निगमले घटायो इन्धनको मूल्य, खाना पकाउने ग्यासमा १० रुपैयाँ घट्यो

काठमाडौं । निगमले सबै बर्गमा लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटाएको छ । त्यसैगरी, खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिण्डर १० रुपैयाँका दरले मूल्य घटाएको छ । डिजेलमा प्रति लिटर ४ रुपैयाँ घटाएको नेपाल आयल निगमले बताएको । निगमयले ठाउँ अनुसार मूल्य तोकेको हुनाले सबैतिर लागू हुने गरी पेट्रोलमा ६ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटाएको बताएकाे छ ।

कालीमाटी तरकारी बजारले भाडाबाटै उठाउँछ वार्षिक १८ करोड, साउनबाट १५ प्रतिशत भाडा बढाउने निर्णय

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले वार्षिक १८ कराेडभन्दा बढी भाडा उठाउने गरेकाे छ । यसरी भाडाबाट उठाएकाे सबैजसाे रकम तकारी बजार सञ्चालनमै खर्च हुने गरेकाे समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । समितिले चालु आर्थिक वर्ष २०७९/८० मा समितिले भाडा र शुल्कबाट १८ करोड ७८ लाख १९ हजार १९१ रुपैयाँ आम्दानी हुने लक्ष्य लिएको थियो । तर, समितिले १७ करोड ८२ लाख १० हजार ६६७ रुपैयाँ मात्रै आम्दानी गर्न सकेको बताएको छ । ‘उठेको भाडा र शुल्क हाम्रो आम्दानी खातामा जम्मा हुन्छ, जम्मा भएको रकमबाट नै प्रशासनिक, कर्मचारी, बजार संचालनमा खर्च गर्ने हो, सबै खर्च कटाएर जम्मा भएको रकम हामी पूर्वाधारमा पनि लगानी गर्छौं,’ श्रेष्ठले भने । समितिले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि साउनबाट लागु हुने गरी सटरको भाडा वृद्धि गरेको छ । समितिले बजारभित्र सञ्चालनमा रहेका सटर तथा स्टलको भाडा १५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको बताएको छ । बोलपत्र आव्हानबाट आएका व्यवसायीले सञ्चालन गरेको सटरमा १० प्रतिशत र पुराना व्यवसायीको सटरमा १५ प्रतिशतका दरले भाडा बढाएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार, अर्को वर्ष २०८१/८२ बाट भने हरेक वर्ष १० प्रतिशतका दरले भाडा बढाउँदै जाने निर्णय भएको छ । समितिले सटर वा स्टलको वर्ग फिटको आधारमा भाडा लिँदै आएको छ । व्यवसायीहरूले प्रयोग गरेको ठाउँको स्क्वायर फिट अनुसार समितिले भाडा लिने गरेको श्रेष्ठले बताए । समितिको प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०७९/८० मा ३११ व्यवसायीले कालीमाटी बजारमा व्यापार गरिरहेका छन् । त्यसमध्ये आलु तथा प्याजका थोक बिक्रेता ९० जना छन् भने ताजा तरकारीका थोक बिक्रेता १०१ वटा छन् । यस्तै, विभिन्न संघ संस्था तथा कृषि समुदायहरूले १७ वटा सटर तथा स्टल भाडामा लिएका छन् । फलफूलका १५ वटा, मसलाजन्य सामाग्रीका १०, कृषि उपज र बिउ विजनका ५, खुद्रा व्यापारका लागि ६४ स्टल प्रयोगमा छन् । समितिले कार्यालय प्रयोजनका लागि ६ वटा कोठा भाडामा लिएको छ । त्यसैगरी, चमेना गृह तथा भोजनालय प्रयोजनका लागि ४ स्थान उपलब्ध गराएको छ । समितिले सबैभन्दा बढी भाडा चमेना गृह तथा भोजनालयबाट लिने गरेको छ । बजारभित्र प्रवेश शुल्क संकलन, शौचालय शुल्क संकलन, सुरक्षा सेवा लगायतका लागि पाँच वटा कम्पनीले जिम्मा लिएका छन् । श्रेष्ठका अनुसार समितिले बन्दसटर बोलपत्र आव्हान गरेर भाडामा दिएको दिँदै आएको छ । समितिले बजार भित्र सटर १८, होलसेलका ४५० सटर र ख्रुदा व्यपारका ६०/६५ स्टलहरू रहेको पनि श्रेष्ठले बताए । ९५ राेपनी जग्गाकाे स्वामित्व कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिअन्तर्गत काठमाडौं भित्रै ९५ रोपनी जग्गा रहेको समितिको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये, कालिमाटी बजारमा ४५ रोपनी, बालाजुमा २ रोपनी ११ आना, चोभारमा २३ रोपनी १ आना छ भने नौविसेमा ४ रोपनी ५ आना रहेको समितिको प्रतिवेदनमा उल्लेख छ । ब्यवसायी भन्छन् : व्यापार खस्कियो कालीमाटीमा तरकारीको थोक तथा खुद्रा व्यापार गर्ने व्यवसायीहरु पछिल्ला दिनमा व्यापार खस्किएको बताउँछन् । काठमाडौंमा धेरै ठाउँमा तरकारीको थोक बिक्री केन्द्र खुलेकाले कालिमाटीको व्यापारमा घटेको उनीहरू बताउँछन् । ‘पहिला बिहानको ३ बजेदेखि व्यापार हुन्थ्यो, ८ बजेटसम्म तरकारी बेचेरै फुर्सद पाइँदैनथ्यो । दिउँसो पनि मानिसको उत्तिकै भीड हुन्थ्यो । अहिले विहान केहीबेर बेचेपछि ग्राहकको पर्खाइमै दिन बित्छ ।’

६ प्रतिशतले बढ्यो आन्तरिक हवाई भाडा, अन्तर्राष्ट्रियको टुंगो छैन

फाइल फाेटाे काठमाडौं । सरकारले नीति अनुसार हाल सञ्चालित सम्पूर्ण वायुसेवा कम्पनीहरु मूल्य अभिबृद्धि कर (भ्याट) मा दर्ता हुने भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै हवाई टिकटमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेको थियो । सोही घोषणा अनुसार साउन १ अर्थात सोमबारदेखि आन्तरिक उडान टिकट मंहगो हुने भएको छ । सरकारको नीति अनुसार अन्तरिक उडानको टिकटमा भ्याट लागू भएतापनि अन्तर्राष्ट्रिय उडानमा भने भ्याटको टुंगो लागिसकेको छैन । यसअघि हवाई टिकटमा भ्याट लाग्दैनथ्यो । तर, सरकारले आगामी आर्थिक वर्षबाट हवाई टिकटमा भ्याट अनिवार्य गरेसँगै वायुसेवा कम्पनीहरु भ्याटमा दर्ता हुन थालेका छन् । वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल सरकारको नीतिअनुसार सबै वायुसेवा कम्पनीहरु भ्याटमा दर्ता हुन तयार भएको बताउँछन् । ‘अहिलेसम्म हामी भ्याटमा दर्ता समेत छैनौँ, यो पहिलो अभ्यास हुँदा हामीलाई केही समय लाग्यो’, उनले भने, ‘सोमबारदेखि अनिवार्य रुपमा आन्तरिक हवाई टिकट भ्याटमा काटिन्छ ।’ उनले टिकटमा भ्याट लागु भएसँगै टिकटको उपभोक्ता मूल्य बढ्ने बताए । ‘हामीलाई थप १३ प्रतिशत भ्याट पर्छ, सोही अनुसार टिकटको मूल्य पनि १३ प्रतिशत नै बढ्छ’, उनले भने । वायुसेवा सञ्चालक संघले सोमबारदेखि अनिवार्य भ्याट लागु हुने भन्दै भाडा बढ्ने जनाएको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै अहिलेको टिकटमा हवाई भाडा सरदरमा ६ प्रतिशतसम्म बढ्ने जनाएको हो । अहिले आन्तरिक हवाई टिकटमा ३ वटा शीर्षकमा मूल्य तय भएको हुन्छ । जसमा यात्रु सेवा शुल्क, इन्धन चार्ज र हवाई फेयर रहेको छ । इन्धन चार्ज र यात्रु सेवा शुल्कमा पहिले नै भ्याट रहेको हुँदा दोहोरो भ्याट लाग्दैन । अन्यौलमा अन्तर्राष्ट्रिय टिकटको भ्याट सरकारको निति अनुसार सोमबारदेखि आन्तरिक उडानमा १३ प्रतिशत भ्याट लागु भएतापनि अन्तर्राष्ट्रिय उडानको भने टुंगो लागेको छैन । सरकारले बजेट मार्फत नै हवाई टिकटमा १३ प्रतिशत भ्याट लाग्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन तथा अन्य अन्तर्राष्ट्रिय नियमनकारी निकायले चासो देखाएका छन् । आईकाओले नै चासो देखाएपछि तत्कालका लागि आन्तरिक उडानमा भ्याट लागु गरेर विस्तारै अन्तर्राष्ट्रिय उडानमा लागु गर्ने सरकारको तयारी छ । अन्तर्राष्ट्रिय उडानमा भ्याट लागु हुँदा विदेशबाट काट्ने टिकटको संख्या बढ्ने भन्दै व्यवसायीहरुले त्यसको विरोध समेत गर्दै आएका छन् ।