‘सेयर र घरजग्गामा कडाइ गरौं, बैंकहरु ओभर क्यापिटालाइज्ड भए’

काठमाडौं । पू्र्व अर्थमन्त्री डा.युवराज खतिवडाले सेयर र घरजग्गामा कडाइ गर्नुपर्ने बताएका छन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । शोधान्तरमा स्थितीमा सुधार नभएको र मुद्रास्फीति ८ प्रतिशतको नजिक रहेको बताउँदै उनले भने सतर्क हुनु पर्ने बताए । ‘अहिले पनि बैकहरु ओभर क्यापिटालाइज्ड भएका छन्, अब ऋण लगानी गर्नुस् निक्षेप उठाउनुस्, पूँजी पुगिसकेको छ, सेयर बजार र घरजग्गामा कडाइ गरौं,’ उनले भने । प्रत्येक वर्ष ३० प्रतिशतले बिजनेश बढ्दा पनि बैंकरहरु खुशी नभएको उनी बताउँछन् । साथै आफूले प्रयास गरेको भएपनि बैंक सञ्चालक र ब्यापारीहरु छुट्याउनु पर्ने उनको भनाइ छ । उनले बैंकको ब्याजदर एकल अंकमा हुनु पर्ने बताए । ‘बैंकका मालिक र बिजनेस म्यान छुट्याउनु पर्छ, मैले प्रयास गरको हो तर सम्भव भएन, अब आवश्यक छ,’ उनले भने, ‘निक्षेपको ब्याजदर एकल अंकमा र कर्जाको ब्याजदर न्यूनतम दोहोरो अंकमा राख्नुपर्छ ।’ उनले रिफाइनान्समा पैसा बढाउन आवश्यक रहेको बताए । साथै, सहकारीको नियमन राष्ट्र बैंकले गर्न नहुने उनको भनाइ छ । राष्ट्र बैंकले लाइसेन्स दिएर पनि लघुवित्तको नियमन गर्न नसकेको बताए । ‘सिआरआर सीडीलाई चलाउनु हुँदैन, सस्तो लोकप्रियताका लागि काम गर्नु हुँदैन, आफ्नो जिम्मेवारी के हो भन्ने बारे सोच्नु पर्छ, अर्कोको चिन्ता गर्नु हुँदैन,’ उनले भने ।

कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा पुगे लघुवित्त

काठमाडौं । पछिल्लो समय लघुवित्त वित्तीय संस्था विरुद्द आन्दोलन चर्किएपछि व्यवसाय विस्तार नहुँदा लघुवित्त संस्थाहरु मारमा परेका छन् । आफ्नो व्यापार व्यवसाय नै ठप्प भएपछि चालू आर्थिक वर्षमा कर्मचारीलाई तलब खुवाउन सकस परेको लघुवित्तकर्मीहरु बताउँछन् । लघुवित्त विरुद्धका पछिल्ला क्रियाकलापले विगतमा व्यवसाय नै ठप्प भएपछि नाफामा समेत संकुचन आएको उनीहरुको भनाइ छ । साथै, नियामक निकाय राष्ट्र बैंकले समेत लघुवित्तको व्यवसायमा कडाइ गरेपछि नाफामा सकुंचन आएको लघुवित्त सञ्चालकहरु बताउँछन् । नेपाल लघुवित्त बैंकर्स संघका पूर्व अध्यक्ष तथा विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वसन्त लम्साल लघुवित्त संस्थाहरु कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा पुग्न थालेको बताउँछन् । अहिले सबै कर्मचारीहरु ऋण असुलीमा लागेको भएपनि राम्रो रिकभरी हुन नसकेको उनको भनाइ छ । राष्ट्रले जारी गरेको निर्देशनले समेत अहिले काम गर्न नसकेको उनले बताए । ‘लघुवित्त संस्थाहरु अहिले ऋण असुलीमा लागेका छन्, राष्ट्र बैंकले केही खुकुलो निर्देशन जारी गरेको भएपनि त्यति धेरै सहज भएको छैन, राष्ट्र बैंकको निर्देशनले पनि काम गर्न सकेको छैन,’ उनले भने, ‘अहिले जसोतसो कर्मचारीलाई तलब दिइरहेका छौं, यस्तै स्थिति रहिह्यो भने कर्मचारीलाई तलब खुवाउनै नसक्ने अवस्था आउने हो की भन्ने चिन्ता छ, किनभने रिकभरी भएको छैन, ब्याज आम्दानी नभएपछि संस्था कसरी चल्छ, लघुवित्तको आम्दानीको स्रोत नै ब्याज हो ।’ उनका अनुसार लघुवित्त संस्थाहरु अप्ठ्यारोमा स्थितिमा सञ्चालन भइरहेको उनको भनाइ छ । यदि लघुवित्तको स्रोत नै बन्द भएपछि कर्मचारीलाई तलब दिन नसक्ने उनको भनाइ छ । राष्ट्र बैंकसँग थप सुविधा मागेको उनले बताए । ‘सबै संस्थालाई भन्दा पनि केही संस्थालाई ठूलो समस्या पर्न सक्छ, वित्तीय अवस्था कमजोर भएका संस्थालाई प्रभाव पार्ने देखिन्छ, कर्मचारीलाई तलव नै नदिन सकिने हो की भन्ने डर छ, अहिले कुनै पनि लघुवित्तले कर्मचारी निकालेका छैनन् तर, विजनेश बढ्ने सम्भावना कम भएकाले कटौति गर्नु पर्ने हुन्छ,’ उनले भने । उनका अनुसार लघुवित्त विरुद्धका घटनाले मात्रै यस्तो अवस्था आएको होइन । अहिले मन्दीको बेला समग्र क्षेत्रमा यस्तै स्थिती रहेको उनले बताए । जाल्पा सामुदायिक लघुवित्तकी सीईओ विमला योगी अहिले लघुवित्तकर्मीहरु ऋण असुलीमा लागेको हुँदा चौंथो त्रैमास पछि मात्रै के हुने भने एकिन हुने बताउँछिन् । यदि असार मसान्तमा लघुवित्तमा ठूलो क्षय नआएमा मात्रै कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्था आउने उनको भनाइ छ । ‘अहिले लघुवित्त संस्थाहरु टिकिरहेका छन्, असार मसान्तमा धेरै ठूलो क्षय भयो, संस्था घाटामा गयो, खराब कर्जा १० प्रतिशत भन्दा बढी पुग्यो भने कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्था आउन सक्छ तर, थोरै संस्थाहरु मात्रै सुरक्षित अवतरण गर्छन् होला,’ उनले भने, ‘लघुवित्त संस्थामा रिकभरी सोचे जस्तो भएको छैन तर, विस्तारै हुने अपेक्षा छ ।’ अहिले जाल्पा सामुदायिक लघुवित्तको खराब कर्जा ७.५ प्रतिशत छ । उनका अनुसार अब लघुवित्तको खराब कर्जा घट्दै जाने छ । लघुवित्त विरुद्धको संघर्ष समितिको आन्दोलनले आर्थिक क्रियाकलाप नै ठप्प बनाएको उनको भनाइ छ । ‘धेरै जसो सदस्यहरु सरकारले ब्याज छुट गरेर राहत दिन्छ की भन्ने आशमा छन्, क्षमता भएका ऋणीहरुले तिर्न मानेन्, यस्तै अवस्था रहिरह्यो भने भोलिका दिनमा कर्मचारीलाई तलव दिन नसकेर निकाल्नु पर्ने अवस्था आउन सक्छ,’ उनले भनिन्, ‘असारको अन्तिम रिजल्टले सबै देखाउँछ, थप लगानी नै बन्द भयो र आउनु पर्ने किस्ता रोकिएपछि के हुन्छ भनेर भन्न सकिँदैन ।’ लघुवित्त बैंकर्स संघका कार्यवाहक अध्यक्ष तथा धौलागिरी लघुवित्तका सीईओ मिन बहादुर बोहराले शान्ति सुरक्षा बाहेक कर्मचारीको अन्य स्थिती सामान्य रहेको बताउँछन् । लघुवित्त विरुद्धका गतिविधिले कर्मचारीको मनोबल भने कमजोर बनेको उनको भनाइ छ । ‘लघुवित्तका कर्मचारी देख्यो भने कालोमोसो दल्ने, कुटपिट गर्ने गतिविधि भएका छन्, यसले कर्मचारीको मनोबलमा ब्यापक गिरावट आएको छ, कर्मचारीहरुले पनि हामीलाई शान्ति सुरक्षा हुनु पर्ने माग गरिरहेका छन्,’ उनले भने, ‘म कार्यवाहक अध्यक्ष भएएर आएपछि टास्क फोर्स बनाएर काम गरिरहेका छौं, कहाँ के समस्या परेको छ त्यहाँ तत्काल समाधान गर्ने गरी काम भइरहेको छ, त्यसले कर्मचारीमा हौसाला बढाएको छ ।’ उनका अनुसार कर्मचारीहरु लघुवित्तका सेना हुन् । अर्काे कुनै ठाउँमा राम्रो अवसर पाएर छोडेको हुन सक्ने उनले बताए । तर, लघुवित्तले सेवा सुविधा र तलवभत्ता नपाएर नछाडेको उनको भनाइ छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरुमा कूल २३ हजार कर्मचारी कार्यरत रहेका छन् । जसले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा करिब ४ अर्ब रुपैयाँ मात्रै नाफा कमाएका छन् । गत वर्षको तुलनामा यस वर्ष लघुवित्तको खुद नाफा ५६.२७ प्रतिशत घटेको हो । चैत मसान्तसम्म लघुवित्त संस्थाहरुले ३ अर्ब ९६ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको थिए । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्त संस्थाहरुले ९ अर्ब ६ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेका थिए । चैत मसान्तसम्म फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, आरएमडीसी लघुवित्त, छिमेक लघुवित्त र साना किसान विकास लघुवित्तको नाफा बढेको छ । अन्य सबै लघुवित्तको लाभांश घटेको छ । साथै, समीक्षा अवधिमा १० वटा लघुवित्तको नाफा ऋणात्मक रहेको छ । धौलागिरी, लक्ष्मी, वन नेपाल, आरम्भ चौतारी, सामुदायिक, गुराँस मनकामना स्मार्ट, मानुषी र जाल्पा सामुदायिक लघुवित्त चैतसम्म ३० करोड रुपैयाँ बराबरको ऋणात्मक रहेका छन् । आर्थिक संकटका कारण लघुवित्त संस्थाको खराब कर्जा पनि ह्वात्तै बढेको छ । चैत मसान्तसम्मको तथ्याङ्क अनुसार लघुवित्तको औषत खराब कर्जा ७ प्रतिशत भन्दा बढी पुगेको छ । गत वर्षको सोही अवधिमा ३.०४ प्रतिशत खराब कर्जा थियो । सोही तथ्यांकको आधारमा लघुवित्त संस्थाहरु अहिले पनि सकसमा रहेको देखिन्छ ।

सेयरधनीलाई प्रतिफल वितरण नगर्दासम्म गाडीको सुविधा लिँदैनौं, कम्पनीमा ब्रेकथ्रु गरेरै छाड्छौं

राष्ट्रिय बीमा कम्पनीमा म मन्त्री परिषद्को निर्णयअनुसार अध्यक्ष भएर आएको लगभग ७ महिना मात्रै भयो । प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बराल सर पनि मभन्दा एक महिनाअघि मात्रै नियुक्त हुनुभएको थियो । अफिस आयौं । एक दुईवटा बैठक गर्यौं । म आउनु अघि दुई चार जना अध्यक्ष आउनु भएको थियो होला । तर मैले दुईतीन वटा बैठकपछि अनुभव के गरें भने कम्पनीमा धेरै लथालिंग रहेछ । वार्षिक साधारण सभा (एजीएम) त भएको थिएन, हुँदा हुँदा अध्यक्ष बस्ने टेबल पनि रहेनछ । सबैभन्दा पहिला मैले के सम्झिएँ भने म काम गर्न भनेर यहाँ आएको । त्यसैले कामको शुरुवात गर्न सानै भएपनि अध्यक्षको एउटा कोठाको व्यवस्था मिलाउन लगाए । त्यसपछि व्यवस्थापनका साथीहरुसँग छलफल भयो । सीईओसँग छलफल भयो । बोर्डका सदस्यहरुसँग छलफल भयो । नयाँ थिएँ । पहिलाको सिस्टमको बारेमा मलाई पनि त्यति थाहा थिएन । अहिले हाम्रा सञ्चालकज्यूहरु जुन जुन क्षेत्रबाट आउनु भएको छ, उहाँहरुको काम आएर सहि गर्ने मात्रै होइन । बोर्डको मेम्बर भएर उहाँहरुले फुल टाइम कम्पनीलाई दिईरहनु भएको छ । कम्पनीले हाल भएको बेथितिलाई न्यूनिकरण गर्न तथा कम्पनीलाई उचाईमा पुर्याउनको लागि उहाँहरु पूर्णरुपमा डेडिकेटेड हुनुहुन्छ । र, उहाँहरुलाई धन्यवाद पनि दिन चाहान्छु । सीईओ सर आउनासाथै हामीले सबैभन्दा पहिला व्यवस्थापन टीमसँग बस्यौं । कम्पनीलाई कसरी सुधारको बाटोतर्फ लैजाने भन्ने विषयमा छलफल भयो । विगतमा जे भयो भयो, अब एउटा न एउटा समितिले ब्रेकथ्रु त गर्नै पर्थ्यो । त्यसको लागि शुरुवात गर्ने क्रममा वार्षिक साधारण सभा गर्ने भन्ने निर्णय गर्यौं । निर्णय गर्दा हामीले संस्थागत रुपबाट विभिन्न उपसमितिहरु बनायौं । एजीएमको लागि तयारी समिति नै बनायौं । उक्त समितिले पूर्वकर्मचारी साथीहरु लगायत सेयर सदस्यहरुसँग विभिन्न विषयमा छलफल गर्यौं । र, म यो एजीएममार्फत के विश्वास दिलाउन चाहान्छु भने अब सेयर सदस्य, सञ्चालक समिति र व्यवस्थापन टीम प्रत्येक दुई दुई महिनामा बैठक बसेर पुँजी वृद्धिको योजनादेखि लिएर बीमा कम्पनीलाई उकास्नको लागि आवश्यक सरसल्लाह, आपसी समझदारी लगायत आपसी एकतासँगै सहकार्य गर्नेछौं । राष्ट्रिय बीमा कम्पनी अहिले हरेक विषयमा संस्थागत रुपमा निर्णय लिएर अगाडि बढी रहेको छ । हामीले जग्गाको बारेमा पनि त्यो जग्गासँग सम्बन्धित मन्त्रालयदेखि लिएर सम्बन्धित कार्यालय (मालपोत कार्यालय, खाद्य संस्था, मन्त्रालय) सम्मको लागि हामीले हाम्रो नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुवास कोइरालाज्यूको संयोजकत्वमा समिति गठन गरेका छौं । बोर्डको बैठक बस्दा पुराना धेरै सेवा सुविधाहरु थिए । जसमा गाडि किन्नेदेखि लिएर धेरै विषयहरु छन् । तर हामीले जबसम्म सेयर सदस्यहरुलाई विश्वास दिलाउन सक्दैनौं तबसम्म सबै सेवा सुविधाहरु नलिने भन्ने नयाँ निर्णय गर्यौं । किनभने उहाँहरुले अहिलेसम्म प्रतिफल पाउनु भएको छैन, त्यसैले उहाँहरुमा विश्वास नदिलाई हामीले गाडि लगायतका विभिन्न अनावश्यक सेवा सुविधाहरु लिनुहुन्न भनेर रोकेर राखेका छौं । हामीले त्यो सेवा सुविधा लिएर पछि सेयरधनीलाई केही दिन सकेनौं भने हामी कम्पनीमा आएको अर्थ हुने छैन । हामी कम्पनीमा केही कमाउन, केही खान भनेर आएका होइनौं । केही गरौं भनेर आएका हौं । गरेरै छोड्छौं पनि । त्यो विश्वास हामीले सेयरधनीलाई दिलाउन चाहन्छौं । अफिशको मोडलनै व्यवस्थित हुन नसकेपछि सबैतिर लथालिङ्ग हुने रहेछ । तर अहिले जहाँसम्म लाग्छ राष्ट्रिय बीमा कम्पनीको कर्मचारीहरु सबै पूर्णरुपमा सक्षम छन् । पहिले के थियो थाहाँ छैन । र, सबै कर्मचारीहरु सर्पोटिभ हुनुहुन्छ । सार्वजनिक भएको वित्तीय विवरणहरुमा कतिपय त्रुटीहरु भेटिएका छन् । कतिपय फाइलहरु हराएका थिए । धेरै विषयहरु नमिलेका थिए होलान् । अब त्यतातिर नजाऔं । हामीले अकाउन्ट मिलाउनको लागि मैले र सीईओ सर लगायत साथीहरु बसेर दुई जना चार्टर्ड अकाउन्टेन्टलाई करारमा नियुक्त गर्यौं । अब आउने एजीएममा कर्मचारी थप्छौं । अहिले भएका कर्मचारीहरुले पनि ओटीको सेवा सुविधामा काम गर्न सक्नुहुनेछ । त्यसमा रोकतोक हुँदैन । तर नतिजामा तलमाथि हुनु भएन । म अध्यक्ष भएर आईसकेपछि हामी नेपाल बीमा प्राधिकरणमा गएका थियौं । त्यसपछि महालेखा परीक्षण कार्यालयमा पनि गएका थियौं । त्यो अवस्थामा मैले के अनुभव गरेँ भने उहाँहरुले बीमा कम्पनीलाई हेर्ने नजर नै अर्कै रहेछ । यति अपमानित किन भइयो भनेर विचार गर्दा कम्पनीले काम नै गरेको रहेनछ । अब आजको सभाले विभिन्न बुँदाहरु पास गरेर गइसकेपछि हामीले बीमा प्राधिकरण, हामीले महालेखामा, हामीले अर्थमन्त्रालयमा र हामीले पर्यो भने प्रधानमन्त्री कार्यालयमा नै यी यी कामहरु गरेर आएका छौं भनेर भन्न सक्छौं । र, सेयरधनीलाई लाभांश वितरण गर्नको लागि सक्दो प्रयास गर्छौं । त्यसैले सेयरधनीहरुलाई के भन्न चाहन्छु भने हामी तपाईंहरुसँग छौं । के के गर्नुपर्छ अब हुने दुई दुई महिनाको बैठकमा सल्लाह सुझाव दिनुहोला । हामीबीच एक आपसमा छलफल भइरहनु पर्यो । जसले काम गर्नमा सहज बनाउँछ । तपाईंहरुले जुन किसिमको पारदर्शिता तथा सुशासन भन्नु हुन्छ, त्यो एकदम पाउनु हुनेछ । किनभने हामी नयाँ ढंगबाट कम्पनीमा आएका छौं । हामीले सबैभन्दा पहिला इमान्दारिता र कम्पनीको सुशासनमा चल्नुपर्छ । (राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष उपाध्यायले कम्पनीको वार्षिक साधारणसभा राखेका मन्तव्यको सम्पादित अंश)