१९ बाट ९ वटामा झरेपछिका बीमा कम्पनी, कसको पुँजी कति ?

काठमाडौं । असार महिनामा बीमा कम्पनीहरू १९ वटा बीमा कम्पनीहरूले मर्जर सम्झौता गरे । बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएर असार मसान्तभित्र मर्जरमा जाने कम्पनीलाई कर छुटको घोषणा गरेसँगै असारमा अधिकांश कम्पनीहरूले मर्जर सम्झौता गरेका हुन् । समितिबाट कर छुट लगायत विभिन्न सेवा सुविधा पाउने आशले कम्पनीहरुले अन्तिम समयमा भटाभट मर्जरको लागि एमओयू गरे । पुनर्बीमा कम्पनी बाहेक ३९ वटा बीमा कम्पनीहरुमध्ये १९ वटा कम्पनी मर्जरमा जाने भएका छन् । असार महिनामा निर्जीवन बीमाका १० वटा र जीवन बीमाका ९ वटा कम्पनीले मर्जरमा जान प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् । जुन तीन महिनाभित्रमा बीमा क्षेत्रमा देखिएको उपलब्धी पनि हो । एमओयू गरिसकेका निर्जीवन बीमा कम्पनीमा हिमालयन जनरल, एभरेष्ट, प्रिमियर, सगरमाथा, लुम्बिनी जनरल, सिद्धार्थ, जनरल र सानिमा जनरल इन्स्योरेन्स तथा प्रभु र अजोड इन्स्योरेन्स रहेका छन् । जसमध्ये हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले भने मर्जरमा जानको लागि बीमा समितिबाट सैद्धान्तिक सहमति समेत पाइसकेका छन् । अब यी कम्पनीले साउनदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार गर्दै छन् । जसको चुक्ता पुँजी २ अर्ब २३ करोड रुपैयाँ नाघेको छ । त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जरमा जाने सहमति भइसकेको छ । मर्जपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने गरी दुई कम्पनीबीच सहमति भएको हो । तर स्वाप रेसियो भने हालसम्म तय भइसकेको छैन । यदि डीडीएलले फरक नपारे दुई कम्पनीबीच १ बराबर १ को अनुपातमा मर्ज हुने सहमति भएको छ । सो अनुसार दुई कम्पनी मर्जपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । उक्त रकम निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी हो । त्यसपछि सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच सानिमा जनरलको इन्स्योरेन्सको नाम रहने गरी मर्जर सम्झौता भएको छ । दुई कम्पनीबीच बराबर हैसियत अर्थात १ बराबर १ को अनुपातमा सम्झौता भएको हो । यससँगै नयाँ बन्ने कम्पनीको पुँजी २ अर्ब रुपैयाँ पुग्ने छ । जुन समितिले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स पनि १०० बराबर ८० को स्वाप रेसियोमा मर्जरमा जाने भएका छन् । उक्त स्वापमा मर्ज भएपछिको कम्पनीको पुँजी २ अर्ब ३८ करोड रुपैयाँ पुग्ने छ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार हुने छ । त्यस्तै, प्रभु र अजोड इन्स्योरेन्सले अन्तिम घडीमा मर्जरमा जानको लागि सम्झौता गरेका छन् । यी कम्पनीले मर्जरपछि सेवा सुविधामा छुट पाउनको लागि असार ३२ गते राती बजेतिर एमओयूमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार मर्जरपछि प्रभु इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने र चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्ने भएको छ । ४ वटामा सीमित भए ९ जीवन बीमा कम्पनी यता जीवन बीमातर्फ ९ वटा कम्पनीले मर्जरमा जानको प्रारम्भिक समझदारी गरिसकेका छन् । जसमा प्रभु र महालक्ष्मी लाइफ, सूर्या र ज्योति लाइफ, रिलायन्स र सानिमा लाइफसहित प्राइम, गुराँस र यूनियन लाइफले एक आपसमा मर्जरमा जानको लागि पहिलो चरणमा सम्झौता गरेका हुन् । जसमध्ये प्रभु र महालक्ष्मी लाइफले स्वाप रेसियोसहित मर्जर पछि बन्ने कम्पनीको नामसमेत तय गरिसकेका छन् । यी दुई बराबर अनुपातमा मर्जरमा जान लागेको हुन् । जसअनुसार मर्जरपछि बन्ने प्रभु महालक्ष्मी लाइफको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्ने छ । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा जान असार १२ गते एमओयू गरेका हुन् । यदि १ बराबर १ को अनुपातमा स्वाप रेसियो तय भए कम्पनीको चुक्ता पुँजी करिब ५ अर्ब रुपैयाँ पुग्ने देखिन्छ । हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ र ज्योति लाइफ इन्स्योरेन्सको २ अर्ब ४२ करोड रुपैयाँ पुँजी छ । सूर्या लाइफ इन्स्योरेन्सका सीईओ पवन खड्काका अनुसार कम्पनीको मर्जर समितिले गरेको डीडीएको आधारमा स्वाप रेसियो, नयाँ बन्ने कम्पनीको अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र कर्मचारी समायोजनको विषय टुंगो लाग्ने छ । रिलायन्स र सानिमा लाइफ पनि १ बराबर १ को अनुपातमा मर्जरमा जान लागेका छन् । यससँगै दुई कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ । तर हालसम्म भने मर्जर पछि बन्ने कम्पनीको नाम तय भइनसकेको कम्पनीहरुले जनाएका छन् । त्यसैगरी, प्राइम, गुराँस र युनियनले जीवन बीमा क्षेत्रमा सबैभन्दा पहिला मर्जरमा जानको लागि एमओयू गरे । तर हालसम्म पनि स्वाप रेसियो तय भएको छैन । स्वाप रेसियोसँगै मर्जपछि बन्ने कम्पनीको नाम, सीईओ लगायत अध्यक्षको केही पनि टुङ्गो नलागेको यूनियन लाइफका सीईओ मनोज कुमार लालले बताए । ‘हाल मर्जर सम्झौता मात्र गरेका हौं, डीडीए गर्न बाँकी छ, क्लोजिङ् पछि सबै निर्णय गर्ने छौं,’ सीईओ लालले विकासन्युजसँग भने । यी तीन कम्पनीको कूल चुक्ता पुँजी ७ अर्ब रुपैयाँ रहेको छ । कम्पनीहरु मर्जरमा जानुको उद्देश्य भनौं या बाध्यकारी परिस्थिति एउटै हो, चुक्ता पुँजी वृद्धि गर्ने । बीमा समितिले एकाएक निर्जीवन बीमा कम्पनीको न्यूनतम पुँजी साढे २ अर्ब रुपैयाँ र जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब पुर्याउने व्यवस्था गरेको थियो । जसको लागि पहिलो प्राथमिकतामा मर्जर नै थियो । यद्दपि पुँजी पुर्याउनकै लागि गरिएको मर्जरपछि बन्ने अधिकांश कम्पनीहरुको चुक्ता पुँजीले समितिको व्यवस्थालाई मिट गर्न सकेको छैन । अर्थात् तोकिएको न्यूनतम पुँजी भन्दा कम छ । भलै, यो छोटो समयमा बीमा कम्पनीहरुले समितिको निर्देशन अनुसार गरेको यो प्रयासलाई भने सकारात्मक रुपमा लिन सकिन्छ । तोकिएको पुँजी पुर्याउनको लागि कम्पनीहरुलाई आगामी चैतसम्मको समय छ । उक्त समयभित्रमा मर्जरमा गएका कम्पनीहरुले हकप्रद तथा बोनस सेयरमार्फत न्यूनतम पुँजी पुर्याउन सक्ने देखिएको छ । र, त्यसपछिको बीमा क्षेत्रले छुट्टै रुप लिएर बजारमा फड्को मार्ने नियामक निकाय बीमा समितिको विश्वास छ ।

प्रभु-अजोड मर्जर : पुँजी २ अर्ब, नाम प्रभु नै, सीईओ बज्राचार्य र अध्यक्षमा श्रेष्ठ

काठमाडौं । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स पनि मर्जरमा जाने भएका छन् । एक आपसमा मर्जरमा जानको लागि दुई कम्पनीबीच असार ३२ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । दुई इन्स्योरेन्सबीच १०० बराबर ७० को स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता भएको प्रभु इन्योरेन्सका अध्यक्ष कुशुम लामाले बताईन् । यससँगै अजोड इन्स्योरेन्सको १०० कित्ता सेयर हुनेले प्रभु इन्स्योरेन्सको ७० कित्ता सेयर पाउने छन् । मर्जपछि बन्ने कम्पनीको नाम भने प्रभु इन्स्योरेन्स नै हुने छ ।  त्यस्तै, प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि प्रभुकै सञ्चित बज्राचार्य हुने छन् भने अध्यक्षमा अजोडका अजाद श्रेष्ठ बन्ने छन् । हाल प्रभुको चुक्ता पुँजी १ अर्ब २८ करोड छ भने अजोडको १ अर्ब रुपैयाँ छ । १०० बराबर ७० को रेसियोमा मर्ज भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्ने छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम साढे २ अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी पुर्याउन निर्देशन दिएसँगै यी दुई कम्पनी एक आपसमा मर्जरमा गएका हुन् ।

असारभित्रै १७ बीमा कम्पनी मर्जमा, अध्यक्ष सिलवाललाई ठूलो सफलता

  काठमाडौं । गत चैतमा बीमा समितिले बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिकाे नीति ल्यायो । समितिले बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गरी जीवन बीमा कम्पनीको ५ अर्ब र निर्जीवन बीमा कम्पनीको पुँजी साढे २ अर्ब हुनु पर्ने मापदण्ड तोक्यो । समितिले पुँजीवृद्धिको योजना मात्रै ल्याएन ३० दिन अर्थात् एक महिनाभित्र कम्पनीहरूलाई आफ्नो पुँजी योजना बोर्डबाट निर्णय गराई समिति समक्ष पेश गर्नुपर्ने निर्देशन समेत दियो । पुँजीवृद्धिका लागि मर्जर तथा एक्विजिसन पहिलो विकल्प राखेको समितिले मर्जरपछि पनि पुँजी नपुगे हकप्रद सेयर जारी गर्न सकिने बाटो खुला गर्यो । आगामी चैत मसान्तसम्म पुँजीवृद्धि नगर्ने कम्पनीहरूलाई फोर्स मर्जर गराउने तथा कारवाहीसम्म गर्ने चेतावनीपछि कम्पनीहरू आँत्तिए । तत्काल पुँजी वृद्धि गर्न नसकिने भन्दै केही कम्पनीका सञ्चालक शक्ति केन्द्रसम्म समेत धाए । बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवाल कम्पनीहरूको आलोचनाको तारो पनि बने । तर, बीमा समिति आफ्नो निर्णयमा अडिग बन्यो । सार्वजनिक कार्यक्रममै अध्यक्ष सिलवालले बीमा कम्पनीहरू मर्जरमा जानु बाहेकको विकल्प नरहेको धारणा राख्दै गए । कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँगको छलफलमा पनि उनले मर्जर तथा एक्विजिसनलाई प्राथमिकता दिन निर्देशन दिइरहे । बरू कम्पनीहरूलाई प्रोत्साहन स्वरूप मर्जर तथा एक्विसिजनमा जाने कम्पनीहरूलाई छुट सुविधा दिने घोषणा गर्यो । आर्थिक ऐनमा २०७९ असार मसान्तभित्र मर्जरसम्बन्धी सम्झौता गर्ने कम्पनीलाई पूँजीगत लाभकर, लाभांश कर र कर्मचारीको अवकाश भुक्तानी करमा छूट दिने व्यवस्था समेत समितिले गर्यो । सात दशक लामो बीमा क्षेत्रको इतिहासमा नभएको मर्जर तथा एक्विसिजनको सम्झौता बीमा समितिले दुई महिनामै गरेर देखायो । बीमा समितिका अध्यक्ष सिलवालको अडान र दबाबले मर्जर तथा एक्विजिसन प्रक्रियाले सार्थकता पाउन लागेको संकेत अहिले बीमा बजारमा देखिएको छ । कुल १९ वटा जीवन र २० वटा निर्जीवन बीमा कम्पनी रहेको बीमा क्षेत्रका अधिकांश कम्पनीले अहिले मर्जर सम्झौता गरिसकेका छन् भने कतिपय प्रक्रियामा छन् । असारभित्रै ९ वटा जीवन र ८ वटा निर्जीवन बीमा कम्पनीले मर्जर सम्झौता गरिसकेका छन् । निर्जीवन कम्पनीहरुमा हिमालयन जनरल–एभरेष्ट, सगरमाथा–लुम्बिनी जनरल, सानिमा जनरल–जनरल इन्स्योरेन्स र प्रिमियर–सिद्धार्थ इन्सोरेन्सबीच मर्जर सम्झौता भइसकेको छ । यस्तै, जीबन बीमा कम्पनीतर्फ प्राइम–गुराँस–युनियन लाइफ इन्स्योरेन्स, सूर्या–ज्योति लाइफ इन्स्योरेन्स, रिलायन्स–सानिमा लाइफ इन्स्योरेन्स र प्रभु–महालक्ष्मीले पनि मर्जर सम्झौता गरिसकेका छन् । कम्पनीहरूले २०७९ चैत मसान्तसम्ममा तोकिएको पुँजी पुर्याउनु पर्नेछ । सो समयावधिभित्र पुँजी पु¥याउन नसक्ने कम्पनीहरुले ‘गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुने गरी पुँजी कायम गर्नुपर्ने बीमा समितिको निर्देशन छ । समितिले एकभन्दा बढी बीमा कम्पनीमा लगानी गर्ने ठूला लगानीकर्तालाई बीमा समितिले मर्जमा जान वा सेयर बेच्न निर्देशन पनि दियो । दुईमध्ये एक विकल्पमा नगए सम्बन्धित बीमा कम्पनीको व्यवसायिक कारोबार रोक्कासम्मको कारवाही गरिने चेतावनी समेत दिएपछि कम्पनीहरू झस्किएपनि । परिणाम स्वरूप असारको तेस्रो सातादेखि बीमा क्षेत्रमा मर्जर सम्झौताको लहर देखिएको छ । अहिले बीमा कम्पनीका सञ्चालक तथा सीईओहरू मर्जरको छलफलमा व्यस्त छन् । चालु आर्थिक वर्षको क्लोजिङको चटारोसँगै सीईओहरू मर्जर तथा एक्विसिजनको विषयलाई पनि प्राथमिकताका दिएर काम गरिहरेका छन् । बीमा कम्पनीहरूबीच लामो समयदेखि हुन नसकेको मर्जर प्रक्रियामा कसरी एक्कासी तरंग आयो ? अध्यक्ष सिलवाल हाँस्दै भन्छन्, ‘हामी नियामक हो, नियामकले सबैको गुनासो सुन्नु पर्ने हुन्छ तर, निर्णय बजारको डिमाण्ड अनुसारको गर्नु पर्ने हुन्छ । त्यसका लागि अडान अतिआवश्यक हो ।’ उनले आफुले पुँजी वृद्धिको अडान र असार मसान्तसम्म मात्रै छुट सुविधा तोकेकोले अधिकांश कम्पनीहरू मर्जर सम्झौता गर्न बाध्य भएको बताए । उनका अनुसार पुँजी वृद्धि अहिलेको बजारको माग हो । दायित्वको बढ्दो ट्रेण्डकै कारण पुँजी पनि बढ्नु पर्ने आवश्यकताका साथ नीति ल्याएको र कम्पनीहरूले पनि त्यसमा साथ दिइरहेको उनको भनाइ छ । ‘संख्यात्मक रूपमा कम्पनी धेरै भए, दायित्व बढ्दै गयो र पुँजी यथावथ रह्यो, पाँच वर्षअघिको पुँजीलाई आजको बजारसँग तुलना गर्न मिल्दैन, त्यसैले पनि हामीले आगामी चैत मसान्तसम्म पुँजी वृद्धि गरिसक्नु पर्ने योजना ल्याऔं, धेरै कमपनीहरुले पुँजीवृद्धिका लागि मर्जरमा जानु नै उत्तम विकल्प रहेको योजना पनि पेश गरे, उनीहरूको राय अनुसार नै अहिले कम्पनीहरू धमाधम मर्जर सम्झौता गरिरहेका छन्, बीमा समिति यसमा खुसी छ,’ उनले भने । उनका अनुसार चैत मसान्तपछि पुँजी नपुर्याउने कम्पनीलाई कारवाही गर्ने चेतावनीपछि झन कम्पनीहरू मर्जरमा जान बाध्य भएका हुन् । उनले बीमा समितिबाट मर्जरमा गर्न सकिने सक्दो सहयोग पनि समितिबाट भइरहेको धारणा राखे । उनले कम्पनीलाई सैद्धान्तिक सहमति पनि एकदिनमै दिने काम भइरहेको जानकारी गराए । ‘ कम्पनीहरूबीचको मर्जर सम्झौताले हामी खुसी छौं, नीतिगत सफलता भने एकिकृत कारोबारपछि मात्रै देखिन्छ, सम्झौतापछि पनि धेरै काम गर्नु पर्छ, कर्मचारीको समायोजनको विषय पनि बाँकी नै छ, बीचमा धेरै हडल्सहरु पनि आउँछन्,ती हडल्सहरु सरल तरिकाले समाधान गरेर मर्जर सफल पार्नु पर्छ, त्यसका लागि समितिबाट हुन सक्नै साथ सहयोग गर्न म तयार छु,’ अध्यक्ष सिलवालले भने ।