आर्यघाट पुर्‍याइएको बिरामीलाई बचाएका डा. दीर्घसिंहको कथा

<p>काठमाडौं । बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित दीर्घ जीवन क्लिनिक पुग्दा कुनै फोटो फ्रेम पसल पुगेजस्तै लाग्यो । करिब १०० भन्दा बढी सम्मान तथा विभिन्न प्रमाण पत्रले सजिएको साेही क्लिनिकमा बिरामीको उपचार गर्न व्यस्त देखिन्थे वरिष्ठ छाती रोग विशेषज्ञ डा. दीर्घसिंह बम । बिहान करिब ११ बजेको समय । बिरामीहरूको लामो लाइन । एकपछि अर्को बिरामीले भरिँदै [&hellip;]</p>

काठमाडौं । बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित दीर्घ जीवन क्लिनिक पुग्दा कुनै फोटो फ्रेम पसल पुगेजस्तै लाग्यो । करिब १०० भन्दा बढी सम्मान तथा विभिन्न प्रमाण पत्रले सजिएको साेही क्लिनिकमा बिरामीको उपचार गर्न व्यस्त देखिन्थे वरिष्ठ छाती रोग विशेषज्ञ डा. दीर्घसिंह बम ।

बिहान करिब ११ बजेको समय । बिरामीहरूको लामो लाइन । एकपछि अर्को बिरामीले भरिँदै थियो दीर्घ जीवन क्लिनिक । डा. बमको बिरामीसँग बोल्ने समधुर स्वभाव । बुढ्यौली रेखा (रिंकल) परेको हँसिलो मुहार । क्लिनिकमा आउने धेरै बिरामीलाई उनको व्यवहारले पनि दुखाइ कम भएको महशुस भएकाे हुनुपर्छ सायद ।

दुखाइ कम गर्न क्लिनिक पुगेका उनीहरू उपचार नगर्दै खुसी देखिन्थे । एउटा बिरामीको उपचारमा खटिरहेका डा. बम सबै बिरामीसँग बोल्न भ्याउँथे । उमेरले ७३ वर्ष पुगेका डा. बम पूर्वस्वास्थ्य सचिव पनि हुन् ।

स्वास्थ्य क्षेत्रमा चार दशकभन्दा बढी समय बिताइसकेका उनी हामीसँगकाे कुराकानीको सुरुमै भन्छन्, ‘जीवनमा सोचेको अधिकांश रहरहरु पूरा भए, अब बिरामीको उपचार गर्दागर्दै मर्ने इच्छा छ ।’

सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको जमरसल्ली बोगटानमा २००५ सालमा जन्मेका डा. बम स्वास्थ्यकर्मी मात्रै होइनन् उनले जीवनमा धेरै पेशा व्यवसाय अँगाले ।

छिमेकी राष्ट्र भारतसहित एसियाका सबै देश र युरोपियन मुलुकहरूमा पनि गएर स्वास्थ्य क्षेत्रको अनुभव लिइसकेका डा. बम अहिले रिटायर्ड जीवन जिउन निजी लगानीको क्लिनिक राखेर काम गरिरहेका छन् । एक छोरा र एक छोरी रहेका बमका छोरा बुहारी भने अमेरिकामा छन् । उनीहरू पनि अमेरिकामा डाक्टरी पेशा गरिरहेका छन् भने छोरी पनि डाक्टर नै हुन् । हाल उनी छाेरीसँगै ललितपुरमा बस्दै आएका छन् ।

डोटीमा हुर्केको त्यो बाल्यकाल

सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको बोगटानमा जन्मेका बमले आफूलाई एसियाकै वरिष्ठ छाति रोग विशषेज्ञ तथा क्षयराेगका रुपमा चिनाउँछु भनेर कहिल्यै सोचेका थिएनन् । तर, आफ्नो मेहनत र संघर्षले एकपछि अर्को सफलता मिल्दै गएको उनी बताउँछन् ।

विकट ठाउँ । धेरैले विद्यालय पनि देखेका थिएनन् । तर, बमलाई भने पढाइ मात्र होइन राम्रो पढेर डाक्टर बन्ने सपना थियो । त्यो सपनापछिको प्रसंग पनि पृथक किसिमको छ । त्यो प्रसंग र क्षणले डा. दीर्घसिंह बमलाई अहिले पनि घोच्छ ।

उनी आफ्नो बाल्यकाल सम्झिँदै भन्छन्, ‘म ६/७ वर्षको थिएँ, एकदिन आमाको खुट्टामा ठूलो घाउ भयो, घाउकै कारण अपरेशन गर्नुपर्ने भयो, त्यतिखेर म खुब रोएँ, अपरेशनपछि घाउ निको भयो, ओहो यो काम त राम्रो पो रहेछ सोचेँ, त्यसपछि म पनि डाक्टर पढ्छु भनेर सपना बुनेँ ।’

दिन बित्दै गए । उनले डोटीको खत्याडी मिडिल स्कुलबाट विद्यालय तहको पढाइ पूरा गरे । त्यसपछि डोटीको सदरमुकाम सिलगढीमा पढ्न गए । सिलगढीमा विज्ञान विषय पढाइ नहुने भएपछि उनी पढ्न भारततर्फ लागे । मध्यम वर्गीय परिवार थियो । बुबा जागिरे थिए । पढाइ खर्च को उनलाई खासै समस्या थिएन । त्यसैले पनि उनको भारतमा गएर पढ्ने सपना सहजै पूरा भयो ।

अब उनको आइएस्सीको पढाइ भारत उत्तरप्रदेशको साविकको खैरिगड स्टेटको लखिमपुरबाट सुरु भयो । भारतबाट आइएस्सी पास गरेपछि उनी काठमाडौंको अमृत साइन्स क्याम्पसमा बिएस्सी अध्ययनको लागि भर्ना भए । त्यहाँ पढ्दै गर्दा उनी श्री ५ काे सरकारकाे छात्रवृतिमा मस्कोम डाक्टर पढ्न जानकाे लागि छानिए ।

एग्रोनोमीमा स्वभियत संघमा छात्रवृतिमा पढ्न सन् १९६९ मा उनी मस्को पुगे । जतिखेर उनी २१/२१ वर्षको थिए । उनले त्यहाँ एग्रोनोमी अध्ययन गरे ।

डाक्टर हुनुअघि कलाकारदेखि पत्रकारसम्म

नेपालबाट आएको एउटा सामान्य परिवारको छोरा । सोभियत युनियनको मस्को शहरमा सहज रूपमा दैनिकी चलाउनु चानचुने कुरा थिएन । उनले सो समय तीन वटा ड्युटी (काम) सँसँगै  गरे । बिहान, दिउँसो र राति पनि उनले काम गरे ।

‘सोभियत युनियनमा हुँदा मैले सँगै तीन वटा ड्युटी गरेँ, धेरै अनुभव र अनुभूतिहरु पाइयो, काम गर्दै जाँदा कहिले पत्रकार बनेँ, कहिले रहरले गीतकार त कहिले नृत्यकार बनेँ,’ उनले सुनाए ।

काम गर्दै जाँदा उनले मस्कोमै ‘रेडियो मस्को’मा २ वर्षसम्म काम गरे । जहाँ उनी समाचार पढ्थे । विभिन्न विषयमा रेडियोमार्फत् ‘रिभ्यू’ पनि दिन्थे ।

पत्रकार मात्रै होइनन् उनले गीत गाएर होस् वा नृत्य गरेर मस्कोमै प्रथम भएका प्रमाणपत्रहरू उनीसँग अहिले पनि सुरक्षित छन् । उनी पढ्ने विश्वविद्यालय होस् वा कुनै सहरमा गीत गाउन र नृत्य गर्न भनेपछि उनी भाग लिइहाल्थे ।

उनले आफ्नो विगत सम्झँदै भने, ‘म सानैदेखि गीत लेख्न र गाउन धेरै रुचाउने मान्छे, मस्कोमा हुने विभिन्न कार्यक्रममा भाग पनि लिइयो, धेरै पटक प्रथम पनि भएको छु, त्यस कारणले पनि युरोपका सबै देशमा घुम्ने मौका पाएँ ।’

डा.बम आफूले ३ सयभन्दा बढी गीत लेखिसकेको बताउँछन् । त्यसमध्ये डेढ सयभन्दा बढी गीत विभिन्न गायक गायिकाको आवाजमा रेकर्ड भइसकेका छन् ।

स्वर सम्राट नारायण गोपाल, प्रेमध्व प्रधान, रामकृष्ण ढकालदेखि भारतीय गायक गायीकाहरु कुमार सानु कविता, कृष्ण मूर्तीसँगै नेपाली नाटककार हरिहर शर्मा, सुशिला रायमाझीलगायतले उनले लेखेका नाटक खेलेका छन् ।

स्वर सम्राट नारायण गोपालले आफ्नो जीवनको अन्त्यमा चलचित्र ‘चोट’ का लागि गाएको बहुचर्चित गीत ‘बिरही माया अधुरो रह्यो बिर्सनु कसरी, तड्पाई दिन्छ जलाई दिन्छ, याद आउँछ बेसरी’ का रचनाकार डा. दीर्घसिंह बम नै हुन् ।

जापान र थाइल्याण्डमा पनि अध्ययन

डा. दीर्घसिंह बमले सोभियत युनियनको मस्कोमा एमडी गरे । त्यहाँ उनले छातीको रोगका विषयमा विशेषज्ञता हासिल गरे । ब्रोनकोलोजीमा पनि मास्टर्स गरे ।

अब उनी थप अध्ययनका लागि जापना गए । उनले एड्भान्स टिबीको विषयमा जापानमा पढे । एलर्जी र इपिडिमियोलोजीको बारेमा थाइल्याण्डमा पढे र अन्य धेरै विषयमा विभिन्न देशहरुबाट मास्टर्स डिग्री पढेको उनी सुनाउँछन् ।

मस्कोको जनमैत्री विश्वविद्यालय र अहिले प्याट्रिस लिबुम्बा विश्वविद्यालय युनिर्भसिटीमा उनले पढेका हुन् । त्यसबेला सो विश्वविद्यालयमा ११० देशका ५ हजारभन्दा बढी विद्यार्थीहरु पढ्थे । छात्रवृति नपाएको भए आफुले पढ्न सक्ने कल्पना पनि गर्न नसक्ने डा. बम बताउँछन् ।

घरको मान्छेलाई खबर नगरी विदेशमा पिएचडी गर्न गएका बमको बुवाको साेही बेला निधन भयो । सो घटना सम्झेर उनलाई अहिले पनि दुःख लाग्छ ।

बिर्सनै नसकिने त्यो क्षण

हुन त स्वास्थ्य पेशाको काम नै बिरामीको उपचार गर्ने हो । तर, डा. बमको जीवनमा यस्ता केशहरु आएका छन् जसले उनको दिमाखमा गहिरो जरा गाढेका छन् ।

बमले सबैले मृत्यु भइसकेको भनेर पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्न लगिएको बिरामीलाई ठीक पारेका छन् ।

उनी सो घटनालाई स्मरण गर्दै भन्छन्, ‘बिरामीलाई उनको परिवारले अन्तिम संस्कार गर्न पशुपति लगेका थिए, कतिपयलाई मृत्यु भए/नभएको विषयमा शंका रहेछ, पछि मलाई बोलाउनु भयो, मैले हेरेँ, बिरामीको घाँटीको नलिमा रगत अड्किएछ, हातले रगत निकालेँ, खल्तिबाट रुमाल निकालेर सास दिएँ, त्यपछि बिरामीले ख्वाक्क गरे र भित्र अड्किएको रगतको फाल्सा निस्कियो र उनी बाँचे ।’

यो घटना आफ्नो जीवनको लागि अविस्मरणीय रहेको उनी सुनाउँछन् । यति धेरै हृदयविदारक दृश्य देख्दा पनि आफुलाई कहिल्यै पनि स्वास्थ्य पेशा किन रोजेछु भन्ने महशुस नभएको बम बताउँछन् । बरु कसरी उनीहरूलाई सहयोग गर्न सक्छु भनेर योजना बनाउने उनी सुनाउँछन् ।

कुनै पनि बिरामीको जीवन बचाउनु सक्नु एउटा डाक्टरको लागि सबैभन्दा खुशीको क्षण भएको बम बताउँछन् ।

‘जिन्दगीमा धेरै क्रिटिकल केशहरू धेरै देखियो,’ बम भन्छन्, ‘हस्पिटलमा काम गर्दा दिनहुँ मानिसहरु मणनासन्न अवस्थामा आउँदा उहाँका आफन्तहरु रोएको र त्यो मान्छेलाई गुमाउनु परेको ती दृश्यहरु देख्दा भावुक भइन्छ, अझै पनि सम्झदा हृदयविदारक नै हुन्छ तर, आफ्नो काम गर्नै पर्यो,’ उनी भावुक हुँदै भन्छन् ।

क्षयरोग विज्ञदेखि सचिवसम्म

२०३५ सालदेखि सरकारी काममा जोडिएका बमले ६ महिना स्वास्थ्य सचिव भएर पनि काम गरे । उनी नेपालको स्वास्थ्य क्षेत्रका नक्षत्र मात्रै नभई नेपालको क्षयरोग नियन्त्रण कार्यक्रमलाई सफल स्वास्थ्यको कार्यक्रमका रूपमा विश्वभरि चिनाउने एकमात्र नेपाली क्षयरोग विज्ञ हुन्।

नेपालमा क्षयरोगको उपचार, रोकथाम र नियन्त्रणको क्षेत्रमा उल्लेखनीय योगदान गरेका डा. बमले क्षयरोगीका लागि प्रतिपादन गरेको प्रत्यक्ष निगरानीमा गरिने उपचार विधि ‘डट्स’ नेपालमा मात्रै नभई विदेशमा समेत कार्यान्वयन गरिएको थियो । जसबाट प्रति १ सयमा ८५ जनाको क्षयरोग निको भएको विश्व स्वास्थ्य संगठनले जनाएको थियो ।

यसै नतिजाको मूल्यांकन गरी डा. बमलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतबाट थुप्रै पुरस्कार प्रदान गरिएकाे छ ।

एमबीबीएस सकेपछि केन्द्रीय चिकित्सालय र नेपाल क्षयरोग निवारण संस्थाको साथै राष्ट्रिय क्षयरोग केन्द्र र सार्क क्षयरोग केन्द्र ठिमीमा ११ वर्ष प्रमुख भएर काम गरेका उनी नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको कायममुकायम सचिवसम्म भए ।

वि.स २०६५ मा उनी स्वास्थ्य सचिव भए । पछि सरकारले दुई स्वास्थ्य सचिव राखेपछि उनी त्यहाँबाट बाहिरिए । नेपालको स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गरेकाे भन्दै उनी सार्क क्षेत्र, विश्व स्वास्थ्य संगठन, नरवे, इन्टरनेशनल युनियन अगेन्स्ट ट्युबरक्लोसिस लङ्ग डिजिजबाट पनि सम्मानित भइसकेका छन् । पेरिसमा कार्यालय रहेको उक्त संस्थाको उनले निर्देशक भएर पनि काम गरे । उनी हरेक ४ देखि ६ महिना त्यहाँ गएर काम गर्थे ।

विश्व स्वास्थ्य संगठनको टिबी डेस्क नेपालमा बनाउन नसकेको विषयले बमलाई अहिले पनि खड्काउँछ । उनले यसको लागि सक्दो प्रयास गरेको र सबै निकाय र सरोकारवालाहरू पनि यस विषयमा जानकारी गराएको भए पनि कसैले चासो नदिएको उनी बताउँछन् ।

बम सरकारले कूल बजेटको १० प्रतिशत स्वास्थ्यमा लगानी गर्नुपर्ने बताउँछन् । ‘नेपालीहरुको स्वास्थ्य पहुँच बढाउन र उत्कृष्ट स्वास्थ्य सेवा दिन स्वास्थ्यमा लगानी बढाउनु पर्छ, अहिले स्वास्थ्यमा लगानी अपुग छ,’ उनले भने ।

Share News