बैंकहरूलाई ‘क्लोजिङ’को चटारो, २४ दिनमा ९४ अर्बले निक्षेप बढाउँदा १९ अर्बले घट्यो कर्जा
काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब चार दिन मात्रै बाँकी छ । बैंक तथा वित्तीय संस्थाहरु हिसाब–किताब मिलानमा व्यस्त छन् । बैंकहरु असार मसान्तमा सबै हिसाबकिताब गरेर चालु आर्थिक वर्षको वित्तीय विवरण ल्याउने तरखरमा छन् । नेपाल राष्ट्र बैंकले गरेको नियामकीय व्यवस्थालाई अवलम्बन गर्दै नाफा पनि नघट्ने किसिमले बैंकरहरु काम गरिरहेका छन् । कतिपय बैंकहरुले गल्ति गरेकै भएपनि नियामकीयको दृष्टिकोणमा गलत नदेखिन हिसाब–कताव मिलाएर सबै ठिकठाक पार्ने रणनीतिमा लागिरहेकपनि बुझिएको छ । यसअघि उल्लेख्य रूपमा निक्षेप संकलन गर्न नसकिरहेका वाणिज्य बैंकहरुले असारमा भने उल्लेख्य रुपमा निक्षेप संकलन गरेका छन् । लामो समयदेखि तरलताको अभाव भोगिरहेका वाणिज्य बैंकहरुले असार महिनाको २४ दिनमा करिब १ खर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् । एक महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन ९४ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार एक महिनामा वाणिज्य बैंकहरुको निक्षेप ९४ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको हो । जेठ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४४ खर्ब रुपैयाँ मात्रै थियो । एक साता अगाडि मात्रै बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३२ अर्ब रुपैयाँ थियो । तर, असार चौथो साता अर्थात २४ गते सम्म भने ६२ अर्ब रुपैयाँले बढेको हो । यस्तै वाणिज्य बैंकहरुको कर्जा लगानी भने एक महिनामा १९ अर्ब रुपैयाँले घटेको छ । गत जेठ मसान्तसम्म कुल ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले असार चौथो सातासम्म कुल ४१ खर्ब ७४ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गरेका छन् । यस्तै, एक सातामा वाणिज्य बैंकहरुको कर्जामा १० अर्ब रुपैयाँ गिरावट देखिएको छ । यस्तै, वाणिज्य बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि घट्दै गइरहेको छ । असार २४ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.५७ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म ९० प्रतिशतको सीडी रेसियो कायम गर्नु पर्ने व्यवस्था गरेको छ । आधा दर्जन बैंकहरुलाई भने ९० प्रतिशतको सीडी रेसियो कायम गर्न चुनौति नै देखिएको छ ।
कृषि विकास बैंकले प्रिमियम मूल्यमा बेच्यो १८ अर्बको कर्जा
काठमाडौं । कृषि विकास बैंकले करिव १८ अर्ब रुपैयाँको कर्जा प्रिमियम मूल्यमा बिक्री गरेको छ । बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, प्राइम कमर्शियल बैंक, सिटिजन्स बैंक इन्टरनेशनलसहित ४ वटा वाणिज्य बैंकलाई कृषि कर्जा प्रिमियम मूल्यमा बिक्री गरेको हो । कृषि विकास बैंकलाई कर्जा निक्षेप अनुपात (सीडी रेसियाे) सीमामा राख्न कर्जा बेच्नु पर्ने अवस्था थियो । उसको सीडी रेसियो ८९.६७ प्रतिशत पुगेको थियो । तरताल संकट बढ्दै जाँदा र राष्ट्र बैंकले थप कसिलो मौद्रिक नीति लिने बताएपछि कृषि विकास बैंकले कर्जा बेचेर आफूलाई पर्याप्त तरलताको अवस्थामा राखेको छ । यसबाट बैंकलाई दाेहाेराे फाइदा भएकाे छ । एकातिर बैंककाे नाफा बृद्धिमा सहयाेग पुगेकाे छ भने अर्काेतिर तरलता पर्याप्त भएकाे बैंक स्राेतले बतायाे । स्राेतका अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, प्राइम कमर्शियल बैंक, सिटिजन्स बैंक इन्टरनेशलनले राष्ट्र बैंकले तोके अनुसार कृषि क्षेत्रमा न्यूनतम कर्जा प्रवाह गर्न सकिरहेका थिएनन् । कुल कर्जाको न्यूनतम १५ प्रतिशत कृषि कर्जा पुर्याउनेको लागि कृषि विकास बैंकबाट कृषि कर्जा किनेका हुन् । यस्तो कर्जाको किनबेचमा बैंकहरुलाई बहुआयामिक फाइदा हुन्छ । कर्जा किन्नेको व्यवसाय विस्तार हुन्छ । साथै, कानुनको परिपालना हुन्छ । त्यसले राष्ट्र बैंकबाट हुने जरिवानाबाट बचाउँछ । कर्जा बेच्नेले फाइदा लिएर मात्र बेच्छ । उसलाई पनि कानुनको परिवालना र कारवाहीबाट बच्च मद्दत मिल्छ । ‘कानुनको परिवालना गर्न, व्यापार विस्तार गर्न र राष्ट्र बैंकबाट हुने कारवाही वा जरिवानाबाट जोगिन बैंकहरुबीच अन्तरकर्जा किनबेच गर्ने अभ्यास रहेको बैंकर्स विएन घर्तीले बताए । राष्ट्र बैंकले नियम बनाएरै कर्जा खरिद बिक्री खुला राखेको उनले बताए । तर, यस्तो कर्जा खरिदबिक्री असार महिनामा गर्न नहुने राष्ट्र बैंकको नियम छ । ‘आर्थिक वर्षको अन्तिम महिनामा कर्जा खरिद, कर्जा बिक्री, पुर्नखरिद वा टेक ओभर गर्न पाइने छैन’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । बैंकहरुलाई भने आर्थिक वर्षको अन्त्यमा नै यस्तो कर्जा खरिद बिक्री गर्नु पर्ने बाध्यता हुने गरेकाे जानकारहरु बताउँछन् । आर्थिक वर्षको अन्त्यमा राष्ट्र बैंकले तोकेको मापदण्ड पूरा नभएको अवस्थामा कारवाही हुने भएकोले बैंकहरुले तोकिएका मापदण्ड पूरा गर्न असारमा नै बढी सक्रियता देखाउने गरेका छन् ।
तरलता अभावकाबीच सञ्चय कोष र सीआईटीले बढायो ब्याज, कुन संस्थाका बचतकर्तालाई बढी लाभ ?
काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव भइरहेको बेला कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले ब्याजदर बढाएको छ । दुवै संस्थाले आफ्नो सञ्चकर्ता अर्थात् बचतकर्ताबाट जम्मा हुने रकममा ब्याज बढाएका हुन् । बढेको ब्याज साउन १ गतेदेखि लागू हुनेछ । बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप बढाउनकै लागि संस्थागत निक्षेपको ब्याजदर बढाएसँगै नागरिक लगानीकोष र कर्मचारी सञ्चय कोषले पनि आफ्ना बचतकर्तालाई दिने ब्याज बढाएको हो । बैंक तथा वित्तीय संस्थाहरुका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष संस्थागत निक्षेपकर्ता हुन् । अहिले यी र यस्तै निक्षेपकर्ताको निक्षेप तान्नका लागि बैंकहरुले लविङ गरिरहेका छन् । सञ्चय कोष र नागरिक लगानीकोषले बोलकबोलका आधारमा बैंकमा निक्षेप राख्ने व्यवस्था छ । अहिले बैंकहले संस्थागत निक्षेपकर्तालाई १०.१३ प्रतिशत ब्याज तोकेको भएपनि आन्तरिक रूपमा भने बढी नै ब्याजको मोलमोलाइ भइरहेको पनि सुनिन्छ । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई सञ्चय कोष र निवृतभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याज ८ प्रतिशत तोकेको छ । यस्तै, सञ्चयकर्ताको विशेष सापटीमा ९.१० प्रतिशत, सञ्चयकर्ता घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ९.७५ प्रतिशत, सञ्चयकर्ता जग्गा खरिद सापटी र सरल चक्रकर्जामा १०.३५ प्रतिशत ब्याज तोकेको छ । धितोमा आधारित कर्जाको ब्याज त्रैमासिक रुपमा भुक्तानी गरी नियमित गर्ने सञ्चयकर्ताको हकमा सम्बन्धि त्रैमासमा पाकेको ब्याजमा ०.२५ प्रतिशत छुट दिने ब्यवस्था पनि सञ्चय कोषले गरेको छ । यस्तै, नागरिक लगानी कोष (सिआईटी)ले संचालन गरिरहेको कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमको ब्याजदर पनि बढेको छ । कोषले साउन १ गतेदेखि लागु हुने गरी सो कार्यक्रमको ब्याजदर बढाएर ८ प्रतिशत पुर्याएको हो । कोषले संचालन गरिरहेको उपदान, लगानीकर्ता र नार्क बीमा कार्यक्रममा पनि १ दशमलब ५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय गरेको छ । यस्तो प्रतिफल २०७८ असार मसान्तमा मौज्दात रहेको रकमलाई आधार मानेर प्रदान गरिने कोषले जनाएको छ । उक्त अवधिमा यी कार्यक्रममा कायम रहेका सबै सहभागीहरुको कोषमा रहेको खातामा कोषको साधारण सभा सम्पन्न भएपछि जम्मा गरिने व्यवस्था मिलाइएको कोषले जनाएको छ । कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार उपदान तथा लगानीकर्ता कार्यक्रममा सम्बन्धित कार्यालयको शिफारिसमा व्यक्तिगत खाता खोलिएको भए व्यक्तिगत खातामा उक्त प्रतिफल राख्ने र व्यक्तिगत खाता नखोलिएको भए सम्बन्धित कार्यालयको खातामा उक्त प्रतिफाल राख्ने व्यवस्था कोषले गरेको छ । यस्तो प्रतिफल उपदान कार्यक्रममा ४० करोड ५० लाख रुपैया र लगानीकर्ता कार्यक्रममा १० करोड ६२ लाख रुपैया गरी ५१ करोड १२ लाख रुपैयाँ प्रदान गर्नुपर्ने हुन आउँछ । सम्बन्धित सामग्री : नीतिगत ‘लुपहोल’ खोज्दै संस्थागत निक्षेपकर्तालाई ११.०३% ब्याज, ‘बैंक टु बैंक’ पुगेर सम्झाउँदै राष्ट्र बैंक