नाकामै थन्किएका सुन्दरका विद्युतीय बस ४ करोड कर छुटपछि भित्रिए, साउनदेखि काठमाडौंमा गुड्ने
काठमाडौं । भन्सार शुल्कमा विवाद भएर रोकिएका सुन्दर यातायातको विद्युतीय गाडी नेपाल भित्रिएका छन् । सरकारले विद्युतीय सवारीमा सहुलियतको घोषणा गरेतापनि चर्काे भन्सार शुल्क भएको भन्दै फिर्ता पठाउने तयारीमा रहेको सुन्दरले सरकारले छुट दिएपछि ६ वटा विद्युतीय गाडी नेपाल भित्र्याएको हो । २० वटा विद्युतीय गाडीमध्ये सुरुवाती चरणमा ६ वटा भित्र्याइएको र बाँकी १४ वटा भन्सारपासको क्रममा रहेको सुन्दर यातायातले बताएको छ । सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा सरकारले भन्सारमा छुट दिएपछि विद्युतीय गाडी भित्र्याइएको बताउँछन् । उनले सरकारी नीति अनुसार नै कम्पनीले छुट पाएपछि विद्युतीय गाडी भित्र्याएको बताए । सुन्दर यातायातले ल्याएको विद्युतीय गाडीमा सरकारले भन्सार तथा सडक यातायात दस्तुरमा केही छुट र बीमा कम्पनीले नै गर्नेगरी सहमति भएपछि गाडी ल्याएकाे बताए । यसअघि विद्युतीय सवारी ल्याउँदा १.५ प्रतिशत रहेको भन्सार शुल्कमा १ प्रतिशत र ५ प्रतिशत रहेको सडक यातायात शुल्कमा सुन्दरले २.५ प्रतिशत तिनु पर्ने सहमति भएपछि विद्युतीय गाडी भित्र्याएको अध्यक्ष थापाले बताए । सरकारले भन्सार तथा सडक यातायात शुल्कमा छुट दिँदा प्रति गाडी २० लाख रुपैयाँसम्म छुट पाएको उनको भनाइ छ । एउटा गाडीमा २० लाख छुट पाउँदा २० वटा गाडीको ४ करोड रुपैयाँ छुट सुन्दर यातायातले पाएको छ । यसअघि सुन्दरले चर्काे भन्सार तथा सडक शुल्क रहेको भन्दै प्रति गाडीमा ४० लाख रुपैयाँसम्म महँगो भएको भन्दै फिर्ता पठाउने चेतावनी दिएको थियो । ‘सरकारको नीति अनुसार नै हामीले २० वटा विद्युतीय बस ल्याउने तयारी गरेर सुरुवाती चरणमा ४ वटा गाडी वीरगन्ज भन्सार कार्यालयमा ल्याएका थियौँ, ‘वीरगन्ज भन्सार कार्यालयमा कर विवाद भएपछि लामो समय ४ बस भन्सारमै रोकिए’, उनले भने, ‘हामीले पटक/पटक सरकारी अधिकारीलाई भन्सार छुट दिन आग्रह गरेपछि छुट पायौँ, छुट नपाएपछि हामीले भारतमा बिक्री गर्ने तयार गरेका थियौँ, अब सबै गाडी ल्याउँछौं,’ उनले विकासन्युजसँग भने । सुन्दर यातायातले जर्मनबाट खरिद गरेर ल्याएको २० वटा विद्युतीय बसमध्ये ४ वटा बस वीरगन्ञ भन्सारमा थन्किएका थिए । १६ वटा भारतमै थिए । सुन्दर यातायातले प्रति बस एक करोड ८५ लाख रुपैयाँका दरले २० वटा विद्युतीय बस खरिद गरेको थियो । भन्सारका अधिकारीहरुले खरिद मूल्यमा २६ प्रतिशत भन्सार शुल्क तोकेका थिए । भैरहवामा गुडे ४ गाडी सुरुवाती चरणमा सुन्दरले ४ वटा विद्युतीय बस भैरहवा रुटमा सञ्चालन गरेको छ । पहिलो चरणमा भित्रिएका ती विद्युतीय बस भैरहवाको सुनौलीदेखि कपिलवस्तुको चारजितपुरसम्म सञ्चालन गरिएको अध्यक्ष थापाले बताए । ‘भैरहवामा ६ थान बस सञ्चालन गरिसकेका छौँ, साउन १० गतेभित्र हामीले १६ वटा विद्युतीय गाडी ल्याएर काठमाडौं उपत्यकामा सञ्चालन गर्ने तयारीमा छौँ’, उनले भने । यस्तै, सुन्दर यातायातले सरकारसँग विद्युतीय गाडी चार्जिङ स्टेशन र पार्किङका लागि स्थान उपलब्ध गराउन माग गरेको छ । ‘हामीले पार्किङ स्थल र चार्जिङ स्टेशन बनाउन आग्रह गरेका थियौँ, तत्काल सरकारले ठूलोे जग्गा उपलब्ध गराउन नसक्ने र कति सार्वजनिक जग्गा भए खोजी गरेर ल्याउन हामीलाई भनेको छ’, उनले भने, ‘हामीले काठमाडौं उपत्यका भित्र वा नजिकै रहेका सरकारी जग्गा हेरिरहेका छाैं, भेटिपछि निवेदन दिन्छौँ ।’
नेपाल बंगलादेश बैंकका ७ जना सिनियर परे चेपुवामा
काठमाडौं । नविल बैंकमा मर्ज हुँदै गर्दा नेपाल बंगलादेश (एनबी) बैंकको उच्च पदमा कार्यरत ७ जना कर्मचारी अन्यायमा पर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले एनबी बैंकका उच्च व्यवस्थापन तहमा कार्यरत ७ जनाको पद घटुवा गर्न सहमति दिन सकिने तर त्यसभन्दा तलका कर्मचारीको पद घटाउन नमिल्ने जनाएपछि एनबी बैंकका उच्च व्यवस्थापनमा कार्यरत ७ जना तनावमा परेका छन् । यसरी घटुवाको जोखिममा पर्नेमा नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ, नायव महाप्रबन्धकद्वय रघु कृष्ण श्रेष्ठ र सलोनिका सिंह, सहायक महाप्रबन्धकहरु सुरेश देवकोटा, नवराज खनिया, राजेन्द्र प्रसाद अधिकारी र वित्त प्रमुख कविन्द्र दाहाल रहेका छन् । दुबै बैंकबीच एनबी बैंकका कामु प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेलाई नविलमा नायव प्रमुख कार्यकारी अधिकृत बनाउने सहमति भएकाेले उनकाेमा विवाद नभएको स्रोतले बतायो । मर्जको क्रममा नेपाल बंगलादेश बैंकका सबै कर्मचारीको एक पद घटाएर नविलमा समायोजन गर्ने दुबै बैंकबीच सहमति भएको थियो । यस्तो निर्णयमा राष्ट्र बैंकले असहमति जनाएको छ । यसै साता बसेको राष्ट्र बैंकको सञ्चालक समितिमा यस विषयमा गम्भिर छलफल भएको थियो । दुबै बैंकले पाएको लाइसेन्स एउटै वर्गको भएको, दुबै बैंकले समान कानुन पालना गर्दै आएको, दुबै बैंकलाई राष्ट्र बैंकले समान हैसियतमा नियमन गर्दै आएको पृष्ठभूमि उल्लेख गर्दै मर्जको क्रममा एक बैंकको सबै कर्मचारीलाई अर्को बैंकमा पद घटाउने अन्यायपूर्ण हुने र त्यसमा राष्ट्र बैंकले स्वीकृत दिन नसक्ने निर्णय भएकाे छ । यो विषय दुबै बैंकलाई जानकारी गराएको राष्ट्र बैंक स्रोतले बतायो । ‘मर्जको सबै प्रक्रिया मिलेर गएको छ । कर्मचारीबीच विभेद नगर्नुहोस् । अहिलेको विवाद मिलाएर आउनुहोस् भनेर दुबै बैंकलाई अनुरोध गरेका छौं’ राष्ट्र बैंकका उच्च अधिकारीले भने । दुबै बैंकको सञ्चालक समितिबीच सहमतिमा भएको निर्णयलाई पनि कदर गर्नको लागि उच्च पदमा कार्यरत ७ जनाको पद घटुवा गर्ने सम्बन्धमा राष्ट्र बैंकले सहमति दिने उनले बताए । ‘माथिल्लो पदमा रहेकालाई धेरै असर पर्दैन, म्यानेजर र त्यस भन्दा तलको लागि घटुवा गर्ने कुरा राम्रो होइन, त्यसमा राष्ट्र बैंकको सहमहि हुन्न’ उच्च अधिकारीले भने । राष्ट्र बैंकले मंगलबार दुबै बैंकका मर्जर कमिटिका सदस्यहरुलाई बोलाएर यस विषयमा सम्झाई बुझाई पठाएको र उनीहरुले पनि निर्णय सच्याएर ल्याउने बताएको ती अधिकारीले बताए । तर नविल बैंकका मुख्य प्रवद्र्धक विनोद चौधरीले मर्ज भाँडिन सक्ने तर एनबी बैंकका कर्मचारीलाई समान हैसियत दिन नसकिने अडान व्यक्त गरेका छन् । दुइ पक्षबीचकाे विवादले एनबी बैंकका बरिष्ठ ७ जना कर्मचारी भने चेपुवामा पर्ने भएका छन् । मर्जर प्रक्रियाको सबै काम सकिए पनि राष्ट्र बैंकले कर्मचारी मिलाउन दुबै बैंकलाई केही समय दिने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विदेश गएकोले एक सातापछि राष्ट्र बैंकको सञ्चालक समितिको बैठक पनि नबस्ने भएको छ । सम्बन्धित समाचार नबिल-एनबी मर्जर प्रकरणमा राष्ट्र बैंकको अडान र विनोद चौधरीको धम्की
कति लाग्छ विद्युतीय गाडी खरिदपछिको खर्च ?
काठमाडौं । पछिल्लो समय उपभोक्ताको छनौटमा पर्छ विद्युतीय सवारी । पेट्रोलियम पदार्थको उच्च मूल्य वृद्धि र कम मूल्यको विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने सरकारको नीतिले पनि उपभोक्ताहरुको प्राथमिकतामा विद्युतीय सवारी पर्न थालेको छ । सवारी किन्न मात्र महँगो हुँदैन, पाल्न पनि महँगो हुने गर्दछ । सवारीमा प्रयोग हुने इन्धन र मर्मतमा नियमित खर्च आउँछ । त्यसमाथि सवारीको पार्टस् फेर्नु पर्दा उत्तिकै खर्च हुने गर्छ । पेट्रोल र डिजेलबाट चल्ने सवारीको तुलनामा विद्युतीय उर्जाबाट चल्ने सवारीको सञ्चालन तथा मर्मत खर्च कम आउने जानकारहरु बताउँछन् । विगत ६ वर्षदेखि विद्युतीय गाडी चड्दै आएका पूर्व अर्थसचिव रामेश्वर खनाल विजुली गाडी चलाउन सस्तो परेको अनुभव सुनाउँछन् । इन्धन खर्च पनि कम हुने र मर्मत खर्च पनि कम हुने उनको अनुभव छ । ७ वर्षको लागि गाडी उत्पादक कम्पनी कियाले व्याट्री वारेन्टी गरेकोमा ६ वर्षसम्म कुनै समस्या नआएको उनले बताए । ‘६ वर्षको व्याट्रीको पावर ३ प्रतिशत क्षय भएछ । ३० प्रतिशतसम्म क्षय हुँदा चलाउन मिल्छ भन्ने रहेछ’ उनले भने–‘अझै ३/४ वर्ष चल्छ कि भन्ने लागिरहेको छ ।’ एमजी ब्राण्डका विद्युतीय गाडी बिक्री गर्दै आएको पारमाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्याल अन्य गाडीको तुलनामा विद्युतीय गाडीको सञ्चालन खर्च न्यून आउने बताउँछन् । उनका अनुसार गाडीमा कति समस्या आउने चालकको हातमा हुन्छ । यद्यपी विद्युतीय गाडी खरिद गरेको २ वर्षसम्म व्याट्री चार्ज बाहेक खर्च हुँदैन । ‘विद्युतीय मात्र नभएर जुनसुकै गाडीका पार्टस्हरु बिग्रनुमा मुख्य हात चालकको हुन्छ, चालक अनुसार खर्च बढ्दै जाने हो’, उनले भने, ‘विद्युतीय गाडीकोे एयर फिल्टर र ब्रेक प्याडमा बेलाबेलामा समस्या देखिन्छ ।’ चालक अनुसार २ महिनादेखि ६ महिनासम्ममा एयर फिल्डर फेर्नु पर्ने उनले बताए । एमजीले एक पटक एयर फिल्टर राख्दा ३५०० देखि ४ हजार रुपैयाँसम्म लिने गरेको उनको भनाई छ । हुण्डाई गाडीका पाटर्स सर्भिस म्यानेजर सञ्जोक कायस्थले अहिलेसम्म विद्युतीय गाडीमा गम्भीर प्रकृतिको समस्या नआएको बताए । ‘विद्युतीय गाडीमा खासै समस्या आएको गुनासो हामीलाई ग्राहकबाट आएको छैन, तीन वर्षभन्दा पुराना गाडीमा केही सामान्य समस्या आउने गरेका छन्,’ उनले भने । तीन वर्षपछि ब्रेक र एसी प्याडमा समस्या आउने गरेको र त्यसको मर्मत सहजै हुने उनले बताए । ‘पुरानो भएपछि हुन्डाईका विद्युतीय गाडीमा ब्रेक प्याड र एसी फिल्टरमा केहीको समस्या आएको छ, डिजेल पेट्रोलका गाडीमा जस्तो विद्युतीय गाडीमा खासै समस्या आउँदैन, कुनै कुनै ग्राहकले ब्रेक प्याड र एसी फिल्डरमा समस्या आयो भन्नुहुन्छ तर अन्यमा समस्या आएको अहिलेसम्म जानकारी भएको छैन’, उनले भने । उनले एसी फिल्टरका लागि १२ हजार र ब्रेक प्याडका लागि २० हजार रुपैयाँसम्म खर्च लाग्ने गरेको बताए । विद्युतीय गाडीमा जडान गरिएको व्याट्रीमा समस्या नआएको उनको भनाई छ । व्याट्रीको तलको प्यानलमा बर्षाको समयमा पानी पस्ने गरेकोे पाइएको र व्याट्री प्याक खोलेर पानी सुकाएपछि उक्त समस्या समाधान हुने गरेको उनले बताए । प्यानल नै ठोकिएर प्वाल परेको अवस्थामा मात्र पानी पस्ने समस्या आउने गरेको उनले जनाकारी दिए । कति लाग्छ चार्जिङ खर्च विद्युतीय कार, मोटरसाइलक, स्कूटर उपभोक्ताले घरमा नै चार्ज गर्न सकिन्छ । चार्जिङ स्टेशनको लागि पनि नेपाल विद्युत् प्राधिकरणले विद्युतीय छट्टै महसुल तोकेको छ । विद्युतीय बस चार्ज गर्दा चार्जिङ स्टेसनले प्रतियुनिट ४ रुपैयाँ ६० पैसा तिर्नुपर्ने छ । निजी सवारी चार्जिङ स्टेसनले न्युनतम् ४.४५ रुपैयाँदेखि ११.७० रुपैयाँसम्म महसुल तिर्नुपर्नेछ । उल्लेखिच शुल्कमा चार्जिङ स्टेशनले २० प्रतिशत शुल्क लिएर सवारी चार्ज गर्नु पर्ने हुन्छ ।