असारमा बैंकहरूले ५० अर्बको हाराहारीमा प्रोभिजन गर्नु पर्ने, धितो लिलाम गर्दा कति होला नाफा ?

<p>काठमाडौं । वाणिज्य बैंकहरुले असार अर्थात चालु आर्थिक वर्षको चौथो त्रैमासमा  प्रोभिजन बढी नै गर्नु पर्ने देखिएको छ । तेस्रो त्रैमासको तुलनामा बैंकहरुको खराबकर्जा बढ्दा प्रोभिजन पनि बढी नै गर्नु पर्ने देखिएको हो । प्रति बैंकले औसतमाम ५० करोड रुपैयाँ प्रोभिजन गर्नु पर्ने देखिएको बैंकका प्रमुख कार्यकारी अधिृकतहरु बताउँछन् । चालु आवको त्रैस्रो त्रैमासमा साढे ५४ अर्ब रूपैयाँ [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकहरुले असार अर्थात चालु आर्थिक वर्षको चौथो त्रैमासमा  प्रोभिजन बढी नै गर्नु पर्ने देखिएको छ । तेस्रो त्रैमासको तुलनामा बैंकहरुको खराबकर्जा बढ्दा प्रोभिजन पनि बढी नै गर्नु पर्ने देखिएको हो । प्रति बैंकले औसतमाम ५० करोड रुपैयाँ प्रोभिजन गर्नु पर्ने देखिएको बैंकका प्रमुख कार्यकारी अधिृकतहरु बताउँछन् ।

चालु आवको त्रैस्रो त्रैमासमा साढे ५४ अर्ब रूपैयाँ प्रोभिजन गरेका बैंकहरुले चौथो त्रैमासमा साे भन्दा बढी प्रोभिजन गर्नु पर्ने तथ्यांकले देखाउँछ । बै‌ंकहरुले असारमा अतिरिक्त ५० अर्ब रूपैयाँ प्राेभिजन गर्नु पर्ने देखिएकाे छ ।

तरलताको अभाव खेपिरेका बैंकहरुले उल्लेख्य रुपमा विजनेस बढाउन सकेका छैनन् । बैंकहरुको चौथो त्रैमासको वित्तीय विवरण पनि दोस्रो र तेस्रो त्रैमासको जस्तै आउने अवस्था देखिएको बैंकरहरु बताउँछन् । भएको बिजनेस विस्तारसँगै प्रोभिजन गर्नु पर्ने कारणले बैंकहरुको नाफा पनि खासै नबढ्ने उनीहरूको तर्क छ ।

त्यसैले यसअघिका त्रैमासभन्दा चौथो त्रैमासको वित्तीय विवरण पनि  नाफामा खासै ठूलो परिवर्तन हुने देखिँदैन । विभिन्न वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरु चौथो त्रैमासमा अतिरिक्त ५० अर्ब रुपैयाँको हाराहारीमै प्रोभिजन गर्नु पर्ने हुन सक्ने धारणा राख्छन् । उनीहरुका अनुसार अहिलेसम्मको तथ्यांकले त्यही देखाउँछ ।

सम्झौता अनुसार ऋणीले तोकिएको समयमा सावाँ ब्याज भुक्तानी नगरे उक्त ऋणलाई बैंकहरुले खराब कर्जामा राख्नु पर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकले तोकेको कर्जा नोक्सानी वापत प्रोभिजन गर्नु पर्ने हुन्छ । बैंकहरुले प्रवाह गरेको कर्जामध्ये सावाँ ब्याज भुक्तानी गर्ने भाखा नाघि एक वर्ष नपुगेको कर्जालाई खराब कर्जाको रुपमा राख्नुपर्ने व्यवस्था छ ।

बैंक तथा वित्तीय संस्थाहरूले खराब कर्जाको शतप्रतिशत प्रोभिजन गर्नु पर्ने हुन्छ । खराब कर्जाको शतप्रतिशत प्रोभिजन गर्नु पर्ने भएकोले पनि बैंकहरुले नाफा बढाएपनि प्रोभिजनकै कारण कम नाफा हुने देखिन्छ । बै‌कहरुका अनुसार असारमा खराबकर्जा औसतमा २ प्रतिशत हुन्सक्छ ।

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा वाणिज्य बैंकले ५८ अर्ब ३३ करोड ८० लाख रुपैयाँ नाफा गरेका छन् । चैत महिनामा वाणिज्य बैंकहरूले ५१ अर्ब १ करोड रूपैयाँ नाफा गरेका थिए । बैंकहरुका अनुसार जेठ र असारमा बिजनेस खासै बढ्न सकेको छैन । त्यस कारण पनि चैत मसान्तकै हाराहारीमा नाफा र प्रोभिजन गर्नु पर्ने अवस्था देखिएको बैंकर्सको धारणा छ ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल अहिले बैंकहरुलाई म्यानेज गर्न बाहेको विकल्प नभएको बताउँछन् । उनका अनुसार अहिले बैंकहरुलाई खराब कर्जामा केही स्ट्रेस भएपनि असारमा खासै घटबढ् हुने देखिँदैन ।

‘हुन त अहिले बैंकहरु केही दबाबमै छन्, नगद प्रवाको अभाव छ तर, असारमा बैंकहरुले केही म्यानेज गरिहाल्छन्, दबाबमा भएपनि खराब कर्जा (एनपिएल) बढ्छ वा घट्छ नै जस्तो लाग्दैन, दोस्रो र तेस्रो त्रैमास जस्तै चौथो त्रैमास पनि हुन्छ भन्ने अनुमान छ, नाफा र प्रोभिजन पनि त्यही अनुपातमा होला,’ उनले भने ।

उनी नाफामा पनि खासै घटबढ् हुने अवस्था नरहेको बताउँछन् । धेरै ब्यापारीले असारमा नै पैसा तिर्ने भएकोले एनपीएलमा खासै उतारचढाव आउने नदेखिएको उनको भनाइ छ ।

यस्तै, नेपाल बैंककी नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त पनि अहिले तरलताको कारण समस्या नै भएको बताउँछिन् । तर, ‘रियल पिक्चर’ भने असार मसान्तमा नै देखिने उनको भनाइ छ ।

‘चैतमा एनपीएल केही बढेको हो, अहिले खासै धेरै समस्या छैन, असारमा ऋण उठ्छ भन्ने हाम्रो अपेक्षा हो, हामी पनि ठूला ग्राहकसँग नियमित सम्पर्कमै छौं, उनीहरुले पैसा तिर्छन् भन्ने विश्वासमा छौं, यही हिसाबमा अगाडि बढ्यो भने अघिल्ला त्रैमासको हाराहारीमै प्रोभिजन गर्नु पर्छ, ऋण नै उठेन भने केही बढ्न सक्छ,’ उनले भनिन् ।

उनले खराब कर्जा नउठ्दा धितो लिलामको प्रक्रियाबाट कर्जा असुल गर्नु पर्ने भएकोले पनि नाफामा खासै प्रभाव नपर्ने धारणा राखिन् । उनले पनि यसअघिका त्रैमासमा भएको नाफाको हाराहारीमै चौथो त्रैमासमा नाफा हुने र प्रोभिजन पनि सोही अनुसार हुने बताइन् ।

तेस्रो त्रैमासमा बैंकहरुको प्रोभिजन

वाणिज्य बैंकहरूले चैत मसान्तमा साढे ५४ अर्ब रूपैयाँ प्रोभिजन गरेका थिए । बैंकहरूको खराब कर्जा बढ्दा नाफामा पनि ह्रास आउने गर्छ भने प्रतिफल पनि राम्रो दिन सक्दैनन् । बैंक तथा वित्तीय संस्थाले निश्चित समयका लागि ऋणीलाई प्रदान गरेको ऋण तोकिए अनुसारको समय सीमामा असुल नभएमा बैंक तथा वित्तीय संस्थाले सो कर्जालाई खराब कर्जा रूपमा गणना गर्छन् ।
२७ वटा वाणिज्य बैंकहरुले खराबकर्जा अन्तर्गतको शतप्रतिशत प्रोभिजन गर्छन् । चैतमा सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकले ६ अर्ब ८७ करोड रुपैयाँ प्रोभिजन गरेको थियो ।

यस्तै, कृषि विकास बैंकले ४ अर्ब १२ करोड, ग्लोबल आईएमई बैंकले ३ अर्ब ९५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ८७ करोड, नेपाल बैंकले ३ अर्ब ६४ करोड रूपैयाँ, नबिल बैंकले ३ अर्ब २२ करोड र एनएमबी बैंकले २ अर्ब ७ करोड रूपैयाँ प्रोभिजन गरेको थियो ।

चैतमा सिद्धार्थ बैंकले २ अर्ब, एनसीसीले १ अर्ब ८८ करोड, नेपाल बंगलादेशले १ अर्ब ८३ करोड, प्रभुले १ अर्ब ८२ करोड, सनराइजले १ अर्ब ६९ करोड, बैंक अफ काठमाण्डूले १ अर्ब ५९ करोड, हिमालयनले १ अर्ब ५६ करोड, कुमारीले १ अर्ब ५५ करोड, सिटिजन्स इन्टरनेशलले १ अर्ब ५ करोड र प्राइम कमर्सियल बैंकले १ अर्ब ४८ करोड रुपैयाँ प्रोभिजन गरेको थियो ।

यस्तै, सेञ्चुरी कमर्सियलले १ अर्ब ४४ करोड, लक्ष्मीले १ अर्ब ४२ करोड, एनआइसी एसियाले १ अर्ब ३९ करोड, सिभिलले १ अर्ब ३५ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब १६ करोड, मेगाले १ अर्ब ७ करोड, सानिमाले ३५ करोड, एभरेष्टले ३९ करोड, स्ट्याण्डर्ड चार्टर्डले ३२ करोड र नेपाल एसबिआई बैंकले १५ करोड रुपैयाँ प्रोभिजन गरेका थियो ।

Share News