चितवनका ५६ हजार बढी बालबालिकालाई खोप

चितवन । जिल्लामा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मोडर्ना खोप अभियानअन्तर्गत विद्यार्थीलगायतका बालबालिकालाई खोप लगाइएको हो । स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर महानगरपालिकामा ३३ हजार ५८५, खैरहनीमा ५३५, माडीमा तीन हजार ११४ , रत्ननगरमा आठ हजार ७१६, राप्तीमा चार हजार ९२७, कालिका नगरपालिकामा तीन हजार ६५२ र इच्छाकामना गाउँपालिकामा दुई हजार २५२ जनाले खोप लगाएका हुन् । कार्यालयले पालिकाका स्वास्थ्य शाखामार्फत खोप लगाउने व्यवस्था गरेको थियो । यसअन्तर्गत २०० भन्दा बढी विद्यार्थी भएका विद्यालयमा नै खोप केन्द्र राखेर अभियान सञ्चालन गरिएको थियो । जिल्लामा ८० हजार हाराहारी सो उमेर समूहका बालबालिका रहेको अनुमान गरिएको छ ।

जनस्वास्थ्य नियमावलीअनुसार आइभिएफको इजाजत पाउने पहिलो अस्पताल बन्यो नर्भिक

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि टेस्टट्यूब बेबी(आइभिएफ) संचालनको इजाजत पाउने देशकै पहिलो अस्पताल बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्भिकलाई नयाँ व्यवस्थाअनुसारको मापदण्ड पूरा गरेको आधारमा आइभिएफ सेन्टर संचालनको इजाजत दिएको हो । ्ज नस्वास्थ्य सेवा नियमावली, २०७७ बमोजिम टेस्टट्यूब बेसी(आइभिएफ) संचालन गर्ने इजाजतपत्रका लागि नर्भिकले २०७८ साउन १२ गते निवेदन दिएको थियो । २०७८ माघ २५ गते सो निवेदनउपर कार्यबाही भई सचिवस्तरको निर्णयबाट नर्भिकलाई आइभिएफ सेन्टर संचालनको इजाजत दिइएको हो । जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ बमोजिम नर्भिकलाई आइभिएफ सेन्टर संचालनको इजाजत दिइएको महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जानकारी दिए । उनका अनुसार जनस्वास्थ्य नियमावली २०७७ ले व्यवस्था गरेअनुसारको मापदण्ड पूरा गरी आइभिएफ सेन्टर संचालनको इजाजत पाउने नर्भिक पहिलो अस्पताल बनेको छ । यसअघि विभिन्न ठाउँमा संचालनमा रहेका आइभिएफ सेन्टरहरु कुनै जिल्ला, कुनै क्षेत्रबाट इजाजतप्राप्त थिए । ‘तर जनस्वास्थ्य नियमावलीमा उल्लेख भएको मापदण्ड पूरा गरी तथा नयाँ व्यवस्था आएपछि आइभिएफ सेन्टर संचालन गर्ने नर्भिक पहिलो अस्पताल बनेको हो,’ उनले भने । नर्भिकले अस्पतालको मुख्य भवनको विपरीत दिशामा अलग्गै भवनमा आइभिएफ सेन्टरका सबै आधुनिक पूर्वाधारहरु तयार गरी परामर्श सेवा संचालन गर्दै आएको छ । सुविधासम्पन्न र आधुनिक आइभिएफ सेन्टरमा जेनेटिक ल्याबसहितको अत्याधुनिक उपचार सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ । नर्भिक आइभिएफ सेन्टर अत्याधुनिक जेनेटिक ल्याब भएको देशकै पहिलो र एकमात्र आइभिएफ सेन्टर पनि हो ।

५ सय २१ जनामा संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २१ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १० हजार ११५ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्। मन्त्रालयका अनुसार ४२७ पिसिआर परीक्षणबाट र  एन्टिजेन परीक्षणबाट ९४ संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा ३ हजार ३९५ जना कोरोना संक्रमित निको भएका छन् । यस्तै, सोही अवधिमा १० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।