‘अर्थतन्त्र सुधार गर्न घरजग्गामा मन्दी लाउनु पर्छ’
पछिल्लो समय अमेरिकाका केही बैंकहरुमा समस्या देखियो । लामो सयमदेखि एकदमै कम ब्याजदर भइराखेको अवस्थामा पछिल्लो एक वर्षको समयमा ब्याजदर बढेर ४ प्रतिशत भन्दा बढी भयो,बैंक डुब्नु एउटा यो कारण पनि हुन सक्छ । सिलिकन भ्याली बैंकको हकमा भन्दा खासगरी अव्यवस्थित म्यानेजमेन्टको कारणले समस्या आएको देखिन्छ । सिलिकन भ्याली बैंकमा खासगरी ठूलो संख्यामा नभएर निश्चित संख्यामा अमेरिकाका धनाड्य वर्गका व्यक्तिहरुको निक्षेप रहेको अवस्था थियो । त्यहाँ एउटा ग्राहकको निक्षेप नै एक मिलियन डलर बराबर रहेको अवस्था थियो । ति निक्षेपकर्ताहरु त्यहाँका राम्रो करदाता र बजारको सूचनामा पहुँच राख्ने स्तरका थिए । सिलिकन भ्याली बैंकका निक्षेपकर्ताहरुले अत्यन्तै न्यून ब्याजदरमा विशेषगरी बहुवर्षे ट्रेजरीमा बढी पैसा राखेको अवस्था थियो । ब्याजदर बढिसकेपछि बन्डको भ्यालु घट्ने अवस्थाको सिर्जना भयो, जसले गर्दा निक्षेपकर्ताहरुले आफ्नो निक्षेपलाई निकाल्न शुरु गरे । सो प्रकृयामा निक्षेपबाट बाहिरिने परिमाण बैंकको ब्यालेन्ससिट भन्दा तल आयो र बैंक बन्द हुने अवस्थामा पुग्यो । सिग्नेचर बैंकको ठूलो लगानी क्रिप्टो क्षेत्रमा भएकाले समस्या देखिएको हो । विशेषगरी सिलिकन भ्याली बैंकले अमेरिकाको अर्थतन्त्रमा नै ठूलो अर्थ पनि राख्छ । किनकी त्यहाँ ठूला निक्षेपकर्ताहरुको निक्षेप रहेको छ । जसमा आउने प्रभावले अमेरिकाको अर्थतन्त्रमा पनि प्रभाव पार्छ । स्वीट्जरल्यान्डको स्वीस क्रेडिट बैंक जुन कुनै बेला देशकै दोस्रो ठूलो बैंकको रुपमा रहेको थियो । तर, सो बैंक लामो समयदेखि समस्यामा रहँदै आएको थियो र त्यसलाई सम्बोधन गर्न नसकेपछि समस्या आएको देखिन्छ । अमेरिकादेखि स्वीट्जरल्यान्ड सम्मका बैंकमा आएका समस्याहरु अर्थराजनीतिक वा प्रणालीगत रुपमा आएका हुन भनेर भन्न भने मिल्दैन । किनभने ‘मार्केट बेस इकोनोमी’मा यस्तो समस्याहरु आउने क्रम भइरहन्छ । सन् २००८ तिर पनि अमेरिकाका बैंकहरुमा समस्या देखिएको थियो र अहिले पनि केही बैंकहरुमा समस्या देखियो । निजी क्षेत्रबाट सञ्चालित बैंकहरुमा समस्या सिर्जना भएपछि नियामकले समयमा नै बेलआउट गर्ने र सरकारले जिम्मेवारी लिने गर्दा बैंकहरुलाई पनि समस्या नहुने भन्ने प्रकारको प्रवृत्ति देखिएको होकी भन्ने प्रश्न चाहिँ उठेको पाइन्छ । तर, त्यसरी बैंकहरुमा आएको समस्याका कारण समग्र अर्थतन्त्रमा नै प्रभाव पार्न सक्छ भनेर समयमा नै बेलआउट गर्ने गरिएको हो भन्ने देखिन्छ । अमेरिकी बैंकहरुमा देखिएको समस्यालाई हेर्दा २००८ मा देखिएको समस्या र अहिलेको समस्या भने एकै प्रकारका होइनन् । २००८ तिर देखिएको समस्या ‘सिस्टमेटिक’ थियो, त्यसपछि अमेरिकाको बैंकिङ क्षेत्रमा निकै ठूलो सुधार भइसकेको छ । त्यसपछिको अवस्थामा ‘क्यापिटल बफर’मा निकै बलियो सुधार भएको छ । जसले गर्दा सानातिना घाटाहरुलाई थेग्नसक्ने अवस्थामा बैंकहरु पुगेका छन् । सरकार बैंकहरुको बचाउमा अगाडि आउन हुँदैन सेयरहोल्डरहरुले नै त्यसको जिम्मेवारी लिनुपर्छ भन्ने प्रसंग पनि उठेको थियो । अमेरिकामा फाइनान्सियल सेक्टरको लवी निकै वृहत स्तरमा छ, जसले गर्दा उनीहरुले सेयरहोल्डरहरुलाई मात्रै भार पर्ने अवस्था सिर्जना हुन दिँदैनन् । सरकारले अथवा केन्द्रीय बैंकले डुब्न लागेका बैंकहरुको सन्दर्भमा बेल आउट गर्ने भनेकै घाटालाई सार्वजनिकीकरण गर्ने भन्ने हुन्छ । मैले यसलाई ‘लेमन सोसोलिजम’को रुपमा टिप्पणी गर्ने गरेको छु । यो भनेको नाफा भनेको निजी क्षेत्रलाई र घाटा हुँदा त्यसलाई सार्वजनिकीकरण गर्ने भन्ने हुन्छ । तर, अमेरिकाले अख्तियार गर्ने उदार अर्थराजनीतिको विपरित पटक–पटक उसको उपस्थिति भएन र भन्ने कोणबाट पनि प्रश्न उठेको छ । मलाई पनि त्यस्तै लाग्छ । मार्केटमा आउने बद्लाव वा समस्याहरुलाई उसले आँफैले नै करेक्सन गर्छ, मार्केटलाई नै सो विषय छोड्नुपर्छ भन्ने हो । तर, ‘क्लासिकल इकोनोमिक्स र केनेसियन इकोनोमिक्स’ इकोनोमिक्सको अवधारणामा केही फरक छ । केनिसियन इकोनोमिक्सले ‘सरकारले भूमिका खेल्न सक्ने’ कुरालाई स्वीकार गर्छ । बजारले सबै समयमा आफैले नियन्त्रण गर्ने हैसियत राख्दैन, कुनै समयमा गएर बजार फेल हुन्छ, त्यतिबेला सरकारले भूमिका निर्वाह गर्न सक्छ भन्ने मान्यता केनेसियनको छ । लामो समयमा बजार आफैले समस्याहरुलाई करेक्सन गर्न सकेपनि तत्कालीन प्रभावलाई नियन्त्रणमा लिनको लागि सरकारले भूमिका निर्वाह गर्नसक्छ भन्ने उनको भनाइ छ । तर अर्थशास्त्रीहरुले परिस्थिति हेरेर नै ‘क्लियर अफ’ गर्ने हो । अर्को कोणबाट हेर्दा, बैंकमा समस्या आउँदा सरकारले यथा समयमा भूमिका निर्वाह गर्न नखोजेको भए त्यो समस्याले ठूलो आकार लिन सक्थ्यो र बाइडन सरकारमाथि नै धेरै प्रश्न उठ्न सक्थ्यो । तर, घाटाहरुलाई सामाजिकीकरण गर्न हुँदैनथ्यो भन्ने विषयमा मेरो पनि मत रहेको छ । किनकी नाफाहरुलाई निजीकरण गर्ने र घाटालाई भने सामाजिकीकरण गर्ने विषय मिलेन । नेपालको अर्थतन्त्र र बैंकहरुको अवस्था नेपालका बैंकहरुको अवस्था पनि विगतको तुलनामा सकारात्मक छ भन्न मिल्दैन । नेपालको बैंकिङ क्षेत्रमा संरचनात्मक समस्या रहेको छ । देखिएका समस्याहरुलाई ‘पेन किलर’ को सहायताले सम्बोधन गर्ने कोशिस भएको छ । निजी क्षेत्रको अवस्था ‘क्रेडिट एक्जिक्ट’को अवस्थामा छन् । विगत ३० वर्षदेखि २० प्रतिशतका आधारमा बढेको कर्जा अनुत्पादक क्षेत्रमा लगानी गर्ने काम भएको छ । जसले गर्दा मुलुकको आर्थिक वृद्धिदरमा उल्लेखनीय भूमिका निर्वाह गर्न सकेन । हामीले ठूलो मात्रामा खर्च उपभोगमा मात्रै गरिरहेका छौं, जुन आयातमा निर्भर छ र रिक्स रिटर्नको लागि जग्गामा लागनी गरिरहेका छौं । अब यसले नयाँ नतिजा देखाउने समय आएको छ । पछिल्लो समयमा कर्जा लगानी वृद्धिदरको अवस्था ४ प्रतिशत सम्म झर्ने काम भएको छ । जसको प्रभाव समग्र अर्थतन्त्रमा देखिइसकेको छ । अब पहिलाजस्तो २० प्रतिशत कर्जा लगानीको वृद्धिदरको सम्भावना पनि देखिँदैन । आर्थिक क्रियाकलाप घट्न पुगेका छन्, सरकारको आम्दानी घटेको छ, यो भनेको ‘स्टेविलिटी भर्सेस ट्रेड अफ’ हो । यसलाई संरचनात्मक रुपमा सम्बोधन नगर्दासम्म यो समस्याबाट माथि निस्कन गाह्रो हुन्छ । अमेरिकी बैंकहरुमा देखिएका पछिल्ला घट्नाहरुलाई आधार नै नमान्दा पनि नेपालका बैंकहरु तेस्रो जेनेरेसनको रिफर्ममा जान जरुरी छ । यो भनेको सजिलो विषय होइन, सबैलाई कठिन लाग्छ । हामी नेपालीहरुले व्यक्तिगत रुपमा पनि व्यवहारहरुलाई परिवर्तन गर्न जरुरी देखिएको छ । हामीले क्षमता भन्दा बढी कर्जा लिएर पनि खर्च गर्ने गरेका छौं । यो हाम्रो प्रवृत्ति नै बनेको छ । यो भनेको व्यक्ति, परिवार र निजी क्षेत्र सबै तिर लागू भएको छ । यस्तो प्रवृत्तिलाई बैंकिङ क्षेत्रले पनि एउटा चरणसम्म मात्रै धान्न सक्छ सधैं त धान्न सक्दैन, अहिले हामी त्यही चरणमा आइपुगेका छौं । यदी हामी सबैले हाम्रो प्रवृत्ति र व्यवहारहरुलाई परिवर्तन गरेनौं भने सरकारले वा बैंकहरुले मात्रै केही गर्न सक्दैनन् । अर्थतन्त्रमा केही विषय यस्ता हुन्छन् की सरकार वा केन्द्रीय बैंकले चाहेर पनि नियन्त्रणमा लिन नसक्ने अवस्था हुन्छ । अहिले हामी त्यही चरणमा छौं । जस्तैः पहिलाजस्तै २० प्रतिशत कर्जा वृद्धिदरको अवस्था चाहियो भनेर राष्ट्र बैंकले भनेपनि अहिले सम्भव छैन । सन् २०१६ सम्मको अवस्थालाई हेर्दा व्यापार सन्तुलनको अवस्था रेमिट्यान्ससँग झन्डै बराबरको अवस्थामा थियो । तर, त्यसपछिको अवस्थामा भने रेमिट्यान्स आप्रवाहको अवस्था सात प्रतिशतले मात्रै बढ्न पुग्यो भने व्यापार घाटा १९ प्रतिशत सम्मले बढ्न पुग्यो । अर्थतन्त्रमा चुनौति केही वर्ष अगाडि नै देखिएको थियो तर कोरोना महामारीपछि मात्रै हामी झस्किन पुग्यौं । चुनौतिका संकेतहरु देखिएपछि नै सुधारको पहल गर्नुपर्ने थियो । अहिले जति महिनाको लागि आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चितिको अवस्थामा छ, यो भनेको क्षणिक रुपमा मात्रै भएको समाधान हो, अर्थात ‘पेन किलर’को सहायताले भएको हो । प्रतिव्यक्ति आम्दानीका आधारमा नेपालको जग्गाको मूल्य हेर्ने हो विश्वमा नै अगाडि रहेको अवस्था छ । जुन कुरा हुन सम्भव नै छैन । त्यसैले पहिलो यसको करेक्सन भनेको जग्गामा मन्दी लाग्नु पर्छ र लामो समयसम्म निरन्तर रुपमा हुनुपर्छ । नीतिगत रुपमा हेर्दा यसको लागि जग्गाको कारोबार शतप्रतिशत रुपमा बैंकिङ कारोबारबाट हुने व्यवस्था मिलाउनुपर्छ, जग्गा किन्ने व्यक्तिले स्रोत देखाउनुपर्छ । अहिले अवैधानिक पैसालाई ह्वाइट बनाउने सजिलो उपाय भनेको जग्गाको कारोबार भएको छ । हामीले कृषि क्षेत्रमा अहिले आयात गरिरहेका मूख्य पाँचवटा परिमाणमा विषयहरुमा आत्मनिर्भर हुने नीति अख्तियार गरेर कार्यान्वयन गर्न आवश्यक छ । त्यस्तै, पछिल्लो सयमा प्रविधिमैत्री सेवा क्षेत्रमा ठूलो सम्भावना देखिएको छ, सो विषयमा पनि आवश्यक अनुसन्धान गरेर वातावरण सिर्जना गर्न सकिन्छ । जसको माध्यमबाट नेपालमा नै बसेर ठूलो मात्रामा विदेशी मुद्रा भित्र्याउन सकिन्छ । ‘आईआईडिएस’ ‘इ–इकोनोमी’को नाममा यो विषयमा अध्ययन पनि गरिरहेको छ । यी लगायत हामीले कार्यान्वयन गर्न सकिने विषयहरुलाई प्राथमिकीकरण गरेर लागु गर्नुपर्छ । हामीले भारत र चीनको विकासबाट कुनै पनि किसिमको फाइदा लिन सकेनौं र आगामी दिनमा यी मुलुकको थप प्रतिस्पर्धात्मक विकास भनेको नेपालको लागि थप चुनौतिको विषय पनि हो । (अर्थशास्त्री विश्वास गौचनसँग नारायण अर्यालले गरेको कुराकानीमा आधारित)
ओछ्यानमा पैसाको नोटमाथि सुत्ने व्यक्तिको खोजी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ओछ्यानमा पैसाको नोटमाथि सुत्नेको खोजी भइरहेको बताएका छन् । गभर्नर अधिकारीले ओछ्यानमा नाटक गरी पैसाको नोटमाथि सुत्ने मान्छेको खोजतलासी भइरहेको जानकारी दिएका हुन् । पछिल्लो समय बैंकमा तरलता अभाव हुँदा केही व्यक्तिहरूले सामाजिक सञ्जालमा पैसाको नोट बिछ्याएर सुतेको फोटो सार्वजनिक गरेका थिए । सोही विषयमा राष्ट्र बैंकले अनुसन्धान गरिरहेको गभर्नर अधिकारीले बताए । ‘बजारमा पैसा कहाँ गयो ? कसले लुकायो भन्छन्, कसैले ओछ्यानमा नाटक गरी पैसाको नोटमा सुतेको फोटो देखिन्छ, त्यसरी ओछ्यानमा पैसाको नोटमाथि सुत्नेलाई राष्ट्र बैंकले अध्ययन गर्दैछ,’ उनले भने । गभर्नर अधिकारीले ‘ट्रेस’ गरेर ओछ्यानमा पैसामाथि सुत्ने व्यक्तिको खोजी गरिरहेको बताए । त्यसरी पैसा माथि सत्नु गलत भएको उनको भनाइ छ । ‘त्यो विषयमा हामीले ‘ट्रेस’ गर्दैछौँ, पत्ता लगाइ रहेका छौँ, त्यसरी पैसा माथि सुत्नु गलत हो, ती व्यक्तिको खोजी गरेर छानबिन गर्ने काम भइरहेको छ,’ उनले भने । साथै पछिल्लो समय बजारमा नोटको सर्कुलेसन घटेको उनको भनाइ छ । डिजिटल भुक्तानी बढेका कारण एक खर्ब रुपैयाँ बराबरको नोट सर्कुलेसन घटेको उनले बताए । ‘पहिलाको भन्दा उल्लेख्य रुपमा सर्कुलेसन घटेको छ, डिजिटल पेमेन्टको असर धेरै राम्रो परेको छ, असार मसान्तमा सरकारको खर्च धेरै हुँदा र दशैँ तिहारमा नोटको सर्कुलेसन बढी हुन्छ तर, विगत २ वर्षदेखि नोटको सर्कुलेसन बढाउनु परेको छैन,’ उनले भने, ‘२०७८ असोजमा सबैभन्दा धेरै ७२८ अर्ब रूपैयाँ बराबरको सर्कुलेसन भएको थियो, पछिल्लो तथ्याङ्क हेर्दा ६२७ अर्ब रूपैयाँमा झरेको छ ।’
अर्थमन्त्रीको पपुलिष्ट प्रतिवद्धता : सेयर बजार र घरजग्गाप्रति ‘ग्रीन सिग्नल’
काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् । उनले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिएसँगै साँझ सिंहदरबार पुगेर मन्त्रीको पदभार ग्रहण गरेका हुन् । सवा ३ बजे मन्त्रीको सपथ लिएका उनी राष्ट्रपति कार्यालयबाट सिंहदरबारस्थित अर्थमन्त्रालय पुगेका थिए । उनलाई मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्डका अध्यक्ष, बीमा प्राधिकरण अध्यक्ष लगायत अर्थमन्त्रालय मातहतका उच्च ओहदाका कर्मचारीले स्वागत गरे । स्वागतसँगै उनी सिधै अर्थमन्त्रालयको सूवर्ण हलमा पुगे । उनले बधाई थाप्दै धारणा राख्न सुरु गरे । काँग्रेसभित्र पनि लामो रस्साकस्सीकाबीच अर्थमन्त्री बनेका उनको अर्थमन्त्रालयको इन्ट्रीलाई धेरैले चासोका रुपमा हेरेका छन् । देशको अर्थतन्त्र सन्तोषजनक नभएको र लगानीको वातावरण बन्न नसकेको भन्दै उद्योगी व्यवसायीसँगै बैंकरहरुले पनि गुनासो गरिरहेका छन् भने सेयर बजारसँगै घरजग्गा व्यवसायमा पनि एक किसिमको मन्दी आएको छ । यो बेला अर्थमन्त्रालयको बागडोर सम्हाल्न आइपुगेका अर्थमन्त्री महतको इन्ट्रीलाई धेरैले गहन रुपमा हेरेका छन् । धेरैले अर्थमन्त्रालयमा उनको प्रवेशले अर्थतन्त्रमा सुधार आउने अपेक्षा गरेका छन् भने कतिपयले उनी उर्जामन्त्री हुँदा खासै राम्रो ‘पफर्मेन्स’ गर्न नसकेकोले अर्थमन्त्रालय पनि हाँक्न नसक्ने धारणा राखिरेहका छन् । तर, उनी अर्थशास्त्रमा विद्यावारिधि गरेको व्यक्ति भएको र अर्थतन्त्र सम्बन्धि राम्रो ज्ञान भएको हुन सक्ने भन्दै यो संकटकाबीच प्रभावकारी काम गर्न सक्ने अपेक्षा धेरैको छ । शुक्रबार अर्थमन्त्रीको रुपमा पदभार सम्हालेका उनले अर्थतन्त्रका सबै क्षेत्र तथा निकायलाई छुने प्रयास गरेका छन् । सरकारको आर्थिक सल्लाहकार राष्ट्र बैंकलाई मिलेर काम गर्न आग्रह गरेका छन् भने बैंक तथा वित्तीय संस्थाले लिने ब्याजदरको विषयमा पनि आफ्नो धारणा राखेका छन् । धेरैले अहिलेको मुख्य समस्या र चुनौतिका रुपमा बैंकको ब्याजदरलाई लिएका छन् । उद्योगी व्यवसायीहरुले बैंकको ब्याजदरलाई नै मुख्य मुद्दा बनाएर विरोध गरिरहेका छन् । तर, अर्थमन्त्री महतले त्यही विषयलाई टपक्कै टिपेर ब्याजदर घटाउनका लागि आफुले पहल गर्ने धारणा राखेका छन् । उनको यो अभिव्यक्तिले उद्योगी व्यवसायीको ‘मन छुन’ मद्दत पुर्याउन सक्छ । अर्थात् सुरुमै उनीप्रति उद्योगी व्यवसायीको ‘पोजिटिभ्स भाइव्स’ उत्पन्न हुन सक्छ भन्नेमा उनी राम्रोसँग जानकार रहेको बुझिन्छ । उनले आफु कर नबढाउने पक्षमा रहेको संकेत पनि देखाएका छन् । उनले करको दरभन्दा पनि दायरा बढाउने आफ्नो मख्य प्राथमिकतामा रहने धारणा राखेका छन् । लगानी भित्र्याएर राजस्वको दायरा बढाउने, राजश्व संकलनका लागि सरकारले उद्योगी व्यवसायीलाई करकाप नगर्ने उनको भनाइ छ । अहिले अर्थमन्त्रालय आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट निर्माणमा छ । अर्थमन्त्री महतले पहिलो दिनमै कर नबढाउने संकेत गरेपछि यसले पनि थप सकारात्मक चर्चा हुन सक्छ भन्नेमा उनी विश्वस्त देखिन्छन् । ‘संकटमा रहेको अर्थतन्त्र बचाउन जस्तोसुकै निर्णय पनि लिन सक्छु, अहिले ब्याजदरको विषयमा व्यापक चर्चा भएकोले ब्याजदर घटाउन पहल गर्नेछु, अनावश्यक रूपमा करको दर बढाउनेभन्दा पनि दायरा बढाउन तर्फ मेरो ध्यान हुनेछ,’ उनले भने । यस्तै, अहिले धेरैको ध्यान सेयर बजार र घरजग्गा व्यवसायमा पनि देखिएको छ । लगानीकर्ताहरुले सेयर बजारमा १४ खर्ब बढी गुमाएको बताइरहेका छन् भने घरजग्गा व्यवसायमा पनि मन्दी आउँदा यसको असर सबै क्षेत्रमा परेको बताइने गरिन्छ । यी दुई क्षेत्रमा लगानी गर्ने लगानीकर्ताका पीडा र दुःखहरु सुनिनसक्नु छ । यी दुवै क्षेत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले चिन्ता व्यक्त गरेका छन् । अर्थमन्त्री डा. महतले घट्दै गएको सेयर बजारर र घरजग्गा व्यवसायमा आएको मन्दीले लगानीकर्तालाई निराश बनाउँदै गएको र अब विभिन्न निकायको सहकार्य र समन्वयमा काम गर्ने बताएका छन् । यसअघिका अर्थमन्त्री र गभर्नरहरु सेयर बजार र घरजग्गा व्यवसायलाई अनुत्पादक क्षेत्र भनेर लगानी गर्न दुरुत्साहन गर्थे । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले समेत यसअघि सेयर बजारप्रति नकारात्मक टिप्पणी गरेका थिए । प्रचण्डले पुँजी बजारलाई साम्राज्यवादको विकसित रूप भनेको अभिव्यक्ति एकताका निकै चर्चामा आएको थियो । उनले पुँजी बजारलाई बढाएर केही सीमित पुँजीवादीको हातमा अर्थतन्त्र पुर्याउने खेल सेयर बजार भएको बताएका थिए । अहिले उनै प्रचण्ड नेतृत्व सरकारको अर्थमन्त्री महत बनेका छन् । अर्थमन्त्री महतले भने यी दुई क्षेत्रप्रति ‘ग्रिन सिग्नल’ देखाएका छन् । उनको यो ग्रिन सिग्नलले पनि लागनीकर्तालाई पक्कै पनि खुसी बनाउन सक्ने धेरैको अपेक्षा तर उनले आज राखेका धारणा सुरुमै सबैको ध्यान तान्न र आफुप्रति सकारात्मक दृष्टिकोण बनाउनका लागि हुन सक्ने शंसय धेरैमा छ । गभर्नरसँग सम्बध बढाउने प्रयास सरकारको मुख्य आर्थिक सल्लाहकार राष्ट्र बैंक हो । पूर्व अर्थमन्त्री जनार्दन शर्मालाई गभर्नर महाप्रसाद अधिकारीले साथ नदिएको विषय पनि उत्तिकै चर्चामा छ । परिणाम स्वरुप गभर्नर अधिकारीलाई शर्माकै प्रस्तावमा शेरबहादुर देउवा नेतृत्वको सरकारले निलम्बन समेत गर्यो । तर, पछि सर्वोच्च अदालतलले उनलाई राष्ट्र बैंकमै फर्कायो । अर्थमन्त्रालय र राष्ट्र बैंकबीच ट्युनिङ नमिलेको भन्दै धेरैले आलोचना समेत गरे । त्यसपछि अर्थमन्त्रीका रुपमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आएपछि अर्थतन्त्र सुधार भएको सूचक राष्ट्र बैंकले पनि सार्वजनिक गर्यो । अहिले अर्थमन्त्रीका रुपमा महत आएपछि उनले सुरुमै गभर्नर अधिकारीको सहयोग मागेका छन् । उनले अधिकारीसँग मिलेर अगाडि बढ्नु पर्ने धारणा राखेका छन् । अर्थमन्त्री महतले वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि राष्ट्र बैंकसहित सबै निकायले एक आपसमा समन्वय गरेर काम गर्नु पर्ने बताए । अहिले अर्थतन्त्रका देखिएको निराशालाई आशामा बदल्न सबैले सहकार्य गर्नु पर्ने उनको धारणा छ । ‘एक्लैले केही गर्न सकिँदैन, सबैसँग सहकार्य गरेर अगाडि बढ्छु, वर्तमान समस्या समाधानका लागि मलाई सबैको सहयोग आवश्यक छ, ‘लगानीको वातावरण सुधार गर्न राष्ट्र बैंकको मूख्य भुमिका छ, राष्ट्र बैंकको पनि मलाई सहयोग चाहिन्छ, हामीले मिलेर काम गर्नु पर्छ,’ अर्थमन्त्री महतले भने । उनले कार्यक्रममै कुनै पूर्वाग्रह नराखी काम गर्ने पनि बताएका छन् । ‘कुनै पूर्वाग्रह नराखी काम गरौं, सबैलाई समस्या छ, यी विभिन्न समस्या समाधानका लागि सबैले सहकार्य गरेर काम गरौं,’ उनले सोही वाक्यलाई दोहोर्याए । अर्थमन्त्री महतले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई मिलेर काम गर्न आग्रह गरे लगत्तै उनीसँग व्यक्तिगत भेटघाट पनि गरेका छन् । उनले अर्थ सचिव र राजस्व सचिवलाई सँगै राखेर गभर्नर अधिकारीसँग छलफल गरेका हुन् । यसले पनि उनले अर्थतन्त्र सुधारका लागि राष्ट्र बैंककै सहयोग चाहेको बुझिन्छ । धेरैले उनले आज पदवहालीपछि राखेको धारणालाई पपुलिष्ट बन्ने बाटोका रुपमा पनि चित्रण गरेका छन् ।