७ शर्त पुरा गर्ने बीमा कम्पनीले मात्रै शाखा कार्यालय खोल्न पाउने, पुँजी पुर्याउनेलाई विशेष सुविधा
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । प्राधिकरणले बीमा कम्पनीहरुको शाखा कार्यालय स्थापना गर्ने कामलाई व्यवस्थित बनाउन उक्त निर्देशिका जारी गरेको हो । प्राधिकरणबाट गत फागुन १६ गते स्वीकृत भएको यो निर्देशिका तत्काल लागू हुने छ । यो निर्देशिका अनुसार कम्पनीले प्रत्येक प्रदेशमा प्रदेश कार्यालय अनिवार्य रुपमा खोल्नु पर्ने छ । प्रदेश कार्यालय खोल्दा प्रदेश अन्तर्गतको कुनै पनि जिल्लामा खोल्न सकिने छ । कम्पनीहरुले आफ्ना शाखा तथा उपशाखा कार्यालयबाट हुने बीमा व्यवसाय तथा सेवा प्रवाहलाई समन्वय गर्ने गरी प्रदेश कार्यालय खोल्न सक्नेछन् । कम्पनीहरुले आफ्नो व्यवसायिक आवश्यकता अनुसार शाखा वा उपशाखा कार्यालय खोल्न सक्नेछन् । यसरी खोलिने शाखा कार्यालयको हकमा कम्पनीले बैंकमा खाता सञ्चालन गर्न पाएको प्रमाण पेश गर्नु पर्नेछ । काठमाडौं उपत्यका बाहिर तीन वटा शाखा खोली सञ्चालनमा ल्याएपछि मात्रै कम्पनीले काठमाडौं उपत्यकामा थप एक शाखा खोल्न सक्नेछन् । यीमध्ये पनि कम्तीमा दुई शाखा नगरपालिका वा गाउँपालिकामा खोलिएको हुनु पर्नेछ । त्यस्तै, उपत्यकाभित्र शाखा खोल्दा चक्रपथ बाहिर तथा नगरपालिकामा खोल्न प्राथमिकता दिनु पर्नेछ । नयाँ व्यवस्थाअनुसार कम्पनीले ७७ वटै जिल्लामा कम्तिमा एउटा शाखा कार्यालय खोल्नु पर्छ । काठमाडौं उपत्यकाभित्र कम्पनीको केन्द्रीय कार्यालय वा कर्पोरेट कार्यालय र एउटा शाखा कार्यालय हुने पर्ने छ । त्यसैगरी, कम्पनीहरुले आयात निर्यात व्यापारका लागि तोकिएका नाकाहरुमा एक एक वटा शाखा खोल्नु पर्ने व्यवस्था गरिएको छ । यसरी शाखा खोल्नुभन्दा अघि कम्पनीले सो सम्बन्धमा स्थलगत सम्भाव्यता अध्ययन गर्नु पर्ने समेत प्राधिकरणले जनाएको छ । र, सो अध्ययनको आधारमा शाखा कार्यालय खोल्न उपयुक्त भएमा बीमा प्राधिकरणको स्वीकृति लिनु पर्नेछ । कर्मचारी कम्तीमा ३ देखि ७ जना हुनुपर्ने बीमा कम्पनीहरुले प्रदेश कार्यालय खोलेको हकमा कम्तीमा व्यवस्थापकीय तहको प्रमुख र अधिकृत तथा अन्य कर्मचारी गरी कम्तीमा ७ जना हुनुपर्ने छ । यता शाखा कार्यालयको हकमा कम्तीमा अधिकृत तहको कर्मचारी प्रमुख र अन्य कर्मचारी गरी कम्तीमा ५ जना र उपशाखा कार्यालयको हकमा कम्तीमा तीन जना कर्मचारी हुनैपर्ने व्यवस्था छ । यो बाहेक कम्पनीको कार्यबोझ हेरी आवश्यकता अनुसार अन्य अधिकृत तथा कर्मचारी राख्न सकिने समेत बताइएको छ । सूचना आदान प्रदान गर्नको लागि नेटवर्किङ्ग वा विद्युतीय माध्यमबाट केन्द्रीय कार्यालयको सूचना प्रणालीमा तत्काल आवद्ध हुनु पर्ने छ । त्यस्तै, कार्यालयमा फर्निचर, सूचना प्रविधिका साधन, कार्यालय कक्ष तथा अन्य सामानको पर्याप्त व्यवस्था हुनु पर्ने छ । र, कार्यालयमा बीमा अभिकर्ता, सर्भेयर लगायतका अन्य सेवाग्राहीहरुको सम्पर्क कक्षको समेत व्यवस्था गर्नुपर्ने निर्देशनमा उल्लेख छ । बीमा व्यवसायलाई प्रभावकारी तथा विश्वसनीय रुपमा सञ्चालन गर्न उक्त व्यवस्था गर्नुपर्ने जनाइएको छ । कस्तो ठाउँलाई प्राथमिकता दिने ? कम्पनीहरुले शाखा कार्यालय खोल्दा विभिन्न तीन वटा विषयलाई प्राथमिकता दिनु पर्ने छ । जसमा बीमाको दायरा नरहेको, बीमकहरुको उपस्थिति न्युन रहेको स्थान र कुनै पनि बीमा कारोबार गर्ने इकाई नभएको गाउँपालिका वा नगरपालिकामा शाखा वा उप शाखा कार्याल खोल्न प्राथमिकता दिनु पर्ने छ । समितिले तोकेको जिल्लामा कार्यालय स्थापना गरेपछि मात्र कम्पनीहरुले अन्य स्थानमा कार्यालय खोल्न पाउने छन् । दुई महिनाभित्रमा सञ्चालन गरिसक्नु पर्ने कम्पनीहरुले शाखा कार्यालय खोल्न स्वीकृति पाएको बढीमा दुई महिनाभित्रा कार्यालय सञ्चालन गर्नुपर्ने छ । यो निर्देशिका बमोजिम कम्पनीहरुले प्रदेश कार्यालय वा अन्य शाखा कार्यालय खोल्न प्राधिकरणको स्वीकृति पाएको दुई महिना भित्रमा कार्यालय सञ्चालन गरिसक्नु पर्ने छ । तर उपशाखाको हकमा प्राधिकरणबाट स्वीकृति पाएको मितिले एक महिना भित्रमा कार्यालय सञ्चालन गरिसक्नु पर्ने व्यवस्था छ । र, उक्त कार्यालय सञ्चालनमा ल्याएको ७ दिनभित्रमा प्राधिकरणलाई जानकारी गराउनु पर्ने समेत उल्लेख छ । तोकिएको समयमा कार्यालय सञ्चालन नगरे के हुन्छ ? यदि बीमा प्राधिकरणले ताकेको अवधिभित्रमा कम्पनीहरुले शाखा तथा उपशाखा कार्यालय सञ्चालनमा ल्याउन नसकेमा प्राधिकरणले उक्त कम्पनीलाई एक महिनासम्मको समय थपदिने छ । यसको लागि कम्पनीहरुले के कारणले शाखा तथा उपशाखा सञ्चालनमा ल्याउन नसकेको हो ? त्यसको कारणसहित म्याद थपको लागि प्राधिकरणमा निवेदन दिनुपर्ने छ । एक्स्टेन्सन काउन्टर पनि खोल्न पाउने बीमा कम्पनीहरुले विभिन्न क्षेत्रलाई लक्षित गरी सेवा प्रवाहको लागि एक्स्टेन्सन काउन्टर पनि खोल्न पाउने भएका छन् । कम्पनीहरुले यातायात व्यवस्था कार्यालय, बैदेशिक रोजगार प्रवर्धन कार्यालय, कृषि विकास कार्यालय, अन्तर्राष्ट्रिय विमानस्थल परिसर, भन्सार नाका, औद्योगिक क्षेत्र जस्ता क्षेत्रलाई लक्षित गरी एक्सटेन्सन काउन्टर खोल्न सक्नेछन् । पुँजी पुर्याउनेले विदेशमा पनि कार्यालय खोल्न पाउने प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले प्राधिकरणको पूर्व सहमति लिई विदेशमा आफ्नो कार्यालयको शाखा, सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न सक्नेछन् । तर त्यसको लागि कम्पनीहरुले प्राधिकरणले तोकेको न्यूनतम पुँजी पुर्याउनु पर्ने छ । साथै, कम्पनीका सञ्चालकलाई कुनै कारबाही नभएको कम्पनीले मात्रै स्वीकृति पाउने छन् । यदि कारबाही भएको भएपनि ६ महिना पुरा भइसक्नु पर्ने व्यवस्थामा उल्लेख छ । त्यस्तै, कम्पनीहरुलाई शाखा कार्यालय स्थानान्तरण वा बन्द गर्न समेत प्राधिकरणको स्वीकृति चाहिने भएको छ । शाखा सञ्चालन गर्न ७ वटा शर्त पुरा गर्नैपर्ने कम्पनीहरुले शाखा तथा उपशाखा कार्यालय खोल्दा विभिन्न शर्तहरु पालना गर्नुपर्ने हुन्छ । साथै, यसअघि खोलिएका शाखा कार्यालयहरु सञ्चालनमा पनि नयाँ शर्ता तथा मापदण्ड लागू हुने प्राधिकरणले जनाएको छ । (१) कार्यालय खोल्दा वा सञ्चालन गर्दा कम्पनी ऐन, २०६३ लगायत प्रचलित कानून बमोजिम दर्ता गर्नु पर्ने, स्वीकृति लिनु पर्ने वा सूचना वा जानकारी दिनु पर्नेमा बीमकले सोही बमोजिम सम्बन्धित निकायबाट दर्ता वा स्वीकृति लिई वा सम्बन्धित निकायलाई सूचना वा जानकारी दिई कार्यालय सञ्चालन गर्नु पर्नेछ । ( २ ) यस निर्देशिका बमोजिम खोलिएका बीमकका शाखा वा उपशाखा कार्यालयहरुले प्राधिकरणले तोके बमोजिम कृषि, पशुपन्छी तथा अन्य बीमाका सेवाहरु समेत प्रदान गर्नु पर्नेछ । (३) कार्यालय रहेको स्थानमा सर्वसाधारणले देखे स्थानमा नेपाल बीमा प्राधिकरणबाट स्वीकृती प्राप्त” बीमकको नाम सहितको साईन बोर्ड राख्नु पर्नेछ । (४) कार्यालयमा सेवाग्राही उपभोक्तालाई आवत जावत गर्न सहज तथा उपयुक्त पार्किङ्गको व्यवस्था सहित भौतिक पूर्वाधारको पर्याप्त व्यवस्था गर्नु पर्नेछ । (५) कार्यालयले आफ्नो कार्यालय अगाडि प्रदान गरिने सेवा सहित जिम्मेवार अधिकारी उल्लेख गरी नागरिक वडापत्र राख्नु पर्नेछ । (६) कार्यालयको पूरा ठेगाना, फोन नम्बर, सम्पर्क व्यक्तिको नाम सहितको विवरण बीमकको वेबसाइटमा राख्नु पर्नेछ । (७) कार्यालय खोल्न पेश गरेको सम्भाव्यता अध्ययन प्रतिवेदन बमोजिम त्यस्तो कार्यालयबाट भएको कार्य प्रगति विवरण त्रैमासिक रुपमा तयार गरी अद्यावधिक राख्नु पर्नेछ र प्राधिकरणबाट माग भएको बेलामा कम्पनीले पेश गर्नु पर्नेछ ।
बैंकको ब्याज तिर्न बैंककै सेयर बेच्दै
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत फागुन २४ गते साविकको मेगा बैंकका विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ४६ हजार ४३ कित्तासहित २ लाख ७७६ कित्ता सेयर बिक्रीमा राख्यो । यस्तै, गत चैत २ गते प्रभु बैंकले पनि विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ लाख ७ हजार ९३७ कित्ता सेयर बिक्रीमा राख्यो । बैंकले ३५ दिने सूचना जारी गर्दै संस्थापक सेयर बिक्रीमा राखेको थियो । यस्तै, नबिल बैंकले पनि गत फागुन १० गते विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । बैंकले फागुन १० गतेदेखि फागुन २५ गतेसम्म विद्यमान संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्री गर्ने जनाएको थियो । बैंकको उक्त सेयरमा संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले पनि खरिद गर्न पाउनेछन् । सो बैंकको सेयर खरिद गर्न चाहनेले न्यूनतम १ हजारदेखि आवेदन दिन सक्ने उल्लेख थियो । बैंकले यसअघि पनि विभिन्न समयमा संस्थापक सेयर बिक्रीमा राखेको थियो । यस्तै, कुमारी बैंकले चैत २ र ५ गते गरी विभिन्न समयमा लाखौं कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले गत चैत २ गते ८६ हजार ३३३ कित्ता बिक्रीमा राखेको छ भने चैत ७ ते ६ हजार ३२४ कित्ता सेयर बिक्रीमा राखेको हो । यी केही प्रतिनिधि बैंक मात्रै हुन् । पछिल्लो समय विभिन्न बैंक तथा वित्तीय संस्थाले संस्थापक सेयरधनीहरुको सेयर बिक्रीमा राखिरहेका छन् । बैंकले सेयर बिक्री गरेर संस्थापक सेयरधनीहरु धमाधम बैंकबाट बाहिरिन खोजेको देखिन्छ । सेयर बिक्रीमा आउने तथ्यांक हेर्ने हो भने बैंकका साना संस्थापक सेयरधनीहरु बाहिरिन खोजेको देखिन्छ । लगानीकर्ता छोटेलाल रौनियार बजार घटिरहेको समयमा लगानीकर्ताहरु डराएर संस्थापक सेयर बिक्री गरिरहेको हुन सक्ने बताउँछन् । संकटको बेलामा संस्थापक सेयरधनीहरुले सेयर बिक्री गर्नु राम्रो संकेत नभएको उनको बुझाइ छ । दोस्रो बजारमा संस्थापक सेयरको मूल्य नै १ सय रुपैयाँमा बिक्री भइरहेका बेलामा पनि दैनिक बिक्रीका सूचना आउनु राम्रो संकेत नभएको उनको भनाइ छ । ‘मान्छेहरु आत्तिएका छन्, डराइरहेका छन्, सेयरको मूल्य घटेर सर्वसाधारणले बेचिरहेका छन्, संस्थापकले पनि सेयर बिक्री गरिरहेका छन्, जति मूल्य घट्यो त्यति धेरै डराएर बेचिरहेका छन्,’ उनले भने । कसैको कर्जा, ब्याज तिर्नुपर्ने, घरायसी समस्या भएकाले सेयर बिक्री गर्ने गरेको उनले बताए । घरजग्गा कारोबार बन्द भएकाले पनि सेयर बेचेर आफ्नो समस्या समाधान गर्न खोजिरहेको हुन सक्ने उनी बताउँछन् । ‘तरल सम्पत्ति सेयर पनि हो, घरजग्गा बेच्नुभन्दा सेयर बेच्न सजिलो हुन्छ, प्रमोटर सेयर बिक्री गरेर आफ्नो समस्या टारेका हुन्, बजार घटिरहेको बेलामा लगानीकर्ता डराए,’ उनले भने । पछिल्लो समय कर्जा नतिर्नेहरु बढ्दा बैंकको खराब कर्जा पनि बढेको हुँदा बैंकबाट पाइने प्रतिफलमा ह्रास आउने संकेत देखिएपछि धेरैले सेयर बिक्री गर्न खोजेको रौनियार बताउँछन् । ‘बैंकहरु डुब्दैनन् किनभने बैंकको पुँजी र जगेडा कोषमा अर्बाै रुपैयाँ छ, राष्ट्र बैंकले नियमन गरिरहेका संस्था भएकाले बैंकहरुमा धेरै ठूलो समस्या आएको छैन, बैंकहरुले पनि डुब्ने गरी लगानी गरेका छैनन्,’ उनले भने, ‘बैंकहरुले माघसम्म ४१ अर्ब रुपैयाँ नाफा कमाएका छन्,यो नाफा कमाएको हिसाबमा बैंकहरु समस्यामा छैनन्, उद्योगी व्यवसायीहरु घाटामा जान सक्छन् तर बैंकहरु घाटामा जान सक्दैनन् ।’ लगानीकर्ता लबराज जोशी संस्थापकहरुको व्यवसाय राम्रो नभएकाले बिक्री गर्न लागेको बताउँछन् । उनीहरुले गरेको व्यवसायमा कर्जाको ब्याज तिर्नुपर्ने भएकाले सेयर बेचेर तिर्न खोजिरहेको हुन सक्ने उनको बुझाइ छ । ‘आफ्नो ऋण चुक्ता गर्न सेयर बेचेका हुन सक्छन्, व्यवसायलाई डुब्न नदिन सेयर बेचेर तिरिरहेका छन्, अहिले व्यापार व्यवसायी र उद्योग राम्रोसँग सञ्चालन भएको छैन, बैंकले पनि ब्याज मिनाह गर्दैन, एक/दुई किस्ता नतिर्ने बित्तिकै ताकेता गर्छन्, उनीहरुले सहज वातावरणबाट आफ्नो समस्या समाधान गर्न खोजेका छन्,’ उनले भने । उनका अनुसार बैंक तथा वित्तीय संस्थाको प्रतिफल घटेको हुँदा संस्थापकहरुले सेयर बेच्न लागेका हुन् । कुनैपनि बैंकहरुले विगतका वर्ष जस्तै उत्साह रुपमा लाभांश दिन नसक्ने आँकलन गरेकाले पनि सेयर बेचेर बाहिरिन खोजेको उनको भनाइ छ । ‘मर्जरका कारण बैंकको पुँजी बढ्दै गयो, पुँजी वृद्धि अनुसार नाफा कमाउन सकेनन्, गत वर्ष राम्रो रिकभरी भइरहेको थियो, यस पटक रिकभरी पनि घटेको छ, रिकभरी भएन भने नाफा घट्छ,’ उनले भने, ‘५ प्रतिशतसम्म खराब कर्जा पुग्ने सम्भावना छ, खराब कर्जा बढ्यो भने बैंकहरुले ठूलो रकम प्रोभिजन राख्नुपर्ने हुन्छ, प्रोभिजन राख्नु पर्दा बैंकको नाफा हुँदैन, अहिले प्रमोटरलाई पनि समस्या परेको छ ।’ अर्थतन्त्र संकटमा परेको बेला यसरी सेयर बिक्री गर्नु राम्रो संकेत नभएको उनको बुझाइ छ । तर, नेपालमा भयावह स्थिती नरहेको उनको भनाइ छ । बैंकर बिएन घर्ती संस्थापक सेयर बिक्री गर्नु सामान्य प्रक्रिया भएको बताउँछन् । ठूलो संख्यामा प्रमोटर सेयर बिक्री भएमा मात्रै संकट परेको भन्न सकिने उनले बताए । सानो संस्थापक सेयरधीहरुले सेयर बिक्री गरेर खासै समस्या नहुने उनको भनाइ छ । उनका अनुसार यदि विज्ञ ब्यक्तिलाई सञ्चालक बनाउनु पर्याे भने स-सानो सेयर बिक्री हुन्छ । ‘जस्तो कुनै बैंकमा कसैलाई सञ्चालक बनाउनुपर्याे तर, ऊसँग बैंकको सेयर हुँदैन, अर्काे ब्यक्तिसँग धेरै सेयर हुन्छ, त्यसपछि धेरै सेयर भएको ब्यक्तिले अर्काेलाई सेयर ट्रान्सफर गरेर बोर्डमा ल्याउन खोजेको हुन सक्छ,’ उनले भने । कुनै ब्यक्तिले उपहार स्वरुप सेयर दिन खोज्दा पनि प्रमोटर सेयर बिक्री हुने गरेकाे उनको भनाइ छ । साथै पछिल्लो समय तरलताको समस्या कायम रहेकाले घरखर्च चलाउन गाह्रो भएकाले सेयर बिक्री गरेर समाधान गर्न खाेजेकाे उनको भनाइ छ । ‘खल्तिमा एक/दुई लाख पनि भएन भने उसले आफूसँग भएको सेयर बिक्री गरेर घर खर्च जुटाउन सक्छ, सेयरमा लगानी गर्दा बर्बाद भयो र प्यानिक भएको बेलामा सबैले बेच्न चाहन्छन्, यो अहिले हुन सक्दैन,’ उनले भने, ‘कुनै उद्योगी व्यवसायीको ब्याज तिर्न पर्नेछ भने सेयर बेचेर ब्याज तिरेका हुन्छन्, ब्याजको किस्ता तिर्न नसक्ने अवस्था आयो भने सेयर बेच्न सक्छन् ।’ नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) महेश शर्मा ढकाल पछिल्लो समय बैंकहरु मर्जरमा गएका कारण पनि सेयर बिक्री गर्न थालेको बताउँछन् । ‘धेरै बैंकहरु मर्ज भए, मर्जर भएपछि जुन बैंकमा आफ्नो प्रमोटर सेयर छ, त्यो बैंकबाट कर्जा लिन पाउँदैन, कुनै ब्यक्तिको बैंकमा प्रमोटर सेयर छ भने त्यो बैंकबाट कर्जा लिन पाउँदैन, कर्जा लिइरहेको बैंक प्रमोटर सेयर भएको बैंकसँग मर्ज भयो,’ उनले भने, ‘आफु प्रमोटर भएको बैंकसँग मर्ज भयो भने कर्जा लिन नपाउने भएकाले सेयर बेचेका हुन्, उनीहरुले कर्जा सेटल गरे ।’ साथै, कर्जा सेटल गर्न, ब्याज तिर्न वा रकम भुक्तानीका लागि सेयर बिक्री गरेको हुन सक्ने उनको भनाइ छ । उनका अनुसार आर्थिक स्थिती कमजोर भएकाले सेयर बेचेर आफ्नो व्यवस्थापन गरिरहेका छन् । बैंकको सेयर बेचेर पनि अन्य बैंकको ब्याज वा कर्जा चुक्ता गरेको हुन सक्ने उनले बताए । ‘बैंकको रिटर्न पनि कम हुँदै गएको छ किनभने चुनौति धेरै छन्, राष्ट्र बैंकले स्प्रेड दर घटाउन लगाएको छ, अन्य आम्दानीमा पनि सीमा तोकेको छ, कर्जाको शुल्कमा पनि तोकिएभन्दा बढी शुल्क लिन पाउँदैन,’ उनले भने, ‘राष्ट्र बैंकले कडाइ गर्दै आएको छ, पहिला आम्दानी धेरै हुन्थ्यो, अहिले घटेको छ, अर्निङपर सेयर, रिटर्न अफ इक्विटी घटिरहेको छ, त्यसैले पहिलाको जस्तो नाफा कमाउने अवस्था अहिले छैन ।’ डीसीईओ ढकालका अनुसार बैंकको सेयर बिक्री गरेर अन्य व्यवसायमा लाग्ने स्थिती छैन । बैंकको भन्दा बढी नाफा आउने ठाउँ भएपनि लगानी गर्ने वातावरण नबनेको उनले बताए । ‘बैंकभन्दा आकर्षक रिटर्न दिने संस्थाहरु छन्, सुरक्षित रुपमा दीर्घकालसम्म लगानी गर्न मिल्ने संस्था बैंक हुन्, लगानी गरेर दीर्घकालमा ठूलो फाइदा लिनेले बेचेका छैनन्,’ उनले भने । एनआइसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेन्द्र रायमाझी पहिला जस्तो सेयर बिक्रीको चाम नरहेको बताउँछन् । सबैभन्दा बढी प्रमोटर सेयर बिक्रीको काम एनआईसी एशिया क्यापिटलले गर्ने गरेको भएपनि पछिल्लो समय खासै नआएको उनले बताए । ‘पहिला र अहिलेको तुलना गर्दा खासै वृद्धि भएको छैन, अहिले ठूला प्रमोटरहरु होल्ड गरेर बसेका छन् भने साना प्रमोटरहरु बिक्री गर्न थालेका छन्,’ उनले भने । संकटको बेलामा सबैभन्दा पहिला बजारमा हिट गर्ने गरेको उनको भनाइ छ । प्रमोटर सेयरधनीहरुले बोनस सेयरको अपेक्षा गरेका हुन्छन् । तर, बैंकको बोनस दर पनि घट्दै गएका कारण बेच्न थालेको उनले बताए । ‘संकटको बेला सबैभन्दा पहिला बिक्री हुने सेयर हो, तरलता पुर्ति गर्नका लागि पनि सेयर बेच्छन्, स-सानो २/३ हजार कित्ता सेयर पनि बिक्री भइरहेका छन्, यो सामान्य प्रक्रियाको विजनेश हो,’ उनले भने । उनका अनुसार केही लगानीकर्ता सेयर संख्या बढाउन नचाहेर पनि बेच्छन् । ठूलो संख्यामा सेयर बिक्री भएपछि चिन्ता लिनुपर्ने स्थिती आउने भएपनि साना साना सेयर बिक्रीमा आउँदा खासै फरक नपर्ने उनले बताए ।
उद्यमी जन्माउनमा अब्बल डीएभी स्कूल, माइक्रोसफ्टदेखि नासासम्म पनि छन् विद्यार्थी
‘शङकरलाल केडिया उद्योगपति र सामाजिक व्यक्ति हुनुहुन्थ्यो, उहाँका तीन छोराहरुमध्ये कान्छो छोराको १७ वर्षको उमेरमा निधन भयो’, डीएभी स्कुलका उप–प्रधानाध्यापक रामचन्द्र खनालले स्कुल स्थापनाको विषय कोट्याउँदै भने, ‘छोरा गुमाइसकेपछि छोराको नामलाई कसरी अमर राख्न सकिन्छ भनेर उहाँले विद्यालय खोल्नुभएको हो ।’ उप–प्रधानाध्यापक खनालका अनुसार केडियाले एउटा अभियानको रुपमा देशभरि नै विद्यालय खोल्ने विचार बनाए । खासगरी नेपालको संस्कृति तथा पूर्वीय वैदिक दर्शनको संरक्षण गर्ने उद्देश्यले उनले स्कुलहरुको सुरुवात गरेका हुन् । भारतको डिएभी विद्यालय अभियानले सनातन धर्ममा भएका सकारात्मक पक्ष र पूर्वीय वैदिक दर्शनलाई संरक्षण गर्दै पुस्तान्तरण गर्ने काम गरेको र सोही अभियानसँग जोडिएर अगाडि बढ्नेगरि केडियाले पनि नेपालमा विद्यालय खोल्ने अभियानको सुरुवात गरेको उप–प्रधानाध्यापक खनालले बताए । सन् १९९३ मा काठमाडौंको कालिमाटीमा १२ जना विद्यार्थीलाई भर्ना गरेर डीएभी सुशील केडिया विश्व भारती स्कुलको सुरु भयो । त्यसको तीन वर्षपछि ललितपुरको झम्सीखेलमा आधुनिक भौतिक पूर्वाधार संरचनासहित डिएभी स्थानान्तरण भयो । उप-प्रधानाध्यापक रामचन्द्र खनाल स्कुलको नाम विभिन्न अर्थ दिने धेरै शब्दहरु जोडेर बनाइएको छ । यो विषयमा पनि धेरैले धेरै कोणबाट अर्थ लगाउने गरेको तर यसको पछाडि दार्शनिक तथा वैचारिक विषय रहेको खनाल बताउँछन् । ‘पूर्वको वैदिक ज्ञानले विश्वलाई जीवन दर्शन सम्बन्धी एउटा दृष्टिकोण दिएको छ, एङ्लो भनेपछि आजको दिनमा पाश्चात्य जगतले जुन उपलब्धि हासिल गरेको छ, त्यसलाई पनि हामीले सँगै लिएर जानुपर्छ’, खनालले भने, ‘त्यही दर्शनका आधारमा दयानन्द एङ्लो वैदिक रहन गएको हो ।’ स्कुल केडियाको स्वर्गीय छोराको स्मृतिमा खोलिएको हुनाले सुशील केडिया र विश्व भनेको संसार र भारती भनेको सरस्वतीको एउटा नाम रहेको उनले प्रस्ट पारे । केडियाले नेपालका डीएभी केडिया विश्व भारती सबैै जिल्लामा स्कुल खोल्ने अभियानको सुरुवात गर्ने तयारी गरे । त्यसको उनले एउटा छाता संस्था पनि निर्माण गरे । उनले नेपालका विभिन्न जिल्लामा डीएभीसँग जोडिएका विराटनगर, विरगञ्ज, हरिऔन, सर्लाही र काठमाडौंमा चारवटा विद्यालय खोले । तर, अभियानले पूर्ण साकार रुप लिन नपाउँदै उनको मृत्यु हुन पुग्यो । डिएभी अभियानसँग जोडेर छोराको स्मृतिमा केडियाले खोलेको स्कुल अहिले देशकै एउटा प्रतिष्ठित एवं आदर्श स्कुल बन्न सफल भएको छ । डीएभीमा अहिले किन्डर गार्डेन तहदेखि स्नातकोत्तरसम्मको पढाइ हुने गर्छ, जहाँ ७ हजार भन्दा धेरै विद्यार्थीहरुले पढ्छन् । जसमध्ये १० कक्षासम्म मात्रै ३ हजार विद्यार्थी छन् । सिबिएसई, राष्ट्रिय परीक्षा बोर्डको कक्षा ११ र १२, स्नातक र स्नातकोत्तर तहमा गरेर ७ हजार भन्दा धेरै विद्यार्थी भएको खनाल बताउँछन् । काठमाडौं उपत्यकाभित्र साना ठुला गरेर तीन हजार विद्यालयहरु छन् । उप–प्रधानाध्यापक खनालका अनुसार विशेष गरी विद्यालय तहमा डिएभीले यी सयौं विद्यालयहरुमध्ये प्रिथक र विशिष्ट पन बोकेको छ, त्यसैका कारण हजारौं विद्यार्थीहरुको आकर्षण डिएभिप्रति छ । डिएभी यस्तो स्कुल हो, जहाँ नेपाल सरकारको एसईई बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड र सिबिएसई बोर्डको शिक्षा विद्यार्थीले रोजेर पढ्न पाउँछन् । नेपाली पाठ्यक्रम र भारतीय पाठ्यक्रमका आ–आफ्नै विशेषता छन । संख्यात्मक रुपमा नेपाली पाठ्यक्रमको शैक्षिक कार्यक्रममा भन्दा भारतीय शैक्षिक कार्यक्रममा केही कम विद्यार्थीले पढ्ने गर्छन् । अध्ययन प्रव्रिmयामा भने सिबिएसई कार्यक्रममा विद्यार्थीहरुलाई सहज र विशिष्ट भएको खनालको भनाइ छ । ‘सिबिएसईको कार्यक्रममा विद्यार्थीको क्षमता अनुसारको सामग्री राखिएको छ, नेपाली पाठ्यक्रममा विषयवस्तु बढी छ, जस्तो सिबिएसईमा विद्यार्थीले ५ वटा विषय पढे पुग्छ भने नेपाली पाठ्यक्रममा ७ वटा विषय पढ्नुपर्छ’, उनले भने, ‘तर, नेपाली पाठ्यक्रम राम्रोसँग पढ्न सक्यो भने विद्यार्थीले भविष्यमा धेरै राम्रो गर्न सक्छन् ।’ अनिवार्य संस्कृत शिक्षा स्कुलले भाषा अध्ययनलाई विशेष जोड दिएको खनालको भनाइ छ । पछिल्लो समयमा अधिकांश सरकारी विद्यालयले हटाएको र निजी विद्यालयले मतलब नै नगर्ने संस्कृत भाषालाई डिएभी स्कुलले प्राथमिकताका साथ विद्यार्थीलाई पढाउने गरेको छ । कक्षा ५ देखि ८ सम्मको अध्ययनमा विद्यार्थीलाई संस्कृत भाषा पढाउने गरिएको छ । जसको लागि स्कुलले विशेष कक्षाको व्यवस्था गरेर सो भाषा सिक्ने व्यवस्था गरेको खनालको भनाइ छ । संस्कृत भाषालाई नेपाली र हिन्दी लगायत धेरै भाषाहरुको जननी भाषाको रुपमा मानिन्छ । संस्कृत भाषाको अध्ययन गर्दा विद्यार्थीको नेपाली तथा अंग्रेजी दुबै भाषा र अन्य विषयको अध्ययनमा समेत सघाउ पुर्याउने र विद्यार्थीको क्षमतामा वृद्धि हुने खनालले बताए । उनका अनुसार स्कुलले वैदिक परम्पराको संरक्षण गर्नको लागि पनि विद्यार्थीहरुमाझ विशेष अभ्यास गर्ने गरेको छ । जुन सामान्यतया अन्य स्कुलहरुले गर्दैनन् । स्कुलको शैक्षिक सत्रको सुरुवात, विशेष कार्यक्रमको सुरुवात र वा दैनिक शैक्षिक क्रियाकलापको शुरुवातमा वैदिक सांस्कृतिक परम्परालाई अवलम्बन गर्ने गर्छ । ‘हामीले हवन कार्यक्रम गरेर प्रत्येक शैक्षिक सत्रको सुरुवात गर्ने गर्छौं, त्यस्तै अन्य कुनैपनि मत्वपूर्ण कामको सुरुवात गर्नुपर्यो भने हामी हवन गर्छौं, कक्षाहरुको शुरुवात गर्दा वैदिक मन्त्रबाट सुरु गर्छौं’, उनले भने, ‘यसमा हामीले सबै विद्यार्थी र अभिभावकहरुलाई सहभागी गराउँछौं ।’ वैदिक ज्ञानलाई विद्यार्थीसम्म पुर्याउन साथै पुस्तान्तरण गर्नका लागि संस्कृत विषय पढाइएको उप–प्रधानाध्यापक खनालले बताए । साथै स्कुलले संस्कार सहितको शिक्षाको लागि जोड दिएको उनको भनाइ छ । ‘हामीले योगलाई पनि विषयको रुपमा राखेका छौं, सानो कक्षादेखि १२ कक्षासम्म नै हामीले योग शिक्षा दिने गरेका छौं’, उनले भने । स्कुलले दिनमा विद्यार्थीहरुलाई आठ प्रियड पढाउने गर्छ । जसमा नियमित कक्षाको अलावा, भाषा, योग, कला, खेलकुद, पुस्तकालय अध्ययन, गीतसङ्गीत, चित्रकला, लगायतका विषयहरुलाई विशेष ढंगले समेटिएको छ । स्कुलले बौद्ध महिला संघसँग समन्वय गरेर विद्यार्थीहरुलाई बौद्ध दर्शन र पालीको पनि ज्ञान दिने व्यवस्था मिलाएको छ । त्यसको लागि हप्तामा एक दिन सो भाषाको विषयमा विद्यार्थीलाई अध्ययनको व्यवस्था मिलाइएको उप–प्रधानाध्यापक खनालले बताउँछन् । हप्ताको एक दिन विहानको प्रार्थना गर्दा विद्यार्थीलाई पालीमा प्रार्थना गर्न लगाउने व्यवस्था समेत मिलाइएको उनको भनाइ छ । बुद्ध दर्शन भनेको पनि पूर्वी दर्शनको विशेष आयाम भएकाले सो विषयलाई प्राथमिकता दिएको उनले बताए । स्कुलले कक्षा ६ देखि ९ सम्म विद्यार्थीलाई जर्मन, फ्रेन्च र चाइनिज भाषा अध्ययन गर्ने व्यवस्था मिलाएको छ । विद्यार्थीले यी तीन भाषामध्ये कुनै एक भाषा रोजेर पढ्नुपर्ने उप–प्रधानाध्यापक खनालले बताए । त्यसको लागि सोही भाषाका शिक्षकको व्यवस्था गरिएको उनी बताउँछन् । भाषाले नै मानिसलाई विचार दिने र धेरै विषयमा जानकारी दिने हुँदा स्कुलले भाषालाई विशेष जोड दिएको उनको तर्क छ । विद्यार्थीलाई अनुशासनमा राख्ने भन्ने विषय निकै महत्वको विषय भएको तर त्यसको लागि अनुशासनमा बस भनेर मात्रै अथवा दण्ड जरिवाना गरेर, विशेष अनुशासनका नियम बनाएर अनुशासनमा राख्न नसकिने खनालको भनाइ छ । त्यसको लागि विद्यार्थीहरुलाई विभिन्न मोटिभेसनल कार्यक्रमहरुमार्फत् अनुशासनको दायरामा ल्याउने अभ्यास स्कुलले गरेको उनले बताए । विद्यार्थीहरुलाई पारिवारिक तथा सामाजिक रुपमा अनुशासित बनाउन सो अनुसारको उत्प्रेरणामुखी कार्यक्रम गर्नेगर्छ । जसको लागि आमा, बुवा, विभिन्न क्षेत्रका परिचित व्यवसायी लगायतसँग विद्यार्थीहरुलाई साक्षात्कार गराउने गरिन्छ । अनुशासनमा बस्ने, नियमित विद्यालय आउने, आफ्नो काम समयमै गर्ने, जिम्मेवार, सहयोगी, विनयी, विद्यार्थीहरुलाई विभिन्न पुरस्कार र हौसला दिएर अनुशासित र मर्यादित बनाउने गरेको कुरा खनालले बताए । यसले कक्षामा एउटा विद्यार्थी मात्र होइन कक्षाको र समग्र विद्यालयकै अनुशासन अब्बल रहने गरेको खनालको अनुभव छ । विद्यार्थीहरुबीचमा अतिथिहरुले आफ्नो अनुभव बाँड्दा विद्यार्थीको ज्ञान बढ्ने उप–प्रधानाध्यापक खनालको भनाइ छ । ‘मि एन्ड माई प्यारेन्ट्स’, ‘मि एन्ड माई प्रोफेसन’, र ‘मेरो बुवा’ मेरी आमा विद्यार्थीलाई अनुभव बाँडनको लागि स्कुलका चर्चित कार्यक्रम हुन् । त्यस्तै स्कुलले वैदिक संस्कृतिको पक्षलाई संरक्षण गर्ने उद्देश्यले सनातनी चाडपर्वहरुलाई विशेष उत्सवका साथ मनाउने तालिका नै बनाएको छ । पठन संस्कृतिको लागि पनि स्कुलले विद्यार्थीहरुलाई विशेष कार्यक्रम बनाएर महिनाको एउटा स्कुलमा पढाइ हुने बाहेकका पुस्तक पढ्नैपर्ने नियम बनाएको छ । किताबहरु पढिसकेपछि सो विषयलाई सेयर, चर्चा परिचर्चा गर्ने र उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने व्यवस्था गरेको खनालले बताए । ‘अहिले धेरै अभिभावकहरुले मेरो छोराछोरीले मोबाइल हेयोर्, पढ्न मान्दैन भन्ने गुनासो गरेको सुनिन्छ, तर, हामीले एउटा किताब पढ्नैपर्ने बनाएको तालिकाले विद्यार्थीमा पठन संस्कृतिको विकास भएको छ’, उनले भने, ‘एक जना विद्यार्थीले वर्षमा २० वटा सम्म पुस्तक पढेको पाइएको छ ।’ यसले गर्दा सम्बन्धित भाषाको मात्र होइन समग्र विषयकै उपलब्धी राम्रो भएको खनालको दाबी छ । विद्यार्थीहरुमा कहिलेकाहीँ आउने समस्याको लागि स्कुलले काउन्सिल टिम बनाएको छ । यदि कुनै विद्यार्थीमा धेरै थोरै समस्या देखिएमा सो टिमले सम्बन्धित विद्यार्थी र अभिभावकलाई काउन्सिल गर्ने गरेको उनले बताए । भाषाहरुको साथै अतिरिक्त क्रियाकलाप संगित, खेलकुद, योगा, आइटी लगायतका क्रियाकलापहरुको लागि छुट्टै जनशक्तिको व्यवस्था गरेको छ । साथै क्रियाकलापको अनुसन्धान र कार्यान्वनको लागि पनि स्कुलले छुट्टै जनशक्तिको व्यवस्था गरेर अनुसन्धानका आधारमा वार्षिक रुपमा कार्यक्रम थपघट गर्दै लैजाने व्यवस्था गरेको खनालले बताए । साथै उनका अनुसार पछिल्लो समयमा विकास भएको सूचना तथा प्रविधिलाई पनि स्कुलले उत्तिकै प्राथमिकता दिएर पढाउने गरेको छ । अन्य स्कुलहरुमा जस्तै आइटी लाइब्रेरी र कम्प्युटर कक्षा डिएभीमा पनि छ । त्यसबाहेक डिएभीले कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई अनिवार्य पेनलेस विधिबाट पढाउने अभ्यास गरेको छ । जसको लागि सो स्कुलमा पढ्ने सबै विद्यार्थीले हप्ताको एकदिन अनिवार्य ल्यापटप लिएर आउनुपर्ने हुन्छ र सो दिन पूर्ण प्राविधिक माध्यमबाट पढाउने खनालले बताए । सिबिएसई कार्यक्रममा अब्बल नेपालमा १६ वटा स्कुलहरुले सिबिएसई कार्यक्रम सञ्चालन गर्ने गर्छन् । त्यसमध्ये कक्षा १० र १२ का सधैंका परीक्षामा डिएभी पहिलो हुने गरेको छ । खनालका अनुसार भारतकै सिबिएसई बोर्डमा पनि डिएभीको अवस्था उत्कृष्ट रहेको उनले बताए । चालु शैक्षिक सत्रबाट सिबिएसईमा ९९ प्रतिशत ल्याउने गरी स्कुलले नयाँ कार्ययोजना सहित अगाडि बढाएको उनको भनाइ छ । अहिले स्कुलको अध्यक्ष अनिल केडिया र प्रधानाध्यापक डा. भुवनेश्वरी राव रहेकी छन् । विद्यालयले एकसय ९० भन्दा बढी शिक्षक र कर्मचारी समेत गरेर २५० भन्दा धेरैलाई रोजगार समेत दिएको छ । स्कुल भने निजी ट्रस्टको विधिमा सञ्चालन भइरहेको छ । तल्लो तहको कक्षादेखि कक्षा १२ सम्मको मासिक ट्युशन शुल्क १० हजारको हाराहारीमा मात्रै रहेको छ । स्कुलको एकेडेमिक शुल्कबाट भएको आम्दानीलाई ट्रस्ट सञ्चालक पक्षले अन्यत्र लगानी नगरेर सोही स्कुलको स्तरोन्नतिका लागि खर्च गरेको खनालले बताए । अभिभावकसँग लिएको शुल्कको तुलनामा गुणस्तर बढी दिएको कारण स्कुलमा विद्यार्थीको आकर्षण बढी भएको उनले बताए । उनका अनुसार डिएभीबाट अध्ययन गरेका विद्यार्थीहरु अमेरिकाको नासा, माइक्रोसफ्टदेखि विभिन्न प्रतिष्ठित उद्यम क्षेत्रमा पुगेका छन् । त्यतिमात्र होइन प्रविधिक र व्यवसायिक क्षेत्रमा यहाँ बाट पढेर उत्तीर्ण गरेका विद्यार्थीले राम्रो गरेको कुरा खनालले उल्लेख गरे ।