धमाधम पलायन हुँदै सीएहरु
(फोटो सामाजिक सञ्जालबाट साभार) काठमाडौं । सीए डा.सुवोध कुमार कर्णले चिनेजानेका केही विद्यार्थीहरुले हालै सीए पास गरे । सीए पास गरेपछि ती विद्यार्थीहरुले डा.कर्णसँग जागिर दिन माग गरे । तर, डा.कर्णले उनीहरुलाई विदेश जान सल्लाह दिए । नेपालमै बसेर बेरोजगार हुनु भन्दा विदेश जान उनले सुझाव दिए । चार्टर्ड एकाउन्टेन्ट्स पढेपछि रोजगारीका लागि भौँतारिनु पर्दैन, जागिर शुनिश्चित हुन्छ भन्ने मान्यता छ । यो मान्यता अन्तर्राष्ट्रिय हो । तर, यथार्थमा भने फरक छ । डा. कर्णका अनुसार पछिल्लो समय रोजगारीका अवसरहरु गुम्दै गएपछि सीएहरु धमाधम विदेश पलायन भइरहेका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अनुसार नेपालमा १ हजार २७८ जना सीएहरु छन् । आईक्यानबाहेक बजारमा २ हजार ५ सयभन्दा बढी सीएहरु रहेको अनुमान छ । नेपालमा ५/१० हजारसम्म चार्टर्ड एकाउन्टेन्ट्स (सीए) आवश्यक रहेको बुझिन्छ । यति थोरै संख्यामा रहेका सीएहरु नै शुनिश्चित भएको जागिरलाई चटक्कै छाडेर विदेश पलायन भइरहेको स्वयम् सीएहरु नै बताउँदै आएका छन् । नेपाली सीएहरु पलायन हुने क्रम बढ्दो रहेको जानकारहरु बताउँछन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सीए भास्कर सिंह लालाका अनुसार पछिल्लो समय जुनसुकै क्षेत्रका मान्छेहरु पलायन भइरहेका छन् । तर, अन्य क्षेत्रका युवाहरुको तुलनामा नेपाली सीएहरु धेरै रहेको उनले बताए । भर्खरका पासआउट भएका सीएहरु पलायन हुने संख्या बढी रहेको उनको भनाइ छ । ‘जुनसुकै क्षेत्रका मान्छेहरु पनि पलायन भइरहेका छन्, नेपालमा सीएहरुको संख्या कम छ, तैपनि भर्खरका भाईबहिनीहरु विदेश पलायन भइरहेका छन्,’ उनले भने । नेपालमा सीएहरुका लागि अवसर कम भएकाले विदेश गइरहेको उनले बताए । अवसर बढी पाइने ठाउँमा पलायन हुनु स्वभाविक रहेको उनको भनाइ छ । यदि स्वदेशमै अवसरहरु भएमा पलायन हुनु पर्ने बाध्यता नरहेको अध्यक्ष लाला बताउँछन् । उनका अनुसार कति जना विदेश पलायन भएका छन् भनेर गणना नगरेको भएपनि संख्या धेरै छ । ‘राम्रो भविष्य जसले पनि चाहन्छ, दक्ष जनशक्ति पलायन पक्कै भएका छन्, आईक्यानले को कहाँ गएको छ भनेर रिपोर्टिङ गरेको हुँदैन तर, अनुमानित वार्षिक ८० देखि १०० जना सीएहरु पलायन भइरहेका छन्,’ उनले भने । पछिल्लो समय अर्थतन्त्र संकट परेकै कारणले मात्रै पलायन भएको भन्न नमिल्ने अध्यक्ष लाला बताउँछन् । पहिला फाट्टफुट्ट विदेश पलायन भएपनि अचेल भने संख्या बढेको उनले बताए । सरकारको नीतिका कारण पनि सीएहरु पलायन हुनु परेको उनको गुनासो छ । ‘विदेशमा सीएहरुले छिटो काम पाउँछन्, पीआर पनि सहजै पाइरहेका हुन्छन्, त्यसैले संख्या बढेको हो, अर्थतन्त्र चलायमान भएपछि अवसर धेरै आउँछन्, स्वदेशमै नयाँ उद्योगधन्दा तथा ब्यापार व्यवसाय बढेपछि रोजगारी श्रृजना हुन्छ,’ उनले भने, ‘अन्यले मजदुरले पनि रोजगारी पाउँछन्, त्यसपछि विदेश जाने संख्या घटाउन सकिन्छ, आइक्यान एक्लैले मात्र विदेश जान रोक्न सक्दैन, विदेश नजानुस यहि नै तपाईको लागि सुरक्षित छ भन्ने स्थिती पनि छैन ।’ आइक्यानले उत्पादन गरेका दक्ष जनशक्ति देश तथा विदेशमा रोजगारीका लागि अब्बल हुने उनले बताए । नेपालमा पनि सीएहरुको माग धेरै भएपनि पलायन भइरहेको प्रति उनले चिन्ता ब्यक्त गरे । आईक्यानका काउन्सिल सदस्य आरए भोलानाथ पाठक नेपालमा अडिट गरेर जीवन धान्न गाह्रो भएकाले विदेश पलायन भइरहेको बताउँछन् । दैनिक २/४ जना नेपाली सीए विदेश गइरहेको उनको भनाइ छ । ‘स्वदेशमा अडिट गर्न गाह्रो छ, अडिट गर्ने की नगर्ने, प्रोफेसनमा जाने की नजाने भनेर दुविधामा छन्, त्यसैले नेपालमा अडिट गरेर खानुभन्दा विदेश जान सहज मानिरहेका छन्, दैनिक २/४ जना सीए अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश गइरहेका छन्, नेपालमा काम गर्ने मनस्थितीमा सीएहरु छैनन्,’ उनले भने । वाणिज्य बैंकका एक उच्च अधिकारीका अनुसार सीएहरुलाई स्वदेशमा काम गर्ने सहज वातावरण नभएकाले विदेश पलायन हुनु परेको छ । कम्पनीमा कार्यरत कर्मचारीले गरेको खुरापाति तथा घोटलामा सीएलाई फसाइने जस्ता गतिविधिले काम गर्न असहज रहेको उनको भनाइ छ । ‘यो देशमा काम गर्न सहज छैन, कुनै कम्पनीले एक वर्षमा खुरापाती काम गरेर घोटाला गरेका हुन्छन्, वर्षभरि २/३ सय शाखा कार्यालयमा भएको कारोबार सीएहरुले एकडेढ महिनामा हेर्छन्, कुनै कुरा छुटेपछि सीएलाई जेल हाल्छन्,’ उनले भने, ‘ अडिटरले स्याम्पल मात्रै परीक्षण गरेका हुन्छन्, सीएले केही पनि बदमासी गरेको हुँदैन, बिना कारण जेल जानुपर्ने देशमा कोही पनि बस्दैनन् ।’ कम्पनीका व्यवस्थापन समूह र सञ्चालकहरुले गरेको गल्तिमा सीएहरुलाई जेल हाल्नु न्यायसंगत नरहेको उनको भनाइ छ । सीए समेत रहेका उनी यो क्रम अझै बढ्ने बताउँछन् । उनका अनुसार कुनै पनि देशमा सीएहरुलाई जेल हाल्ने कानुन छैन । सीएहरुलाई आईक्यानले नियमन गरेर मात्रै कारवाहीको दायरामा ल्याउनु पर्ने उनले बताए । अन्य क्षेत्रबाट सीएहरुलाई ह्यारेसमेन्ट गर्ने किसिमका गतिविधि भइरहेको उनको भनाइ छ । ‘बदमासी गर्नेलाई कारवाही गर्नुपर्छ तर, आईक्यानको माध्यमबाट कारवाही हुनु पर्छ, आइक्यानले सिफारिस गरेपछि मात्रै जेल हाल्नुपर्छ, बिना कारण प्रहरीले झ्याप्पै समातेर लिन मिल्दैन,’ ती बैंकका अधिकारीले भने । उनका अनुसार नेपालमा करिब २ हजार ५ सय सीएहरु छन् । जसमध्ये ४ वर्षको अवधिमा ५ सय जना सीए विदेश पलायन भएका देखिन्छन् । अहिले पनि नेपालमा पढ्ने विद्यार्थी नहुँदा कलेजहरु रित्तिँदैछन् । एक महिनामा १० हजार विद्यार्थी विदेश पलायन भइरहेका छन् । उनीहरुले नेपालमा भविष्य नदेखेर विदेश पलायन भएको उनले बताए । ‘यो भयाभव स्थिती रोक्नलाई सबै कामहरु सिस्टममा चल्नुपर्छ, रोजगारी श्रृजना गर्नुपर्छ, अनावश्यक रुपमा व्यवस्थापन समूह र सञ्चालकहरुले गरेको गल्तिमा सीएलाई मुछ्ने काम बन्द भएपछि विदेश जाने संख्या कम हुन सक्छ,’ उनले भने । नेपाल राष्ट्र बैंकका सञ्चालक समेत रहेका सीए डा.कर्ण पास भएका सीएहरुले बजारमा काम नपाएको बताउँछन् । साथै, बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुँदा रोजगारीका अवसर पनि खुम्चिएको उनको भनाइ छ । ‘वित्तीय संस्थाहरु मर्ज हुँदा भएका कर्मचारी पनि निकाल्नु परेको छ, दुई वटा बैंक मर्ज हुँदा एउटा शाखा मात्रै सञ्चालन गर्नपर्ने हुन्छ, एउटा शाखा मात्रै हुँदा बाँकी कर्मचारी निकाल्नुपर्छ, काम गरिरहेका कर्मचारी निकालिरहेका बेला नयाँ कर्मचारी राख्ने स्थिती छैन,’ उनले भने, ‘सीए उच्च योग्यता भएको पद हो, त्यसैले उसले काम पाएको छैन, स्वदेशमा जागिर पाएन भने विदेश जानु पर्ने बाध्यता हुन्छ, सीएहरुको पलायन तिव्र भइरहेको छ ।’ नेपालमा बल्ल मन्दी सुरु हुन थालेको उनी बताउँछन् । अन्य क्षेत्रका कर्मचारी पलायन भएपनि सीएहरु धेरै रहेको उनको भनाइ छ । विदेशमा सजिलै काम पाइने भएपछि पलायन हुन लागेको उनले बताए । ‘जनताहरु ऋण तिर्न सकिरहेका छैनन्, शिक्षा हासिल गरेका विद्यार्थी बेरोजगार छन्, युवाहरु धमाधम विदेश पलायन भइरहेका छन्,’ उनले भने, ‘राजनीतिक दलहरु भने सत्ताकै लागि लुछाचुँडी गरिरहेका छन्, उनीहरुलाई को मन्त्री बन्ने, सत्ता कसरी टिकाउने भनेर चिन्ता छ, अर्थतन्त्र र जनताका विषयमा कसैलाई मतलब छैन ।’
यसरी पाउनुहोस् ३ प्रतिशत ब्याजमा २५ लाख कर्जा
काठमाडौं । सरकारले स्टार्टअप कार्यविधि बनाएर विनाधितो कर्जाको प्रक्रिया अगाडि बढाएको छ । बिहीबार उद्योग विभागले सूचना जारी गर्दै आइडिया धितो ‘स्टार्टअप उद्यम कर्जाका’ लागि परियोजना प्रस्ताव पेश गर्न आव्हान गरेसँगै यसको प्रक्रिया अगाडि बढेको हो । विभागले प्रक्रिया अगाडि बढाएसँगै अब तपाईं हामीमा भएको ‘आइडिया’ लाई पनि धितोमा राखेर ऋण लिन पाइने भएको छ । यदि तपाईंसँग कुनै नयाँ आइडिया छ भने त्यो आइडियालाई धितोका रुपमा राखेर बैंकबाट २५ लाख रुपैयाँसम्म ऋण लिन सकिन्छ । ‘स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ बमोजिम स्टार्टअप उद्यमका मापदण्डहरु पूरा गरेका तोकिएको क्षेत्रका नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका सहुलियतपूर्ण कर्जा लिन इच्छुक स्टार्टअप उद्यम गर्ने उद्यमीहरुले सूचना प्रकाशन भएको मितिले २१ दिन भित्र प्रस्ताव पेश गर्नु पर्नेछ,’ सूचनामा उल्लेख छ । कसले र कसरी पाउँछन् २५ लाख ? स्टार्टअप उद्यममा कर्जा प्रवाह गर्ने प्रयोजनको लागि उद्यम वा व्यवसाय स्थापना वा संचालन भएको ७ वर्ष ननाघेका व्यवसायीहरुले प्रस्ताव पेश गर्न सक्नेछन् । चुक्ता पुँजी ५० लाख रुपैयाँभन्दा बढी भएको, उद्यमको कुल आय (आम्दानी) वार्षिक ५० लाख रुपैयाँभन्दा बढी नभएको, स्थीर पुँजी (घर जग्गाको मूल्य बाहेक) २ करोड रुपैयाँभन्दा बढी नभएको, उद्यममा पूर्णकालिन कामदारको संख्या १० जनाभन्दा बढी नभएको हुनुपर्ने व्यवस्था गरिएकाे छ । कुनै वस्तु वा सेवाको उत्पादन वा वितरण प्रक्रियामा उपभोक्ताले भोग्दै आएको समस्यालाई समाधान गर्न सूचना प्रविधिको उपयोग एवं सृजनशिल सोचको प्रयोगको कार्य, उद्यमले वार्षिक रुपमा गर्ने कूल खर्चको कम्तिमा ५ प्रतिशत अंश उत्पादन विकास, बजार विकास एंव सृजनशिल सोचको प्रयोगको कार्य, उद्यमको बौद्धिक सम्पत्तिको पेडेण्ट वा डिजाइन वा सफ्टवेयर दर्ता भएको वा पेटेण्ट वा डिजायन वा सफ्टवेयर दर्ता गर्न योग्य रहेको हुनुपर्नेछ । यी विवरणहरु विभागमा पेश गरेपछि विभागको छनोट समितिले छनोट गरेका आधारमा तपाईंले ऋण पाउने प्रक्रिया अगाडि बढ्छ । कसले पाउँदैनन् कर्जा ? विभागले सस्तो ब्याजमा कर्जा पाउने स्टार्टअपको परिभाषा पनि दिएको छ । प्रचलित कानून बमोजिम नेपालमा दर्ता नभएको, सूचना प्रविधि एवं नविनतम् सोचको प्रयोग नगरी वस्तु वा सेवा विदेशबाट आयात गर्ने कार्य, विद्यमान कम्पनी वा व्यवसायलाई टुक्राएर बनाईएको वा सहायक कम्पनी वा फर्मको रुपमा काम गर्ने उद्यमीले कर्जा पाउने छैनन् । कर्जा सूचना केन्द्रमा कालोसूचिमा परेको वा त्यस्तो व्यक्तिबाट सञ्चालन भएको, कर प्रयोजनको लागि स्थायी लेखा नम्बर नलिएको, होल्डिङ कम्पनीको रुपमा औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम मझौला वा ठूला उद्योगको वर्गिकरणमा पर्ने उद्यम र प्रचलित कानूनले प्रतिबन्ध लगाएका अन्य विषयमा रहेका उद्यम वा व्यवसायलाई सरकारले स्टार्टअप व्यवसाय नमान्ने कार्यविधिमा उल्लेख छ । स्टार्टअप उद्यमले सरकारी लगानीको वाणिज्य बैंकमार्फत ७ वर्षका लागि कर्जा पाउनेछन् । यस्तो कर्जामा सावाँ भुक्तानी तीन वर्षपछि मात्रै गर्न पाइने सुविधा छ । यस्तो कर्जा प्रवाहका लागि सरकारले चालू आर्थिक वर्षमा २५ करोड रुपैयाँ बिनियोजन गरेको थियो । सुरुवाती चरणमा देशभर रहेका १०० स्टार्टअपलाई समेट्ने गरी बजेट विनियोजन गरिएको थियो । ३ प्रतिशत ब्याज स्टार्टअप उद्यमीलाई सरकारले तोकेको २५ लाख रुपैयाँ कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था छनोट गर्नेछ । जसको ब्याजदर ३ प्रतिशत हुने कार्यविधिमै उल्लेख छ । केन्द्रीय बैंकले नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको वाणिज्य बैंक मार्फत कर्जा प्रवाहका लागि सिफारिस गर्नेछ । यो भनेको नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक हुन् । छनोट समितिले गरेको सिफारिसका आधारमा केन्द्रीय बैंकले दुई किस्तामा कर्जा प्रवाह गर्नका लागि बैंक तोक्नेछ । जसमा पहिलो किस्तामा स्वीकृत कर्जाको ५० प्रतिशत रकम वितरण गर्नु पर्ने हुन्छ ।
नेपालबाट सिधा अष्ट्रेलिया उडान हुँदै, आकाशमै १५ घण्टा
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल–अष्ट्रेलिया सिधा उडानको तयारी थालेको छ । दुई देशबीच सिधा उडान गर्न गत वर्ष नै नेपालले हवाई सेवा सम्झौता गरिसकेको छ । उक्त सम्झौता अनुसार उडान सुचारु गर्न मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत् अष्ट्रेलियाको उडड्यन प्राधिकरणलाई पत्राचार गरेको हो । अष्ट्रेलियाबाट अनुमति पाएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले उडान गर्ने मन्त्रालयले जनाएको छ । ‘निगमले गरेको प्रस्तावका आधारमा हामीले परराष्ट्र मन्त्रालय मार्फत पत्राचार गरिसकेका छौँ, उताबाट अनुमति पाएसँगै दुई देशबीच सिधा उडान सुरु हुन्छ’, मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने । उनका अनुुसार निगमसँग भएको वाइडबडी जहाजले अष्ट्रेलियाको सिड्नी उडानको तयारी थालेको हो । निगमले सिंगापुरमा तेल भरेर सिड्नी उडान गर्ने प्रस्ताव गरेको हो । काठमाडौंबाट सिड्नी उडान गर्न १५ घण्टा लाग्ने भएकाले निगमले सिंगापुरमा तेल भरेर अष्ट्रेलिया उड्ने प्रस्ताव गरेको हो । काठमाडौंबाट सिंगापुर हुँदै सिड्नी पुगेर फर्कंदा करीब २५ घण्टा लाग्छ । दुई देशबीच भएको सम्झौताअनुसार दुई देशका वायुसेवा कम्पनीले सातामा ७ अर्थात् दैनिक एक उडान गर्न पाउने गरी सहमति भएको थियो । नेपाली वायुसेवा कम्पनीले सिड्नी, मेलबर्न, ब्रिसबेन र पर्थमा सात उडान र अन्य विमानस्थलहरुमा असीमित क्षमतामा उडान गर्न सक्ने समझदारी थियो । २७४ सिट क्षमताको वाइडबडीले कोरोनोको समयमा मलेसियामा हवाई इन्धन भरेर सिड्नी चार्टर्ड उडेका गरेको थियो । निगम भन्छ : जहाज नथप्दासम्म उडान हुँदैन निगमको आग्रहमा नै मन्त्रालयले पत्राचार गरिरहँदा निगमका अधिकारीहरु भने तत्काल अष्ट्रेलिया उडान सम्भव नभएको बताउँछन् । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले तत्काल जहाज उडान गर्न असम्भव भएको भन्दै मन्त्रालयमा पत्र पठाएका छन् । ‘हाल उडान भैरहेको गन्तव्यमा त जहाज अपुग छ, अष्ट्रेलिया उडानको तयारी थाल्नु आफैँमा मुर्खता हो,’ निगम स्रोतले भन्यो । छोटो दुरीका गन्तव्यमा समेत उडानका लागि जहाज अपुग हुँदा लामो दुरीको गन्तव्यमा उडान गर्नु भनेको निगमको उडान सेड्युल नै बिग्रानु रहेको ती अधिकारीले बताए । ‘हाल उडान भएका गन्तव्यमा जहाज कम हुँदा राम्रोसँग उडान भर्न सकिएको छैन, २५ घण्टाको बाटोमा उडान हुनु भनेको अन्य सबै गन्तव्यका उडान सबै रोक्नु हो’, स्रोतले भन्यो, ‘एक दिन जहाज बिग्रदा एक महिनाको सेड्युलमा असर पर्छ, २५ घण्टाको दुरीको उडान २ वटा जहाजले गर्नु असम्भव हो ।’ निगमका सहप्रवक्ता गणेशकुमार घिमिरे भने निगमले प्रक्रिया पूरा गरेर उडान गर्ने बताउँछन् । ‘हामीले आन्तरिक तयारी गरिरहेका छौँ, प्रक्रिया पूरा भएपछि उडान सुरु हुन्छ’, उनले भने । सीमित जहाज हुँदा उडानमा केही समस्या देखिन सक्ने आंकलन गरिएको उनले बताए । निगमले हाल चार जहाजमार्फत् दिल्ली, बैंकक, क्वालालम्पुर, बैंग्लोर, हङकङ, दोहा, नारिता, दुवइ, मुम्बई, रियादमा उडान गर्दै आएको छ। निगमसँग दुई वटा वाइडबडी र दुई वटा न्यारोवडी गरी अन्तर्राष्ट्रिय उडानका लागि ४ वटा जहाज छन् । लामो दुरीका गन्तव्यकोे उडानका लागि निगमले नयाँ जहाज खरिद प्रक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय तथा आन्तरिक रुटमा उडानका लागि जहाज खरिद गर्न निगमले उपमहाप्रबन्धक जनक कालाखेतीको संयोजकत्वमा समिति गठन गरेको छ । उक्त समितिले आन्तरिक उडानका लागि ट्विनअटर र अन्तर्राष्ट्रिय उडानका लागि न्यारोवडी जहाज खरिदको लागि आवश्यक तयारी थाल्नेछ । सुरुवाती चरणमा दुईवटा न्यारेवडी र आन्तरिक उडानका लागि तीनवटा ट्विनअटर र ट्रंक रुटका लागि दुईवटा एटीआर जहाज ल्याउन अध्ययन गर्नेछ । उक्त समितिले निगम सञ्चालक समितिलाई अध्ययन प्रतिवेदन पेश गर्नेछ । उक्त प्रतिवेदनलाई आधार बनाएर सञ्चालक समितिले निर्णय गरेर मन्त्रालयमा पठाइने निगमले जनाएको छ । निगमका अनुसार अब जहाज आकाशमै २५ घण्टा उड्नेछ । काठमाडौंबाट अष्ट्रेलिया र अष्ट्रेलियाबाट नेपाल फर्कन जहाजले आकाशमा २५ घण्टा उड्नु पर्ने हुन्छ ।