बैंकर कहिलेसम्म असुरक्षित सरकार ?
काठमाडौं । गत फागुन दोस्रो साता जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि अज्ञात समूहले कालोमासो दल्यो । उनीसँग रकम पनि अज्ञात समूहले लुट्यो । फागुन ३० गते मकवानपुर हेटौंडास्थित कुमारी बैंकको शाखा कार्यालयमा धरपकड र कार्यालय बन्द गर्ने गतिविधि भए । यस्तै, गत चैत पहिलो साता एनआइसी एसिया बैंकका कर्मचारीमाथि सांघातिक आक्रमण भयो । गण्डकी प्रदेशको म्याग्दीस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि सांघातिक आक्रमण भयो । त्यस्तै, सोमबार मात्रै पूर्वी नेपालको इटहरी, सुनसरी तथा विर्तामोड, झापास्थित बैंक, वित्तीय तथा लघुवित्त संस्थाको शाखामा केही व्यक्तिहरुले शाखा संचालनमा अवरोध गर्दै कर्मचारीलाई धम्क्याए । यी विभिन्न घटनाक्रमहरुको बैंकरले विरोध गरिरहे पनि अराजक गतिविधी भने रोकिएका छैनन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अर्थतन्त्रको प्रमुख स्तम्भको रुपमा स्थापित संस्थाहरुले मुलुकको विकास, सर्वसाधारण आर्थिक सेवा, आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका, रोजगारी सृजना लगायत प्रत्यक्ष/अप्रत्यक्ष रुपमा योगदान गरेको भएपनि कर्मचारीलाई सहज रुपमा काम गर्ने वातावरण श्रृजना गर्न माग गरेका छन् । ‘अत्यावश्यक सेवाको रुपमा पहिचान गरेको बैंकिङ्ग क्षेत्र निर्वाध रुपमा संचालन गर्न र सेवा पुर्याउन कुनै पनि तत्वहरुले बाधा पुर्याएको खण्डमा सो गैरकानूनी हुन्छ, ग्राहकहरुले सेवा लिन आउँदा कुनै पनि अवरोध गरिएमा वा शाखा संचालनमा कुनै बाधा पुर्याइएको खण्डमा सो उपर सुरक्षा निकायले आवश्यक कदम लिनेछ भन्नेमा हामी विश्वस्त छौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ । ऋण नतिर्ने बहानामा अराजक गतिविधि गर्नेहरुलाई तुरुन्तै कारवाहीको दायरामा ल्याउन सीईओहरुले माग गरेका हुन् । शान्ति/सुरक्षा कायम गरी अत्यावश्यक सेवा बैंक तथा वित्तीय संस्थाहरु संचालन गर्न सरोकारवाला निकायहरुसँग माग गरेका छन् । यस्तै, शान्ति सुरक्षाको माग गर्दै लघुवित्त बैंकर्स संघले सोमबार मात्रै देशभरीका ७७ वटै जिल्लाका सीडीओ कार्यालय मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । कर्मचारीमाथि कालोमोसो र कुटपिट गर्न थालेपछि शान्ति सुरक्षाको माग गर्दै ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको संघका कार्यवाहक अध्यक्ष मिन बहादुर बोहराले बताए । लघुवित्त संस्था विरुद्ध विगतदेखि केही व्यक्ति तथा राजनीतिक समूहले ‘लघुवित्त विरुद्धको संघर्ष समिति’ नामको अवैधानीक समूह गठन गरी अराजक गतिविधि भइरहेकाले कारवाही गरी सहज रुपमा काम गर्ने वातावरण हुनु पर्ने माग बोहराले गरेका छन् । यदि शान्ति सुरक्षा नभए आफूहरु पनि आन्दोलनमा उत्रिने उनले चेतावनी दिए । ‘अवरोध श्रृजना गर्ने, कपोलकल्पित आक्षेप लगाई अनर्गल प्रचार प्रसार गर्ने, वित्तीय संस्था जस्तो अत्यावश्यक सेवा अवरुद्ध गर्ने नियतले वित्तीय संस्थाको कार्यालयमा ताल्चा लगाउने, लघुवित्तकर्मीलाई कार्यक्रम बन्द गर्न धम्की दिई मनोबल कमजोर गराउने, कर्मचारीहरु माथि हातपात गर्ने, रकम कलम लुटपाट गर्ने, सदस्यहरुलाई वित्तीय सेवा उपयोग गर्न बाधा पुयाई लघुवित्तलाई नै धराशायी गराउने जस्ता कानून विपरितका गतिविधि भईरहेका छन्,’ अध्यक्ष बोहराले भने । संघको तथ्याङ्क अनुसार ५७ लाख ५८ हजार महिला र १ लाख ७७ हजार पुरुष गरी कूल ५९ लाख ९९ हजारलाई सेवा दिइरहेका संस्थाहरुका ३० लाख ६० हजार महिला र १ लाख १ हजार पुरुष गरी कूल ३१ लाख ६१ हजार ऋणी रहेका छन् । लाखौंको संख्यालाई सेवा दिइरहेका लघुवित्त संस्थाहरुले प्रत्यक्ष २३ हजार ४६ जनालाई रोजगारी पनि दिइरहेको लघुवित्त बैंकर्स संघका महासचिव राम बहादुर यादव बताउँछन् । उनका अनुसार लघुवित्त संस्थाले १५ प्रतिशत ब्याजदर र बढीमा १.५ प्रतिशत सेवा शुल्क लिने गरेका छन् । जुन विश्वकै सबैभन्दा सस्तो रहेको उनको दावी छ । कर्जा लिएर नतिर्ने, अटेरी गर्ने, वित्तीय अनुशासन नभएका, मादकपदार्थ सेवन गर्ने र समाजमा आर्थिक रुपमा बदनाम भएकाहरु ब्यक्तिहरु लघुवित्त विरुद्धका गतिविधिमा संलग्न रहेको महासचिव यादवको भनाइ छ । उनका अनुसार अराजक समूहले गैरकानूनी रुपमा लघुवित्तका सदस्यबाट ५ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म शुल्क उठाई कराडौं रुपैयाँ दुरुपयोग गरेको उनले बताए । नेपाल लघुवित्त बैंकर्स संघका पूर्व अध्यक्ष बसन्त लम्सालले लघुवित्त वित्तीय संस्था विरुद्ध अराजक घटना हुँदा पनि नियामक राष्ट्र बैंकले आफ्नो भूमिका निर्वाह नगरेको बताए । आफूले लाइसेन्स दिएको लघुवित्त संस्थालाई अफ्ठ्यारो परेको बेलामा राष्ट्र बैंकले सहयोग नगरेको दुखेसो उनले गरे । लम्सालले राजनीतिक पार्टीमा आवद्ध भएका व्यक्तिले लघुवित्त विरुद्ध आन्दोलन गरेको आरोप लगाए । लघुवित्तका कर्मचारीमाथि कालोमोसो दल्ने र कुटपिटका घटना बढेकाले काम गर्ने वातावरण नहुँदा सेवा नै बन्द गर्नु पर्ने बेला आएको उनको भनाइ छ । लघुवित्तमा गरिएको लगानी पनि असुरक्षित भएको उनले बताए । ‘लघुवित्तका कर्मचारीलाई लुट्ने, कालोमोसो दल्ने काम भएकाले काम गर्ने वातावरण भएन, लघुवित्तमा गरिएको लगानी असुरक्षित भयो, यस्तै अवस्था रह्यो भने लघुवित्त संस्था चलाउन सक्दैनौं, बन्द गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘अप्ठ्यारो परेको बेलामा नेपाल राष्ट्र बैंकले समेत सहयोग गरेको छैन, लघुवित्त संस्थाले ऋण मिनाहा वा छुट दिन सक्दैन ।’ वि.सं.२०७० को दशक यता भने नीजि क्षेत्रको लगानीमा लघुवित्त संस्थाहरु सञ्चालनमा आउने क्रम ह्वात्तै वृद्धि भई कूल ९१ वटासम्म लघुवित्त वित्तीय संस्थाहरु पुगेका थिए । हाल मर्जर तथा एक्विजिशनका कारण ६३ वटा लघुवित्त सञ्चालनमा रहेका छन् । ७७ वटै जिल्लामा ५ हजार १६४ वटा शाखा कार्यालय मार्फत गरिब तथा विपन्न वर्ग र आर्थिक अवस्था कमजोर भएका ब्यक्तिलाई सेवा दिँदैका आएका लघुवित्तलाई पछिल्ला केही समययता अराजक समूह तथा ब्यक्तिहरुले खारेज गर्नु पर्ने आवाज उठाउन थालेका छन् । वितग ३ दशकभन्दा बढी लामो इतिहास बोकेका लघुवित्त संस्थाहरुमा ४ खर्ब ४१ अर्ब रुपैयाँ कूल लगानी छ । पछिल्लो तथ्याङ्क अनुसार लघुवित्तसँग १ खर्ब ६८ अर्ब रुपैयाँ कूल निक्षेप तथा बचत छ भने २ खर्ब १९ अर्ब रुपैयाँ कूल सापटी दिएका छन् ।
ललिता निवास प्रकरणमा मुछिएका भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले उनलाई ललिता निवास प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरेको हो । उनलाई प्रहरीले मंगलबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो । बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका गुरुङलाई यसअघि विशेष अदालतले २ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले गुरुङसँग ५० करोड ४७ लाख रुपैयाँको बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। ललिता निवास प्रकरणमा तीन सय जनाविरुद्द अनुसन्धान भइरहेको छ । विभिन्न व्यक्तिहरुले हडपिएको जग्गाको अहिलेको न्यूनतम बजार मूल्य १३ अर्ब ७६ करोड रुपैयाँ कायम गरिएको छ ।
५ हवाई कम्पनी समस्यामा : सेयर बेच्दै, कर्मचारी कटौती गर्दै
काठमाडौं । पछिल्लोे समय सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सँगै निजी क्षेत्रका अधिकांश वायुसेवा कम्पनीहरु समस्यामा देखिएका छन् । वायुसेवा कम्पनीमा आर्थिक संकट देखिन थालेपछि हाल सञ्चालीत वायुसेवा कम्पनीहरुले साझेदार भित्र्याउनेदेखि कर्मचारी कटौतीका रणनीतिहरु अगाडि सारेका छन् । समस्या भएको भन्दै यती एयरलाइन्सले साझेदार भित्र्याउने तयारी गरेको छ भने सौर्य एयरलाइन्सले कर्मचारी कटौती समेत गर्न थालेको छ । यती एयरलाइन्सले साझेदार भित्र्याउने आन्तरिक उडानमा २५ प्रतिशत हिस्सा रहेको यती एयरलाइन्स पछिल्लो समय आर्थिक समस्यामा छ । आन्तरिक उडानमा यती र तारा एयर मार्फत उडान गर्दै आएको एयरमा आर्थिक संकट देखिएपछि कम्पनीले सेयर बिक्रीको तयारी थालेको हो । यती ग्रुपमा ५१ प्रतिशत सेयर राखेर बाँकी ४९ प्रतिशत सेयर बिक्री गरेर आर्थिक संटक हटाउने रणनीतिमा कम्पनी लागि परेको छ । कोरोना महामारी गत माघ १ गते पोखरा तथा गत जेठमा पोखरामा भएका दुई ठूला दुर्घटनापछि कम्पनी आर्थिक संटकमा परेको जनाइएको छ । कम्पनीका तत्कालीन अध्यक्ष आङछिरिङको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि यती एयरलाइन्स नोक्सानीमा जान थालेको हो । शेर्पाको मृत्यु भएपछि लाक्पा सोनाम शेर्पा (उनका दाई) कम्पनीको अध्यक्ष छन् भने उनकी श्रीमती चन्दा शेर्पा प्रबन्ध निर्देशक छिन् । मुख्य व्यक्तिको निधन भएपछि त्यसको असर कम्पनीमा परेको हो, पर्यटन उद्योगमा एकछत्र राज रहेको शेर्पा ग्रुप उनले मृत्युसँगै आर्थिक संकटमा थसिन थालेको छ । ‘आङछिरिङ सरको मृत्यु, कोरोना महामारी र गत वर्ष भएका दुई ठूला दुर्घटना पछि यतीको व्यवसाय पुरानै अवस्थामा फर्कन सकेको छैन, फूल अकुपेन्सी नहुँदा पछिल्लो समय सञ्चालन खर्च धान्नै समस्या हुनथाल्यो’, यएरलाइन्स स्रोतले भन्यो, ‘खर्च धान्नै सक्ने अवस्था नभएपछि त्यसको समाधानका लागि साझेदार भित्र्याउने तयारी भएको हो, जसका लागि नेपाली तथा विदेशी उद्योगी व्यवसायीसँग छलफल भैरहेको छ ।’ डेढ वर्षदेखि नोक्सानीमा सौर्य एयर निजी क्षेत्रको लगानीमा सञ्चालित अर्काे वायुसेवा कम्पनी सौर्य एयरलाइन्स पनि आर्थिक समस्यामा परेको छ । हाल सिआरजे २०० मोडलको जहाजबाट आन्तरिक उडान गर्दै आएको सो वायुसेवा कम्पनी डेढ वर्षदेखि आर्थिक संकटमा परेको हो । कम्पनी लामो समयदेखि नोक्सानीमा चल्दै आएको भन्दै पछिल्लो समय कर्मचारी कटौती गर्न थालेको छ । गत जेठ महिनामा मात्रै कम्पनीले धेरै कर्मचारी भएको भन्दै ३४ जना कर्मचारीलाई हटाएको छ । जसमा २ जना क्यापटेन, ३ जना इन्जीनियर र बाँकी मार्काेटीङका कर्मचारीहरु रहेको एयरलाइन्सले जनाएको छ । अरु वायुसेवा कम्पनीले सञ्चालन गरेको भन्दा हाम्रा जहाजको उडान खर्च नै बढी हुन्छ, लामो समयदेखि नोक्सानीमा उडान हुँदै आएपछि धेरै भएका कर्मचारी कटौती गरिएको हो, एयरलाइन्सका उपमहाप्रबन्धक उमेश आचार्यले बताए । उनका अनुसार कम्पनीले हाल सञ्चालित सिआरजे जहाज फेजआउट गरेर एटीआर जहाज भित्र्याउने तयारी गरेको छ । ‘हामीले एटीआर जहाज ल्याउने तयारी सुरु गरिसकेका छौँ, एटीआर ल्याएपछि थप कर्मचारी आवश्यक पर्ने भन्दै भएका कर्मचारी कटौती गरिएको थिएन, तर जहाज आउन केही समय लाग्ने भएपछि पछि राख्ने शर्तमा कर्मचारी कटौती गरिएको हो’, उनले भने, ‘बाहिर भएको हल्ला जसरी कम्पनी बन्द हुन लागेको होइन ।’ उनले सौर्य एयरलाइन्स बन्द नभई एटीआर जहाज ल्याएर नयाँ ढाँचामा कम्पनी सञ्चालन हुने दाबी गरे । दाजु भाईको झगडामा बुद्ध एयर ६३ प्रतिशत बजार हिस्सा रहेको बुद्ध एयरमा पछिल्लो समय सम्पत्ति विवाद चर्किएको छ । बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधनसँगै दुई छोराहरु विरेन्द्रबहादुर बस्नेत र भाई शिवेन्द्रबहादुर बस्नेतबीच सम्पत्ति विवाद सुरु भएको हो । कम्पनीमा आफ्नो ४० प्रतिशत सेयर रहेको तर बुबाको निधनपछि दाजु विरेन्द्रवहादुर बस्नेतले आफूखुशी निर्णय गर्न थालेको भाइले आरोप लगाएका छन् । दाजुले ठूलो आर्थिक घोटाला गरेको भन्दै उनले प्रश्न समेत उठाएका थिए । विरेन्द्रले भने भाईले २०५६ सालमा नै बुद्धको सेयर बिक्री गरेर नयाँ एयरलान्यस कम्पनी सञ्चालन गरेको भन्दै बुद्धसँग कुनै सम्बन्ध नरहेको बताउँदै आएका छन् । भाइले पत्रकार सम्मेलन गर्दै दाजुले सम्पत्ति हडपेको आरोप लगाएपछि दाजुले विज्ञप्ती जारी गर्दै यसअघि नै सबै सेयर बिक्री गरेर बाहिरिएको बताएका थिए । दुई दाजुभाईको झगडाको असर पछिल्लो समय दुद्धको उडानमा पर्न थालेको स्रोतको दाबी छ । दुई भाईको आन्तरिक कलहको हसर बुद्धमा देखिन थालेको स्रोतको दाबी छ । कम्पनीले राम्रै बिजनेस गरिरहेको भएपनि दाजुभाईको झगडाले कम्पनीको ग्रोथमा नकारात्मक संकेत देखिन थालेको हो । फागुनदेखि बन्द गुण एयर कर्मचारीलाई तलब समेत भुक्तानी गर्न नसकेपछि गुण एयरलाइन्स बन्द भएको छ । कर्मचारीले तीन महिनादेखि सेवासुविधा नै नपाएको गुनासो गरेपछि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले ०७९ को फागुन १ गतेदेखि ग्राउण्डेड (बन्द) गरेको हो । २०७८ को असोजदेखि गुण एयरले नियमित उडान गर्दै आएको छ । सिम्रिक एयरलाइन्सको नामबाट उडान सञ्चालन गर्दै आएकोमा २०७८ को असोजदेखि गुण एयरको नामबाट उडान सुरु भएको थियो । पुरानै नामबाट एयरलाइन्स सञ्चालनमा आएसँगै गुणले अधिकांश गन्तव्यमा नोक्सानीमा नै उडान गर्दै आएको थियो । अन्य वायुसेवा कम्पनीलाई टक्कर दिन न्यूनतम मूल्यामा उडान गरेको छोटो समयमा नै कम्पनी बन्द भएको हो । प्राधिकरणले कर्मचारीको गुनासो आएको भन्दै उडान ग्राउण्डेड गरेर अनुसन्धान गर्दा आर्थिक अवस्था कमजोर देखिएको थियो । क्यानले उडान नै बन्दको घोषणा गरेको चार महिना वितिसक्दा समेत गुणले उडानका लागि पुनः केही तयारी नगरेको प्राधिकरणले जनाएको छ । ‘हामीले ग्राउण्डेड गरेपछि उडानका सम्बन्धमा एक पटक पनि प्राधिकरणमा गुण एयरका सञ्चालक आएका छैनन्, अवस्था निकै कमजोर भएर नै त होला,’ प्राधिकरण स्रोतले भन्यो । हवाई इन्धनको मूल्य उच्च हुँदा नोक्सानी एक वर्षको अबधिमा हवाई इन्धनको मूल्यमा आएको उत्तारचढावका कारण त्यसको असर हवाई सेवा कम्पनीमा परेको सञ्चालकहरु बताउँछन् । रुस-युक्रेन युद्धका कारण हवाई इन्धनको मूल्यमा बढ्दा त्यसको असर वायुसेवा कम्पनीमा परेको उनीहरुको भनाइ छ । गत वर्षसम्म आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ७० रुपैयाँसम्म थियो, अहिले १५० रुपैयाँ पुगको छ, हवाई इन्धनको मूल्य झन्डै दोब्बर हुँदा अहिले कुनै पनि वायुसेवा कम्पनी नाफामा छैनन, एक वायुसेवा कम्पनीका सञ्चालकले भने, ‘हवाई इन्धनको मूल्यसँगै प्राधिकरणले आन्तरिक शुल्क बढाउँदा त्यसको प्रत्यक्ष असर देखियो ।’ प्राधिकरणले गत वर्षसम्म हवाई प्रति टिकट २ सय रुपैयाँ सेवा शुल्कका रुपमा उठाउने गरेकोमा चालु आर्थिक वर्षदेखि त्यसलाई बढाएर ५ सय रुपैयाँ बनाएको छ । यस्तै, कमिशनका रुपमा प्रति टिकट ३ सय गरी हवाई टिकटबाट मात्रै वायुसेवा कम्पनीले ८ सय रुपैयाँ प्राधिकरणलाई भुक्तानी गर्दै आएका छन् । यस्तै, विभिन्न सेवा सुविधा अन्तर्गत वार्षिक रुपमा ६ हजार रुपैयाँसम्म बुझाउनु पर्नेमा गत वर्षदेखि त्यसलाई बढाएर १४ हजार रुपैयाँ पुर्याईएको ती सञ्चालक बताउँछन् । नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला गुण एयरलाइन्स बाहेक अन्य कम्पनीको विषयमा कुनै जानकारी नआएको बताए । ‘हामीले केही समय अगाडी गरेको फाइनान्सीङ अडिटमा सबै कम्पनीको रिपोट राम्रै देखिएको थियो, संकट नै आयो भन्ने खालकोे गुनासो हामीकहाँ आएको छैन’, उनले भने ।