भएका जहाज व्यवस्थापन गर्न नसक्ने मन्त्री किराती किन गर्दैछन् १० जहाज थप्ने स्टन्ट ?
काठमाडौं । विदेशी वायुसेवा कम्पनीहरुले चाडपर्वलाई लक्षित गर्दै धमाधम उडान बढाइरहँदा सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमको उडान तालिका प्रभावित बनेको छ । हाल ४ जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको निगमको एक वटा वाइडबडी जहाज बिग्रिएपछि नियमित उडान गर्दै आएको गन्तव्यका उडानहरु डिले तथा रद्द हुँदै आएका छन् । चाडपर्वको समयमा जहाज ग्राउण्डेड नै भएर उडान तालिका बिग्रिरहेका बेला विभागीय मन्त्रीका रुपमा काम गरिरहेका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती भने थप जहाज खरिद गर्ने घोषणा गरिरहेका छन् । विदेशी वायुसेवा कम्पनीले धमाधम उडान थप गरेर व्यापार गरिरहँदा विभागीय मन्त्रीले उडान व्यवस्थापनमा कुनै ध्यान नै नदिई स्टन्ट देखाउन नयाँ जहाज खरिद गर्ने गरेको निगमका अधिकारीहरु बताउँछन् । ‘निगमलाई कसरी हुन्छ नाफामुखी बनाउनु पर्ने जिम्मेवारी मन्त्रीको पनि हो, संकटको समयमा व्यवस्थापनमा कुनै चासो नदेखाएर बाहिर स्टन्टबाजी मात्रै गर्न थाले’, निगमका एक कर्मचारीले भने । गत सोमबार काठमाडौं–नारिता उडान गरेर फर्किएपछि निगमको (अन्नपूर्ण) एयरबस ३३० जहाज ग्राउण्डेड भएको छ । रुटिङ इन्फेक्सन (उडान साइकल) सकिनै लागेको भन्दै काठमाडौं–नारिता मात्रै उडान गर्दै आएको जहाज ६ दिनदेखि ग्राउन्डेड भएको हो । जहाजमा जडान गरिएकाे इन्जिनकाे ब्लेडहरूकाे रुटिङ इन्फेक्सन समयमै गर्न नसक्दा उडान साइकलमा सिमित बनेकाे थियाे । ६ दिनदेखि ग्राउन्डेड भएकाे उक्त वाइडबडी जहाजमा जडान गरिएकाे इञ्जिन निकालेर मर्मतको काम भैरहेको भन्दै ३/४ दिनमा उडान गर्ने निगमले जनाएको छ । निगमका एक क्याप्टेनले अहिले प्राविधिकले इन्जिन निकालेर अध्ययन गरिरहेको भन्दै छिट्टै उडान गर्ने आशा व्यक्त गरे । ‘विदेशी वायुसेवा कम्पनीहरुले चाडपर्वलाई लक्षित गर्दै धमाधम उडान संख्या थपिरहेका छन्, भएका जहाजले नियमित उडान गर्न समेका छैनन्, ती क्यापटेनले भने, ‘एउटा जहाज बिग्रिँदा उडान सेड्युल नै प्रभावित भएर यात्रुलाई होटलमा राख्नुपर्दा खर्च मात्रै बढेको छ, भएका जहाज व्यवस्थापन गर्न सकिएको छैन, यसमै थप जहाज थप्ने विषय स्टन्ट मात्रै हो ।’ भएका जहाजलाई समयमै मर्मत गरेर चाडपर्वको सयममा नियमित उडानको तयारी गर्नुपर्ने समयमा विभागीय मन्त्री भने स्टन्टवाजीमा लागेको उनको भनाइ छ । ‘मन्त्रीलाई निगमको कुनै वास्ता नै छैन, किन जहाज उडेन भन्नेतर्फ मन्त्रीको ध्यान छैन, गर्ननसक्ने ठूला कुरामात्रै गरेर निगमलाई झन डुबाउने खेलमा मन्त्री लागेको देखिन्छ,’ उनले भने । पर्यटनमन्त्री किरातीले निगमले यसै वर्षभित्र थप १० वटा जहाज खरिद गर्ने घोषणा गरिरहेका छन् । आइतबार मन्त्रीनिवास पुल्चोकमा सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री किरातीले निगमले १० वटा जहाज खरिद गर्ने उद्घोष गरेका हुन् । उनले नयाँ जहाज खरिदको प्रक्रिया दशैं अअघि नै सुरु गर्ने भन्दै छिट्टै निगमले थप नयाँ जहाज पाउने जानकारी गराए । मन्त्री किरातीले जहाजको संख्या कम हुँदा भाडा घट्न नसकेको र जहाज थप गर्दा भाडा घट्ने बताए । सबै महँगी नियन्त्रण गर्न सरकारले छुट दिन सक्नु पर्ने बताउँदै उनले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको बिसंगतिलाई ्हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताए । पर्यटनमन्त्री किरातीको निगमले नै जहाज थपेर भाडा घट्ने भन्ने तर्क भने हास्यास्पद छ । निगमले भने मन्त्री किरातीले भनेजस्तो १० वटा जहाज खरिदको विषय जानकारी नभएको बताएको छ । ‘सुरुवाती चरणमा तीन वटा जहाज ल्याउने गरी निगमले तयारी अगाडि बढाएको छ, मन्त्रीले भनेजस्तो यसै वर्षभित्र थप १० वटा जहाज खरिदको प्रक्रियामा अहिलेसम्म कुनै जानकारी भएको छैन’, निगम स्रोातले भन्यो, ‘माथिल्लो निकायमा भएको होला, तर अहिलेसम्म आधिकारीक रुपमा कुनै जानकारी आएकोे छैन ।’ निगमका प्रवक्ता रमेश पौडेल आन्तरिक उडानका लागि निगमको आन्तरिक स्रोतबाट ३ वटा जहाज खरिद प्रक्रिया सुरु भैसकेको जानकारी दिए । ‘हाम्रो तयारी सुरुवाती चरणमा ३ वटा जहाज खरिद गर्ने थियो, सोही तयारी अनुसार आन्तरिक स्रोतबाट जहाज खरिद गर्नेगरी हामीले तयारी अगाडि बढाइसकेका छौं, हाम्रो तयारी यसै वर्षभित्र ल्याइसक्ने हो’, उनले भने ।
२ वर्ष लाभांश रोक्दा सेयर मूल्य ६७%ले बढ्यो, १७ औं स्थानबाट प्रथम
अर्थतन्त्रमा सम्पत्तिको बजार मूल्य करिब (क्रयास) जस्तै भएको, लगानीकर्ताहरुमा आत्मविश्वासको कमी भई समग्र वाणिज्य बैंकहरुको कर्जा असुलीमा गम्भीर प्रभाव परेको अहिलेको यस्तो चुनौतिपूर्ण अवस्थाको बाबजुद पनि मैले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेको एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७९/८० मा उत्साहजनक उपलब्धी हासिल गर्न सफल भएको छ । बैंकले आफ्नो व्यवसायमा गुणात्मक वृद्धि हासिल गरी मुनाफामा वृद्धि गर्नको लागि तय गरेको पञ्चवर्षीय व्यवसायिक योजना अठोट २२-२७ अन्तर्गतको पहिलो आर्थिक वर्ष २०७९/८० मा बैंकले हरेक वित्तीय सूचकहरुमा उत्साहजनक नतिजा ल्याउन सफल भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा कुल कर्जा रकम रु. २७१.६ अर्ब, कुल निक्षेप रकम रु. ३१४.३१ अर्ब, लगानी रु. ३५.५३ अर्ब र कुल सम्पत्तिको आकार रु. ३६४.०९ अर्ब पुर्याउन बैंक सफल भएको छ । त्यसैगरी, गत आर्थिक वर्षमा बैंकले कुल संचालन आम्दानी रु. १५.०३ अर्ब, संचालन मुनाफा रु. ६.५४ अर्ब र खुद मुनाफा रु. ४.४४ अर्ब आर्जन गर्न सफल भएको छ । समग्रमा, गत वर्ष हामी बैंकिङ्ग क्षेत्रमा देशकै सर्वोत्कृष्ट बैंकहरुको सूचिमा कायम रहन सफल भएका छौं । समग्रतामा बैंकले विगत ५ आर्थिक वर्षहरुमा धेरै उपलब्धि हासिल गरेको छ । बैंकको कुल निक्षेप आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको रु. १५१ अर्बबाट बृद्धि भई आर्थिक वर्ष ०७९/०८० सम्म आईपुग्दा रु. ३१४ अर्ब पुगेको छ । बैंकको कुल कर्जा आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको रु. १२१ अर्बबाट बृद्धि भई आर्थिक वर्ष ०७९/०८० सम्म आईपुग्दा रु. २७२ अर्ब पुगेको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको कुल कर्जा २.२५ गुणा पुगेको छ । बैंकको बचत निक्षेप तर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको रु. ४८ अर्बबाट बृद्धि भई आर्थिक वर्ष ०७९/०८० सम्म आईपुग्दा रु. ८७ अर्ब पुगेको छ । बैंकको ब्याज नपर्ने निक्षेपतर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको रु. १२ अर्बबाट बृद्धि भई आर्थिक वर्ष ०७९/०८० सम्म आईपुग्दा रु. ३६ अर्ब पुगेको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको ब्याज नपर्ने निक्षेप ३.१३ गुणा पुगेको छ । बैंकको खुद मुनाफा तर्फ आर्थिक वर्ष ०७४/०७५ मा रु. १.३३ अर्ब आर्जन गरेको मुनाफा आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा रु. ४.४४ अर्ब पुगी बैंक साविक १७ औं स्थानबाट चौंथो स्थानमा पुग्न सफल भएको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको खुद मुनाफा ३.३३ गुणा बढेको छ । बैंकको प्रति शेयर आम्दानी आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको रु. १६.६२ बाट वृद्धि भई आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा रु. ३८.४४ पुगी बैंक साविक १७ औं स्थानबाट पहिलो स्थानमा पुग्न सफल भएको छ । बैंकको स्वपूँजीमा प्रतिफलतर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको १२.०९ प्रतिशतबाट वृद्धि भई आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा १६.३९ प्रतिशत पुगी बैंक साविक १५औं स्थानबाट दोस्रो स्थानमा पुग्न सफल भएको छ । बैंकको ग्राहक संख्या तर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको करिब १३.३३ लाखबाट वृद्धि भई आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा ३८.५५ लाख पुग्न सफल भएको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको ग्राहक संख्या २.८९ गुणा पुगेको छ । बैंकको डेबिट कार्ड प्रयोगकर्ताको संख्यातर्फ आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा कायम रहेको करिब ३.४१ लाखबाट वृद्धि भई आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा १८.७८ लाख पुग्न सफल भएको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको डेबिट कार्ड प्रयोगकर्ताको संख्या ५.५१ गुणा पुगेको छ । बैंकको बजार पूँजीकरण आर्थिक वर्ष ०७४/०७५ को अन्त्यमा करिब रु २५.३७ अर्बबाट वृद्धि भई आर्थिक वर्ष ०७९/८० सम्म आईपुग्दा करिब रु. ९१.७९ अर्ब पूँजी बजार मुल्य प्रतिशेयरको हिसाबले बैंक पहिलो स्थानमा पुग्न सफल भएको छ । आर्थिक वर्ष ०७४/०७५ को तुलनामा बैंकको बजार पूँजीकरण ३.६१ गुणा पुगेको छ । प्राविधिक कारणले विगत दुई वर्षदेखि हामीले शेयरधनी महानुभावहरुलाई लाभांश प्रदान गर्न नसकेको भएतापनि शेयरधनीहरुको बजार पूँजीकरण आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७९/०८० मा आइपुग्दा ७०.८२ प्रतिशतले सेयर होल्डरको सम्पत्ति बढेको छ । जुन समग्र वाणिज्य बैंकहरुको सोही अवधिमा भएको ९.७२ प्रतिशत भन्दा मात्र थियो । २०७७/०७८ को श्रावण महिनामा रु. १ लाख रुपैया बराबर यस बैंकको साधारण शेयरमा लगानी गरेको भए गत आर्थिक वर्षको आषाढ मसान्त सम्ममा आइपुग्दा उक्त लगानी ६७ प्रतिशतले वृद्धि भई रु. १ लाख ६७ हजार पुगेको छ, जुन समग्र वाणिज्य बैंकहरुमा सोही अवधिमा सोही रकमको लगानीबाट प्राप्त भएको प्रतिफलको हिसावले सबैभन्दा बढी रहेको छ । प्रतिसेयर बजार मूल्य, प्रतिसेयर आम्दानी, प्रतिसेयर बुक भ्यालुको हिसावले बैंक पहिलो स्थानमा रहेको यस बैंकले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ३०.५२६३ प्रतिशत लाभांश (२९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद लाभांश) वितरण गर्न सफल भएको छ । (एनआईसी एशिया बैंकमा प्रमुख कार्यकार अधिकृत न्यौपानेले २६ औं वार्षिक साधारणसभामा व्यक्त विचारको सारांश)
डेढ लाख गाडीले दशैं यात्रु बोक्दै
काठमाडौं । दशैंका लागि घर फर्किने मानिसहरुको संख्या बढेसँगै यातायात व्यवसायीहरुले डेढ लाख सवारी साधन तयारी अवस्थामा राखेका छन् । सरकारले शुक्रबारदेखि रुट परमिट खुला गरेपछि उक्त गाडीहरु आवश्यकता अनुसार देशभरका जुनसुकै गन्तव्यमा जान पाउने छन् । चाडपर्वको समयमा धेरै भिडभाड हुने र गन्तव्यमा जान सवारी साधन नपाउने व्यवस्था रहेको भन्दै यातायात व्यवसायीहरुले डेढ लाख गाडीहरु रहेको जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारले रुट परमिट खुला गरेसँगै गाडीहरु तयारी अवस्थामा राखिएको जानकारी दिए । अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको भन्दै उनले यात्रुलाई सहज रुपमा गन्तव्य स्थल जानका लागि महासङ्घले केही बस समेत थप गरेको उनको भनाइ छ । ‘असोज २१ गतेदेखि २७ गतेसम्म ७ दिनको अबधिमा ७ लाख हाराहारिमा मानिसहरु काठमाडौं उपत्यकाबाट बाहिरिसकेका छन्, अझै ८ देखि १० लाखको हाराहारीमा बाहिरिने हाम्रो अनुमान छ’, उनले भने, ‘काठमाडौं उपत्यका लगायत अन्य गन्तब्यबाट बाहिरिने यात्रुको समस्यालाई मध्यनगर गर्दै हामीले डेढ लाख सवारी साधन तयारी अवस्थामा राखेका छाैं ।’ काठमाडौं उपत्यकाका लागि मात्र डेढ लाख नभएर सबै गन्तव्यका लागि उक्त बसहरु व्यवस्थापन गरिएको उनको भनाइ छ । दैनिक २५ हजार बाहिरिँदै नयाँ बसपार्कमा दशैंका लागि गाउँ फर्किनेहरुको भीड लाग्ने गरेको छ । आजदेखि दशैं सुरु भएसँगै गाउँ फर्कनेहरु बढ्न थालेका हुन् । चाडपर्व सुरु भएसँगै पछिल्लो समय काठमाडौंको नयाँ बसपार्कबाट दैनिक २५ हजार यात्रुहरु बाहिरिएका छन् । नयाँ बसपार्कमा दशैंका लागि गाउँ फर्किनेहरुको भीड लाग्ने गरेको छ । आजदेखि दशैं सुरु भएसँगै गाउँ फर्कनेहरु बढ्न थालेका हुन् । नयाँ बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुद्देश्यीय प्रालिका प्रवक्ता पंकज मल्लले हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँ बसपार्कबाट बाहिरिन थालेको बताए । ‘लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्यधिक भीड लागेको छ, हामीले अहिले नयाँबसपार्कबाट बस छुट्ने समयसमेत अन्य समयकोभन्दा अगाडि सारेका छौं’, उनले भने । दशैंका लागि हालसम्म भने ६० हजार यात्रुले अग्रिम टिकट काटिसकेको लोत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बताए । उनले दशैंमा सहज रुपमा यात्रुलाई गन्तव्य स्थलसम्म पु¥याउने ध्येय लोत्से बहुद्देश्यीय प्रालिले बसको व्यवस्थापन गरिरहेको बताए । खाल्डा खुल्डी नपुर्दा समस्या दशैंका लागि भन्दै काठमाडौं उपत्यकाबाट मात्रै दैनिक २५ हजार हाराहारीमा यात्रुहरु बाहिरिए पनि सडकको अवस्था भने सुधार हुन सकेको छैन । बर्खाको समयमा परेका खाल्डा खुल्डीहरु समयमै पुर्न नसक्दा सडककोे अवस्था झनै बिग्रने व्यवसायीहरुले बताएका छन् । वरिष्ठ उपाध्यक्ष सिटौला नागढुंगा–नौबीसे सडक खण्डमा भएका खाल्डा समेत पुर्ने काम सुरु नभएको बताउँछन् । ‘सरकारसँग हामीले छलफल गर्दा नै समयमै खाल्डा खुल्डी पुर्ने सहमति भएको थियो, तर नागढुंगा–नौबिसे रुटकै खाल्डाहरु नर्पुदा अन्य गन्तव्यको अवस्था झन भयावह छ’, उनले भने । उनले नारायणघाट–बुटबल, मुग्लिङ-पोखरा रुटमा सडकमा धेरै समस्या भएको बताए । ‘दशैंका लागि सधै रुटमा चहल-पहल सुरु भैसकेको छ, सरकारले आफ्नो जिम्मेवारी अनुसार समयमै बिग्रिएका सडकको मर्मत सुरु नगर्ने हो भने धेरै समस्या हुनसक्छ’, उनले भने । ट्राफिक प्रहरीले उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि उपत्यकाका विभिन्न १५ स्थानमा यात्रु सहायता कक्ष समेत सञ्चालन गरेको छ । उक्त सहायता कक्षबाट भाडादर, यात्रुलाई परेको समस्या सम्बोधन हुने प्रहरीले जनाएको छ ।