सिंहदरबारका कर्मचारीबीच गाईंगुईं : ‘गृहमा चार्म भनेको सुराकी भत्ता थियो, खाइदिए काजीले’

काठमाडौं । ‘तपाईं त सहायक सिडिओ भएर जानु न’, एक जना कर्मचारीले पदीय कुर्सीमा बसेका कर्मचारीलाई भने । ‘हो क्यारे माओवादीले सरुवा गर्दैनन्, फेरि दार्चुलाको सहायक सिडिओ बनाएर पठाए भने बर्बाद भएन ?’, कुर्सीमा बसेका कर्मचारीले जवाफ दिए । ‘अँ त नी’, अर्को कर्मचारीले थपे । प्रसंग बद्लियो । ‘गृहमा चार्म भनेको त्यही सुराकी भत्ता थियो, खाइदिए काजीले’, कार्यकक्षमा रहेका अर्का कर्मचारीले प्रशंग निकाले । ‘दिनको ५० हजार मन्त्रीले, २० हजार सचिवले चलाउन पाउँथे, तर, बन्द गरे’, अर्का कर्मचारीले भने । ‘हैन त्यो पैसा सबै आफै चलाउन पाउने त होइन नी’, कुर्सीमा बसेका कर्मचारीले नजाने जस्तो पारामा जिज्ञासा राखे । ‘त्यसको स्रोत नै नखोज्ने भन्ने छ नी त’, अर्का पाहुना कर्मचारीले भने । ‘खातामा राखेको सम्पत्तिको स्रोत त देखाउन पर्ला नी’, कर्मचारीहरुबीच वहस चुलियो । ‘त्यसोभए गृहको लेखालाई निकै झन्झट होला है ?’, सधैं चेक काट्न पर्ने’, अर्का कर्मचारीले प्रश्न गरे । ‘होइन महिना–महिनामा सचिवले बुझ्थे अरे, एकैपटकमा ५/६ लाख’ एकजना कर्मचारीले थपे । आइतबार यस्तै अनवरत छलफल हुँदै थियो, सिंहदरबारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको एक जना उपसचिवको कार्यकक्षमा । त्यतिबेलासम्म पंक्तिकार मौन भएर सुनिरहेका थिए । पंक्तिकार पत्रकार हुन् भन्ने विषय ती कर्मचारीहरुलाई जानकारी थिएन । सायद, त्यतिबेलासम्म उनीहरुले पंक्तिकार पनि आफ्नै मन्त्रालय मातहतका कर्मचारी हुन् भन्ने भ्रम ती कर्मचारीहरुमा थियो । त्यसैले त खुलेर बहस गर्दै थिए, सुराकी भत्ताको । पछि पंक्तिकार अपरिचित व्यक्ति हुन् भन्ने ठाने क्यारे ! एक कर्मचारीले बाहिर निस्कन भने। सिंहदरबारमा धेरै कर्मचारीहरु छन् । थोरैले काम गर्छन् र धेरैले जागिरको नाममा समय बिताउँछन् भन्ने विषय सिंहदरबारका कार्यालयमा एक फन्को लगाउने सबैलाई राम्रोसँग थाहा हुन्छ । नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेको दिन गरेको महत्वपूर्ण निर्णयले सिंहदरबारभित्रका कर्मचारीमा एउटा तरंग नै ल्याएको छ । ३२ वर्षदेखि गृहमन्त्री हुने राजनीतिक व्यक्ति र गृहसचिव हुने कर्मचारीले बेहिसाब बुझेको करोडौं रकम अब बाँड्न बन्द गर्ने निर्णय मन्त्री श्रेष्ठले गरेपछि कर्मचारीमा त्यसले अन्य सुविधा पनि खोसिने हुन की भन्ने आशंका पैदा गरेको सिंहदरबारका ती कर्मचारीको मनोविज्ञानले बताउँछ । गृहमन्त्रीले राम्रो निर्णय गरे भन्न सक्ने हैसियत कर्मचारीमा छैन । किनकी त्यो भनेको मुलुकमा कानुनको पालना गराउने कार्यकारी निकायमा भएको एउटा ठूलो अपारदर्शी र खुलेआम स्रोत थियो । जसले गर्दा कर्मचारीहरुलाई अन्य स्रोतको बचाउ गर्न निकै सहज भइरहेको थियो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा २०५० साल जेठ १३ गतेको मन्त्रिपरिषद् बैठकले सुराकी खर्च वापत मन्त्रीले ५० हजार र सचिवले २० हजार दैनिक खर्च गर्न पाउने निर्णय गरेको थियो । सो रकमलाई २०७८ असोज १४ गतेको मन्त्रिपरिषदको बैठकले २५ हजार पुर्याउने निर्णय गरेको थियो । पछिल्लो आर्थिक वर्षमा गृहसचिव पाण्डेले सुराकी परिचालनका नाममा ९२ लाख ९७ हजार रुपैयाँ मन्त्रालयबाट बुझेका थिए । महालेखा परीक्षकको कार्यालयले सुत्र/सुराकी परिचालनको खर्च अपारदर्शी भएको भन्दै लामो समयदेखि आफ्नो प्रतिवेदनमा औंल्याउँदै आएको छ । ‘मन्त्रिपरिषद्को २०५०/२/१३ को निर्णयानुसार शान्तिसुरक्षा कायम राखे प्रयोजनका लागि एक पटकमा गृहमन्त्रीले ५० हजार रूपैयाँ र गृहसचिवले २० हजार रूपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था छ । उक्त निर्णयका आधारमा यो वर्ष गृहमन्त्रीबाट ६२ लाख ५० हजार रूपैयाँ र गृह सचिवबाट ७५ लाख ५५ हजार रूपैयाँ समेत गरी १ करोड ३८ लाख ५ हजार रुपैयाँ खर्च भएको छ । उल्लेखित निर्णयमा एक पटकको खर्चको सीमा तोकिए पनि साप्ताहिक, मासिक वा कुनै निश्चित अवधि किटान नगरेकोले स्पष्टतासहित अवधि किटान गरिनुपर्दछ’, महालेखाले आफ्नो ५९औँ प्रतिवेदनमा उल्लेख गरेको छ । पूर्व सचिव बास्कोटा भन्छन् : गृहसचिव र मन्त्रीलाई यस्तो खर्च चाहिन सक्छ सचिवको भूमिकामा विभिन्न मन्त्रालयमा काम गरेर रिटायर्ड भएका कृष्णहरी बास्कोटा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेको निर्णयमा भने पूर्ण सहमत छैनन् । उनले शुत्र/सुराकी खर्च मन्त्री तथा सचिवले कुनैबेला खर्च पनि गर्नु पर्ने बताउँदै त्यसलाई राख्ने वा हटाउने भन्दा पनि नैतिकताले खर्च गर्नुपर्ने विषय भएको तर्क राख्छन् । ‘यस्तो विषय भनेको नैतिकता इमान्दारिताको विषय हो, यो व्यवस्था भएपनि त्यहाँ सुराकी खर्च लिन पाइन्छ भनेपनि नैतिकवान मान्छेले नचाहिँदो बेलामा सुराकी वापतको खर्च लेख्ने र लिने खाने कुरा गर्नु हुँदैन, तर चाहिँदो बेलामा फेरि कहिलेकाहीँ काम गर्न पनि पर्ने हुन सक्छ, त्यसैले यस्ता कुरा भनेको उच्च नैतिकताको कसीभित्रबाट हुनपर्छ, त्यसैले यस्तो कुरा खारेज गर्नु ठिक कि रहिरहँदा ठिक भनेर ठ्याक्कै ब्ल्याक एन्ड ह्वाइटमा जवाफ दिन चाहिँ कठिन हुन्छ’, बास्कोटाले भने ।

उमेशलाल समूहको स्ट्रेन्थ : दुई पूर्व अध्यक्ष र सातै प्रदेशका अध्यक्षको साथ, वस्तुगत तर्फका सदस्यको पनि टुङ्गो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि उमेशलाल श्रेष्ठ समूहले उम्मेदवारी घोषणा गरेको छ । श्रेष्ठले वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् भने उनको समूहबाट जिल्लानगर उपाध्यक्षतर्फ दिनेश श्रेष्ठ, एसोसिएट उपाध्यक्षतर्फ भरतराज आचार्य र वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी दिएका छन् । उम्मेदवारी घोषणा गर्दै उनको समूहले जित सुनिश्चित भएको दावी गरेको छ । जिम्मेवार निजी क्षेत्र समृद्ध अर्थतन्त्र भन्ने मुल नाराका साथ उम्मेदवारी दिएको सो समूहले व्यवसायिक हकहितलाई मुख्य एजेन्डा बनाएको छ । उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठले अहिले वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि आफ्नो टीम अगाडि बढ्ने बताएका छन् । उनले आफ्नो टीमलाई ६० वटाभन्दा बढी जिल्ला संघ र ८० वटाभन्दा वस्तुगत संघले साथ दिएकोले जित सुनिश्चित नै भएको दावी गरे । उनले आर्थिक काँचुली फेर्नका लागि महासंघमा निस्वार्थ काम गर्ने बताउँदै आफु तस्वीर खिचाउनका लागि मात्र महासंघमा प्रवेश नगर्ने धारणा राखे । उनले अहिलेको अवस्थामा व्यवसायिक हकहितका लागि महासंघमा कुशल र सक्षम नेतृत्व आवश्यक भएको बताउँदै आफुले घोषणा गरेको टीम सक्षम सवल र अनुभवी भएको उनको धारणा राखे । तीन उपाध्यक्षका उम्मेदवार भन्छन् : जितेरै देखाउँछौं वरिष्ठ उपाध्यक्ष श्रेष्ठको समूहमा तीन जना उपाध्यक्षले उम्मेदवारी दिएका छन् । हाल जिल्ला नगर उपाध्यक्ष रहेका दिनेश श्रेष्ठ पुनः उमेशलालकै समूहबाट जिल्ला नगरकै उम्मेदवार बनेका छन् भने वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र एसोशिएट उपाध्यक्षमा भरतराज आचार्यले उम्मेदवारी दिएका छन् । तीनै जना उपाध्यक्षले आफुहरुले जितेरै देखाउने दावी गरेका छन् । उम्मेदवारी घोषणा कार्यक्रममा बाल्दै जिल्ला नगरतर्फका उपाध्यक्ष श्रेष्ठले यो टिमले विजयी भएर देखाउने बताए । उनले मतदाताहरुलाई भोटको पनि अपील गरे । ‘अहिले निर्वाचनका लागि अन्य साथीहरु पनि उठ्नु भएको छ, उनीहरुले जे दिएपनि लिनुस् तर भोट हामीलाई हाल्नुस्,’ उनले भने । कार्यक्रममा उनले अर्थतन्त्र चलायमान गर्न, ब्याजदर घटाउन र कर घटाउने विषयमा लविङ गर्ने जिम्मेवारी आफ्नो टिमले लिने बताए । यस्तै, वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले पनि यो समूह अनुभवी र विभिन्न क्षेत्रमा काम गरेर क्षमता प्रदर्शन गरिसकेकोले आफ्नो समूहलाई भोट दिन आग्रह गरे । कार्यक्रममा एसोशिएटतर्फका उपाध्यक्ष भरत आचार्यले भने अझै पनि सर्वसम्मत किसिमले अगाडि बढ्न सक्ने समय भएको धारणा राखे । ‘मेरो पहिलेदेखि नै नेतृत्व सर्वसम्मत गरौं भन्ने भनाइ थियो, अहिले पनि त्यही छ, अझै समय छ, मेरो सबैलाई अनुरोध छ, मिलेर अगाडि बढौं, नेतृत्वलाई सर्वसम्मत चयन गरौं, अन्त्यमा प्रजातन्त्रिक अभ्यास त छदैछ,’ उनले भने । पूर्व अध्यक्ष र प्रदेश अध्यक्षहरुको पनि साथ उमेहलाल श्रेष्ठको समूहलाई केही पूर्व अध्यक्षहरुले पनि खुलेर साथ दिएका छन् । महासंघका अन्य पूर्व अध्यक्षहरु अहिले निर्वाचनको माहोलमा मौन रहेपनि पूर्व अध्यक्ष चण्डीराज ढकाल र विनोदबहादुर श्रेष्ठले उनको समूहलाई खुलेर साथ दिएका छन् । उनीहरु सोमबार भएको उम्मेदवारी घोषणा कार्यक्रममा पनि सहभागी भएर मतदातालाई भोट दिन अपील गरे । महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार श्रेष्ठ र पूर्व कोषाध्यक्ष निरज केसीले पनि श्रेष्ठको समूहलाई खुलेरै समर्थन गरेका छन् भने पूर्व उपाध्यक्ष किशोर प्रधानको समेत साथ रहेको बुझिएको छ । साथै, महासंघका हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समेत आफुलाई साथ दिएको उम्मेदवारहरु बताउँछन् । ढकाल भने कुनै पनि समूहमा खुलेका छैनन् । उनी मौन छन् । सोमबार भएको उम्मेदवारी घोषणा कार्यक्रममा पूर्व अध्यक्ष चण्डीप्रसाद ढकाल र विनोदबहादुर श्रेष्ठले सबै मतदातालाई उमेशलालको समूहलाई मतदान गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष ढकालले महासंघको गरिमालाई कायमै राख्न उमेशलालको समूहलाई मतदान गर्न मतदातालाई आग्रह गरे । उनले आफुसँग सातै प्रदेशका अध्यक्षहरु र विभिन्न वस्तुगत संघका अध्यक्षहरुले यति मत दिने बताएको उल्लेख गर्दै उमेशलालको समूहको जित सुनिश्चित भएको दावी गरे । उनले महासंघ पार्टीको भातृ संगठन जस्तो हुन नदिन यो समूहलाई मतदान गर्न आवश्यक रहेको धारणा राखे । यस्तै, पूर्व अध्यक्ष विनोदबहादुर श्रेष्ठले सबैले उमेशलालको टीमलाई चाहेको धारणा राखे । उनले निर्वाचनमा पूर्व अध्यक्षहरुको भूमीका महत्वपूर्ण हुने बताउँदै यस पटक उमेशलालको टिमले जित्ने पक्का भएको बताए । ‘महासंघको निर्वाचानमा पूर्व अध्यक्षको भूमिका महत्वपूर्ण हुन्छ, उमेशलालको योगदान महासंघमा महत्वपूर्ण छ र महासंघको गरिमा कायमै राख्न यो टीमको आवश्यकता छ,’ उनले भने । यस्तै, उमेशलाल समूहको उम्मेदवारी घोषणा कार्यक्रममा अधिकांश प्रदेशका अध्यक्षहरुको पनि सहभागिता रहेको थियो । कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, कर्णाली प्रदेशका पदमबहादूर शाही, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन, बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी र सुदूर पश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटी उमेशलालकै टीममा रहेको उनको दावी छ । वस्तुगत सदस्यहरुको पनि टुङ्गो उमेशलाल श्रेष्ठको समूहले वस्तुगततर्फका सदस्यका उम्मेदवारहरुको पनि टुङ्गो लगाएको छ । उपाध्यक्षसहित १४ जना कार्यकारिणी सदस्य निर्वाचित हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार उमेशलाल समूहले १४ जनाको नाम नै टुङ्गो लगाएर सोमबार घोषणा गरेको हो । यो समूहको अर्को स्ट्रेन्थ यो पनि हो । महासंघको विधान अनुसार जिल्ला नगरबाट ३३ जना, एसोसिएटबाट १९ र वस्तुगतबाट १४ जना सदस्य चुनिने व्यवस्था छ । वरिष्ठ उपाध्यक्ष श्रेष्ठका अनुसार जिल्ला नगर र एसोशिएटतर्फका सदस्यहरुको टुङ्गो पनि छिट्टै लाग्नेछ ।

विदेश जाने बढेसँगै बीमा कम्पनी मख्ख, नाफामा उछाल आउने

काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारमा जानेको संख्या दिनानुदिन बढ्दो छ । स्वदेशमा भन्दा विदेशमा राम्रो अवसर देखेको र देश आर्थिक संकटको घडीमा रहेसँगै विदेश जानेहरुको क्रम ह्वात्तै बढेको हो । विदेश जानेको संख्या बढेसँगै त्यसको सकारात्मक प्रभाव जीवन बीमा कम्पनीहरुको वैदेशिक रोजगार बीमालेखमा परेको छ । गत साउनमा ८ लाख ७९ हजार जनाले उक्त बीमा गरेका थिए भने फागुनसम्ममा संख्या बढेर १३ लाख ९३ हजार नाघेको छ । जसले प्रिमियम संकलन पनि ह्वात्तै बढाएको छ । चालु आर्थिक वर्ष अर्थात साउनदेखि फागुनसम्ममा मात्रै यो बीमा पोलिसीबाट २ अर्ब २३ करोड १३ लाख रुपैयाँ प्रिमियम संकलन भएका छन् । जुन गत साउनको तुलनामा ८०९ प्रतिशत बढी हो । गत साउनमा ५ कम्पनीले उक्त बीमा पोलिसीबाट २४ करोड ५४ लाख रुपैयाँ संकलन गरेका थिए । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित एवं मर्यादित बनाउन साविकको बीमा समिति (हाल नेपाल बीमा प्राधिकरण) ले वैदेशिक रोजगार (म्यादी) जीवन बीमा सम्बन्धमा निर्देशिका ल्याएको हो । सोही अनुसार जीवन बीमा कम्पनीहरुले उक्त पोलिसी बिक्री गरिरहेका छन् । उक्त पोलिसी बिक्री गर्नेमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये ११ वटा कम्पनी मात्रै आवद्ध छन् । आवद्ध रहेका ११ वटा कम्पनीमध्ये १० वटा कम्पनीले मात्रै उक्त पोलिसी बिक्री गरेका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले भने चालु आवमा वैदेशिक रोजगार बीमालेख बिक्री नगरेको बीमा प्राधिकरणले तथ्यांकले देखाएको छ । समीक्षा अवधिमा सन नेपाल लाइफले सर्वाधिक प्रिमियम उठाएको छ । इन्स्योरेन्सले फागुनसम्ममा वैदेशिक रोजगार बीमालेख बिक्री गरि ८३ करोड ७१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन गत माघको तुलनामा ८.०३ प्रतिशतले बढी हो । गत माघसम्ममा कम्पनीले ७७ करोड ४९ लाख रुपैयाँ बराबरको उक्त पोलिसीबाट प्रिमियम गरेको हो । त्यस्तै, प्रतिशतको आधारमा सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा नेपाल लाइफ छ । माघदेखि फागुनसम्मको एक महिनामै नेपाल लाइफले ५२.३९ प्रतिशतले प्रिमियम बढाएर २ करोड ४२ लाख बढी रुपैयाँ संकलन गरेको छ । त्यसैगरी रिलायन्स लाइफले ४१.४९ प्रतिशत, नेशनल लाइफले ३६.७९ प्रतिशत, आइएमई लाइफले २१.६५ प्रतिशत, रिलायबल नेपाल लाइफले १८.१६ प्रतिशत र सिटिजन लाइफले १०.७७ प्रतिशतले वैदेशिक रोजगार बीमालेख बिक्रीबाट प्रिमियम उठाएका छन् । १० कम्पनीमध्ये पनि ७ वटा कम्पनीले अर्बौं बढी प्रिमियम संकलन गरेका छन् । जसमा सन नेपाल, सूर्यज्योति लाइफ, आइएमई लाइफ, नेपाल लाइफ, सानिमा लाइफ, सिटिजन लाइफ र रिलायबल नेपाल लाइफ रहेका छन् । बाँकी तीन कम्पनी नेशनल लाइफ, रिलायन्स र प्रभु लाइफले १० करोडभन्दा कम प्रिमियम संकलन गरेका छन् । ‘कुनै पनि व्यक्ति वैदेशिक रोजगारमा जाँदा बीमा अनिवार्य गर्नुपर्ने व्यवस्था छ, त्यसको प्रत्यक्ष प्रभाव जीवन बीमा व्यवसायमा परेको हो,’ सूर्यज्योति लाइफका प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार खत्रीले बताए । व्यवसाय बढेसँगै नाफामा वृद्धि हुने उनको भनाई छ । ‘प्रिमियम आएपछि क्लेम अनुसारको भ्यालुएशन गर्नुपर्ने हुन्छ, उक्त भ्यालुएशनको रिर्पोटको आधारमा नाफामा कति असर गर्छ भन्ने हुन्छ, प्रिमियम बढेपछि नाफा ह्वात्तै बढ्छ भन्ने हुँदैन तर केही सुधार हुन्छ,’ उनले भने । कुन इन्स्योरेन्सले कति उठाए ?