिसीआर परीक्षण गर्ने आफ्नै प्रयोगशाला रहेको अस्पतालले जनाएको छ । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) का आवासीय निर्देशक डा मनोहर प्रधानले अस्पतालमा विगतदेखि नै कोभिडका लागि छुट्याइएको १२० शय्या अहिले पनि तयारी अवस्थामा राखिएको बताए । उनले भने, “हामीले कोभिड उपचार वार्डमा अरु बिरामी राखेका छैनौँ, ती शय्या अहिले पनि अलग्गै राखिएको छ ।” आवश्यकतानुसार शय्या बढाउन सकिने प्रधानको भनाइ छ । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट रहेकाले अभाव नहुने जनाएको छ । अस्पतालले पछिल्लो समय पिसीआर मेसिन पनि सञ्चालनमा ल्याएको छ । विगत दुई महिनादेखि पिसीआर मेसिन सञ्चालनमा आएको प्रधानले जानकारी दिए । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले सङ्क्रमणलाई मध्यनजर गर्दै खोप अभियानलाई प्रभावकारीरूपमा अघि बढाइएको बताए । सङ्क्रमण फैलन नदिन आवश्यक जनचेतना जगाउने काम कार्यालयले गरिरहेको छ । हाल चितवनका अस्पतालमा १३ सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये तीन जना सघन उपचारकक्षमा उपचाररत् छन् । रासस