नेपाल र प्रुडेन्सियल इन्स्योरेन्स कारवाहीमा, बीमा इतिहासमै ठूलो जरिवाना
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई जरिवाना गरेको छ । कम्पनीहरुले बीमा ऐनको परिपालना नगरेको, बीमाशुल्कमा अस्वस्थ प्रतिस्पर्धा गरेको, निर्देशन विपरित कारोबार गरेको लगायतका काम पटक पटक दोहोर्याएको भन्दै प्राधिकरणले दुई कम्पनीलाई कारवाही गरेको हो । प्राधिकरणले निर्जीवन बीमा व्यवसाय गर्दै आएका दुई कम्पनीलाई जनही २ लाख रुपैयाँको दरले जरिवाना गरेको छ । यसअघि पनि दायित्व पालना नगरेको भन्दै प्राधिकरणले दुई कम्पनीहरुलाई पटक पटक निर्देशन दिँदै आएको थियो । र, जरीवाना हुन नपर्ने भए ७ दिनभित्र सबुद प्रमाणसहित सफाई पेश गर्न दुबै कम्पनीलाई म्याद दिएको थियो । सो अनुसार कम्पनीहरुले दिएको स्पष्टिकरण सन्तोषजनक नभएको र यसअघि पनि विभिन्न प्रकृतिका कैफियतहरु देखिएको र सुधारको लागि निर्देशन दिँदा समेत अवज्ञा गरी पुनः दोहोर्याएको भन्दै उनीहरुलाई कारवाही गरिएको प्राधिकरण उच्च श्रोतले बताएको छ । र, कम्पनीको गत माघ १८ गतेदेखि २० गतेसम्म भएको स्थलगत निरिक्षणको क्रममा पनि कम्पनीहरुले नियम विपरीतका एउटै प्रकृतिका क्रियाकलापहरु दोहोराएको भटिएकोले प्राधिकरण नगद जरीवानासहितको कारवाही गर्न बाध्य भएको हो । ‘बीमकलाई बीमा ऐन २०७९ को दफा ६४ को उपदफा (२) बमोजिम बीमाशुल्क नलिई बीमालेख जारी गरेको, दावी भुक्तानी गर्दा बीमा नियमावली, २०४९ को नियम ३२ तथा दावी भुक्तानी मार्गदर्शन, २०७६ को दफा ७ विपरीत कार्य गरेको, मोटर बीमादर निर्देशिका, २०७३ तथा निक्षेप बीमाको बीमा शुल्कमा अस्वस्थ प्रतिस्पर्धा हुनेगरी कम बीमाशुल्क लिई बीमा गरी कानून, नियम, निर्देशन बिपरीत कार्य गरेको, प्राधिकरणले जारी गरेको निर्देशन र आदेश पालना नगरेको तथा ऐनको रीत नपुर्याई बीमा व्यवसाय गरेकोले बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा (४) बमोजिम पहिलो पटकका लागि २ लाख (दुई लाख मात्र) जरीवाना गर्ने निर्णय भएको छ,’ उक्त श्रोतले विकासन्युजसँग भन्यो । अरू कम्पनी पनि कारवाहीमा पर्दै प्राधिकरणले गरेको २ लाख रूपैयाँ जरिवाना हालसम्मकै ठूलो रकमको नगद जरिवाना रहेको प्राधिकरणको उच्च श्रोतले बताएको छ । यसअघि कम्पनीहरुलाई अधिकतम १० हजार रुपैयाँसम्मको जरिवाना गर्न पाइने व्यवस्था थियो । ‘शुरुमा १० हजारभन्दा बढी जरिवाना गर्न पाईँदैन थियोे, बीमा ऐन आएपछि पहिलो चरणमा नै २ लाख रुपैयाँ जरिवाना गर्न पाउने व्यवस्था छ,’ उच्च श्राेतले भन्यो । साथै, श्राेतका अनुसार अन्य कम्पनीलाई पनि क्रमश जरिवाना गर्ने तयारीमा प्राधिकरण छ । ‘यी दुई कम्पनीमा देखिएकाे इस्यु अन्य कम्पनीहरूमा पनि देखिएकाे छ, उनीहरूलाई पनि क्रमश कारवाही गर्दै जान्छाैं, उनले थपे- ‘कम्पनीहरूकाे केशवाइज कारवाही गर्छाैं ।’
कडा बन्यो क्यान, धमाधम कारवाहीमा पाइलट
काठमाडौं । पछिल्ला दिनमा एकपछि अर्को हवाई सुरक्षासँग जोडिएका घटना सार्वजनिक भइरहेका बेला नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण मुलुकको हवाई सुरक्षा सुदृढिकरणका लागि आक्रामक रूपमा प्रस्तुत भएको छ । स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीको उडानमा लापरबाही, हवाई सुरक्षा पालनामा देखिएको हेलचेक्र्याइलाई मध्यनजर गर्दै प्राधिकरणले हवाई सुरक्षामा विशेष चासो देखाएको हो । मुलुकमा बढ्दो हवाई सुरक्षामा देखिएका जोखिमीलाई मध्यनजर गरी प्राधिकरणले विभिन्न तवरले सुक्ष्म निगरानी बढाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । ‘हवाई सुरक्षाका विषयमा प्राधिकरणले सुक्ष्म निगरानी गरिरहेको छ । हवाई सुरक्षामा लापरबाही गर्ने वायुसेवा कम्पनी र संलग्नलाई आवश्यक कारबाही पनि भइरहेको छ,’ उनले भने । हवाई क्षेत्रको ‘सेफ्टी’ र ‘सेक्युरिटी’प्रति सचेत हुँदै प्राधिकरणले उडान सुरक्षा उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याइरहेको प्रवक्ता निरौलाले उल्लेख गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन पटक–पटक निर्देशन पनि दिँदै आएका छन् । शनिबार पत्रकारसँगको अन्तरक्रियामा पनि उहनले हवाई सुरक्षाप्रति कुनै किसिमको कमिकमजोरी हुन नदिन आफूले सम्बन्धित निकायका अधिकारीलाई बारम्बार ध्यानाकर्षण गराइरहेको बताएका थिए । यसैबीच प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सँग आकासमै ठोकिनबाट जोगिएको एयर इण्डियाको जहाजको सम्बन्धमा छानबिन गर्ने भएको छ । प्राधिकरणले उक्त घटनामा संलग्न एयरलाइन्समाथि छानबिन गरिने प्राधिकरणका प्रवक्ता निरौलाले बताए । गत शुक्रबार नेपाल एयरलाइन्सको जहाज मलेसियाको क्वालालम्पुरबाट काठमाडौंस्थित त्रिभुवन विमानस्थल आउँदै थियो । सोही समय दिल्लीबाट काठमाडौंका लागि उडेको एयर इण्डियाको जहाज १९ हजारको फिटको उचाइबाट उडिरहेको थियो । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना नै एयर इण्डियाको जहाज एक्कासि १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किन पुगेको थियो । लगत्तै नेपाल एयरलाइन्सले उडान केही फिट डाउन गरेकाले दुर्घटना हुनबाट बचेको थियो । उनका अनुसार उक्त घटनाप्रति प्राधिकरणको ध्यानाकर्षण भएको र घटनामा एयर इण्डियाका तर्फबाट देखिएको लापरबाहीका सम्बन्धमा छानबिन गर्न एक समिति गठन गरिएकोे छ । जतिसक्दो छिटो अध्ययन गरी प्रतिवेदन पेस गर्न उक्त समितिलाई निर्देशन दिइएको छ । यसअघि फागुन १५ गते पनि कतारको दोहाबाट काठमाडौं आउँदै गरेको कतार एयरवेज र मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको जहाज आकाशमै ठोकिनबाट बचेका थिए । उक्त घटनामा आन्तरिक उडानमा रहेको बुद्ध एयरको जहाज पनि जोखिएको थियो । यही चैत ९ गते प्राधिकरणले काठमाडौं–लुक्ला उडानका क्रममा टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर ( एटीसी) सँग अपशब्द बोल्ने अन्नपूर्ण हेलिकप्टरका एक पाइलटलाई निलम्बन गरेको थियो । त्यसैगरी उडान सुरक्षा मापदण्ड उलङ्घन गर्ने थप दुई हेलिकप्टर कम्पनी क्रमशः एयर डाइनेस्टी र फिस्टेल एयरका पाइलटलाई पनि निलम्बन गरिएको थियो । यसअघि यही चैत ७ गते प्राधिकरणले वायुसेवा निगमको ट्वीनओटर जहाजका चालकदलसहित सात जनालाई निलम्बन गरेको थियो । ताप्लेजुङबाट काठमाडौंका लागि उडान भरेको निगमको नाइन एन एबीटी बिमानमा लोड सिट क्षमताभन्दा एक सय पाँच केजी बढी सामान बोकेको सूचना पाएपछि प्राधिकरणले जाँच गर्दा कागजमा देखाइएको भन्दा बढी तौल भेटिएकाले उडान अनुशासन पालना नगर्ने जहाजका चालकदलका सदस्यसहित बिमान ग्राउण्डेड गरिएको प्राधिकरणले उल्लेख गरेको छ । चालक दलका तीन सदस्य, निगमका मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई निलम्बन गर्नाका साथै घटनाबारे आवश्यक छानबिन गरिने प्राधिकरणले जनाएको छ । त्यसैगरी गत फागुन २५ गते काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इञ्जिनमा आगोको सङ्केत देखिएपछि आकस्मिक अवतरण गरिएको थियो । श्री एयरलाइन्सको उडान नं. ८२१ को जहाजको इञ्जिनमा ‘फायर वर्निङ’ देखिएपछि बिचबाटै डाइभर्ट गरेर काठमाडौंमा आकस्मिक अवतरण गरिएको हो । घटनालगत्तै प्राधिकरणले उक्त एयरलाइन्सका उडानमा रहेका सबै जहाज एक दिन ग्राउण्डेड गरी जाँच गराएपछि भोलिपल्ट जहाज पुनः उडानका लागि अनुमति दिएको थियो । यसरी हवाई सुरक्षा पालनामा लापरबाही गर्ने र आचरण विपरीत काम गर्ने बिमान कम्पनी र संलग्न पाइलटलाई कानुनी दायरामा ल्याउन प्राधिकरण आक्रामकरूपमा प्रस्तुत भएको हो । मुलुकको हवाई सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उडान सुरक्षालाई सुदृढ र प्रभावकारी तुल्याउन लागि परेको प्राधिकरणले जनाएको छ । रासस
आइडिया धितो राखेर ऋण, ३% ब्याजमा २५ लाख कर्जा
काठमाडौं । अहिलेसम्म तपाईं हामीले सुन्दै आएको शब्द ‘धितो’ भनेको कुनै निश्चित वस्तुलाई उचित मूल्यांकनसहित बैंक तथा वित्तीय संस्थामा राख्नु हो । सो वस्तुलाई बैंकमा राखेर ऋणीले ऋण लिन्छ र ऋण तिर्न नसकेमा ऋणदाताले सो वस्तुलाई आफ्नो कब्जामा लिन्छ । त्यो वस्तु सुन होस्, घरजग्गा होस्, सेयर होस् वा कुनै अन्य वस्तु नै । हामी यिनै वस्तुलाई धितोका रुपमा बैंकमा राखेर कर्जा लिन्छौं । तर, अब तपाईं हामीमा भएको ‘आइडिया’लाई पनि धितोमा राख्न पाइने भएको छ । यदि तपाईंसँग कुनै नयाँ आइडिया छ भने त्यो आइडियालाई बैंकमा धितोका रुपमा राखेर बैंकबाट २५ लाख रुपैयाँसम्म ऋण लिन सकिन्छ । उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि २०७९ स्वीकृत गरेर कार्यन्वयनमा ल्याएसँगै नेपालमा पहिलो पटक स्टार्टपले सहुलियतपूर्ण ब्याजमा र बिना धितो कर्जा पाउने बाटो खुलेको हो । सरकारले बिनाधितो सहुलियम ब्याजदरमा उपलब्ध गराउने कर्जा विभिन्न १४ प्रकारका उद्योगले मात्र पाउने व्यवस्था गरेको छ । कार्यविधिमा आइडियालाई नै धितोको रुपमा लिइएको छ । अबको केही दिनभित्रमा नै कृषि तथा पशुपंछी, वन पैदावर, पर्यटन प्रवद्र्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित, विज्ञान प्रविधि, सञ्चार तथा सूचना प्रविधिमा आधारित उद्यमलाई सरकारले कर्जा सुविधामा समेट्ने छ । यस्तै, मानव स्वास्थ्य सेवासँग सम्बन्धित, शिक्षा तथा शिक्षण सिकाइ, सहज र सुरक्षित यातायात तथा पारवहन सेवा, पूर्वाधार निर्माण, अटोमोबाइल, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाह, खानी तथा खनिज अनुसन्धान, घरायसी वा दैनिक जीवनयापन, खाद्य उत्पादन तथा प्रशोधन र फोहोरमैला व्यवस्थापन तथा वातावरणसंग सम्बन्धित व्यवसाय स्टार्टअपको कर्जा मापदण्डमा समावेश हुनेछन् । उद्यमीले बिजनेश प्रपोजल (परियोजना प्रस्ताव) लाई नै धितोमा ७ वर्षका लागिआधार दरमा ३ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध हुने मन्त्रालयले जनाएको छ । स्टार्टअप उद्यम कार्यक्रम सञ्चालन गर्न, स्टार्टअप उद्यम छनौट गर्न, स्टार्टअप उद्यमलाई प्रवद्र्धन गर्न, अनुकूल इकोसिष्टम निर्माण एवं नवप्रवर्तनलाई संरक्षण तथा प्रवद्र्धन गरी स्टार्टअप उद्यमलाई आवश्यक नीतिगत, आर्थिक, प्राविधिक लगायतका क्षेत्रमा कार्यक्रम गर्न एक स्टार्टअप उद्यमलाई कार्यान्वयन गर्नका लागि उद्योग विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन हुनेछ । उक्त समितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल राष्ट्र बैंक, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र विभाग अन्तरगतको प्रविधि तथा वातावरण शाखाका निर्देशक सदस्य सचिव रहने छन् । मन्त्रालय अन्तर्गतको औद्योगिक महाशाखा प्रमुख सहसचिव बाबुराम गौतम स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने, इनोभेसनलाई रिवार्ड गर्ने भनेर सरकारले विगत ८/१० वर्षदेखि कार्यक्रम ल्याएको तर अहिलेसम्म कार्यान्वयनमा नआएको बताउँछन् । ‘अर्थ मन्त्रालय र योजना आयोगले सो कार्यक्रम कार्यान्वयनको तयारी गरेका थिए, तर भएन, चालू आर्थिक वर्षको बजेटमा नै रकम व्यवस्था गरेर उद्योग मन्त्रालयले गर्ने भनिएपछि हामीले तयारी थालेका हाैं, उनले भने । कार्यविधि तयार पारेर कार्यान्वयनका लागि उद्योग विभागमा पठाइसकेएको भन्दै उनले अब छिट्टै कर्जा उपलब्ध गराउने काम सुरु हुने बताए । उनका अनुसार अहिलेसम्म नेपालमा स्टार्टअप के लाई भन्नेसम्म स्पष्ट रुपमा व्यवस्था समेत थिएन । स्टार्टअप उद्यमले सरकारी लगानीको वाणिज्य बैंकमार्फत ७ वर्षका लागि कर्जा प्राप्त गर्नेछन् । यस्तो कर्जामा साँवा भुक्तानी तीन वर्षपछि मात्रै गर्न पाइने सुविधा छ । यस्तो कर्जा प्रवाहका लागि सरकारले चालू आर्थिक वर्षमा २५ करोड रुपैयाँ बिनियोजन गरेको थियो । सुरुवाती चरणमा देशभर रहेका १०० स्टार्टअपलाई समेट्ने गरी बजेट विनियोजन गरिएको थियो । यस्तै, कर्जा लिन इच्छुक स्टार्टअप उद्यम गर्ने उद्यमीलाई आफ्नो परियोजना प्रस्ताव पेश गर्न २१ दिनको समय दिएर राष्ट्रियस्तरको दैनिक पत्रिका र विद्युतीय माध्यमबाट सार्वजनिक सूचना प्रकाशन गरिनेछ । उक्त सूचना अनुसार एक उद्यमीले एकभन्दा बढी प्रस्ताव पेश गर्न पाउने छैनन् । सरकारी बैंकले कर्जा दिने स्टार्टअप उद्यमीलाई सरकारले तोकेको २५ लाख रुपैयाँ कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था छनोट गर्नेछ । केन्द्रीय बैंकले नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको वाणिज्य बैंक मार्फत कर्जा प्रवाहका लागि सिफारिस गर्नेछ । छनोट समितिले गरेको सिफारिसका आधारमा केन्द्रीय बैंकले दुई किस्तामा कर्जा प्रवाह गर्नका लागि बैंक तोक्नेछ । जसमा पहिलो किस्तामा स्वीकृत कर्जाको ५० प्रतिशत रकम वितरण गर्नु पर्ने हुन्छ ।