डेढ लाख गाडीले दशैं यात्रु बोक्दै

<p>काठमाडौं । दशैंका लागि घर फर्किने मानिसहरुको संख्या बढेसँगै यातायात व्यवसायीहरुले डेढ लाख सवारी साधन तयारी अवस्थामा राखेका छन् । सरकारले शुक्रबारदेखि रुट परमिट खुला गरेपछि उक्त गाडीहरु आवश्यकता अनुसार देशभरका जुनसुकै गन्तव्यमा जान पाउने छन् । चाडपर्वको समयमा धेरै भिडभाड हुने र गन्तव्यमा जान सवारी साधन नपाउने व्यवस्था रहेको भन्दै यातायात व्यवसायीहरुले डेढ लाख [&hellip;]</p>

काठमाडौं । दशैंका लागि घर फर्किने मानिसहरुको संख्या बढेसँगै यातायात व्यवसायीहरुले डेढ लाख सवारी साधन तयारी अवस्थामा राखेका छन् । सरकारले शुक्रबारदेखि रुट परमिट खुला गरेपछि उक्त गाडीहरु आवश्यकता अनुसार देशभरका जुनसुकै गन्तव्यमा जान पाउने छन् ।

चाडपर्वको समयमा धेरै भिडभाड हुने र गन्तव्यमा जान सवारी साधन नपाउने व्यवस्था रहेको भन्दै यातायात व्यवसायीहरुले डेढ लाख गाडीहरु रहेको जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारले रुट परमिट खुला गरेसँगै गाडीहरु तयारी अवस्थामा राखिएको जानकारी दिए ।

अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको भन्दै उनले यात्रुलाई सहज रुपमा गन्तव्य स्थल जानका लागि महासङ्घले केही बस समेत थप गरेको उनको भनाइ छ ।

‘असोज २१ गतेदेखि २७ गतेसम्म ७ दिनको अबधिमा ७ लाख हाराहारिमा मानिसहरु काठमाडौं उपत्यकाबाट बाहिरिसकेका छन्, अझै ८ देखि १० लाखको हाराहारीमा बाहिरिने हाम्रो अनुमान छ’, उनले भने, ‘काठमाडौं उपत्यका लगायत अन्य गन्तब्यबाट बाहिरिने यात्रुको समस्यालाई मध्यनगर गर्दै हामीले डेढ लाख सवारी साधन तयारी अवस्थामा राखेका छाैं ।’

काठमाडौं उपत्यकाका लागि मात्र डेढ लाख नभएर सबै गन्तव्यका लागि उक्त बसहरु व्यवस्थापन गरिएको उनको भनाइ छ ।

दैनिक २५ हजार बाहिरिँदै

नयाँ बसपार्कमा दशैंका लागि गाउँ फर्किनेहरुको भीड लाग्ने गरेको छ । आजदेखि दशैं सुरु भएसँगै गाउँ फर्कनेहरु बढ्न थालेका हुन् । चाडपर्व सुरु भएसँगै पछिल्लो समय काठमाडौंको नयाँ बसपार्कबाट दैनिक २५ हजार यात्रुहरु बाहिरिएका छन् ।

नयाँ बसपार्कमा दशैंका लागि गाउँ फर्किनेहरुको भीड लाग्ने गरेको छ । आजदेखि दशैं सुरु भएसँगै गाउँ फर्कनेहरु बढ्न थालेका हुन् । नयाँ बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुद्देश्यीय प्रालिका प्रवक्ता पंकज मल्लले हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँ बसपार्कबाट बाहिरिन थालेको बताए ।

‘लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्यधिक भीड लागेको छ, हामीले अहिले नयाँबसपार्कबाट बस छुट्ने समयसमेत अन्य समयकोभन्दा अगाडि सारेका छौं’, उनले भने ।

दशैंका लागि हालसम्म भने ६० हजार यात्रुले अग्रिम टिकट काटिसकेको लोत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बताए । उनले दशैंमा सहज रुपमा यात्रुलाई गन्तव्य स्थलसम्म पु¥याउने ध्येय लोत्से बहुद्देश्यीय प्रालिले बसको व्यवस्थापन गरिरहेको बताए ।

खाल्डा खुल्डी नपुर्दा समस्या

दशैंका लागि भन्दै काठमाडौं उपत्यकाबाट मात्रै दैनिक २५ हजार हाराहारीमा यात्रुहरु बाहिरिए पनि सडकको अवस्था भने सुधार हुन सकेको छैन । बर्खाको समयमा परेका खाल्डा खुल्डीहरु समयमै पुर्न नसक्दा सडककोे अवस्था झनै बिग्रने व्यवसायीहरुले बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष सिटौला नागढुंगा–नौबीसे सडक खण्डमा भएका खाल्डा समेत पुर्ने काम सुरु नभएको बताउँछन् ।
‘सरकारसँग हामीले छलफल गर्दा नै समयमै खाल्डा खुल्डी पुर्ने सहमति भएको थियो, तर नागढुंगा–नौबिसे रुटकै खाल्डाहरु नर्पुदा अन्य गन्तव्यको अवस्था झन भयावह छ’, उनले भने ।

उनले नारायणघाट–बुटबल, मुग्लिङ-पोखरा रुटमा सडकमा धेरै समस्या भएको बताए ।

‘दशैंका लागि सधै रुटमा चहल-पहल सुरु भैसकेको छ, सरकारले आफ्नो जिम्मेवारी अनुसार समयमै बिग्रिएका सडकको मर्मत सुरु नगर्ने हो भने धेरै समस्या हुनसक्छ’, उनले भने ।

ट्राफिक प्रहरीले उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि उपत्यकाका विभिन्न १५ स्थानमा यात्रु सहायता कक्ष समेत सञ्चालन गरेको छ । उक्त सहायता कक्षबाट भाडादर, यात्रुलाई परेको समस्या सम्बोधन हुने प्रहरीले जनाएको छ ।

Share News