ईप्पान विभाजनतर्फ गयो, महासंघको तयारीमा मल्ल पक्षधर
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान) विभाजनको दिशामा गएको छ । जेठ ३२ गते भएको निर्वाचनमा उम्मेदवार बन्नबाट रोकिएका र विभिन्न चरणमा ईप्पानको निर्वाचनमा पराजित भएका उर्जा उत्पादकहरुले नयाँ संस्था खोल्ने तयारी थालेका छन् । गत साता सम्पन्न ईप्पानको निर्वाचनमा अध्यक्ष पदका आकांक्षी किरण मल्लको अन्तिम समयमा उम्मेदवारी खारेज भएको थियो । निर्वाचन मण्डलको उक्त निणर्यसँगै मल्ल र उनको समूहबाट उम्मेदवारी दर्ता गरेका केही व्यवसायीहरु संस्थापन समूहसँग आक्रोशित बनेका थिए । मल्लले निर्वाचनको अभियानमा आफूलाई सहयोग गर्ने व्यवसायीहरुलाई धन्यवाद दिन शनिवार सोल्टी होटलमा आयोजना गरेको रात्री भोजमा व्यवसायीहरुले ईप्पानको विकल्पमा नयाँ संस्था खोल्ने उद्घोष गरेका छन् । किरण मल्ल, गोरे शेर्पा, सूर्य प्रसाद अधिकारी, गोपाल निउरे, कृष्ण भण्डारी, लाककृष्ण केसी, कदम केसी लगायत व्यवसायीहरुले ईप्पानमा राजनीतिकरण धेरै भएको, ईप्पानले व्यवसायिका समस्या बोल्न छोडेको आरोप लगाए । उनीहरुले ईप्पानको विकल्पमा सबै उर्जा व्यवसायीलाई समेट्ने गरी उर्जा उत्पादक महासंघ बनाउने सम्मको घोषणा गरे । जलविद्युत उत्पादकहरुको मुख्य संस्था ईप्पान रहेपनि क्लिन इनर्जीको उत्पादन तथा व्यापार गर्ने ५ वटा संस्था दर्ता रहेको जानकारहरु बताउँछन् । मल्लले भने साधारणसभाबाट बनेको विधान संशोधन समितिमार्फत विधान संशोधन गराएर सबै व्यवसायीहरुलाई ईप्पानमा समेट्न पहिला जोड दिने बताए । यस्तो प्रयास सफल नभएमा नयाँ संस्था दर्ता गर्ने बताए । ईप्पानको साधारणसभाबाट भानु पोखरेल र हुमाकान्त चौलागाई रहेको विधान संशोधन समिति गठन भएको छ । त्यसमा कार्यसमितिबाट १ जना र विज्ञहरुबाट २ जना सदस्य थपेर ५ जनाको समिति बनाउने भनिएको छ । उक्त समिति गठन हुनुलाई मल्ल समूहले महत्वपूर्ण उपलब्धि मानेका छन् । समितिले ६ महिनाभित्र विधान संशोधनको लागि सुझाव दिने र त्यसलाई साधारणसभामा प्रस्तुत गर्ने योजना रहेको ईप्पानका नवनिर्वाचित अध्यक्ष गणेश कार्कीले बताए । असन्तुष्ट पक्षको माग अनुसार नै विधान संशोधन समिति गठन भएकोले सबै सदस्यहरुको सुझावलाई समेटेर विधान संशोधन हुने उनले बताए । संस्था दर्ता गर्न सजिलो भएको तर सदस्यहरुलाई संगठित गर्न र प्रभावकारी रुपमा सेवा दिन कठिन भएकाले नयाँ संस्था दर्ता हुने बित्तिकै त्यो प्रभावकारी नबन्ने पनि उनले बताए । ‘संस्था त अहिले धेरै छन्, तर ती संस्थाको संगठन कस्तो छ र प्रभावकारिता के छ भनेर पनि हेर्नुपर्छ,’ उनले भने ।
‘विद्युतमा थप लगानी चाहिन्छ, निर्यात गर्नु हुँदैन भनेर राष्ट्रघाती अभिव्यक्ति नदिनु’
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब विद्युतमा लगानी आवश्यक रहेको बताएका छन् । आइतबार प्राधिकरणमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अब जलविद्युत क्षेत्रमा झन बढी लगानीको आवश्यक रहेको बताएका हुन् । उनले जलविद्युत क्षेत्रमा लगानीकागर्नका लागि विदेशी र स्वदेशी लगानीकर्तालाई आग्रह गरे । उनले बिजुली बिक्री गर्नु हुँदैन भनेर राष्ट्रघाती अभिव्यक्ती नदिन पनि आग्रह गरेका छन् । उनले पछिल्लो समय बिजुली निर्यात गर्नु हुँदैन भनेर केहीले गलत अभिव्यक्ति दिएको बताउँदै त्यस्तो राष्ट्रघाती अभिव्यक्ति नदिन आग्रह गरेका हुन् । ‘केही विज्ञसाथीहरुले निर्यात गर्नु हुँदैन, बिजुली बिक्री गर्नु हुँदैन भनेर अभिव्यक्ती दिएको, सामाजिक सञ्जालमा लेखेको देखेको छु, यस्तो गलत अभिव्यक्ति दिनु हुँदैन, यो पनि एक किसिमको राष्ट्रघात हो,’ उनले भने । यस्तै, उनले यस्तो गलत काम नगरेर सहयोग गर्न आग्रह गरेका छन् । ‘हामीलाई बिद्युत कम भयो भने पुनः अर्को समस्या हुनेवाला छ, कार्यान्वयन तहमा सबैको अनरसिप चाहिन्छ, कहीँ पनि सहयोग नगर्ने अनि ट्रान्समिटर बनाएन भनेर हुँदैन, यो राज्यको दायित्व हो, वन, गृह, भूमी सुधार मन्त्रालयले पनि सहयोग गर्नु पर्छ, विद्युत प्राधिकरणलाई दोष लगाउनु हुँदैन,’ उनले भने । यस्तै, उनले सिष्टमका कारण मध्य र पश्चिम नेपालमा धेरै जिल्लामा विद्युत अवरोध भएको बताएका छन् । उनले नेपालको माग पूरा गरेर नै निर्यात भएको पनि बताएका छन् । तराईका अधिकांश जिल्लामा अहिले एकदमै माग धेरे आएको छ, यो हाम्रा लागि राम्रो हो, तर माग धेरै हुदा २ सय किलोवाड क्षमताका ट्रान्सफरमले नधान्ने अबस्था छ,’ उनले भने । उनले पछिल्लो समय २ हजार किलोवाट क्षमताको विद्युत आयोजनाले दिन थालेको भन्दै विस्तारै बढ्दै जाने बताए ।
२४ गते एकीकृत कारोबार गर्दै लक्ष्मी सनराइज बैंक, कर्मचारीका लागि भिआरएस सुविधा
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबारको मिति असार २४ गते तय भएको छ । लक्ष्मी बैंकका सञ्चालक दिनेश पौड्यालले दुई बैंकबीच असार २४ गते एकीकृत कारोबार हुने बताए । लक्ष्मी बैंकको आइतबार सम्पन्न विशेष साधारण सभाले सनराइज बैंकसँग मर्ज गर्ने विशेष प्रस्ताव पारित गरेसँगै एकीकृत कारोबारका लागि प्रक्रिया अघि बढाएको उनले बताए । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । कसैलाई पनि अफ्ठ्यारो नपर्ने गरी कर्मचारी व्यवस्थापन भइरहेको उनले बताए । ‘साधारणसभाले पारित गरेको पत्र आजभोलि राष्ट्र बैंकमा पठाउँछौं, राष्ट्र बैंकले पनि चाँडै स्वीकृति दिने अपेक्षा छ, त्यसपछि असार २४ गते एकीकृत कारोबार गर्ने तयारी छ,’ उनले भने, ‘सञ्चालक समितिको टुंगो लागिसकेको छ, अध्यक्ष र सीईओ लक्ष्मी बैंकले नै पाउँछ, आन्तरिक कामहरु तीव्र गतिमा भइरहेका छन्, कर्मचारी समायोजनको काम भइरहेको छ, दुवै बैंकको सिस्टम एउटै सफ्टवेयरमा प्रयोग भएकाले सहज हुन्छ ।’ सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई दोस्रो वरियता दिने सहमति भएको उनले बताए । यदि कुनै कर्मचारीलाई चित्त नबुझे संयुक्त मर्जर कमिटिले भिआरएस सुविधा ल्याउने उनको भनाइ छ । कर्मचारी समायोजन भने बराबरी हैसियतमा हुने सहमति भएको छ । दुवै बैंक समान हैसियतमा मर्जरमा जान लागेका हुन् । मर्जपश्चात् बैंकको सञ्चालक समिति अध्यक्ष लक्ष्मी बैंकबाट रमण नेपाल बन्ने छन् । यद्यपी सञ्चालक समितिको पहिलो बैठकले अध्यक्ष नियुक्त गर्नेछ । साथै, लक्ष्मी बैंकका सीईओ अजय बहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुने छन् । मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मीबाट ४ जना र सनराइजबाट तर्फबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकबाट हालका अध्यक्ष रमण नेपाल, सञ्चालकहरु डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकबाट हालका अध्यक्ष मोतीलाल दुगड, इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । पहिलो साधारण सभा सम्पन्नपछि बन्ने सञ्चालक समिति ५ सदस्यीय हुने बैंकले जनाएको छ । जसमा २ जना संस्थापक, २ जना सर्वसाधाण र १ जना स्वतन्त्र सञ्चालक रहने लक्ष्मी बैंकले बताएको छ । मर्जर पश्चात् चुनौति बढिरहेको भएपनि त्यसलाई सामना गरेर अघि बढ्ने अध्यक्ष रमण नेपालको भनाइ छ । ‘समान हैसियतमा कर्मचारी समायोजन गर्ने भनेर सम्झौता गरेको हो, मर्जरपछि पनि कर्मचारीमा असमान व्यवहार हुँदैन,’ उनले भने, ‘साथीहरुले अध्यक्ष भनेर बधाइ तथा शुभकामना दिनु भएको छ, मर्जरपछि नै अध्यक्ष टुंगो लाग्नेछ, अहिले शुभकामना मात्रै स्वीकार गर्छु ।’ दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ७ गते अन्तिम सम्झौता भएको थियो । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । मर्जर प्रक्रियामा झण्डै २ करोड रुपैयाँ खर्च हुने बैंकले जनाएको छ । सनराइज बैंकले पनि आइतबार वार्षिक साधारणसभा गरेको छ । सनराइज बैंकका सेयरधनीले पनि लक्ष्मीसँग मर्जरमा जानका लागि अनुमोदन गरेका हुन् । मर्जरपश्चात् बैंकको चुुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँ बढी हुनेछ । लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकको जगेडा कोष १२ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ । मर्जरपछि लक्ष्मी सनराइज बैंकको निक्षेप २ खर्ब ८१ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ५० अर्ब रुपैयाँ पुग्नेछ । साथै, बैंकको शाखा सञ्जाल २७२ वटा पुग्ने छन् भने कर्मचारी संख्या ३ हजार १७० जना पुग्ने छन् ।