ललिता निवासभित्र गाडी, भाटभटेनी र निर्माण सामग्रीका गोदाम, सातदिनभित्र हटाउन बालेनको निर्देशन

काठमाडौं । ललिता निवासभित्र विभिन्न कम्पनीहरुले सामान राख्ने गोदाम बनाएको भेटिएको छ । आइतबार महानगर प्रहरी ललिता निवास पुग्दा सो ठाउँमा विभिन्न कम्पनीहरुले निजी सामान राख्ने गोदाम बनाएर राखेको भेटिएको हो । काठमाडौं महानगरपालिका महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले नगर प्रहरी ललिता निवासमा पुग्दा उक्त ठाउँमा किया गाडीको गोदाम, भाटभटेनी सुपरमार्केट र समानान्तर निर्माण कम्पनी लगायतको सामान राखिएको गोदाम भेटिएको बताए । उनका अनुसार ललिता निवासभित्र विभिन्न व्यक्तीहरुले निजी अस्थायी संरचनाहरु बनाएका छन् । तिनै अस्थायी संरचनामा ती गोदामहरु रहेको उनको भनाइ छ । किया गाडीको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेस हो । जसको अध्यक्ष सुद्रिद शर्मा हुन् । यस्तै, भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङ हुन् । जसलाई प्रहरीले ललिता निवास प्रकरणमा मुछिएको भन्दै पक्राउ गरिसकेको छ । समानान्तर ग्रुप निर्माण क्षेत्रमा परिचित व्यवसायिक समूह हो । जसको अध्यक्ष अच्युत प्रसाद खरेल हुन् । सरकारी जग्गालाई व्यक्तीको नाममा सारेको भन्दै अहिले प्रहरीले विभिन्न व्यक्तीहरुमाथि अनुसन्धान गरिरहेको छ । जसमा ठूला राजनीतिक दलका परिचित नेताहरु र व्यवसायी पनि मुछिएका छन् । प्रहरीले सात जनालाई पक्राउ गरिसकेको छ । प्रहरीले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम पक्राउ गरेको थियो । प्रहरीले ७ जनालाई पक्राउ गरे पनि ३ जनाको नाममा पहिल्यै निषेधाज्ञाको आदेश जारी भइसकेको पाइएपछि छाडिएको थियो । गत बुधबार जिल्ला अदालतमा प्रहरीले उनीहरूलाई म्याद थपका लागि लगेको थियो । बालुवाटारस्थित ललिता निवासको जग्गा हडप्न सरकारी कागजात कीर्ते गरेको अभियोगमा पक्राउ परेका उनीहरूलाई अदालतले एक साता हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । देशमा ललिता निवासले चर्चा पाइरहेको बेला काठमाडौं महानगरले आफ्नो क्षेत्राधिकार भन्दै प्रहरीसहित आइतार निरीक्षणका लागि ललितानिवास पुगेको थियो । सो स्थलमा विभिन्न कम्पनीका गोदाम भेटिएपछि एक साताभित्र सो सामान तथा अस्थायी संरचना हटाउन महानगरले निर्देशन दिएको पाण्डेले बताए । पाण्डेले सरकारी जग्गाको संरक्षण गर्ने दायित्व स्थानीय तहको भएको बताउँदै एक साताभि ती संरचना र गोदाम नहटाए महानगर प्रहरी डोजर चलाउन बाध्य हुने धारणा राखे । ‘अहिले यो मुद्दा अदालतमा छ, यो बीचमा त्यो जगामा कुनै संरचना नबनोस्, बनेका पनि हटाउने हाम्रो चाहना हो, सरकारी जग्गा संरक्षण गर्नु हाम्रो दायित्व हो,’ उनले भने ।

घाटामा चल्दै डिजिटल वालेट, ५ वटा मात्रै अस्तित्वमा रहने

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक वालेट कम्पनीहरु घाटामा सञ्चालन भइरहेको पाइएको छ । वार्षिक झण्डै ३ खर्ब रुपैयाँ बराबर कारोबार गर्दै अर्थतन्त्रलाई डिजिटलाइज गर्दै आएका अधिकांश डिजिटल वालेट कम्पनीहरु घाटामा सञ्चालन भइरहेको एक डिजिटल वालेट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले विकासन्युजसँग बताए । उनले हाल सञ्चालनमा रहेका डिजिटल भुक्तानी वालेट कम्पनीहरुमध्ये ईसेवा बाहेक अन्य सबै वालेट कम्पनीहरु घाटामा सञ्चालन भइरहेको बताए । उनका अनुसार वालेट कम्पनीहरुले आफ्नो लागतबाहेक अन्य कुनै पनि फाइदा लिन सकेका छैनन् । नि:शुल्क सेवा दिनु पर्ने भएकाले नाफा कमाउन नसकिएको उनको भनाइ छ । साथै, नाफा गरेको भन्दा धेरै खर्च हुने गरेको उनले बताए । ‘सरकारी सेवामा हामीले शुल्क लिने गरेका छैनौं, विद्यालय शुल्क पनि नि:शुल्क भुक्तानी हुन्छ, नेपाल विद्युत प्राधिकरणको ५ सय रुपैयाँभन्दा कमको बिलमा शुल्क लिन मिल्दैन,’ उनले भने- ‘महिनाको ४ अर्बको कारोबार गरेर ४ करोड नाफा गर्न धेरै गाह्रो छ, झन् त्यसमा क्यास ब्याक पनि दिनुपर्छ ।’ उनका अनुसार वालेट कम्पनीहरुमा नाफा कमाउने इसेवा वालेट एक्लो हो । इसेवा पनि गत वर्षदेखि नाफा कमाउन थालेको हो । इसेवा बाहेक खल्ती लगायतका सबै कम्पनीहरु घाटामा रहेको उनले बताए । इसेवा पनि १३औं वर्षमा आएपछि मात्रै नाफा कमाउन थालेको उनले बताए । स्रोतका अनुसार खल्तीले आगामी वर्षदेखि नाफा कमाउन सक्ने अवस्थामा पुग्नेछ । ‘कुनै वालेटले ६० करोड रुपैयाँ रेभिन्यू संकलन गर्याे भनेपनि ८० करोड रुपैयाँको खर्च हुन्छ, वालेट कम्पनी सबै घाटामा छन्,’ उनले भने, ‘डिजिटल कारोबारको भविष्य छ भन्ने हिसावले कसै न कसैले लगानी गर्नुपर्छ, सबैले व्यापार गरेर मात्रै भएन, भविष्यमा डिजि बैंक बन्न सक्ने भएकाले लगानी गरिरहेका छन् ।’ कुनको कारोबार कति ? चालू आर्थिक वर्षको १० महिनाको अवधिमा डिजिटल वालेट कम्पनीहरुले झण्डै साढे ३ खर्ब रुपैयाँ बराबरको कारोबार गरेका छन् । राष्ट्र बैंकको बैशाखसम्मको तथ्याङ्क अनुसार कूल १ खर्ब ७९ अर्ब ३३ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार वालेट कम्पनीले गरेका हुन् । तथ्याङ्कलाई आधार मान्ने हो भने चालू आर्थिक वर्षको १० महिनाको तथ्याङ्कका आधारमा मासिक औषत १७ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार डिजिटल वालेट कम्पनीहरुले गरेको देखिन्छ । हाल सञ्चालनमा रहेका वालेट कम्पनीहरुमध्ये इसेवाको बजार हिस्सा ६० प्रतिशतभन्दा बढी रहेको स्रोतको भनाइ छ । उनका अनुसार इसेवाले मासिक १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने गरेको छ । यस्तै, दोस्रोमा खल्ती डिजिटल वालेटको रहेको छ । खल्तीले मासिक ४ देखि ५ अर्ब रुपैयाँ बराबरको कारोबार गर्ने गरेको उनले बताए । मासिक १८ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको भएपनि इसेवाको बजार हिस्सा ६०/६५ प्रतिशत रहेको छ । गत वर्ष ३ खर्ब रुपैयाँ बराबरको वालेटबाट कारोबार भएको थियो । जसमध्ये ईसेवाले १५० अर्ब रुपैयाँ बराबरको कारोबार गरेको थियो भने खल्तीले ५० अर्ब रुपैयाँ बराबरको कारोबार गरेको स्रोतको दाबी छ । ‘वालेटबाट मासिक १८/१९ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ, खल्तीले साढे ४ अर्ब रुपैयाँ बराबरको कारोबार गर्छ, खल्तीले डिजिटल कारोबारको २२/२५ प्रतिशत बजार हिस्सा ओगटेको छ तर, ६० प्रतिशत बजार हिस्सा इसेवाको छ,’ उनले भने- ‘१०/११ प्रतिशत आइएमई पेले ओगटेको छ भने बाँकी अन्य वालेट कम्पनीको कारोबार हिस्सा ५/५ प्रतिशत रहेको छ ।’ ५ वटा वालेटको अस्तित्व  यसअघि टप फाइभ कम्पनीमा प्रभु पे थियो । तर, पछिल्ला सयम अन्य कम्पनीले प्रभुलाई उछिनेर तल झरेको उनले बताए । उनका अनुसार अबको केही वर्षपछि ५ वटा वालेट कम्पनी मात्रै अस्तित्वमा रहने उनको भनाइ छ । मर्जरभन्दा पनि खर्च धान्न नसकेर आफैं बन्द हुने अवस्थामा रहेको उनले बताए । ‘वालेट बिजनेशको २२/२५ प्रतिशत कारोबार कभर गर्ने कम्पनीले नाफा कमाउन सकेका छैनन्, जबकी ती कम्पनीहरुले लागतलाई कम गर्दै अप्टिमाइज भइरहेका छन्, ती कम्पनीले क्यासब्याक पनि कम दिएका छन्, क्यासब्याक घटाउँदै लगेका छन्,’ उनले भने- ‘५/७ प्रतिशत मार्केट सेयर भएका कम्पनीले कमाएर कति दिने ? अन्य वालेट कम्पनीले ३ रुपैयाँ कमाएर ५ रुपैयाँ फालिरहेका छन्, यो भनेको आधारभूत सिद्धान्तबाट बाहिर जानु हो, सस्तोमा किनेर महँगोमा बेच्नु बिजनेश हो, महँगोमा किनेर सस्तोमा बेच्नु होइन ।’ राष्ट्र बैंकको भुक्तानी विभाग प्रमुख समेत रहेका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पनि डिजिटल भुक्तानी सेवा प्रदायक वालेट कम्पनीहरु घाटामा सञ्चालन भइरहेको स्वीकार गरे । हाल सञ्चालनमा रहेका डिजिटल भुक्तानी वालेट कम्पनीहरुमध्ये अधिकांश वालेट कम्पनीहरु घाटामा सञ्चालन भइरहेको उनको भनाइ छ । उनका अनुसार २७ वटा वालेट कम्पनीमध्ये अधिकांश घाटामा सञ्चालन भइरहेका छन् । इसेवा, खल्ती, आइएमई पे ठिकै अवस्थामा रहेको उनले बताए । अन्य कम्पनीहरु भने घाटामै चलिरहेको उनको भनाइ छ । ‘इसेवा, खल्ती, आइएमई पे, प्रभु पे, माइ पे, नमस्ते पे टप फाइभ कम्पनी हुन्, माइ पेले आक्रामक रुपमा आफ्नो विजनेश ग्रोथ गरिरहेको छ, नमस्ते रणनीतिक हिसावमा अघि बढ्दै छ, चुक्ता पूँजी नै ४० करोड रुपैयाँभन्दा बढी छ,’ उनले भने ।

७ बैंकबाट साढे ५ अर्ब ऋण लिएका केदार शर्माका कम्पनी धमाधम बन्द हुँदै, यी ६ कम्पनी कालोसूचीमा

काठमाडौं । सहकारीको रकम हिनामिना गरेर अहिले प्रहरीको नियन्त्रणमा रहेका केदार शर्माको लगानी रहेका विभिन्न कम्पनीहरु एकपछि अर्को गरी बन्द हुन थालेका छन् । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र श्री तुलसी बहुमुखी सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लागेका शर्मा प्रहरीको नियन्त्रणमा हुँदा उनले लगानी गरेका कम्पनीहरु अहिले संकटमा पर्न थालेका हुन् । उनले दुई सहकारी संस्थाको कूल १२ अर्ब २३ करोड ५१ लाख रुपैयाँ हिनामिना गरेर विभिन्न ४३ वटा कम्पनीमा लगानी गरेको भेटिएको छ । उनीसहित उनकी श्रीमती गिता शर्मा पनि अहिले प्रहरीको नियन्त्रणमा भएपछि उनले लगानी गरेका कम्पनीहरु बन्द हुन थालेका हुन् । शर्माको लगानी रहेका विभिन्न कम्पनीहरुमा सहकारीको रकम प्रयोग भएको सीआईबीको अनुसन्धानले देखाएको छ । त्योसँगै उनले ती कम्पनीहरुमा लगानीका लागि विभिन्न बैंकबाट ऋण लिएका छन् । उनी पक्राउ परेसँगै ती बैंकहरु पनि अहिले तनावमा छन् । ऋणी नै प्रहरीको हिरासतमा भएपछि लगानी डुब्ने चिन्तामा बैंकर छन् । उनले विभिन्न सात वटा बैंकबाट साढे ५ अर्ब रुपैयाँ ऋण लिएको स्रोतको दाबी छ । उनले एसबिआई बैंकबाट करिब २ अर्ब, हिमालयन बैंकबाट १ अर्ब बढी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ९० करोड, माछापुच्छ्रे बैंकबाट ६८ करोड, प्रभु बैंकबाट ४० करोड, नबिल बैंकबाट २० करोड र एनएमबि बैंकबाट करिब १० करोड रुपैयाँ कर्जा लिएको बुझिएको छ । अहिले ऋणी पक्राउ परेपछि बैंकहरु ऋण असुलीको प्रक्रियामा लागेका छन् । स्रोतका अनुसार उनले धितो नै राखेर बैंकबाट ऋण लिएका छन् । ‘हाम्रो ऋण फस्दैन, किनकी धितो राखेर नै ऋण प्रवाह भएको छ, अब धितो लिलाम गरेर कर्जा असुल गर्ने कि केही समय रोक्ने भनेर योजना बनाइरहेका छौं, केहीले प्रक्रिया अगाडि बढाइसकेका छन्,’ एक बैंकका सीईओले भने । उनले कर्जा नतिरेपछि उनले लगानी गरेका कम्पनीहरु र उनको नाम पनि पटक-पटक कालोसूचीमा परिरहेको छ । उनले लगानी गरेका आधा दर्जन कम्पनीहरु अहिले कालोसूचीमा छन् । उनले लिएको ऋण नतिरेकै कारण उनका कम्पनीहरु कालोसूचीमा परेका हुन् । कर्जा सूचना केन्द्रका अनुसार केदार शर्माको एकल स्वामित्वमा रहेका ६ वटा कम्पनीहरु अहिले कालोसूचीमा छन् । ती कम्पनी कालोसूचीमा परेर बन्द पनि हुन थालेका छन् । उनले १० करोड लगानी गरेर खोलेको शिखर दीप एग्रो अहिले कालोसूचीमा छ । जसमा पनि शर्माको एकल लगानी छ । यस्तै, उनले १० करोड रुपैयाँ पुँजीमा स्थापना गरेको नटराज एग्रो पनि कालोसूचीम छ । १० करोड लगानीमै खुलेको नटराज फुड इन्डष्ट्रि, १५ करोड लगानीको गार्डेन मार्ट, ५ करोड लगानीको तुलसी मोटर पम्प र ८ करोड लगानीको शिवशिखर एग्रो पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा छ । यी सबै कम्पनीमा शर्माको एकल लगानी छ । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदार शर्मा, उनकी श्रीमती गीता शर्मा र सञ्चालकहरु पुष्कर मल्ल र अनिशराज भण्डारीलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनले लगानी गरेको एउटा टेलिभिजन बन्द नै भइसकेको छ । सो कम्पनीमा काम गर्ने कर्मचारीले लामो समयदेखि तलब नै नपाएको गुनासो गरिरहेका छन् । सीआईबीका प्रहरी उपरिक्षक सञ्जयसिंह थापा शर्माले सहकारीमार्फत् लगानी गरेका कतिपय कम्पनीहरु बन्द भएको र कतिपयमा थप अनुसन्धान गरेर बन्द गर्ने प्रक्रियामा रहेको बताउँछन् । उनले अनुसन्धानका लागि कम्पनी बन्द गर्नु परेको बताए । उनको लगानी रहेका सबै कम्पनीको खाता तथा कारोबार पनि अहिले बन्द छ । ‘शर्मासँग अन्य सेयरधनीहरु पनि हुनुहुन्छ, शर्माले शिखर अर्गनाइजेसन र सहकारीबाट ती कम्पनीमा लगानी गरेको भेटिएमा हामी कम्पनी नै सिल गर्छौं, कतिपय बन्द भइसकेका छन्, अझै पनि अनुसन्धान गरिरहेका छौं, जुन कम्पनीमा उनको लगानी सहकारीबाट गएको छ, ती कम्पनीहरु बन्द हुन्छन्,’ थापाले भने ।