सेयर बजारमा असार मसान्तको प्रभाव मात्रै कि बुलिस ट्रेण्डको संकेत ?
काठमाडौं । लामो समयदेखि ओरालो लाग्दै तल्लाे विन्दुमा कारोबार भइरहेको सेयर बजारमा पछिल्लो एक महिनामा भने हरियाली नै देखिएकाे छ । एक महिनाको अवधिमा सेयर बजार साढे २ सय अंकले बढ्याे भने कारोबार रकम पनि ह्वात्तै वृद्धि भयाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्कअनुसार कारोबारकाे एक महिनामा नेप्से परिसूचक २५४ अंकले बढेको छ । २०८० जेठ ४ गतेदेखि असार १८ गते सोमबारसम्म ३० दिन सेयर कारोबार भएको छ । सो अवधिमा पूँजी बजार २५४ अंकले बढेको छ भने ९७ अर्ब ९ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको तथ्याङ्कले देखाउँछ । पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा तरलता सहज हुँदै गएपछि सेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ताहरुले बताएका छन् । साथै, बैंकको ब्याजदर पनि घट्न थालेकाले त्यसकाे प्रभाव समेत सेयर बजारमा पर्दा काराेबारकाे आकार बढ्न थालेकाे लगानीकर्ताहरुकाे विश्लेषण छ । पछिल्ला दिनमा ठूला लगानीकर्ता सेयर बजार प्रवेश गरेपछि कारोबार रकम बढेको कतिपय लगानीकर्ताहरुको दावी छ । लगानीकर्ता तारा फुलेल सेयर बजारले वियरिस ट्रेण्ड पार गरेर बुलिस ट्रेण्डको बाटोमा अघि बढीरहेको बताउँछन् । असार मसान्त नजिक आएकाले बजार तलमाथि हुनु स्वभाविक रहे पनि बजारकाे नेचर भने अन्ततः बुलको तयारीमा रहेको उनी बताउँछन् । ‘बैंकको ब्याजदर घट्दोक्रममा छ । ब्रोकरको दायरा फराकिलो हुँदैछ । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको हितमा काम गर्दै आएको छ’, उनले भने । ‘बजारमा लगानीकर्तालाई चाहिने कतिपय विषयमा बोर्डले देखिने गरी काम गरिरहेको छ,’ फुलेलले भने, ‘बैंकहरुले ब्रोकर कारोबार सुरु गर्न थालेपछि देशको दूरदराजसम्म वा बैंकको शाखा कार्यालय पुगेको ठाउँसम्म ब्रोकरको सेवा पुग्नेछ । हरेक स्थानीय तहसम्म ब्रोकर सेवा पुग्छ । लगानीकर्ताले यी विषय बुझेकाले पनि बजारमा सकरात्मक उर्जा थपिइरहेकाे छ ।’ उनकाअनुसार केन्द्रीय बैक मार्जिन लेण्डिङकाे विषयमा पनि नरम हुने संकेत देखिएकाे छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहेको हुँदा सेयर बजारका सन्दर्भमा सकारात्मक नीति आउन सक्ने उनको भनाइ छ । बजारमा काल्पनिक भन्दा पनि फण्डामेन्टलका आधारमा घटबढ हुने उनले बताए । ‘सेयर बजारमा नकारात्मक हिट गर्ने गरी राष्ट्र बैंकले यो भन्दा बढी गर्ने कुनै पनि ठाउँ बाँकी छैन । सेयर बजारलाई कस्नुसम्म कसिसकेको छ । लगानीकर्तालाई जतिसम्म अफ्ठ्यारो पार्नु पर्ने हो राष्ट्र बैंकका नीतिहरुले पारिसकेको छ । अब खुकुलो बनाउने मात्रै विकल्प छ । तरलता सहज भएर ब्याजदर घट्दैछ,’ उनले भने । इन्ट्रा डेमा तलमाथि भइरहेकाले बजारका लागि याे सुन्दर पक्ष भएकाे उनी बताउँछन् । तर, डे वाइज तलमाथि हुनु असार मसान्तको असर हुनसक्ने फुलेलले बताए । उनले भने ‘हिजो १ अर्ब कारोबार हुन धौंधौं परिरहेको अवस्थामा अहिले ५/६ अर्ब रुपैयाँ बराबरको कारोबार भइरहेको छ, यो भनेको बजारमा लगानीकर्ता भित्रिए भन्ने संकेत हो । बजारमा पालैपालो सबै सेक्टरले लिड गर्छ ।’ ब्रोकर सञ्चालक अतित लाल श्रेष्ठ करेक्सन भएर बजार बाउन्स ब्याक हुँदै उच्च बिन्दुमा पुग्ने बताउँछन् । बैंकहरुले सेयर कर्जा प्रवाहमा जोड दिइरहेकाले अझै बढ्ने उनको भनाइ छ । नयाँ ब्रोकर कम्पनीहरुको पनि पूँजी परिचालन हुने भएकाले बजारमा पूँजी परिचालन हुने उनले बताए । ‘नयाँ ब्रोकर कम्पनीको १२ अर्ब रुपैयाँ फ्रिज (जाम) भएर बसेको छ। बैंकमा निक्षेप मात्रै थप्रिएको छ । यदि नयाँ ब्रोकर कम्पनीले काम गर्न सुरु गरेपछि जाम भएर बसेको पैसा परिचालन हुन्छ । बजारमा तरलता बढ्छ । लगानीकर्ताहरुले त्यसमै रमाइलो गर्न पाउँछन्,’ उनले भने, ‘नयाँ ब्रोकर कम्पनीहरुले बजार चलायमान गर्छन् । अहिले बजार तलमाथि हुँदा लगानीकर्ताहरुले नाफा बुक गरेका हुन सक्छन् ।’ अर्का लगानीकर्ता अम्मर डंगोलकाअनुसार बजार अलिकति करेक्सन हुँदै माथि जाने हो । बैंकको सेयर बढ्दा बजार बढ्ने र घट्दा पुरै घट्ने भइरहेको उनले बताए । अबको बुलमा बीमा कम्पनीहरुले लिड गर्ने उनले बताए । ‘बीमा, होटल कम्पनीहरु बढ्न थालेको छ, बैंक पनि केही दिनअघिसम्म बढेको थियो, बैंक बढ्दा बजार बढेको थियो, फेरी बैंकको सेयर घट्न थालेपछि बजार घटेको देखिन्छ,’ उनले भने, ‘बीमा सेक्टर जति बढेको छ त्यति घटेको देखिँदैन, अब बुल आयो भने बीमाले लिड गर्ने संकेत गरिरहेको छ, बीमा कम्पनी बजारमा बलियो देखिएको छ ।’ बैंकहरुमा तरलता उच्च भए पनि लगानी शुन्य हुँदा बजारलाई फाइदा पुगेको उनले बर्ता । बैंकहरु लगानी गर्न डराइरहेकाले सीडी रेसियो पनि ८३ प्रतिशतमा झरेको उनले बताए । यसले बजारमा सकारात्मक प्रभाव पार्ने उनले बताए । मौद्रिक नीति खुकुलो आएपछि बजारलाई सकारात्मक प्रभाव पार्ने उनको बुझाइ छ । उनका अनुसार बैंकको ब्याज र किस्ता तिर्नु पर्ने भएकाले असार २२ गतेसम्म बजार करेक्सन हुन सक्ने उनको भनाइ छ । ‘बैंकको ब्याज तिर्नका लागि बजार घटिरहेको छ, बैंकहरुले कर्जा लिएका ऋणीहरुलाई असार २५ गतेभित्र तिर्नु भनेर फोन गरिरहेका छन्, मलाई पनि फोन गरेर २५/२६ गतेभित्र ब्याज तिर्नु भनेको छ,’ उनले भने, ‘पहिला ३० गतेसम्म तिर्न पाइन्थ्यो, अहिले २५/२६ गतेभित्र भुक्तानी गर भनेर बैंकबाट फोन आइरहेको छ, जसको दबावले बजार घटेको हुन सक्छ ।’
असार लागेसँगै बढ्न थाल्यो सरकारको खर्च, तीन दिनमा ३३ अर्ब भुक्तानी
काठमाडौं । असार लागेसँगै सरकारी खर्चमा वृद्धि भएको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार पछिल्लो तीन दिनमा मात्रै ३३ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ । महालेखा नियन्त्रक कार्यालयले असार २१ गतेसम्म मात्रै भुक्तानी हुने र त्यही अनुसार गर्न कोष तथा लेखा नियन्त्रक र प्रदेश लेखा नियन्त्रकलाई निर्देशन समेत दिइसकेको छ । सोही निर्देशन अनुसार यसअघि काम भएर पनि भुक्तानी रोकिएका विभिन्न परियोजनाको रकम एकैपटक ठूलो रकम भुक्तानी भएको हो । कार्यालयको तथ्यांक अनुसार गत शुक्रबारदेखि सोमबारको तीन दिनको अबधिमा मात्रै ३३ अर्ब ८ करोड ८४ लाख रुपैयाँ बराबरको भुक्तानी भएको हो । जसमा गत शुक्रबार ५ अर्ब ७९ करोड ४९ लाख रुपैयाँ, आइतबार १८ अर्ब १६ करोड ७० लाख र सोमबार ९ अर्ब १२ करोड ६५ लाख रुपैयाँ बराबरको भुक्तानी भएको हो । चालु आर्थिक वर्षको साउनदेखि सोमबारसम्मको तथ्यांक अनुसार १२ अर्ब ६३ करोड १७ लाख ८६ हजार रुपैयाँ बराबरको खर्च भएको छ । साढे ३ खर्ब नोक्सानीमा सरकारी कोष चालु आर्थिक वर्ष सकिन १२ दिन बाँकी रहदा सरकारी कोष साढे ३ खर्ब बढी नोक्सानीमा पुगेको छ । सरकारको आम्दानीभन्दा खर्च बढी भएपछि सोमबारको तथ्यांक अनुसार सरकारी कोष ३ खर्ब ५३ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ बराबरको नोक्सानीमा पुगेको हो । आयात न्यून हुँदा सरकारको राजस्व आम्दानीको प्रमुख स्रोतका रूपमा रहेका भन्सार महसूल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क आदि शिर्षकमा राजश्व संकलनमा कमी आएको छ । अहिलेसम्म खर्च भएको रकममध्ये ६२ प्रतिशत रकम चालू शीर्षकमा खर्च भएको छ । नियमित तलबभत्ता, प्रशासकीय खर्च, सामाजिक सुरक्षाभत्ता, प्रदेश र स्थानीय तहहरूलाई अनुदानका रूपमा यस्तो खर्च हुन्छ । अर्थ मन्त्रालयका अधिकारीहरूले चालू प्रकृतिको दायित्व असाध्यै उच्च रहेका कारण सरकारलाई वित्तीय व्यवस्थापन गर्नै चुनौती भइरहेको बताउने गरेका छन् । सरकारले आम्दानी कम र खर्च धेरै भइरहेपछि आन्तरिक र बाह्य ऋण मार्फत स्रोत व्यवस्थापन गरिरहेको छ । यो वर्ष बजेटले चार खर्ब ९८ अर्ब रुपैयाँ ऋण लिने तयारी भएको उल्लेख गरेको थियो । सरकारले यो वर्ष १४ खर्ब तीन अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । तर, अहिलेसम्म सङ्कलन भएको राजस्व लक्ष्यको तुलनामा करीब ६१.७ प्रतिशत मात्रै हो । बाँकी १२ दिनमा लक्ष्य अनुसारको बाँकी राजस्व सङ्कलन नहुने प्रस्ट छ । उक्त लक्ष्यमध्ये सोमबारसम्म ८ खर्ब ६५ अर्ब ६८ करोड २९ लाख रुपैयाँ बराबर मात्रै असुल गरेको छ । त्यस्तै चालु आर्थिक वर्षका लागि ५५ अर्ब ४५ करोड ८३ लाख बराबर वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकामा सोमबारसम्म लक्ष्यको आठ दशमलव ६६ प्रतिशत अर्थात् चार अर्ब ८० करोड २० लाख रुपैयाँ मात्रै अनुदान आएको छ । सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो । जसमध्ये हालसम्म १२ खर्ब ६३ अर्ब १७ करोड ८६ लाख बराबर खर्च भएको छ । असार १८ गतेसम्म चालु खर्च ७९ दशमलव ०४, पुँजीगत खर्च ४४ दशमलव ८२ र वित्तीय व्यवस्थातर्फको खर्च ६८ दशमलव ३९ प्रतिशत बराबर छ ।
बालेनले भनेको तलब दिँदा काठमाडौंका २७५ निजी स्कुल बन्द हुन सक्ने
काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्रका निजी स्कुलहरुले आफ्ना शिक्षकहरुलाई सरकारी सरह तलब सुविधा दिनुपर्ने स्थिति आएमा आधा भन्दा धेरै बन्द हुने हुने अवस्था सिर्जना हुने देखिएकाे छ । निजी विद्यालयमा पढाउने शिक्षकहरुले सरकारी विद्यालय सरह तलब माग गरेमा अधिकांश विद्यालयहरु बन्द हुने अवस्था सिर्जना हुने देखिएकाे हाे । निजी विद्यालयका सञ्चालकहरुले सबै स्कुलहरुले सरकारी सरह तलब दिनै नसक्ने बताउँछन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का उपाध्यक्ष कुमार घिमिरे काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले शिक्षा क्षेत्र सम्बन्धित अगाडि बढाएका कार्यक्रमहरु सकारात्मक भएपनि तलब कार्यान्वयन भने गर्न नसकिने बताउँछनन् । उनले निजी विद्यालयले शिक्षकहरुलाई सरकारी विद्यालय सरहको सुविधा दिनको लागि एउटा विद्यालयमा ४२९ जना विद्यार्थी हुनुपर्ने र तिनीहरुसँग कम्तिमा ५ हजार भन्दा बढी शुल्क लिनु पर्ने बताए । तर, सो विषयको कार्यान्वयन भने अहिलेको अवस्थामा सम्भव नभएको उनको भनाइ छ । ‘बालेनजीले अगाडि बढाएका अन्य राम्रा कुराहरुमा हाम्रो पनि समर्थन छ, तर तलबको विषय चाहिँ सम्भव छैन’, उनले भने । यदि बालेनले भने जस्तै निजी स्कुलहरुले पनि शिक्षकहरुलाई तलब दिनुपर्ने बाध्यता आउने हो भने थोरै विद्यार्थी भएका र थोरै शुल्क लिने स्कुलहरु संकटमा पुग्ने उनले बताए । प्याब्सनका महासचिव आरबी कटवालले काठमाडौं महानगरले शिक्षकको तलबको विषयमा आधिकारिक रुपमा आफूहरुलाई केही नभनेको तर, बालेनले भनेको विषय कार्यान्वयन हुने हो भने काठमाडौं महानगर भित्र सञ्चालनमा रहेका २७५ भन्दा धेरै स्कुलहरु बन्द हुने बताए । सोही नीति देशैभरीका स्कुलमा लागू गर्ने हो भने ७० प्रतिशत निजी स्कुलहरु बन्द हुने उनको भनाइ छ । ‘काठमाडौंमा विद्यार्थी संख्या बढी भएपनि शुल्क कम लिने स्कुलहरु २७५ वटा बन्द हुन्छ भने देशैभरी हेर्ने हो भने त्यस्ता ७० प्रतिशत स्कुलहरु बन्द हुन्छन्’, महासचिव कटवालले बताए । उनले शिक्षकहरुको तलबको विषय विद्यार्थीसँग लिइने शुल्कसँग सम्बन्धित भएको र सो शुल्क पनि स्कुलले मात्रै निर्णय गरेर बढाउन नसक्ने बताए । सरकारले शुल्क उठाउनको लागि दिएको आधार अनुसार नै निजी स्कुलहरुले शुल्क उठाउन नसकेको उनकाे भनाइ छ । ‘सरकारले शुल्क उठाउन दिएकाे आधारलाई हेर्ने हो भने अहिलेको अवस्थामा ‘ग’ वर्गको स्कुलले नै ५५ सय देखि ६ हजार शुल्क उठाउनु पर्ने हुन्छ, त्यो पैसा त अभिभावकले तिर्न सक्दैन’, उनले भने, ‘तिर्न नसक्ने वित्तिकै समस्या हुन्छ र अधिकांश स्कुलहरु बन्द हुन्छन् ।’ सरकारले नै शिक्षा नियमावलीमार्फत् स्कुलहरुलाई वर्गिकरण गरेर विद्यार्थीसँग लिन सकिने शुल्क तोकिदिएको भन्दै कटवालले त्यसकै आधारमा स्कुलहरुले शिक्षक कर्मचारीलाई सेवा सुविधा दिन सक्ने बताए । विशिष्ट श्रेणीका स्कुलहरुले शिक्षक कर्मचारीहरलाई सरकारी भन्दा पनि धेरै सुविधा दिएको भन्दै महासचिव कटवालले तल्लो श्रेणीका स्कुलहरुमा नै समस्या रहेको बताउँछन् । उनले अहिलेको अवस्थामा सबै बर्गका अभिभावकहरुले निजी स्कुलमा पढाउन सक्ने अवस्था रहेको तर, बालेनले भनेको विषय कार्यान्वयन हुने हो भने अधिकांश अभिभावकहरुले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउन सक्ने अवस्था समेत नहुने बताउँछन् । बालेनले निजी विद्यालयमा पढाउने शिक्षकहरुले पनि सरकारी वा सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुले सरह तलब सुविधा पाउनुपर्छ भनेपछि निजी विद्यालयहरुमा कार्यरत शिक्षकहरु भने खुसी भएका छन् । निजी विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुको छाता संस्था ‘संस्थागत विद्यालय शिक्षक युनियन’ (इस्टु)ले प्रेस विज्ञप्ति जारी गर्दै बालेनको अभिव्यक्तिलाई स्वागतयोग्य भएको जनाएको छ । आफ्ना समस्याहरुलाई लामो समयदेखि विभिन्न निकायहरुमा राख्दै आएकोमा कुनै प्रतिक्रिया नआएकोमा बालेनले दिएको अभिव्यक्ति स्वागतयोग्य भएको इस्टुले आफ्नो विज्ञप्तिमा उल्लेख गरेकाे छ ।