राजविराजकाे गजेन्द्रनारायण सिंह अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन
सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा आएको छ । यसबाट हरेक दिन २८० देखि २९० सिलिन्डर अक्सिजन भर्न गर्न सकिने छ । अस्पतालमा रहेको १५ शय्याको आइसियू र एनआइसियू कक्ष सञ्चालन गर्न सहज भएको छ । साथै अस्पतालले यसको विकल्पमा ‘लिक्विड प्लाण्ट’ सञ्चालनको तयारी समेत थालेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजितकुमार झाले अक्सिजन प्लान्टको परीक्षण सफल भएको जानकारी दिए । उनले भने, ‘आइसियू र एनआइसियू कक्ष सञ्चालनमा सहज भएको छ ।’ गत वैशाख १९ गतेदेखि सञ्चालनमा आएको २५ शय्याको अत्याधुनिक एचडियू सेवा अक्सिजनकै अभावका कारण बेलाबेलामा समस्यामा पर्ने गरेको थियो । अक्सिजनकै अभावमा कोरोना सङ्क्रमितको उपचारका लागि थप शय्या र आइसोलेसन केन्द्र विस्तार हुन नसक्दा गम्भीर बिरामीलाई धरान र विराटनगर पठाउने गरिएको थियो । अब अस्पतालमा थप शय्या विस्तार हुने र आवश्यक बिरामीका उपचारमा सहज हुने बताइएको छ । यसअघि राजविराजबाट ५० किलोमिटरमा रहेको इटहरीमा अक्सिजन भर्ने गरिएको थियो । प्लान्ट सञ्चालनमा आएसँगै अस्पतालमा बिरामीलाई थप सेवा पाउन सहज हुने राजविराजका नवीनकुमार झाले बताए । सेवा नियमित र व्यवस्थित सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले अस्पतालमा दक्ष जनशक्तिको पूर्ति गर्न आवश्यक देखिएको छ । अस्पतालमा जडान भएको सघन उपचार कक्ष र भेन्टिलेटर सेवा जनशक्ति अभावकै कारण बन्द रहने गर्छ । अस्पतालका बिरामी कुरुवा भन्दछन्, ‘भेन्टिलेटर जडान भयो, अक्सिजन प्लान्ट बन्यो, जनशक्ति छैन ।’ दक्ष जनशक्तिको अभावमा जटिल अवस्थाका बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता कायम रहेको अस्पतालका सूचना अधिकारी सूर्यकान्त झाले जानकारी दिए । भेन्टिलेटर सञ्चालनका लागि अस्पतालमा ‘क्रिटिकल केयर फिजिसियन’ ‘एनेस्थेसियोलोजिष्ट’, अहेव र नर्सको आवश्यकता रहेको जनाइएको छ । जनशक्ति व्यवस्थापन भएमा जडान गरिएको अक्सिजनसहितका उपकरण प्रयोग गर्न पाएर लाभान्वित हुने स्थानीयवासीको अपेक्षा छ । अक्सिजन प्लान्टको स्थापनाले जिल्लावासी खुसी छन् । कोभिड–१९ को सङ्क्रमणका बेला अक्सिजन अभावका कारण सङ्क्रमित अक्सिजनसहितको अस्पताल र शय्याका लागि भौतारिनुपर्ने अवस्था थियो । अक्सिजनकै लागि छट्पटिनुपर्ने अवस्था अन्त्य भएको अस्पतालले समेत जनाएको छ । रासस
मूत्रथैलीको पत्थरी निकाल्दा नर्भिकले शल्यक्रिया शुल्कमा २० प्रतिशत छुट दिने
vicकाठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पुस महिनाभरि मूत्रथैलीमा भएको पत्थरीको शल्यक्रियामा विशेष छुट दिने अफर सार्वजनिक गरेको छ । नर्भिक इन्टरनेशनल हस्पिटलले मूत्रथैलीमा भएको पत्थरी विभिन्न आधुनिक प्रविधिबाट निकाल्नका लागि गरिने विविध शल्यक्रियाहरुको साविकको शुल्कमा २० प्रतिशत छुट दिने अफर सार्वजनिक गरेको हो । नर्भिकमा घाउ नगरी मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने विधि, घाउ नगरी मृगौलाको पत्थरीको उपचार गर्ने विधि तथा घाउ नगरी मूत्रथैलीको पत्थरी निकाल्ने प्रविधि उपलब्ध छ । मूत्रथैलीको पत्थरी निकाल्नका लागि गरिने शल्यक्रियाहरुमा पुस महिनाभरि साबिकको तोकिएको शुल्कमा २० प्रतिशत छुट पाइने अस्पतालले जनाएको छ । नर्भिक अस्पतालले योसँगै पुस महिनाका प्रत्येक शनिवार यूरोलोजी टिमको निःशुल्क ओपिडी सेवा समेत संचालन गरिरहेको छ । त्यस्ता ओपिडी सेवामा आएर स्वास्थ्य जाँच गराउने बिरामीहरुको शल्यक्रिया गर्नुपरे सहुलियत उपलब्ध गराइने यसअघि नै घोषणा भएको थियो । सोही अनुसार बिरामीहरुले घोषित सहुलियत समेत पाइरहेका छन् ।
दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण
काठमाडाैं । झापाको दमकस्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरी अस्पताललाई हस्तान्तरण गरिएको छ । अक्सिजन उत्पादनको परीक्षण गरेर सफल भएपछि निर्माण कम्पन्नीले दमक नगरपालिका मातहतको दमक अस्पताललाई अक्सिजन प्लान्टको जिम्मा दिएको हो । विश्व बैंकको कार्यक्रम ‘कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयडनेस प्रोजेक्ट’ अन्तर्गत रहेर सो अक्सिजन प्लान्ट बनेको अस्पतालका अध्यक्षसमेत रहनुभएका दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् । डेढ वर्ष अघिदेखि सो काम सुरु भएको थियो । कम्तीमा तीन वर्षसम्मको सञ्चालन तथा मर्मत सम्भारको काम युनाइटेड नेसन अफिस फर प्रोजेक्ट सर्भिसेज (युएनओपीएस) मार्फत हुने जनाइएको छ । प्रतिघण्टा ४० घनमिटर उत्पादन क्षमताको प्लान्टले अब यस क्षेत्रमा अक्सिनको समस्या नहुने अधिकारीले जानकारी दिइन्। अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भइरहेकाले अब हरेक शय्यमा पाइपलाइनबाट अक्सिजन पु¥याउने लक्ष्य छ । विसं २०७३ मा स्वास्थ्य चौकीबाट स्तरोन्नति भएर हाल १५ शय्याको रुपमा दमक अस्पताल बनेको हो । अस्पतालले २४ सै घण्टा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालले दैनिक सरदर एक हजार हाराहारीमा विपन्न समुदायका लागि स्वास्थ्य बीमासहितका स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । रासस