टीएमएस चलाउन ब्रोकरलाई तीन विकल्प

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाई टीएमएस चलाउन अब तीन वटा विकल्पहरु दिएको छ । धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन कार्यविधि २०७९ को तेश्रो पटक संसोधन गर्दै नेप्सेले ब्रोकरलाई विभिन्न विकल्पहरु दिएको हो । नेप्सेले दिएको तीन विकल्पमध्ये पहिलोमा नेप्सेकै टीएमएस प्रणाली प्रयोग गर्ने, दोश्रोमा ब्रोकर आफैले आफ्नै प्रणाली विकास गर्ने र तेश्रो विकल्पमा टीएमएस प्रणाली खरिद गर्ने रहेका छन् । जसमध्ये अब ब्रोकरले कुनै एक विकल्पप्रयोग गरेर कारोबार गर्न गराउन सक्नेछन् । हाल भने ब्रोकरले नेप्सेले तयार गरेको टीएमएस नै प्रयोग गरिरहेका छन् । तर यीमध्ये कुनै विकल्पमा जानको लागि ब्रोकरले नेप्सेको अनुमति लिनु पर्ने छ । जसको लागि ब्रोकरले नेप्सेमा विभिन्न विवरणसहित निवेदन दिनुपर्ने छ । जसमा ब्रोकरले आफूसँग भएको प्राविधिक क्षमता, जनशक्तिको व्यवस्था, प्रणाली विकास वा खरिद प्रयोजनको विस्तृत विवरण उल्लेख गर्नुपर्ने जनाइएको छ । ‘नेप्सेको कारोबार व्यवस्थापन प्रणाली प्रयोग गरिरहेका कारोबार सदस्यले यो कार्यविधि लागू भएको तीस दिनभित्र विनियमावलीमा तोकिए बमोजिमको दस्तुरसहित निवेदन दिनुपर्ने छ,’ संशोधित कार्यविधिमा भनिएको छ । यससँगै, ब्रोकरले आफुले चलाउने सफ्टवेयरको प्राविधिक तथा सुरक्षाको बारेमा नेप्सेलाई प्रस्तुतीकरण दिनुपर्ने छ । साथै, एकभन्दा बढी ब्रोकरले एउटै प्रणाली प्रयोग गर्न चोहेमा पनि नेप्सेलाई प्रस्तुतीकरण दिनुपर्ने जनाइएको छ । त्यसपछि नेप्सेले ब्रोकरले दिएको प्रस्तुतीकरण र विवरण उपयुक्त लागेमा सो अनुसारको प्रणाली एक महिनाभित्र जडान तथ प्रयोगको लागि एपीआई डकुमेन्ट प्रदान गर्न सैद्धान्तिक सहमति दिने छ । त्यस्तै, यदी ब्रोकरले आफ्नै प्रणाली विकास तथा खरीद गर्न चाहेमा उसले प्रणाली विकास गर्ने वा उपलब्ध गराउने कम्पनीबीच सम्झौता गर्नुपर्छ । र, त्यसको जानकारी नेप्सेलाई दिनुपर्ने छ । सम्झौतामा कारोबार प्रणालीको स्पेसिफिकेसन, वार्षिक मर्मत सम्झौता (एएमसी) बिजनेस कन्टिन्युटी प्लान (बिसिपी), ट्रबल सुटिङ लगायतका प्राविधिक सुरक्षा सम्बन्धी विषय उल्लेख हुनुपर्ने छ । आफ्नै छुट्टै प्रणाली प्रयोग गर्नेले नेप्सेको प्रणालीमा जोड्नुअघि नै सो प्रणाली मान्यता प्राप्त तेश्रो पक्षबाट परीक्षण (अडिट) गराउनुपर्ने छ । उक्त अडिट उपयुक्त लागेमा नेप्सेले ब्रोकरलाई परीक्षणको रुपमा ब्रोकरको प्रणाली जडान गर्न एपीआई प्रदान गर्ने छ । जुन एपीआई अर्को ब्रोकरले प्रयोग गर्न पाउँदैनन् । कम्तीमा एक महिनाको परीक्षणको अवधिमा कुनै समस्या नआएमा ब्रोकरले सो प्रणाली नियमित रुपमा प्रयोग गर्न अनुमति पाउने छ । कर्मचारीले स्नातक पास गरेको हुनुपर्ने ब्रोकरले उक्त प्रणाली चलाउनको लागि सूचना प्रविधिसम्बन्धी दुई जना कर्मचारीको व्यवस्था गर्नुपर्छ । जसमध्ये सिस्टम एण्ड नेटवर्क एडमिनिस्ट्रेटर तथा डाटाबेस एडमिनिस्ट्रेटरमा एक जना र सहायक कर्मचारीमा एक जना हुनै पर्ने व्यवस्था छ । यीमध्ये सिस्टम एण्ड नेटवर्क एडमिनिस्ट्रेटरले मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धित (कम्प्युटर इन्जिनियरिङ्ग, कम्प्युटर विज्ञान, सूचना प्रविधि व्यवस्थापन वा सो सरहको) विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्ने छ । र, सम्बन्धित विषयमा तीन वर्ष काम गरेको अनुभव समेत हुनुपर्ने छ । त्यस्तै, सो विषयमा स्नातक तह पास गरेको तर कामको अनुभव नभएकाहरु भने सहायक कर्मचारी बन्न पाउने छन् ।

असारमा बैंकहरूले ५० अर्बको हाराहारीमा प्रोभिजन गर्नु पर्ने, धितो लिलाम गर्दा कति होला नाफा ?

काठमाडौं । वाणिज्य बैंकहरुले असार अर्थात चालु आर्थिक वर्षको चौथो त्रैमासमा  प्रोभिजन बढी नै गर्नु पर्ने देखिएको छ । तेस्रो त्रैमासको तुलनामा बैंकहरुको खराबकर्जा बढ्दा प्रोभिजन पनि बढी नै गर्नु पर्ने देखिएको हो । प्रति बैंकले औसतमाम ५० करोड रुपैयाँ प्रोभिजन गर्नु पर्ने देखिएको बैंकका प्रमुख कार्यकारी अधिृकतहरु बताउँछन् । चालु आवको त्रैस्रो त्रैमासमा साढे ५४ अर्ब रूपैयाँ प्रोभिजन गरेका बैंकहरुले चौथो त्रैमासमा साे भन्दा बढी प्रोभिजन गर्नु पर्ने तथ्यांकले देखाउँछ । बै‌ंकहरुले असारमा अतिरिक्त ५० अर्ब रूपैयाँ प्राेभिजन गर्नु पर्ने देखिएकाे छ । तरलताको अभाव खेपिरेका बैंकहरुले उल्लेख्य रुपमा विजनेस बढाउन सकेका छैनन् । बैंकहरुको चौथो त्रैमासको वित्तीय विवरण पनि दोस्रो र तेस्रो त्रैमासको जस्तै आउने अवस्था देखिएको बैंकरहरु बताउँछन् । भएको बिजनेस विस्तारसँगै प्रोभिजन गर्नु पर्ने कारणले बैंकहरुको नाफा पनि खासै नबढ्ने उनीहरूको तर्क छ । त्यसैले यसअघिका त्रैमासभन्दा चौथो त्रैमासको वित्तीय विवरण पनि  नाफामा खासै ठूलो परिवर्तन हुने देखिँदैन । विभिन्न वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरु चौथो त्रैमासमा अतिरिक्त ५० अर्ब रुपैयाँको हाराहारीमै प्रोभिजन गर्नु पर्ने हुन सक्ने धारणा राख्छन् । उनीहरुका अनुसार अहिलेसम्मको तथ्यांकले त्यही देखाउँछ । सम्झौता अनुसार ऋणीले तोकिएको समयमा सावाँ ब्याज भुक्तानी नगरे उक्त ऋणलाई बैंकहरुले खराब कर्जामा राख्नु पर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकले तोकेको कर्जा नोक्सानी वापत प्रोभिजन गर्नु पर्ने हुन्छ । बैंकहरुले प्रवाह गरेको कर्जामध्ये सावाँ ब्याज भुक्तानी गर्ने भाखा नाघि एक वर्ष नपुगेको कर्जालाई खराब कर्जाको रुपमा राख्नुपर्ने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाहरूले खराब कर्जाको शतप्रतिशत प्रोभिजन गर्नु पर्ने हुन्छ । खराब कर्जाको शतप्रतिशत प्रोभिजन गर्नु पर्ने भएकोले पनि बैंकहरुले नाफा बढाएपनि प्रोभिजनकै कारण कम नाफा हुने देखिन्छ । बै‌कहरुका अनुसार असारमा खराबकर्जा औसतमा २ प्रतिशत हुन्सक्छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा वाणिज्य बैंकले ५८ अर्ब ३३ करोड ८० लाख रुपैयाँ नाफा गरेका छन् । चैत महिनामा वाणिज्य बैंकहरूले ५१ अर्ब १ करोड रूपैयाँ नाफा गरेका थिए । बैंकहरुका अनुसार जेठ र असारमा बिजनेस खासै बढ्न सकेको छैन । त्यस कारण पनि चैत मसान्तकै हाराहारीमा नाफा र प्रोभिजन गर्नु पर्ने अवस्था देखिएको बैंकर्सको धारणा छ । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल अहिले बैंकहरुलाई म्यानेज गर्न बाहेको विकल्प नभएको बताउँछन् । उनका अनुसार अहिले बैंकहरुलाई खराब कर्जामा केही स्ट्रेस भएपनि असारमा खासै घटबढ् हुने देखिँदैन । ‘हुन त अहिले बैंकहरु केही दबाबमै छन्, नगद प्रवाको अभाव छ तर, असारमा बैंकहरुले केही म्यानेज गरिहाल्छन्, दबाबमा भएपनि खराब कर्जा (एनपिएल) बढ्छ वा घट्छ नै जस्तो लाग्दैन, दोस्रो र तेस्रो त्रैमास जस्तै चौथो त्रैमास पनि हुन्छ भन्ने अनुमान छ, नाफा र प्रोभिजन पनि त्यही अनुपातमा होला,’ उनले भने । उनी नाफामा पनि खासै घटबढ् हुने अवस्था नरहेको बताउँछन् । धेरै ब्यापारीले असारमा नै पैसा तिर्ने भएकोले एनपीएलमा खासै उतारचढाव आउने नदेखिएको उनको भनाइ छ । यस्तै, नेपाल बैंककी नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त पनि अहिले तरलताको कारण समस्या नै भएको बताउँछिन् । तर, ‘रियल पिक्चर’ भने असार मसान्तमा नै देखिने उनको भनाइ छ । ‘चैतमा एनपीएल केही बढेको हो, अहिले खासै धेरै समस्या छैन, असारमा ऋण उठ्छ भन्ने हाम्रो अपेक्षा हो, हामी पनि ठूला ग्राहकसँग नियमित सम्पर्कमै छौं, उनीहरुले पैसा तिर्छन् भन्ने विश्वासमा छौं, यही हिसाबमा अगाडि बढ्यो भने अघिल्ला त्रैमासको हाराहारीमै प्रोभिजन गर्नु पर्छ, ऋण नै उठेन भने केही बढ्न सक्छ,’ उनले भनिन् । उनले खराब कर्जा नउठ्दा धितो लिलामको प्रक्रियाबाट कर्जा असुल गर्नु पर्ने भएकोले पनि नाफामा खासै प्रभाव नपर्ने धारणा राखिन् । उनले पनि यसअघिका त्रैमासमा भएको नाफाको हाराहारीमै चौथो त्रैमासमा नाफा हुने र प्रोभिजन पनि सोही अनुसार हुने बताइन् । तेस्रो त्रैमासमा बैंकहरुको प्रोभिजन वाणिज्य बैंकहरूले चैत मसान्तमा साढे ५४ अर्ब रूपैयाँ प्रोभिजन गरेका थिए । बैंकहरूको खराब कर्जा बढ्दा नाफामा पनि ह्रास आउने गर्छ भने प्रतिफल पनि राम्रो दिन सक्दैनन् । बैंक तथा वित्तीय संस्थाले निश्चित समयका लागि ऋणीलाई प्रदान गरेको ऋण तोकिए अनुसारको समय सीमामा असुल नभएमा बैंक तथा वित्तीय संस्थाले सो कर्जालाई खराब कर्जा रूपमा गणना गर्छन् । २७ वटा वाणिज्य बैंकहरुले खराबकर्जा अन्तर्गतको शतप्रतिशत प्रोभिजन गर्छन् । चैतमा सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकले ६ अर्ब ८७ करोड रुपैयाँ प्रोभिजन गरेको थियो । यस्तै, कृषि विकास बैंकले ४ अर्ब १२ करोड, ग्लोबल आईएमई बैंकले ३ अर्ब ९५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ८७ करोड, नेपाल बैंकले ३ अर्ब ६४ करोड रूपैयाँ, नबिल बैंकले ३ अर्ब २२ करोड र एनएमबी बैंकले २ अर्ब ७ करोड रूपैयाँ प्रोभिजन गरेको थियो । चैतमा सिद्धार्थ बैंकले २ अर्ब, एनसीसीले १ अर्ब ८८ करोड, नेपाल बंगलादेशले १ अर्ब ८३ करोड, प्रभुले १ अर्ब ८२ करोड, सनराइजले १ अर्ब ६९ करोड, बैंक अफ काठमाण्डूले १ अर्ब ५९ करोड, हिमालयनले १ अर्ब ५६ करोड, कुमारीले १ अर्ब ५५ करोड, सिटिजन्स इन्टरनेशलले १ अर्ब ५ करोड र प्राइम कमर्सियल बैंकले १ अर्ब ४८ करोड रुपैयाँ प्रोभिजन गरेको थियो । यस्तै, सेञ्चुरी कमर्सियलले १ अर्ब ४४ करोड, लक्ष्मीले १ अर्ब ४२ करोड, एनआइसी एसियाले १ अर्ब ३९ करोड, सिभिलले १ अर्ब ३५ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब १६ करोड, मेगाले १ अर्ब ७ करोड, सानिमाले ३५ करोड, एभरेष्टले ३९ करोड, स्ट्याण्डर्ड चार्टर्डले ३२ करोड र नेपाल एसबिआई बैंकले १५ करोड रुपैयाँ प्रोभिजन गरेका थियो ।

ग्राहकले सपिङ मलमा किनमेल गर्नै छोडे, व्यापारीलाई भाडा तिर्नै मुस्किल, संकटमा अर्बौंको लगानी

काठमाडौं । केही समयअघि धेरैको रोजाइमा सपिङ मलको सामान पर्थ्यो । सफा, सुन्दर र चिटिक्क परेका सपिङ मलमा किनमेल गर्नेको भीड लाग्थ्यो । सामान नपाए पनि फोटो खिचाउनैका लागि भएपनि मानिसहरु सपिङ मल जान रुचाउँथे । हरेक सामान एउटै ठाउँमा पाइने भएपछि सपिङ मल रोजाइमा पर्नु पनि स्वभाविक हो । मल भित्र न्यून आयस्तरदेखि उच्च आयस्तरका मानिसहरु पुग्छन् । मानिहरुको भीड लाग्ने भएपछि केही वर्ष अगाडि काठमाडौंका ठाउँ-ठाउँमा सपिङ मल खुले । तर, एक/दुई वर्ष यता भने सपिङ मलको व्यापार व्यवसाय भने ठप्प प्रायः छ । किनमेल गर्न जाने ग्राहकहरुको संख्या घटेपछि अहिले सपिङ मलका व्यापारीको दैनिकी बिहान सटर खोल्ने र साँझ बन्द गर्नुमै सीमित भएको छ । धेरै ब्यापारीहरु ब्यापार बन्द गरेर पलायन भइसकेका छन् । पछिल्लो समय व्यापार कम हुँदै जाँदा केही व्यपारीहरु भाडा तिर्न समेत मुस्किल परेको बताउँदै सपिङ मलको ब्यापार छोडेका छन् । काठमाडौंको सुन्धारामा रहेको काठमाडौं मल बाहिरबाट हेर्याे भने निकै पुरानो भइसकेको देखिन्छ । भित्रपनि लथालिङ्ग अवस्थामा छ । मलमा मानिसहरु फाट्टफुट्ट देखिन्छन् । तर, मलमा सामान किन्नेभन्दा व्यापार गर्ने नै बढी । विगत चार वर्षदेखि काठमाडौं मलमा व्यापार गर्दै आएका विशाल श्रेष्ठ पछिल्लो समय व्यापार ठप्प नै रहेको बताउँछन् । ‘पसल खोल्ने समयमा कपडा बेच्न भ्याइनभ्याई हुन्थ्यो, व्यापार राम्रो हुँदा आम्दानी पनि राम्रो गरियो तर, अहिले ठप्प छ, ग्राहक नै आउँदैनन्,’ उनले निराश हुँदै भने । बिशालले पसल खोलेको दुई वर्षपछि कोरोनाको संक्रमण सुरु भयो । कोरोना सुरु भएदेखि नै कम हुन थालेको उनी बताउँछन् । ‘यो भवन पुरानो पनि भयो, भित्र हेर्याे लथालिङ्ग अवस्थामा छ, सञ्चालक टिमले भाडा मात्रै माग्छ, पसल सञ्चालन गर्न सकेनौं, व्यवस्थित गरिदिनु पर्याे भन्छौं, छोडेर जाऔ भन्छन्,’ उनले गुनासो गरे । श्रेष्ठका अनुसार कोभिड-१९ अगाडि उनको दैनिक २०/२५ हजार रुपैयाँ बराबरको ब्यापार हुन्थ्यो । तर, अहिले ४/५ हजार रुपैयाँको कारोबार गर्न उनलाई मुस्किल पर्छ । काठमाडौं मलमै श्रेष्ठले लामो सटर लिएर पसल सञ्चालन गरेको थिए । व्यापार नै हुन छाडेपछि त्यो सटरलाई नै ४ वटा सटर बनाइ श्रेष्ठले एउटा सटर लिएर बसेका छन् । श्रेष्ठले मासिक ४८ हजार रुपैयाँ भाडा तिर्दै आएका छन् । तर, व्यपार नै नभएपछि घरबाट पैसा ल्याएर भाडा तिर्नु परेको उनी बताउँछन् । ‘महलमा सामान महँगो भएर हैन, सामानको गुणस्तर अनुसारको मूल्य पर्न जान्छ, ग्राहक नै आउँदैनन्, अहिले त मल भित्रका धेरै जसो सटरहरू खालि छन्, केही नपाउने भएपछि मल किन आउँछन् र मान्छे,’ उनले भने । महल सञ्चालनमा आएदेखि नै श्रेष्ठ कर्मचारीको रूपमा कार्यरत थिए । १५ वर्ष कर्मचारीका रूपमा काम गरेका श्रेष्ठ मल भित्र खाजा खान पाउने फुर्सद नभएको बताउँछन् । अहिले दिनभर फोन चलाउने, टिकटक हर्ने भन्दा काम नभएको उनी बताउँछन् । काठमाडौं मलमै विगत ४ वर्षदेखि कपडाको व्यापार गर्दै आएका राम कुमार पनि पहिलेको तुलनामा अहिले धेरै व्यापार घटेको बताउँछन् । ‘पहिलाको तुलनामा ग्राहको संख्या पनि कमि आएको छ, चुनाव अगाडि राम्रो नै थियो, चुनावको केही दिनपछि पनि व्यपार राम्रो नै थियो, अहिले व्यपार ठप्प जस्तै छ,’ उनले भने । उनले अहिले धेरैले अनलाइन व्यापार गरेकोले पनि मानिसहरु मलमा सामान किनमेल गर्न आएका छैनन् । ‘अनलाइन र हाम्रो सामानको मिल्दैन, कतिपय अनलाइन फसेको सामानहरू खोज्दै आउँछन्, अनलाइन किन्नु भन्दा बजारमा नै गएर किने राम्रो हुन्छ,’ उनले भने । यस्तै, १ सय ५० वटा विभिन्नपसल रहेको सिभिल मलको ब्यापार पनि काठमाडौं मलकै जस्तो छ । सिभिल मलबाट महिनाको भाडा मात्रै झण्डै १ करोड रुपैयाँ उठ्छ । हेर्दा मलमा मान्छेको चाप बाक्लै छ । तर, मान्छेको चाप भए पनि व्यापार चाहिँ घटेको मलका व्यपारीहरु बताउँछन् । सिभिल मलमा ब्यापार गदै आएका शम्भु कुमार गुरुङ पनि अहिले ब्यापार धेरै खस्केको गुनासो गर्छन् । ‘अनलाइनको कारणले पनि व्यापार घटेको छ, मानिसहरुले चाहिएका चिज अनलाइनमै हेर्छन्, चाहियो भने त्यहीबाट किन्छन्, मल घुम्न आउने भनेको फुर्सदको समयमा हो, त्यसैले पनि मानिसहरु मलमा आउन छोडेको हुन सक्छन्,’ उनले भने । गुरुङका अनुसार सो पसलबाट पहिला दिनकै ४/५ लाख रुपैयाँको कारोबार हुन्थ्यो अहिले त्यसको ५० प्रतिशत पनि कारोबार हुँदैन । यस्तै, सिभिल मलमै कपडा व्यापार गर्दै आएका राकेश मानन्धर पनि व्यापार ठप्प भएको बताउँछन् । उनले १० वर्षको अनुभवमा पहिलो पटक यस्तो कम ब्यापार भएको सुनाए । ‘पहिले दिनकै २ लाखको कारोबार हुन्थ्यो, अहिले ४० हजारको पनि कारोबार हुँदैन,मान्छे आउँछन्, सामान किन्दैनन्,’ उनले भने । यस्तै, सीटीसी मल पनि खालि नै छ । अहिले सीटीसी मलमा सिभिल बैंकका कर्मचारी र ग्राहकको मात्रै आवागमन हुन्छ । सो मलमा सीभील बैंक, केही मोबाइल पसलहरू छन् । ग्राहक नआएको भन्दै धेरैले व्यापार नै बन्द गरेका छन् । सपिङ मलमा अर्बौंको लगानी छ । मानिसहरु किनमेल गर्न नै जान छोडेपछि अर्बौंको लगानी संकटमा छ । व्यापारीहरुले दिनप्रतिदिन व्यापार छोडिरहेका छन् ।