मन्त्री आलेद्वारा सहयोग
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डोटीका दुई बिरामीको उपचारका लागि ३० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।उनले डोटीको सायल गाउँपालिका–५ घोघातलकी ४८ वर्षीया कृष्णादेवी साउद तथा डोटीकै दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ४८ वर्षीय इन्द्रबहादुर साउदको उपचारका लागि सो सहयोग प्रदान गरेका हुन् । फागुन ३ गते माटोको ढिस्कोले पुरिएर मेरुदण्डको तीन ठाउँमा भाचिएर राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार गराइ रहेकी कृष्णदेवीको अवस्था बुझ्न मन्त्री आले ट्रमा सेन्टरमा पुगेर उपचारका लागि आफ्नो व्यक्तिगततर्फबाट १५ हजार प्रदान गरेका हुन् । यसैगरी खुट्टामा एक्टिनो माइकोसिस (ढुसी) नामक सङ्क्रमणको समस्या देखिएर राष्ट्रिय ट्रमा सेन्टरमै पुगेका ४८ वर्षीय इन्द्रबहादुरलाई पनि उपचारका लागि मन्त्री आलेले रु १५ हजार आर्थिक सहयोग प्रदान गरे । साउदको करिब १२ वर्ष पहिले दायाँ खुट्टामा चोट लागेको र अहिले आएर उक्त चोटकै कारण दाहिने खुट्टामा एक्टिनो माइकोसिस नामक सङ्क्रमण देखिएको र खुट्टा नै काट्नुपर्ने अवस्था देखिएको राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले जानकारी दिएका छन् । मन्त्री आलेले हाललाई दुवै बिरामीको चेक जाँचका लागि भन्दै केही उपचार सहयोग दिएको र बिरामीको थप उपचारका लागि आफूले पहल गर्ने वचनबद्धता व्यक्त गरेकाे उनको सचिवालयले जनाएको छ । मन्त्री आलेले हालसम्म सुदूरपश्चिम र मध्यपश्चिमका गरी कम्तीमा पनि एक हजारभन्दा बढी बिरामीलाई उपचारका लागि आफ्नो व्यक्तिगततर्फबाट आर्थिक सहयोग प्रदान गरी सकेकाे उनका स्वकीय अधिकृत भक्तबहादुर साउदले जानकारी दिए ।
सिद्धार्थ बैंकले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई दियो १५ लाख
काठमाडौं । सिद्धार्थ बैंकले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १५ लाख सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई आर्थिक सहयोग प्रदान गरेको हो । सो रकम बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्र मणि अधिकारीलाई हस्तान्तरण गरेका छन् । बैंकबाट प्राप्त उक्त रकम शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सर्जिकल वार्ड विस्तार गरी बेडहरु थप गर्नको लागि उपयोग गर्ने जनाएको छ । यस्तै बैंकले उक्त सहयोगबाट अस्पतालका मुटुरोगी बिरामीहरुलाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास लिएको जनाएको छ । बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य रहेको सीइओ कडेलले बताए ।
सबैले मृत्यु पश्चातको अंगदान गरौं: स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यू पश्चातको अंगदान गर्न आग्रह गरेका छन् । बिहीबार विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिँदै मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान गर्न सबैलाई आग्रह गरेका हुन् । मृत्यूपश्चातको अंग दान गरेमा मृगौला पीडितहरुले पनि धेरै सुविधा पाउने उनले बताए । नाता पर्नेजति सबैले मृगौला दान गर्न सक्ने उनले जानकारी दिए । ‘अहिलेसम्म हामीले नेपाल सरकारको तर्फबाट मृगौला खोजेर गरिदिने भन्ने परिस्थितिमा हामी छैनौँ । पहिला कानून साँघुरो थियो, फेरी यसलाई दुरुपयोग पनि भएको हुनाले हामीले कानून बनाउनु परेको हो । अहिले दान गर्न पाउने सर्कललाई हामीले ठुलो बनाएका छौँ । नाता पर्नेजति सबैले पाउँछ,’ उनले भ ने । मन्त्री खतिवडाले मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरु पनि मृगौला नफेरेका व्यक्तिहरु जस्तै स्वस्थ हुनसक्ने भन्दै आत्तिनु नहुने बताए । मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरुले चिन्तित भएर आफुलाई कमजोर बनाउनु नहुने उनी बताउँछन् । ‘मृगौला दान गर्दा पनि समस्या हुँदैन । मृगौला फेरेको मान्छे पनि स्वस्थ हुन्छन् । त्यसकारण हामी मनबाट, अनेक हिसाबबाट आत्तिनु पर्दैन । दुईवटा मध्ये हामीले एउटा दान गर्दा पनि हाम्रो शरिरमा त्यति ठुलो समस्या आउँदैन र मृगौला फेरेको मान्छेहरुले पनि आफुलाई मन कमजोर बनाएर म बिरामी छु, मेरो मृगौला फेरेको छ भनेर चिन्तित हुनुपर्दैन । अन्य स्वस्थ मानिसजस्तै अथवा अन्य मृगौला नफेरेका मानिसजस्तै मृगौला फेरेको मान्छे पनि उत्तिकै स्वस्थ हुन्छन् र जीवनमा त्यत्तिकै योगदान गर्न सक्छन् । काम गर्न सक्छन् । सिर्जनात्मक सोँच अनुसार अगाडी बढ्न सक्छन्,’ उनले भने । १० मार्चको दिन मनाइने विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ ।