हाई प्रोफाइल व्यवसायी आर्थिक संकटमा पर्दा बैंकरलाई तनाव, २२ अर्ब ऋण डिफल्ट
काठमाडौं । अहिले नेपाली व्यवसायमा ‘लोभले लाभ, लाभले विलाप’का घटनाहरु बढ्न थालेका छन् । रातारात धन कमाएर धनाड्य हुने महत्वकांक्षा र व्यक्तिगत लहडले कतिपय व्यवसायीहरु आर्थिक संकटमा मात्रै फसेका छैनन्, जेलको बास गर्नु पर्ने बाध्यता पनि सिर्जना भएको छ । रातारात अर्बपति बन्ने सपना बोकेका इच्छाराज तामाङ होस् वा कृषि व्यवसाय गरेर नेपाली मेडिकल क्षेत्रमा राज गर्ने चाहना बोकेका मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसम्मका व्यवसायी अहिले ठूलो आर्थिक संकटमा छन् । कुनै समय नेपाली घरजग्गा क्षेत्रबाट मनग्य कमाएर अर्बपतिको लाइनमा देखिएका व्यवसायी हुन् इच्छाराज तामाङ । कुनै बेला उनलाई भेट्न सिभिल ग्रुपको कार्यालयमा जाने जोकोहीलाई पनि कुनै राजकीय पृष्ठभूमिको व्यक्तिको घरमा प्रवेश गरेको आभास हुन्थ्यो । उनको लवाई-खवाई मात्रै होइन, उनको राजकीय शैलीले पनि धेरैलाई छक्क पार्थ्यो । तामाङले आफ्नो कार्यालयलाई पनि सोही किसिमले ‘डेकोरेट’ गरेका हुन्थे । उनी निकट भएर काम गरेकाहरु भन्छन्, ‘इच्छाराज तामाङलाई भेट्न जाने जोकोहीलाई पनि उनी खुशी बनाएर पठाउँथे ।’ तर, त्यो दिन धेरै टिकेन । सिभिल ग्रुपका अध्यक्ष समेत रहेका तामाङले सिभिल सहकारीका बचतकर्ताको पैसा ठगेको आरोपमा अहिले उनको बास जेलमा छ । उनी मात्रै होइन, उनकी जीवन संगिनी सिर्जना शाक्य तामाङ पनि उनीसँगै जेलमा छिन् । सहकारीमा आफै साहु र आफै ऋणी बन्दा उनको बास जेलमा हुन पुग्यो । अहिले उनको व्यवसाय तहसनहस बनेको छ । उनीसँग वाणिज्य बैंकको करिब ५ अर्ब रहेको बैंकरहरु बताउँछन् । तामाङको सबैभन्दा बढी ऋण प्राइम कमर्सियल बैंकमा रहेको बुझिएको छ । त्यससँगै सिटिजन्स बैंक, कर्मचारी सञ्चय कोष, सनराइज बैंक लगायतमा पनि उनको कर्जा रहेको बैंकरहरु बताउँछन् । सिटिजन्स बैंकका सूचना अधिकारी नारायण अधिकारी भने तामाङको नाममा सिटिजन्स बैंकमा रहेको ऋण राफसाफ भइसकेको बताउँछन् । तामाङले अन्य बैंकको ऋण भने तिर्न सकेका छैनन् । इच्छाराज जस्तै अहिले सहकारीको रकम हिनामिना गरेर प्रहरीको नियन्त्रणमा रहेका व्यवसायी हुन् केदार शर्मा । केदारको कहानी पनि इच्छाराजको भन्दा फरक छैन । यद्यपि, सहकारीको उनको ठगी हालसम्मकै ठूलो हो । तुलसी सहकारीका अध्यक्ष र शिबशिखर सहकारीका सञ्चालक रहेका उनले दुई सहकारीका बचतकर्ताको १२ अर्ब २३ करोड बढी रकम हिनामिना गरेको आरोप छ । अहिले उनीसहित उनकी श्रमती गिता शर्मा र अन्य दुई सञ्चालकहरु पनि प्रहरीको नियन्त्रणमा छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । ४३ वटा कम्पनीमा लगानी गरेका उनले पनि बैंकहरुबाट ठूलो रकम ऋण लिएका छन् । उनले विभिन्न सात वटा बैंकबाट साढे ५ अर्ब रुपैयाँ ऋण लिएको खुलेको छ । उनले एसबिआई बैंकबाट करिब २ अर्ब, हिमालयनबाट १ अर्ब बढी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ९० करोड, माछापुच्छ्रेबाट ६८ करोड, प्रभुबाट ४० करोड, नबिलबाट २० करोड र एनएमबि बैंकबाट करिब १० करोड रुपैयाँ कर्जा लिएको बुझिएको हो । अहिले ऋणी पक्राउ परेपछि बैंकहरु ऋण असुलीको प्रक्रियामा लागेका छन् । स्रोतका अनुसार उनले धितो नै राखेर बैंकबाट ऋण लिएका छन् । ‘हाम्रो ऋण फस्दैन, किनकी धितो राखेर नै ऋण प्रवाह भएको छ, अब धितो लिलाम गरेर कर्जा असुल गर्ने कि केही समय रोक्ने भनेर योजना बनाइरहेका छौं, केहीले प्रक्रिया अगाडि बढाइसकेका छन्,’ एक बैंकका सीईओले भने । उनले कर्जा नतिरेपछि उनले लगानी गरेका कम्पनीहरु र उनको नाम पनि पटक-पटक कालोसूचीमा परिरहेको छ । उनले लगानी गरेका आधा दर्जन कम्पनीहरु अहिले कालोसूचीमा छन् । यस्तै, सुमेरु समूहको नाममा कम्पनीहरु खडा गरेर रातारात अर्बपति बन्ने व्यवसायीको लाइनमा थिए भरत महर्जन । उनलाई पनि घरजग्गाले नै डुबाएको छ । सुमेरु समूहको नाममा सुमेरु अस्पताल, कलेज, हाउजिङ, मार्ट, पर्यटन व्यवसाय लगायत डेढ दर्जन क्षेत्रमा हात हालेका उनी अन्ततः ठूलो फसादमा परे । उनको व्यवसायिक साम्राज्य पनि सामान्य थिएन । उनले पनि सुमेरु सहकारीका बचतकर्ताको रकम आफ्नो विभिन्न कम्पनीहरुमा लगानी गरेको बुझिएको छ । तर, सहकारीको रकम हिनामिना गरेर उनी विदेश पलायन भइसकेका छन् । सुमेरु सहकारीको जिम्मेवारी पूर्व कर्मचारी हेमराज दाहाललाई दिएर उनी बेलायत फरार भएको बुझिएको छ । जसको कारणले बैंकहरुलाई पनि पैसा उठाउन ठूलो सकस परेको बुझिएको छ । स्रोतका अनुसार उनले विभिन्न बैंकबाट दुई अर्ब कर्जा लिएका छन् । उनको नाममा कुमारी बैंकले १ अर्ब बढी र प्रभु बैंकले २० करोड लगानी गरेको बुझिएको हो । यस्तै, अन्य बैंकमा पनि उनको स-सानो रकममा ऋण रहेको स्रोतको दाबी छ । कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रामचन्द्र खनालले महर्जनले गत पुससम्म नियमित किस्ता दिर्दै आएको भएपनि त्यसयता भने नतिरेको बताए । ‘पहिले नियमित तिर्दै आउनु भएको थियो, पछिल्लो समय तिर्नु भएको छैन, सम्पर्कमा पनि हुनुहुन्न,’ डीसीईओ खनालले भने । सहकारीकै बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका अर्का व्यवसायी हुन् रविन्द्र चौलागाईं । देउराली सहकारीका अध्यक्ष समेत रहेका उनले सहकारीका बचतकर्ताको ७ अर्ब बढी रकम हिनामिना गरेको बुझिएको छ । उनले आरआर ग्रुप अफ कम्पनी, देउराली प्रोपर्टी, श्री पूजा पोल्ट्री फार्म, मून भेन्चर इन्भेष्टमेन्ट, आरआर रिसर्च एन्ड डेभलपमेन्ट, पूजा मार्केटिङ, श्रीश्री ब्रदर्स मार्केटिङ, अन्नपूर्ण डिस्टीलरी र पूजा ट्रेडिङ एन्ड मार्केटिङ लगायतका कम्पनी खोलेर सहकारीको रकम ती कम्पनीमा लगाएको बुझिएको छ । अहिले उनीमाथि पनि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि अनुसन्धान गरिरहेको छ । चौलागाईंले ती कम्पनीहरु सञ्चालनका लागि बैंकहरुबाट चार अर्ब बढी ऋण लिएको बुझिएको छ । उनले प्रभु बैंकमा गाभिएको तत्कालीन सेञ्चुरी बैंकबाट २ अर्ब ५ करोड, सिटिजन्स बैंकबाट २५ करोड, तत्कालीन मेगा (हालको इन्भेष्टमेन्ट मेगा) बाट साढे १८ करोड ऋण लिएका छन् भने एनआइसी एसिया बैंक र माछापुच्छ्रे बैंकबाट पनि ५ करोड १० करोड बढी ऋण लिएको स्रोतको दाबी छ । बैंकहरुको सो रकम ठूलो जोखिममा रहेको स्रोतको भनाइ छ । उनी पनि अब छ्टिै प्रहरीको नियन्त्रणमा जाने निश्चित छ । त्यसपछि झन् बैंकको ऋण जोखिममा पर्नेछ । किनकी उनले कमजोर धितो राखेर बैंकबाट ऋण लिएका छन् । प्रभु बैंकले पटक-पटक सार्वजनिक सूचना निकालेर उनलाई ऋण तिर्न ताकेता पनि गरिरहेको छ । यस्तै, सहकारीभन्दा फरक पृष्ठभूमिका व्यवसायी हुन् दुर्गाप्रसाद प्रसाईं । प्रसाईं पनि पछिल्लो समय आफु ठूलो संकटमा परेको बताइरहेका छन् । उनले पनि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न सकेका छैनन् भने बैंकहरुले उनलाई थप कर्जा प्रवाह नगर्ने सहमति नै गरिसकेका छन् । प्रसाईंले बैंकबाट साढे ५ अर्ब ऋण लिएर बी एण्ड सी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल, रियलस्टेट, चिया बगानमा लगानी गरेका छन् । प्रसाईंले बनाएका बी एण्ड सी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल, पाँच तारे ‘होटल एट्रियम’ असफल बन्दैछन् । प्रसाईंका अनुसार सरकारले अनुमति नदिँदा मेडिकल कलेज सञ्चालनमा आउन सकेको छैन । होटल निर्माणको ६० प्रतिशत मात्र काम भएको छ । तर, बैंकले थप कर्जा दिन नमानेपछि निर्माण कार्य रोकिएको छ । बैंकले पहिलो चरणमा १२५ करोड र दोस्रो चरणमा ७४ करोड रुपैयाँ कर्जा बैंकबाट स्वीकृत गराएको थियो । तर, पुरै पैसा नपाएपछि होटल निर्माण रोकिएको प्रसाईंले बताए । उनले बैंक तथा वित्तीय संस्थाको चौतर्फी रुपमा विरोध गरेर बैंकरलाई कालोमोसो दल्ने अभियान अगाडि बढाएपछि बैंकरहरु उनीप्रति कठोर बनेका हुन् । परिणामस्वरुप उनलाई थप कर्जा प्रवाह नगर्ने र लगानी भएको ऋण पनि उठाउने प्रयासमा बैंकर लागेका हुन् । तर, उनले ऋण नतिरेर अदालत धाउन थालेका छन् । प्रसाईंले ग्लोबल आइएमई, कुमारी र प्रभु बैंकबाट एक/एक अर्ब रुपैयाँ ऋण लिएका छन् भने नबिलबाट ७६ करोड, राष्ट्रिय वाणिज्यबाट ७० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड र गुडविल फाइनान्सबाट १० करोड रुपैयाँ ऋण लिएको खुलेको छ । तर, यी सबै बैंकले उनको किस्ता रोकिरहेका छन् । कुमारी बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा रहेको ७० करोड र पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा रहेको ३० करोड गरी कुल १ अर्ब रुपैयाँ ऋण तिर्न ताकेता गरेपछि उनी उच्च अदालत विराटनगर पनि पुगे । प्रसाईंले माग गरे बमोजिम अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको छ । बैंकबाट ऋण लिएर ठूला प्रोजेक्टहरुका मालिक बन्न खोजेका उनलाई बैंकले पत्याउन छोडेपछि अहिले उनी आत्तिएका छन् । झापामा एक सामान्य परिवारमा जन्मिएका उनले सुरुमा कृषि गर्थे । झापामा ठूलो चिया बगान चलाएर बसेको गिरि परिवारको छोरीसँग विवाह गरेपछि उनलाई व्यवसाय गर्ने चेत आएको उनी निकटहरु बताउँछन् । त्यसपछि उनी स-सानो व्यवसाय गर्न थाले । सुरुमा उनले कृषि विकास बैंकबाट ऋण लिएर भैंसी पालन गरे । उनको आर्थिक हैसियत विस्तारै उकासिँदै गयो । बैंकले पनि पत्याउन थाले । एकपछि अर्को व्यवसायमा हात हालेपछि उनी समाजमा चिनिन थाले । तर, उनलाई सम्पत्तिको मात लागेपछि उनले भने अरुलाई चिन्न छाडे र तथानाम गाली बेइज्जतमा उत्रिए । जसको बलमा ठूला प्रोजेक्टहरु निर्माण गरेका थिए उनकै विरोधमा उत्रिएपछि अहिले उनी संकटमा परेका हुन् । उनी संकटमा पर्दा उनीमाथि कर्जा लगानी गरेका बैंकहरु पनि समस्यामा परेका हुन् । अहिले ठूला ऋणीहरुले बैंकको सावाँ ब्याज नतिर्दा बैंकलाई ऋण असुलीमा समस्या भइरहेको बताइरहेका छन् । चालु आर्थिक वर्षको अन्तिम त्रैमासमा राम्रो रिकभरि गरेर बैंकको वित्तीय विवरण बलियो देखाउने रणनीतिमा रहेका बैंकरहरुलाई ठूला व्यवसायीले ऋण नतिर्दा वित्तीय विवरणमै ठूलो असर पर्ने देखिन्छ । यसले गर्दा बैंकको खराब कर्जा पनि बढ्ने आँकलन बैंकरले गरेका छन् भने २२ अर्ब बढी कर्जा डिफल्ट हुने जोखिम छ । सम्बन्धित सामग्री : सहकारी खोलेर रातारात अर्बपति, संस्था डुबाएर नातेदारलाई नेतृत्व जसलाई सहकारीले अर्बपति बनाएर सडकमा पुर्यायो
३ वर्षभित्र नम्बर वान बन्ने लक्ष्मी सनराइजको रणनीति, मर्जरपछि यस्तो बन्नेछ बैंक
काठमाडौं । असार २८ गतेबाट एकीकृत काराेबार गर्न लागेका लक्ष्मी र सनराइज बैंकले आगामी तीन वर्ष भित्रम देशकै नम्बर वान बन्ने रणनीति बनाएका छन् । नेपाल राष्ट्र बैंकले मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेसँगै एकीकृत बैंककाे आगामी रणनीति तयार भएकाे छ । बैकले असार २८ गतेबाट एकीकृत कारोबार गर्नका लागि सबै तयारी पूरा गर्ने क्रममा रहेकाे बैकका सञ्चालकहरुले बताएका छन् । उक्लियो टप फाइभमा मध्यमस्तरको वित्तीय विवरण भएको लक्ष्मी बैंक र कमजोर वित्तीय विवरण भएको सनराइज बैंक मर्जरपश्चात् भने टप फाइभमा उक्लिएको बैंक स्रोतको भनाइ छ । अब लक्ष्मी सनराइज बैंकले देशकै नम्बर वान बैंक बन्नको लागि प्रतिस्पर्धा गर्ने बैंकका सञ्चालकहरुले बताएका छन् । ‘मर्जरपछि टप फाइभमा उक्लिने छ । अब हाम्रो लक्ष्य भनेको नम्बर वान बैंक बनाउने हो,’ एक सञ्चालकले भने, ‘२/३ वर्ष मर्जरको सेट अप गर्न नै लाग्छ । भिआरएसदेखि अन्यमा ठूलो लागत हुन्छ । त्यसपछि सिनर्जी ल्याउनतर्फ बैंकले जोड दिन्छ ।’ बैंक स्रोतका अनुसार मर्जर प्रक्रियामा झण्डै २ करोड रुपैयाँ खर्च हुने छ । मर्जरपश्चात् बैंकको चुुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी हुनेछ । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख रुपैयाँ र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकको जगेडा कोष १२ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ । लक्ष्मी बैंकसँग ५ अर्ब १७ करोड ३१ लाख रुपैयाँ र सनराइज बैंकसँँग ७ अर्ब ६५ करोड १४ लाख रुपैयाँ जगेडा कोष छ । मर्जरपछि लक्ष्मी सनराइज बैंकको निक्षेप २ खर्ब ८१ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ५० अर्ब रुपैयाँ पुग्नेछ । साथै, बैंकको शाखा सञ्जाल २७२ वटा पुग्ने छ । जसमध्ये सनराइज बैंकको १३९ शाखा कार्यालय सञ्चालनमा छन् । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको कर्मचारी संख्या ३ हजार ५ सयको हाराहारीमा पुग्नेछ । हाल लक्ष्मीमा १ हजार ४२ जना र सनराइजमा १ हजार ५१७ जना गरी कूल ३ हजार १७० जना पुग्ने छन् । मर्जरपश्चात् केही कर्मचारी थप हुने बैंक स्रोतले बताएको छ । यस्तो बन्ने छ सञ्चालक समिति मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मी बैंकबाट ४ जना र सनराइज बैंकबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकबाट हालका अध्यक्ष रमण नेपाल, सञ्चालकहरु डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । तर, सञ्चालक दिनेश पौड्याल भने बाहिरिने छन् । मर्जरपश्चात् बस्ने पहिलो बैठकले बैंकको अध्यक्षमा रमण नेपाललाई चयन गर्नेछ । यस्तै, सनराइज बैंकबाट इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । सनराइज बैंकबाट हालका अध्यक्ष मोतिलाल दुगडलाई सञ्चालक पदका लागि सिफारिस भएपनि उनी सञ्चालक बन्न पाउने छैनन् । तर, मर्जरपछि बस्ने पहिलो बैठकमा भने दुगड उपस्थित हुनेछन् । त्यसपछि उनको सट्टा अन्य ब्यक्तिलाई सञ्चालक पदमा पठाउने कि रिक्त राख्ने भन्ने बैठकले निर्णय गर्नेछ । यदि अन्य ब्यक्तिलाई सञ्चालक बनाएमा इन्जिनियर शैलेन्द्र गुरागाईं, शारदा शर्मा र दिपक नेपालमध्ये एक जना सञ्चालक बन्ने छन् । पहिलो साधारण सभा सम्पन्नपछि सञ्चालक समिति ५ सदस्यीय हुनेछ । जसमा २ जना संस्थापक, २ जना सर्वसाधाण र १ जना स्वतन्त्र सञ्चालक रहने बैंकले बताएको छ । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)अजय बहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओमा नियुक्त हुने छन् । सनराइज बैंकका सीईओ शुमन शर्मा मर्जर पश्चात् बन्ने बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्ने सहमति भएको थियो । तर, शर्माले स्वेच्छिक अवकास सुविधा (भिआरएस)मा बाहिरिने निर्णय गरेका छन् । अब दोस्रो वरियतामा रहेकी आरति राणाको नेतृत्वमा सनराइज बैंक मर्जरमा जानेछ । दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ७ गते अन्तिम सम्झौता भएको थियो । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । यसअघि असार २४ गतेका लागि एकीकृत कारोबार तोकिएको थयो । तर, एकीकृत कारोबार सुरु गर्नुअघि कम्तिमा दुई दिन बैंक बन्द गर्नुपर्ने हुन्छ । कर तिर्ने बेलामा बैंक बन्द नगर्नुपर्ने भएकाले एकीकृत कारोबारको मिति २८ गते तय गरिएको डा. थापा बताउँछन् । एकीकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि २ दिन दुवै बैंकले सेवा बन्द गर्ने जनाएका छन् । यसकारण दुवै बैंकका शाखाहरुबाट प्रदान गर्दै आइरहेको सेवाहरु २ दिन बन्द रहने छ । लक्ष्मी बैंक र सनराइज बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । अर्थात् सनराइज बैंकको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् लक्ष्मी बैंकको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई मर्जरमा जान गत शुक्रबार (असार २२ गते) अन्तिम स्वीकृति प्रदान गरेको हो । दुबै बैंकको गत असार ३ गते सम्पन्न साधारणसभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरिसकेका छन् ।
प्रधानमन्त्रीले ‘केही हुँदैन’ भनेपछि प्रदीप अधिकारीले बुझाए स्पष्टिकरण
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मध्यस्थतापछि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले स्पष्टिकरण बुझाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले सोधेको स्पष्टिकरण नबुझाउने अडानमा रहेका अधिकारीले प्रधानमन्त्रीसँगको संवादपछि गत शुक्रबार स्पष्टिकरण मन्त्रालयमा बुझाएको मन्त्रालय स्रोतले विकासन्यूजलाई जानकारी दियो । ‘महानिर्देशकले शुक्रबार नै स्पष्टिकरणको जवाफ पठाइसक्नुभएको छ, उहाँले पठाएको जवाफ प्राविधिक समूहले अध्ययन गर्दैछ’, स्रोतले भन्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेलाई स्पष्टिकरण बुझाउनु बाँकी कुरा मिलाउँदै जाउला भन्ने आश्वासन दिएपछि अधिकारीले शुक्रबार ढिलोगरी स्पष्टिकरण बुझाएको स्रोतले बताएको छ । मन्त्रीस्तरीय निर्णय गरेर मन्त्री किरातीले महानिर्देशक अधिकारीलाई असार ११ गते ९ बुँदे स्पष्टिकरण सोधेका थिए । उनको कार्यकालमा नेपालमा बढी हवाई दुर्घटना भएकोदेखि क्यान विभाजनको विषयमा अधिकारीले दिएको अभिव्यक्तिसम्मको सन्दर्भ उल्लेख गरेर स्पष्टिकरण सोधिएको थियो । सात दिनको समय दिएर सोधिएको स्पष्टिकरणको जवाफ अधिकारीले नदिएपछि मन्त्री दोस्रो पटक चेतावनीसहितको स्पष्टिकरण मागेका थिए । गत बुधबार स्पष्टिकरणको पत्र आएपछि अधिकारी र प्रधानमन्त्रीबीच संवाद भएको स्रोतले जानकारी दियो । ‘प्रधानमन्त्री ज्यूसँग महानिर्देशक अधिकारीको निकट सम्बन्ध छ, पर्यटनमन्त्रीले उहाँलाई स्पष्टिकरण सोधेपछि प्रधानमन्त्रीकै आश्वासनमा अधिकारीले स्पष्टीकरण बुझाएनन्’, स्रोतले भन्यो, ‘तर मन्त्रीले थप ३ दिनको समय तोकेपछि मन्त्रीको चित्त बुझाउनकै लागि अधिकारीले जवाफ दिएका हुन् ।’ मागेको रकम नदिएपछि स्पष्टिकरण सोधिएको दाबी नेपाल नागरिक उडड्यन प्राधिकरणका केही अधिकारी भने पर्यटनमन्त्री किरातीका मान्छेले मागेको रकम नदिएपछि महानिर्देशकमाथि स्पष्टिकरण सोधिएको दावी गर्छन् । ‘मन्त्री किरातीको मान्छे भन्दै महानिर्देशक अधिकारीसँग दैनिक २/३ जना मान्छे आर्थिक सहयोगका लागि आउने गरेका थिए, हरेक दिन पैसा माग्न आएपछि महानिर्देशक रुष्ट थिए’, प्राधिकरण स्रोतले भन्यो, ‘म मन्त्रीको मान्छे हो, आर्थिक सहयोग चाहियो भनेर दैनिक मान्छे आउँछन् । खास कुरा के हो ? भनेर महानिर्देशकले मन्त्रीलाई सोध्नुभएको रहेछ । त्यसपछि उहाँहरुको कुरा बिग्रिएको हो ।’ मन्त्रालयले निजी कम्पनीलाई हेलिप्याड बनाउन दिएको अनुमति प्राधिकरणले कार्यान्वयन नगरेपछि पनि विवाद थप सतहमा आएको स्रोतले बतायो । मन्त्री किरातीले निजी क्षेत्रको लगानीमा सञ्चालित सिम्रिक एयरलाई बनेपामा हेलिप्याड बनाउने स्वीकृति दिएका थिए । तर, निजी व्यवसायी तथा कम्पनीलाई हेलिप्याड बनाउन दिनु राष्ट्रिय हवाई नीति विपरित हुने भन्दै महानिर्देशक अधिकारीले रोकिदिएका थिए । प्राधिकरणले असार १३ गते मन्त्रालयलाई बनेपा नगरपालिका वडा नं १४ राउत गाउँको माथिल्ले इटापु डाडाँमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हेलिप्याड निर्माण गर्नका लागि मन्त्रालयबाट सैद्धान्तिक सहमति पाएपनि प्राधिकणले कार्यान्वयन गर्न सम्भव नरहेको लिखित जवाफ नै पठाइसकेको छ । मन्त्री–महानिर्देशक विवाद मिलेको दाबी प्रधानमन्त्रीको समन्वयमा अधिकारीले स्पष्टिकरण बुझाएपछि मन्त्री किराती र महानिर्देशक अधिकारीबीचको विवाद मिलेको स्रोतको दावी छ । मन्त्री र महानिर्देशकको विवाद मिलाउन प्रधानमन्त्रीले नै समन्वय गरिदिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । ‘महानिर्देशकले स्पष्टिकरण बुझाएपछि तत्काललाई उहाँहरुबीचको विवाद मिलेको छनक हामीले पाएका छौं । राजनीतिक तहमै कुरा भएकाले यो विषय अब धेरै नखोतलिएला भन्ने लागेको छ’, मन्त्रालयका एक उच्च अधिकारीले भने । स्पष्टिकरण बुझाएको सन्दर्भमा बुझ्न महानिर्देशक अधिकारीलाई सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्वीच अफ रहेको थियो ।