काठमाडौं । पाँच दशकभन्दा लामो बैंकिङ इतिहास, देशभर फैलिएको शाखा सञ्जाल र कृषि कर्जामा बलियो पकड । सरकारी स्वामित्वको कृषि विकास बैंकका यी प्रमुख सबल पक्ष हुन् । तर, सहज तरलता र पर्याप्त पुँजीकोष हुँदाहुँदै पनि बढ्दो खराब कर्जा, घट्दो आम्दानी र नाफामा आएको गिरावटले बैंकमाथि चुनौती थपिएको छ ।
२०८३ असारसम्म बैंकको वैधानिक तरलता अनुपात ३८.२२ प्रतिशत र खुद तरलता अनुपात ३७.४५ प्रतिशत रहेको छ । औसत अनिवार्य नगद मौज्दात अनुपात ५.११ प्रतिशत छ । यी सूचक नियामकीय न्यूनतम सीमाभन्दा माथि रहेकाले बैंकसँग वित्तीय दायित्व पूरा गर्न पर्याप्त तरलता रहेको देखिन्छ ।
तर, तरलता सहज हुनु मात्रै बैंकको नाफा बढाउन पर्याप्त देखिएको छैन । बैंकिङ प्रणालीमा निक्षेप वृद्धि कर्जा विस्तारभन्दा तीव्र हुँदा लगानीयोग्य रकम थुप्रिएको छ । अतिरिक्त रकम कम प्रतिफल दिने सरकारी ऋणपत्रमा परिचालन गर्नुपर्दा बैंकको ब्याज आम्दानी र नाफामा दबाब परेको छ ।
कृषि विकास बैंकको कर्जाको गुणस्तरमा पछिल्लो वर्ष दबाब बढेको छ । आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा ३.४४ प्रतिशत रहेको बैंकको कुल निष्क्रिय कर्जा अनुपात आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म बढेर ४.०४ प्रतिशत पुगेको छ । यद्यपि, यो अनुपात वाणिज्य बैंकहरूको औसत ५.५७ प्रतिशतभन्दा कम हो ।
विगतमा बैंकको खराब कर्जा अनुपात समग्र बैंकिङ क्षेत्रको औसतभन्दा माथि रहने गरेको थियो । पछिल्ला वर्षमा सुधार हुँदै बैंकिङ क्षेत्रको औसतभन्दा तल झरेको खराब कर्जा पुनः बढ्न थालेको हो । अर्थतन्त्रको अपेक्षाभन्दा कमजोर वृद्धि, सरकारी खर्चमा सुस्तता र आर्थिक गतिविधिमा अपेक्षित सुधार नआउनुले ऋणीको भुक्तानी क्षमतामा असर पारेको देखिन्छ ।
बैंकको खुद निष्क्रिय कर्जा र खुद सम्पत्तिबीचको अनुपात भने २०८३ असार मध्यसम्म ५.२४ प्रतिशत रहेको छ । यस्तो अनुपात विगतका वर्षमा पनि ६ प्रतिशतभन्दा तल रहँदै आएको छ । बलियो पुँजीकोष र कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकमले खराब कर्जाबाट उत्पन्न जोखिम सामना गर्न बैंकलाई सहयोग पु¥याएको छ ।
ठूला २० ऋणीमा १०.२ प्रतिशत मात्रै कर्जा
कृषि विकास बैंकको कर्जा पोर्टफोलियो विविधीकृत छ । गत असारसम्म बैंकले ३ अर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको कुल कर्जा तथा सापटीमध्ये सबैभन्दा बढी कर्जा लिने २० ऋणीको हिस्सा १०.२ प्रतिशत मात्रै छ । विभिन्न ऋणी, क्षेत्र र भौगोलिक क्षेत्रमा कर्जा विस्तार भएकाले कुनै एक ऋणी वा क्षेत्रमा समस्या उत्पन्न हुँदा समग्र कर्जामा पर्ने असर सीमित राख्न सक्ने आधार बैंकसँग छ ।
कृषि विकास बैंकको अर्को सबल पक्ष प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह हो । २०८३ असारसम्म बैंकको कुल कर्जामध्ये प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह भएको कर्जाको हिस्सा ५७.२ प्रतिशत छ । कृषि क्षेत्रमा २६.७५ प्रतिशत र विपन्न वर्गमा ६.०६ प्रतिशत कर्जा प्रवाह भएको छ । यी अनुपातले बैंकको नियामकीय दायित्वसँगै कृषि तथा ग्रामीण अर्थतन्त्रमा वित्तीय पहुँच विस्तार गर्ने भूमिकालाई पनि देखाउँछन् ।
कृषि विकास बैंकको स्थापना वि.सं.२०२४ माघमा भएको हो । सुरुमा कृषि क्षेत्रको विकास, ग्रामीण समुदायको आर्थिक उन्नति र कृषि उद्यमलाई आवश्यक पुँजी उपलब्ध गराउने उद्देश्यले स्थापना भएको बैंकले सहकारी तथा कृषि क्षेत्रमा लगानीलाई प्राथमिकता दिएको थियो । वि.सं २०६२ चैतमा वाणिज्य बैंकको इजाजतपत्र पाएपछि यसले पूर्ण व्यावसायिक बैंकिङ सेवा विस्तार गरेको हो ।
बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व छ । बैंकको चुक्ता सेयर पुँजी १४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । देशका ७७ वटै जिल्लामा उपस्थिति रहेको बैंकका २७४ शाखा र २५ विस्तार काउन्टर छन् । बैंकको सञ्चालक समितिको अध्यक्ष टंकप्रसाद पाण्डेय र प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ छन् ।
पुँजीकोष नियामकीय सीमाभन्दा माथि
कर्जा जोखिम बढे पनि कृषि विकास बैंकको पुँजी पर्याप्तता अनुपात नियामकीय न्यूनतम सीमाभन्दा माथि छ । आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा बैंकको साधारण इक्विटी टियर-१ अनुपात ९.८५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९.९६ प्रतिशत थियो । साधारण इक्विटी टियर-१ अनुपातको नियामकीय न्यूनतम सीमा ७ प्रतिशत हो ।
त्यस्तै, २०८३ असार मध्यसम्म बैंकको कुल पुँजी पर्याप्तता अनुपात १३.२९ प्रतिशत रहेको छ, जबकि नियामकीय न्यूनतम आवश्यकता ११ प्रतिशत छ । नाफामा आएको कमी र कर्जा विस्तारका कारण पुँजी पर्याप्तता अनुपातमा केही गिरावट आए पनि बैंकले जोखिम सामना गर्न आवश्यक पुँजीको आधार कायम राखेको छ ।
बैंकको वित्तीय विवरणमा भने दबाब देखिएको छ । आर्थिक वर्ष २०८२/८३ मा बैंकको कुल आम्दानी अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले घटेर २० अर्ब ९७ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ । ब्याजदर घट्दै जाँदा ब्याज आम्दानीमा आएको कमी यसको प्रमुख कारण हो ।
बैंकिङ प्रणालीमा निक्षेप लागत घटे पनि कर्जाबाट प्राप्त हुने प्रतिफलमा पनि गिरावट आएको छ । ब्याजदर अन्तरको अधिकतम सीमा ४ प्रतिशत कायम गरिएकाले बैंकको ब्याज आम्दानी विस्तारमा थप चुनौती देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा २.९२ प्रतिशत रहेको खुद ब्याज मार्जिन आर्थिक वर्ष २०८२/८३ मा घटेर २.३३ प्रतिशतमा झरेको छ ।
गैरब्याज आम्दानीले विगत पाँच वर्षमा वार्षिक औसत करिब ८.८ प्रतिशतको वृद्धि हासिल गरे पनि आर्थिक वर्ष २०८२/८३ मा लगानीबाट प्राप्त आम्दानी घट्दा यसमा समेत दबाब परेको छ । कर्जा नोक्सानी व्यवस्थाबापतको खर्च बढेपछि बैंकको खुद नाफा २९ प्रतिशतले घटेर २ अर्ब ६३ करोड १० लाख रुपैयाँमा सीमित भएको छ ।
बैंकको कुल सम्पत्तिमा प्रतिफल अनुपात पनि अघिल्लो वर्षको १.११ प्रतिशतबाट घटेर ०.६७ प्रतिशतमा झरेको छ । कर्जाको गुणस्तरमा आएको गिरावट र नोक्सानी व्यवस्थाका लागि बढी रकम छुट्याउनुपर्दा नाफा घटेको हो ।
नेपालमा २०८३ असार मध्यसम्म २० वाणिज्य बैंकका देशभर ४ हजार ९४१ शाखा सञ्चालनमा थिए । कृषि विकास बैंकको प्रधान कार्यालयसहित २७४ शाखा छन् । आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकहरूले कुल १ खर्ब ९२ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गर्दा कृषि विकास बैंकको हिस्सा ४.७४ प्रतिशत थियो ।
ठूलो संख्यामा बैंक तथा शाखा सञ्चालनमा रहँदा निक्षेप संकलन, कर्जा विस्तार र गुणस्तरीय कर्जा प्रवाहमा प्रतिस्पर्धा तीव्र बनेको छ । यससँगै नेपाल राष्ट्र बैंकका नियामकीय व्यवस्थामा हुने परिवर्तनले पनि बैंकहरूको कर्जा विस्तार र नाफामा प्रभाव पार्दै आएको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले बैंकको रेटिङ यथावत् राखिएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई ए प्लस रेटिङ प्रदान गरेको छ । यो रेटिङले बैंकले वित्तीय दायित्व समयमै भुक्तानी गर्न पर्याप्त क्षमता राख्ने र बैंकको कर्जा जोखिम न्यून रहेको जनाउँछ ।