दार्चुला जिल्ला अस्पताल ५० श्ययाको बनाइने

दार्चुला । जिल्लामा ५० श्ययाको जिल्ला अस्पताल भवन निर्माण धमाधम भइरहेको छ । आगामी तीन वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित भवन निर्माण भइरहेको हो । वाईआर कन्ट्रक्सन प्रालिले भवन निर्माणको जिम्मा पाएको छ । निर्माण कम्पनीका प्राविधिक रञ्जीतकुमार कठरियाले अहिले निर्माणस्थलमा फिल्ड सम्याउनेदेखि जग खन्ने कामको सुरुआत भएको जानकारी दिए । जिल्ला अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डाँगीले भने,’जिल्ला अस्पतालको भवन निर्माण सुरु भएको छ । भवन बहुउपयोगी बन्नेछ ।’ २०७० सालको बाढीले अस्पतालको भवनलाई क्षति पुर्याएको थियो । अस्पतालको जमिन बाढीले बगाएपछि अहिले जमिन अभाव छ । भएकै संरचना भत्काएर भए पनि त्यही क्षेत्रमा अस्पताल निर्माणको काम अघि बढेको उनले बताए । निर्माण व्यवसायीका प्राविधिक कठरियाका अनुसार सम्झौता अवधिभित्रै काम सक्ने गरी आफूलाई कार्यक्षेत्रमा खटाएको जानकारी दिए । भवन चार तलाको भवन बन्ने छ । यसका लागि २६ करोडमा ठेक्का सम्झौता भएको छ । अहिले अस्पताल २९ श्यया सञ्चालनमा छ । रासस

इलाम नगरपालिकाले ५८ लाखमा सञ्चालनमा ल्यायाे आँखा अस्पताल

मङ्गलबारे । इलाम नगरपालिकाले आँखा अस्पताल सञ्चालनमा ल्याएको छ । स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर नगरपालिकाले सामुदायिक आँखा अस्पताल सञ्चालन र व्यवस्थापनका लागि छुट्टै कार्यविधि जारी गरी आँखा अस्पताल सञ्चालनमा ल्याएको हो । स्थानीय तहले सञ्चालनमा ल्याएको सामुदायिक आँखा अस्पताल देशकै पहिलो अस्पताल भएको बताइएको छ । सामुदायिक आँखा अस्पताल निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा इलाम नगरपालिकाले रकमान्तर गरेर ५० लाख जुटाएको थियो । चालु आवमा भने यसका लागि एक करोड रकम विनियोजन भएको छ । विनियोजित रकममध्ये ५७ लाख ९० हजार खर्च भएको छ । त्यसमध्ये ५३ लाख २४ हजार पूँजीगतमा र चार लाख ६५ हजार सञ्चालनमा खर्च भएको छ । सामुदायिक आँखा अस्पतालमा अहिले शल्यक्रियाबाहेकको सेवा उपलब्ध छ । आँखाको जनरल ओपिडी, जनरल उपचार, सामान्य शल्यक्रिया, चश्मा बनाउनेलगायतका सेवा दिइनेछ । जिल्लामा आँखा अस्पताल नहुँदा आँखाका सामान्य बिरामीले पनि जिल्ला बाहिर गएर सेवा लिनुपर्ने अवस्था थियो । अस्पतालमा सातौँ तहको एक नेत्र विषेशज्ञ, पाँचौँ तहका एक नेत्र सहायक, एक फार्मेसिष्ट र एक चश्मा बनाउने प्राविधिक राखिएको छ । आँखा अस्पताल सञ्चालनपछि जिल्लाका ग्रामीण भेगका बासिन्दालाई समेत सहज हुने भएको छ । आँखा अस्पतालको सेवा प्रारम्भ भएको नगर उपप्रमुख सुशीला नेम्वाङले बताइन् । उनका अनुसार अस्पताल सञ्चालनमा आएपछि नगरपालिका र जिल्लाका अन्य स्थानीय तहका बासिन्दाले समेत सेवा लिन सक्नेछन् । अस्पतालको बुधबार नगरप्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङले उद्घाटन गरेकी थिइन् ।

कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेपछि चीनको शीआन सहरमा लकडाउन

फाइल फाेटाे काठमाडौं । कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढेपछि उत्तरी चीनको शीयान सहरमा एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न अधिकारीहरूले निर्देशन दिएका छन्। डिसेम्बर ९ देखि त्यहाँ १४३ जनामा कोभिड पुष्टि भएपछि सरकारले लकडाउन लगाएको हो। बुधवार घोषणा गरिएको प्रतिबन्धात्मक व्यवस्थामा प्रत्येक घरबाट एक जनाले दुई दिन बिराएर आवश्यक सामग्री किन्न घरबाहिर जान पाउँछन्। चीनले कोभिड पूरै नियन्त्रण गर्ने कडा रणनीति बनाएको छ। महामारी रोक्न त्यसअन्तर्गत सामूहिक परीक्षण र लकडाउनजस्ता उपाय अवलम्बन गरिएको छ। आगामी फेब्रुअरीमा ग्रीष्मकालीन ओलिम्पिक्स आयोजना गर्न लागेकाले चीनले अहिले कोभिडबारे उच्च सतर्कता कायम गरेको छ। शीयानवासीहरू विशेष परिस्थतिमामा बाहेक तथा अधिकारीहरूबाट अनुमति नलिई सहरबाट अन्यत्र जान पाउनेछैनन्। स्थानीय समयानुसार मध्यरातदेखि यो व्यवस्था कार्यान्वयनमा आएको हो। यो प्रतिबन्धात्मक व्यवस्था कहिलेसम्म कायम रहन्छ भन्ने खुलाइएको छैन। शीयान अवस्थित शान्शी प्रान्तमा लाखौँ मानिसको परीक्षण गरिएको छ। लामो दूरीका बस स्टेशनहरू बन्द भइसकेका छन् तथा सहरतर्फ जाने मार्गमा जाँचचौकी बनाइएको छ। शीयान विमानस्थलबाट हुने धेरै उडानहरू स्थगित भएका छन्। अत्यावश्यकबाहेकका व्यापारव्यवसायहरू बन्द भएका छन् भने सरकारी कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ। राज्यद्वारा सञ्चालित ग्लोबल टाइम्स पत्रिकाका अनुसार गत सप्ताहान्त नै अधिकारीहरूले मदिरालय, व्यायामशाला र चलचित्रघर बन्द गर्न लगाएका थिए। सरकारी पक्षका अनुसार अहिले त्यहाँ कोरोनाभाइरसको डेल्टा भेरिअन्ट फैलिएको हो। तर ओमिक्रोनको विषयमा केही उल्लेख गरिएको छैन। सरकारी सञ्चारमाध्यमले यो साता शीयानमा दोहोरो प्रकोप फैलिएको जनाएका छन्। त्यहाँ कोभिडबाहेक रक्तस्राव हुने ज्वरो फैलिएको विवरणहरू आएका छन्। उक्त ज्वरोको स्थानीय रूपमा बेलाबेलामा देखा पर्ने रोग हो। त्यसको मृत्युदर उच्च छ। यद्यपि त्यसलाई उत्तरी चीनमा फैलिने मौमसी रोग मानिएको छ र त्यो ग्रामीण क्षेत्रमा बढी देखिएको छ। चीनले ग्रीष्मकालीन ओलिम्पिक्सका लागि कोभिड–१९ सर्वाधिक ठूलो चुनौती भएको स्वीकारेको छ। कोरोनाभाइसको प्रकोप चीनबाट नै सुरु भएको मानिन्छ। त्यहाँ अहिलेसम्म एक लाख १३ हजार जनाभन्दा बढी मानिसका कोभिड पुष्टि भइसकेको छ भने ४,८४९ जनाको कोरोनाभाइरससँग सम्बन्धित कारणले मृत्यु भएको छ। बीबीसी नेपालीको सहयोगमा