मूल्यवृद्धि ८.५६ प्रतिशत पुग्यो, विदेशी मुद्रा सञ्चितिमा निरन्तर दबाब

काठमाडौं । जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको छ । २०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फिति ६.०९ प्रतिशत रहेको छ । यस्तै, २०७८ असार मसान्तमा १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले कमी आई २०७९ जेठ मसान्तमा ११७६ अर्ब ८४ करोड कायम भएको छ । यस्तै, आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई १८५ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा कुल वस्तु आयात २७।५ प्रतिशतले वृद्धि भई १७६३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५.७ प्रतिशतले बढेको थियो ।

चीनका बैंक संकटमा पर्दा निक्षेपकर्ताको बिजोक, ‘मेरो बचत फिर्ता गर’ भन्दै हजारौं सर्वसाधारण सडकमा

एजेन्सी । चीनमा निक्षेप फिर्ताको माग गर्दै सर्वसाधारणहरु लामो समयदेखि सडकमा उत्रिएका छन् । आफुहरूले बैंकमा निक्षेपका रूपमा राखेको रकम फिर्ता पाउनु पर्ने माग गर्दै उनीहरू सडकमा उत्रिएका छन् । आइतबार मात्रै हजारौं निक्षेपकर्ता चीनको केन्द्रिय बैंक ‘पिपुल्स बैंक अफ चाइना’को अगाडि प्रदर्शन गरेका थिए । उनीहरुले ‘मेरो बचत फिर्ता गर’ भन्दै विरोध गरेका हुन् । उनीहरुले विशेष गरेर चीनको हेनान प्रान्तमा ४ वटा साना ग्रामिण बैंकहरू विरुद्द विरोध गर्दै आएका छन् । हेनान प्रान्तका युझाउ सिनमिन शेङ भिलेज बैंक, शाङ्काई हुइमिन भिलेज बैंक, झेचेङ हुआङहुई कम्युनिटी बैंक र काइफेङ न्यू ओरिएन्टल ग्रामिण बैंकले निक्षेप फिर्ता नदिएको उल्लेख छ । साना चार वटा ग्रामिण बैंकहरूले निक्षेप अरबौं रकम निक्षेप फिर्ता नगरेको भन्दै उनीहरू तीन महिनादेखि विरोधमा रहेको बताइएको छ । पछिल्लो समय चीनका साना ग्रामिण बैंकहरु समस्यामा भएको कारणले निक्षेप फिर्ता गर्न नसकेको अन्तर्राष्ट्रि सञ्चार माध्यमले जनाएका छन् । सञ्चार माध्यमका अनुसार १० लाख निक्षेपकर्ताहरूले आफ्नो निक्षेप फिर्ता पाउन सकेका छैनन् । चार वटा बैंकहरुले अर्बौं मिलियन युआन फिर्ता गर्न बाँकी छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण बैंकहरु समस्यामा पर्दा निक्षेप नै फिर्ता गर्न नसकेको उल्लेख अन्तर्राष्ट्रिय सञ्चार माध्यमले गरेका हुन् । केही बैंकहरूले यही बिचमै अनाधिकृत रूपमा र उच्च ब्याजदरमा बचतका स्कीम ल्याउँदा अहिले बचत फिर्ता गर्न नसकेको पनि बुझिएको छ । बैंकहरुले अधिकांश लगानी घरजग्गामा गर्दा र कोभिडको समयमा घरजग्गा व्यवसाय संकटमा पर्दा बैंकहरुलाई समस्या सिर्जना भएको उल्लेख छ । अहिले चिनीयाँ बैंकहरुको खराब कर्जाको अनुपात बढेको बताइएको छ । ती चारवटै बैंकहरुको सेयरधनी हेनान न्यू फर्च्यून समूह हो । सो समूहले निक्षेपकर्ताको रकम फिर्ता नदिनुको कारण पटक–पटक परिवर्तन गर्दै आएको छ । ती बैंकहरुले कहिले बैंकलाई प्रणालीमा मर्मतसम्भार गर्नु परेको, कहिले ठगी भएको बताउँदै आएको छ भने कहिले आर्थिक संकटले निक्षेप फिर्ता दिन नसकेको बताउँदै आएको छ । पछिल्लो समय तरलताको अभावले नेपाली बैंकहरु पनि समस्यामा छन् । नेपाली बैंकहरुले पनि निक्षेप तान्नतकै लागि उच्च ब्याजदरमा निक्षेपका बिभिन्न स्कीम ल्याइरहेका छन् ।

व्यवसायको नयाँ मोडल ‘आकाशमा पदयात्रा’

काठमाडौं । उत्प्रेरकहरुले भन्छन्, ‘सफलताको लागि नयाँ काम गर्नुपर्छ ।’ नेपालको सन्दर्भमा नयाँ प्रकृतिको व्यवसाय थालेको छ वन्डर्स नेपाल प्रालिले । स्काईवाक अर्थात आकाशमा पदयात्रा । इन्जिनिरिङ पढेका, देशविदेश घुमेका, फरक काम गर्न रुचाउने प्रवद्र्धकहरुको प्रयासमा ‘आकाशमा पदयात्रा’ गराउने व्यवसाय शुरु भएको छ । त्यो पनि एकै पटक तीन ठाउँमा-कमलादी, भेडेटार र कन्याममा । प्रवद्र्धक कम्पनी फरक छन्, ठाउँ फरक छन्, संरचना फरक छन्, तर व्यवसायको प्रकृति एउटै हो । भूईबाट धेरै माथि चढ्ने र पूर्ण पारदर्शी शीशाको संरचनामा पदयात्रा गर्ने । हिड्दा आकाशमा हिँडेको अनुभूति हुन्छ । माथि अविराम आकाश देखिन्छ । दायाबाँयाँ चारैतिर खुला र दुर दृष्य । तल जमिन । कही बगैचा । कहि पार्किङ । कही जंगल । कही चिया बगान । कमलादीको संरचनामा लिफ्ट चढेर सिधै माथि पुगिन्छ । टपको शीशामा हिड्दा ७८ मिटर तलको बगैचा, पार्किङ, बजार देखिन्छ । नजिकका सडकमा शान्तसँग सवारी वगिरहेको देखिन्छ । काठमाडौं उपत्याकाको पुरै दृष्यावलोकन गर्न सकिन्छ । भेडेटारमा भ्यूटावर चढेर धरान तर्फको भिर माथिको आकाशमा पदयात्रा शुरु हुन्छ । पैताला अडिने शीशा मुनि ठूलो भीर, जंगल । अलि टाडा धरान । वेगमा आएको हावाको चाप, ध्वानी । आँखाको तेजले भ्यासम्मको दुरदृष्य । इलामको कन्याममा अलि फरक छ । टावर पनि सानो छ । हल्का उकालो हुँदै टावर चढिन्छ । इलामको चिया बगान आकाशबाट नियाल्न सकिन्छ । यसका प्रवद्र्धक सबै महिला हुन् । पढ्दा लाग्ला कल्पनाको खेती गरे जस्तो । साहित्यको पाना पढे जस्तो । तर प्रवद्र्धकले तिथिमिति तोकिसके आकाश पदयात्रा सञ्चालनमा ल्याउने बारे । भ्याएसम्म दशैंको घटस्थापनाको दिन व्यवसाय शुभारम्भ गर्ने कम्पनीको योजना छ । ढिलै भएपनि सन् २०२३ को जनावरीसम्ममा उद्घाटन गरिने स्काईवाक टावरका सञ्चालक तथा इन्जिनियर संजिव रोक्काले बताए । सहासिक पर्यटकको लागि नयाँ गन्तव्य, मनोरञ्जनको नयाँ क्षेत्र उघार्न लागेको रोक्का बताउँछन् । वन्डर्स नेपाल प्रालिले कमलादीमा १३ रोपनी जग्गा २३ वर्षसम्मको लागि लिजमा लिएर स्काई वाक टावर बनाउँदैछ । यो टावरको निर्माण कार्य २०७७ सालबाट सुरु गरिएका थियो । करिब साढे २ वर्षको अवधिमा ९० प्रतिशत काम सम्पन्न भइसकेको रोक्काले जानकारी दिए । फलाम नै फलामले बनेको टावर ७८ मिटर अग्लो छ । र, जग कंक्रिटले बनेको छ । ‘भवन विभागको मापदण्ड अनुसार यसको सम्पूर्ण संरचना तयार पारेका छौं, यस भवनमा चढ्दा कुनै असुरक्षित हुन्छ कि भनेर कुनै संङ्का गर्नु पर्दैन, यो टावर सत प्रतिशत सुरक्षित छ,’ उनले भने । यो टावर २६ तलाको हुन्छ । २६ औ तला स्काईवाक र सिटी भ्यूको लागि बन्दैछ । टावरको माथि सीमा हिँड्ने इस्पेश २ हजार स्कवायर फिट हुन्छ । वरिपरि ६ फिट अग्लो ग्लासको रेलिङ हुन्छ । टावरको २ साइडमा लिफ्ट  हुन्छ । लिफ्टबाट एकै चोटिमा ४८ जना तलमाथि गर्न सक्नेछन् । ७८ मिटर अग्लो टावरको माथि लिफ्टबाट २८ सेकेन्डमा पुग्न सकिन्छ । स्काईवाक एरियामा एकै पटक ५ सय जनासम्म अट्ने बताइएको छ । उक्त टावर माथि लिफ्ट मात्र नभई भर्याङबाट पनि चढ्न तथा ओर्लन सकिने सुविधा छ । स्वास्थ्य लाभको हिसावले पर्यटकलाई भर्याङबाट यात्रा गर्न प्रोत्साहित गर्न झर्याङबाट हिड्दा आनन्दित हुने म्यूजिक सिस्टम राखिनेछ । साथै, भर्याङ प्रयोग गर्नेलाई टिकटमा १०० रुपैयाँ छुट दिने सोच प्रवद्र्धकले बनाएका छन् । ‘टावरको माथि चढेर हेर्नुको मज्जा बेग्लै छ, यसको जति वर्णन गरेर सम्भव छैन, माथिबाट काठमाडौंको सबै ठाउँ देखिन्छ, रातको समयमा झलमल्ल काठमाडौं देख्नुको आनन्द बेग्लै छ, अग्लो ठाउँमा पुगेर शीशामाथि हिँड्नु आफैमा अनौंठो कुरा हो, त्यसैले जब हामीले सिसामाथि टेकेर तल हेरिन्छ तब फरक अनुभूति मिल्छ,’ उनले भने । टावरको २४ र २५ तलामा रेस्टुरेन्ट रहनेछन् । सो रेस्टुरेन्ट लिजमा दिने हो कि आफै चलाउने भन्ने विषयमा प्रवद्र्धहरुबीच आन्तरिक छलफल भइरहेको उनले बताए । भूई तलको साइटमा गार्डेन, सपिङ सेन्टर, रेष्टुराँ हुनेछन् । त्यस क्षेत्रमा ७० वटा गाडी र ३ सय वटा मोटरसाइकल पार्किङ गर्न ठाउँ हुन्छ । २ अर्ब लगानी निर्माणकर्ता वन्डर्स नेपाल प्रालिले यसमा करिब २ अर्ब रुपैयाँ लगानी हुने जनाएको छ । यसमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ३० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । छोटो अवधिमा नै लगानी उठाउन सक्ने प्रवद्र्धकहरुको भनाई छ । टिकट प्रतिव्यक्ति १००० रुपैयाँ तोक्ने सोच बनेको तर अन्तिम निर्णय हुन बाँकी रहेको उनले बताए । वर्षमा २/३ लाख मानिस यस टावरमा स्काई वाक गर्न आउने अनुमान निर्माताहरुको छ । त्यसबाहेक टावरको वाहिरी क्षेत्रमा दुई तलाको भवन बन्दैछ । जहाँ दर्जनौ सटरहरु हुनेछन् । ‘सटरहरु भाडामा लगाउँछौं, रेष्टुरेन्टहरु पनि लिजमा दिन्छौं होला । यो प्रजेक्टको लगानी छिटै उठ्ने हाम्रो विश्वास छ’ एक प्रवद्र्धकले भने । ‘राष्ट्रको गौरवशाली आयोजनामध्ये यो पनि एक हो, जसले मुलुकको नाम र नेपालीको परिचय फराकिलो बनाउने कुरामा हामी विश्वस्त पनि उत्तिकै छौं,’ उनले भने । रोक्काका अनुसार जग्गा विनोद विक्रम सिंहसँग लिजमा लिएको हो । लिज अवधि सकिएपछि सबै संरचना जग्गाधनीलाई छोडिदिनुपर्छ ।