११ प्रतिशत व्याजदरको नागरिक बचतपत्र बिक्री नभएपछि राष्ट्र बैंक तनावमा
काठमाडौं । ११ प्रतिशत व्याजदरमा निष्काशन गरेको नागरिक बचतपत्र बिक्री नभएपछि नेपाल राष्ट्र बैंक तनावमा परेको छ । राष्ट्र बैंकले ३ अर्ब ३ करोड ६ लाख ६० हजार रुपैयाँ बराबरको ‘नागरिक बचतपत्र २०८४’ जारी गरेको थियो । ५ वर्ष अवधिको बचत पत्रमा ११ प्रतिशत व्याजदर तोकिएको छ र अर्धबार्षिक रुपमा व्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउने व्यवस्था गरिएको छ । जेठ १२ गतेदेखि बिक्री खुला भएको उक्त बचत खरिदको लागि राष्ट्र बैंकले जेठ ३१ गते अन्तिम दिन तोकेको थियो । निर्धारित समयमा सबै बचतपत्रको माग नभएकोले असार १४ गतेसम्मको लागि समय थप गरिएकाे केन्द्रीय बैंकले जनाएकाे छ । बजारमा तरलत अभावको भएकोले राष्ट्र बैंकले निष्काशन गरेको नागरिक बचतपत्रको माग कम भएको हुन सक्ने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलले बताए । ‘रकम पनि धेरै भयो, तरलताको चाप पनि धेरै छ । मुल कारण यही हो’ उनले भने । तरलताको अभाव देखेर नै राष्ट्र बैंकले उच्चतम व्याजदर प्रस्ताव गरेको उनले बताए । ‘११ प्रतिशत व्याज ताेकिएकाे छ, याे राष्ट्र बैंकले दिएको अहिलेसम्मको उच्चतम व्याजदर हो । तैपनि पूरा माग आएन’, उनले भने । तरलता संकटले राष्ट्र बैंक पनि चिन्तित रहेकाे उनकाे भनाइ छ । वाणिज्य बैंकहरुले १० दशलमलव ५ प्रतिशतभन्दा कम व्याजदरमा ऋणपत्र बिक्री गरिरहेको समयमा राष्ट्र बैंकले ११ प्रतिशत व्याजदरको नागरिक बचतपत्र बिक्री गर्न नसक्नुलाई उसको कमजाेर बिक्री प्रयास एवं बजारीकरणको रुपमा पनि हेरिएको छ । तर सहायक प्रबक्ता पोखरेलले बचतपत्रको प्रचार प्रसार राम्रो गरिएको दावी गरे । ‘यसलाई सरकारप्रतिको अविश्वास भन्न पनि मिल्दैन, बजारीकरण नभएको, सूचना प्रवाह नै कमजोर भएको भन्न पनि मिल्दैन’ उनले भने ।
सीईओलाई राष्ट्र बैंकको डिनरसहितको क्लास : नाफामुखी नबन्नु, साउनदेखि नियमन कडा हुन्छ
काठमाडौं । मंगलबार नेपाल राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई बोलायो । बैंकका सीईओलाई पत्र काट्दै समसायिक विषयमा छलफल गर्ने उल्लेख गरेको थियो । राष्ट्र बैंकले आकस्मिक बैठक भनेपछि हतार—हतार गरेर सीईओहरु ३ बजेभित्रै र्याडिसन होटल पुगे । राष्ट्र बैंकका दुई डेपुटी गनर्भर निलम ढुङ्गाना तिमिल्सनास र बम बहादुर मिश्रसँगै राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल, गुणाकर भट्ट, रामु पौडेल, गुरु पौडेल लगायतको उपस्थितीमा र्याडिसनमा कार्यक्रम समयमै सुरु भयो । पत्रमार्फत् समसामयिक विषयमा छलफल भनेको राष्ट्र बैंकले पुनः के विषयमा बैंकलाई निर्देश्न दिने हो भन्ने उत्सुकतामा सीईओहरु थिए । किनकि राष्ट्र बैंकले आकस्मिक छलफल भनेर बोलाएपछि केही न केही निर्देशन दिएर सीईओहरुलाई पठाउँछ । तर, राष्ट्र बैंकले मंगलबार भने बैंकहरुका एक–एक गरेर गल्ति देखायो । सबै बैंकहरुले गरेको गलत अभ्यासहरु प्रस्तुत गर्दै राष्ट्र बैंकले ती गल्ति तत्काल सच्याउन भनेको छ । कार्यक्रमको सुरुमा मन्तव्य राख्दै नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पछिल्लो समय बैंकहरुले नीति निर्देशनको राम्रो पालना नगरेको धारणा राखे । ‘अहिले प्रणाली केही टाइट छ, यतिबेला हामीले नाफाभन्दा पनि कसरी सस्टेन हुने, सर्वसाधारणलाई कसरी सहज सेवा दिने भन्ने विषयमा केन्द्रित हुनुपर्छ, तर, बैंकहरुले पछिल्लो समय गरेका अभ्यासहरु राम्रो भएनन््, डा.भट्टलाई उदृत गर्दै एक बैंकका सीईओले भने । ती सीईओका अनुसार मंगलबारको छलफल समग्र बैंकिङ क्षेत्रले अनुसरण गर्दै आएका अभ्यासहरुमै केन्द्रित थियो । बैंकहरुले कर्जामा गरेको मनोमानी, सेवा शुल्क, प्रिमियमदर, नाफामुखी लगायतका विषयमा चर्चा भएको थियो । छलफलमा डेपुटी गभर्नरहरु डा. निलम ढुङ्गाना र बमबहादुर मिश्र, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकालको धारणा पनि ऋण लगानीको दुरुपयोग भएकोमा नै केन्द्रित थियो । उनीहरुले बैंकहरुले मनलाग्दी किसिमले सेवा शुल्क र प्रिमियम लिएको बताएका थिए । यो अभ्यास नसच्याए तत्काल कारवाही गर्ने चेतावनी उनीहरुले सीईओलाई दिएका छन् । यस्तै, राष्ट्र बैंकले साउनदेखि नियमनमा कडाइ गर्ने चेतावनी पनि दिएको छ । राष्ट्र बैंकले डिनरसहित छलफलमा बाेलाएका सीईओहरू अहिले पनि र्याडिसनमै छन् ।
डण्डीको मूल्य घट्यो, निर्माण क्षेत्रमा छैन उत्साह
काठमाडौं । केही समय अगाडि हालसम्मकै उच्च रहेको फलामे डण्डीको मूल्य घट्न थालेको छ । भारतीय बजारमा डण्डीको मूल्य बढेको भन्दै नेपालमा मूल्य बढाएका व्यवसायीहरुले हाल मूल्य घटाएका हुन । भारतीय बजारमा फलामे डण्डीको मूल्य घटेपछि नेपाली बजारमा पनि मूल्य घट्न थालेको छ । विभिन्न कम्पनी अनुसार पछिल्लो १५ दिनको अवधिमा प्रतिकिलो १३ रुपैयाँदेखि १५ रुपैयाँसम्म डण्डीको मूल्य घटेको निर्माण सामग्री व्यापार संघका उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । संघका अनुसार सिमेन्टको मूल्य यथावत रहेत पनि डण्डी, जस्तापाता तथा पाइपको मूल्य पछिल्लो समय घट्न थालेको छ । भारतीय बजारमा डण्डीको मूल्य बढेको भन्दै डण्डी व्यवसायीहरुले प्रतिकिलो १३० रुपैयाँदेखि १४० रुपैयाँसम्म बिक्री गरेका थिए । उद्योगीले फ्याक्ट्रीबाटै भ्यास सहित प्रतिकिलो ११६ रुपैयाँ तोक्ने गरेको व्यवसायीहरुले बताएका छन् । छैन निर्माण क्षेत्रमा उत्साह विगत केही समय यता निर्माण क्षेत्रमा खासै उत्साह नदेखिएको व्यवसायीहरुले बताएका छन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिको अभाव देखाउँदै कर्जामा गरेको कडाइ तथा बीच बीचमा निर्माण व्यवसायीका आन्दोलनका कारण निर्माण सामग्रीको मागमा कमी आएको उनीहरुको भनाइ छ । नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष ताराप्रसाद पोेखरेल बजारमा माग नहुँदा आधा मात्र सिमेन्ट उत्पादन गर्नुपर्ने अवस्था रहेको बताउँछन् । ‘अहिले निर्माणको पिक आवर मानिन्छ, तर बजारमा सिमेन्टको सोचेजस्तो माग छैन, वैशाखमा चुनाव र जेठ लागेपछि बर्खा सुरु भएसँगै निर्माण कार्य रोकिँदा सिमेन्टको मागमा बृद्धि भएको छैन’, उनले भने, ‘मागमा बृद्धि नहुँदा अधिकांश सिमेन्ट कम्पनीले आधामात्र उत्पादन गर्नुपर्ने बाध्यता रहेको छ ।’ उनले नेपाल सिमेन्ट उद्योगमा आत्मनिर्भर भएता पनि निर्यात गर्न नसक्दा क्षमताको आधामात्रै सिमेन्ट उत्पादन भएको बताए । ‘नेपालमा अहिले खासै सिमेन्टको माग छैन, हामी पर्याप्त मात्रामा सिमेन्ट निर्यात गर्न सक्षम छौँ, सरकारले निर्यातका लागि बजेटमा छुट दिएसँगै निर्यातको तयारी सुरु भएको छ,’ उनले भने । निर्माण व्यवसायीले निर्माण सकिएपनि सरकारले रकम नदिएको, बैंकले तरलता अभावका कारण लगानीमा कडाइ गर्दाको असर सिमेन्ट खपतमा देखिएको उनको भनाइ छ । ‘सरकारले पूर्वाधारको रकम खर्च भएर भनिरहेको छ, काम गरेको पैसा समयमा भुक्तानी गरेपछि रकम खर्च भैहाल्छ, काम गराएर समयमा नै भुक्तानी नभएपछि सरकारको खर्च कम देखिन्छ, खर्च बढाउन काम गरेको रकम समयमा नै भुक्तानी दिनुपर्याे, उनले भने । निर्माण सामग्री व्यापार संघको तथ्यांक अनुुसार पछिल्लो समय निर्माण सामग्रीको मागमा उल्लेख्य मात्रामा कमी आएको छ । निर्माणको सिजनकै रुपमा हेरिने वैशाख, जेठमा समेत निर्माण सामग्रीको मागमा कमी आएको हो । निर्माण सामग्री व्यापार संघका उपाध्यक्ष दीपक श्रेष्ठ ७५ प्रतिशतसम्म निर्माण सामग्रीको मागमा कमी आएको बताउँछन् ।