लघु बीमाको लाइसेन्स माग गर्दै ३१ कम्पनीको निवेदन, जीवन र निर्जीवन कति ? (सूचीसहित)
काठमाडौं । लघु बीमा व्यवसाय सञ्चालनको लाइसेन्स माग गर्दै बीमा समितिमा ३१ कम्पनीले निवेदन दिएका छन् । बीमा समितिमा अन्तिम दिन अर्थात असोज १३ गतेसम्ममा परेको आवेदन अनुसार जीवन र निर्जीवन गरी ३१ कम्पनी इच्छुक देखिएका हुन् । समितिका अनुसार निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनको लागि १६ र जीवन लघुबीमा व्यवसाय सञ्चालनको लागि १५ वटा कम्पनीको आवेदन परेको छ । म्याद सकिनुभन्दा एक दिनअघिसम्ममा १० वटा कम्पनीले आवेदन दिएका थिए भने अन्तिम दिनमा थप २१ वटा कम्पनीले आवेदन दिएको समितिले जानकारी गराएको छ । आवेदन दिने कम्पनीहरुमध्ये निर्जीवन तर्फका नेओ लाइट माइक्रो (जनरल) इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स, एभरेष्ट माइक्रो इन्स्योरेन्स, एक्प्रेस माइक्रोइन्स्योरेन्स, ट्रष्ट माइक्रो इन्स्योरेन्स, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स, अल्फा माइक्रोइन्स्योरेन्स, उन्नती माइक्रोजनरल, मुक्तिनाथ जनरल, गरिमा माइक्रो जनरल, सिजी इन्स्योरेन्स माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो, केयर माइक्रो जनरल र अभियान लघु बीमा कम्पनी गरी १६ वटा रहेका छन् । त्यस्तै, जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्नको लागि स्वेदशी लघु जीवन बीमा, जानकी जीवन बीमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, उन्नती माइक्रोलाइफ इन्स्योरेन्स, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ लाइफ, गरिमा माइक्रो लाइफ, सिजी लाइफ इन्स्योर माइक्रोइन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रोलाइफ, क्रिष्ट माइक्रो लाइफ, लिवर्टी माइक्रो लाइफ, श्री शक्ति लघुवित्त जीवन बीमा कम्पनी, हिमशिखर जीवन लघु बीमा, सुरक्षा लघु जीवन बीमा र स्वर्गद्धारी लघु जीवन बीमा कम्पनी इच्छुक देखिएका छन् । बीमा समितिले ७ वटा कम्पनीलाई लाइसेन्स दिने गरी निवेदन मागेकाे थियाे । जसमध्ये ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा कम्पनी हुनेछन् । जसको चुक्ता पुँजी न्यूनतम ७५ करोड रुपैयाँ तोकिएको छ । लघुबीमक स्थापना तथा दर्ता सम्बन्धी निर्देशिका अनुसार प्रस्तावित लगानीकर्ताको एकै किसिमको बीमा व्यवसाय गर्ने अन्य कुनै कम्पनीमा सेयर हिस्सा अर्थात क्रस होल्डिङ रहेमा उक्त लगानीकर्ता संस्थापक बन्न पाउने छैनन् । तर, जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीले र्जीवन लघुबीमा र निर्जीवन बीमा व्यवसाय गर्दै आएकाले भने जीवन लघुबीमा कम्पनीले खोल्न पाउने समितिको भनाई छ । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत बीमाको विकास तथा विस्तार गर्नको लागि लघुबीमा कम्पनी स्थापना गर्नुपर्ने व्यवस्था गरेको थियो । सोहि व्यवस्था अनुसार बीमा समितिले लाइसेन्सको प्रकृयालाई अघि बढाएको हो ।
जग्गाधनी र मोहीले जग्गाको बाँडफाँड गरी सक्नु पर्ने अवधि बढ्यो, कसको स्वामित्व कति हुन्छ ?
काठमाडौं । सरकारले मोही भएको जग्गाको बाँडफाँडको समयावधि बढाएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै मोही लागेको जग्गाको जग्गावाल र मोहीबीच बाँडफाँड गरी कारवाहीको टुङ्गो लगाई सक्नु पर्ने अवधि २०८३ साल असार मसान्तसम्म तोकेको हो । नेपाल सरकारले भूमी सम्बन्धि ऐन २०२१ को दफा २६ घ १ र २६ घ ३ ले दिएको अधिकार प्रयोग गरी सो ऐनको दफा २६ ग र २६ घ ले दिएको अधिकार प्रयोग गरी सो ऐनेको दफा २६ ग र २६ घ को प्रयोजनाका लागि मोही लागेको जग्गाको जग्गावाला र मोहीले त्यस्तो जग्गा बाँडफाँड गरी लिन निवेदन दिनु पर्ने तथा त्यस्तो जग्गाको जग्गावाला र मोहीबीच जग्गा बाँडफाँड गरी टुङ्गो लगाई सक्नु पर्ने अवधि विभिन्न समयमा निर्धारण गरिएको थियो । सो ऐनको दफा २६ को ‘ग’ मा जग्गावाला र मोहीले आपसी सहमतिद्वारा मोही लागेको जग्गा बाँडफाँड गरी लिन दिन चाहेमा वा त्यसरी आफूले लिन मञ्जुर गरेको जग्गा वापतको प्रचलित दरभाउले हुने मूल्य बराबरको रकम लिई जग्गावाला वा मोही मध्ये कसैलाई पूरै जग्गा छाडी मोही लागत कट्टा गर्न चाहेमा सो कुराको सम्पूर्ण विवरण खुलाई आफूसंग भएको प्रमाणहरू संलग्न गरी तोकिएको अधिकारी समक्ष संयुक्त निवेदन दिनु पर्ने व्यवस्था छ । सोही दफाको उपदफा २ मा कुनै निवेदन पर्न आएमा तोकिएको अधिकारीले निवेदन साथ संलग्न प्रमाणहरू जाँचबुझ गर्दा निवेदकको माग बमोजिम जग्गा बाँडफाँड गर्न वा पूरै जग्गा जग्गावाला र मोही मध्ये कुनै एकजनाको नाउँमा कायम गर्न मनासिव देखेमा तदनुरूप जग्गा बाँडफाँड गरिदिन वा पूरै जग्गा एकजनाको नाउँमा कायम गरी मोहीको लागत समेत कट्टा गरिदिन सक्ने व्यवस्था छ । सोही ऐनको दफा २६ को ‘घ’ मा जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँड गर्नु पर्ने व्यवस्था छ । सो दफाको उपदफा १ मा संयुक्त निवेदनको लागि जग्गाधनी र मोही दुवै थरी आपसमा मन्जुर हुन नसकी जग्गाधनी वा मोहीमध्ये कुनै एक पक्षले निवेदन दिएमा तोकिएको अधिकारीले जग्गाधनी वा मोहीलाई झिकाई आवश्यक प्रमाण बुझ्नु पर्ने भए सो समेत बुझी असल कमसल मिलाई बाँडफाँट गर्नु पर्ने जग्गाको क्षेत्रफल वा मूल्याङ्कनको आधारमा आधा–आधा हुने गरी जग्गा बाँडफाँड गरी मोही लागत कट्टा गरिदिनु पर्ने व्यवस्था गरेको छ । सोही दफाको उपदफा २ मा मोही र जग्गाधनीबीच जग्गा बाँडफाँड गर्दा निजी गुठीको हकमा जग्गाधनीको पूर्जामा मात्र निजी गुठी जनाई दिनु पर्नेछ उल्लेख छ ।
दशैं आयो : सडकमा नयाँ नोटको व्यापार (फोटोफिचर)
काठमाडौं । विजया दशमी अर्थात् दशैंको मुख्य दिन आउन अब ७ दिन मात्रै बाँकी छ । मानिसहरु दशैंका लागि नयाँ–नयाँ लुगा तथा अन्य सामान खरिद गर्न व्यस्त छन् । साथै दशैंका लागि नयाँ नोट साट्नेहरुको पनि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा भीड छ । अहिले बैंक तथा वित्ती संस्थाहरुमा मात्रै भीड नभएर सडकमा पनि नयाँ नोट साट्नेहरुको पनि संख्या ठूलै छ । काठमाडौंको रत्नर्पाक, असन, बसन्तपुर, नयाँ बसपार्क लगायत क्षेत्रमा नयाँ नोट दिएर पुराना नोट फिर्ता लिदे व्यापारीहरुको संख्या पनि ठूलो छ । उनीहरुले नयाँ नोट साट्नका लागि केही निश्चित रकम कमिसनका रुपमा लिएर नयाँ नोट साटिरहेका छन् । उनीहरुले नयाँ नोट साटेवाफत ५ रुपैयाँदेखि ५० रुपैयाँसम्म लिने गरेका छन् । नेपाल राष्ट्र बैंकहरुबाट एक पटकमा १८ हजार ५ सय रुपैयाँ नयाँ नोट साट्न पाइने व्यवस्था गरेको छ ।